राजेश बान्तवाः ज्यानको जोखिम मोलेर मालेको ‘वर्ग सङ्घर्ष’ नेपाल भित्र्याउनुभयाे

राजेश बान्तवाः ज्यानको जोखिम मोलेर मालेको ‘वर्ग सङ्घर्ष’ नेपाल भित्र्याउनुभयाे

राजकुमार दिक्पाल  |  दृष्टिकोण  |  मंसिर ९, २०७६

तत्कालीन नेकपा मालेका लागि ज्यान जोखिममा राखेर पसिना बगाउने एक योद्धा राजेश बान्तवा हुनुहुन्थ्यो भन्ने मैले सुनेकै थिएँ । उहाँलाई भूमिगतकालमा हाम्रो घरले उपलब्ध गराइएको सेल्टरमा देखेको पनि रहेछु । अग्रज पुस्ताले के के अह्राउँथे, जानी–नजानी, बुझी–नबुझी पनि त्यस्ता कामहरू गरी टोपल्थेँ म ।

भूमिगतकालमा राजेश बान्तवाले धनकुटामा पार्टीको महत्त्वपूर्ण जिम्मेवारी रहेर योगदान गरेको बारेमा जानकार म पछि पत्रकारिता कर्मको सिलसिलामा धरानमा रहँदा उहाँसँग आत्मीयता साटासाट गर्ने अवसर जुर्‍यो । एक दिन मैले राजेश बान्तवासँग जिज्ञासा राखेको थिएँ ‘तपाईँ हाम्रो घरमा भूमिगत रूपमा कतिपल्ट आउनुभयो ?’

मैले हाम्रो घरको लोकेसन दिँदै त्यतिखेरका केही अग्रजहरूको नाम लिएँ । उहाँले बडो उत्साहित हुँदै भन्नुभयो, ‘ओहो, तपाईँको घरमा त म धेरै पटक आएर बसेको छु नि ! तपाईँ सानो हुनुहुन्थ्यो । हामी कान्छा ! भाइ भनेर बोलाउँथ्यौँ, तपाईँ अलि लजालु स्वभावको हुनुहुन्थ्यो ।’

२०३९ सालमा पार्टीभित्र राजनीतिक स्वतन्त्रता कि पार्टी स्वतन्त्रता ! भन्ने वैचारिक अन्तरसंघर्ष सतहमा आएपछि भने हाम्रो घरबाट सेल्टर अन्यत्र सारियो । त्यसपछि भने त्यहाँ कमरेडहरूको आवत जावत हाम्राे घरमा हुन छाड्यो । यसअघि हाम्रो घरमा मदन भण्डारी, अशोक राई, राजेश बान्तवा, चित्र निरौला तथा रमेश खनालजस्ता पार्टीका जिम्मेवार नेताहरू सङ्गठन विस्तारको क्रममा बास बस्ने गर्नुहुन्थ्यो । 

टाइपराइटरको चोरीको नेतृत्व र चाँजोपाँजो चाहिँ भीरगाउँका अगुवा बाम नेता उदय बस्नेतले गर्नुभएको थियो । कार्यकर्ता परिचालन गरी उहाँले यस्तो काम गर्नुभएको थियो । उदय बस्नेत भूमीगतकालमा लामो समय खोटाङमा पार्टी सचिवको हैसियतले सक्रिय हुनुहुन्थ्यो ।


२०४६ सालको परिवर्तनपछि मैले सुनेअनुसार ताङ्खुवास्थित चुलाचुली माध्यमिक विद्यालयमा एक जना पिस्कोर स्वयंसेवीले दान दिएको टाइपराइटर मेसिन पञ्चायतकामा नै चोरी भयो । त्यो चोरीको आरोप त्यतिखेर पञ्चहरूले काँग्रेसी कार्यकर्ता केशर सुब्बामाथि लगाए । उहाँलाई केही दिन थुनामा समेत राखेका थिए ।

ooo

तर त्यो टाइपराइटरको चोरी भने तत्कालीन नेकपा मालेका कार्यकर्ताहरूले गरेका थिए । साबिकको भीरगाउँ गाविस र धनकुटा नगरपालिकाको सिमाना भएर बहने निबुवा खोलासम्म पार्टीका जिम्मेवारहरू व्यक्तिले त्यो टाइपराइटर मेसिन ल्याइ पुर्‍याएका थिए । त्यो मेसिन डम्बर सुब्बाहरूले खोलावारी ल्याई धनकुटा नगर क्षेत्रका अर्का पार्टीका आश्रय दाता वारीपात्लेका कुलकेशर वाग्लेका घरमा सुरक्षित राखे । त्यसलाई सुरक्षित रूपमा एउटा ढाक्रेको भेषमा साँगुरी गढी कटाई धरानमा पुर्‍याउने जिम्मेवारी पुष्प राईलाई सुम्पिइयो । पुष्प राईले उक्त जिम्मेवारी सफलता पूर्वक सम्पन्न गर्नुभएको थियो ।

यस विषयमा मैले एउटा लेख लेख्दा धनकुटाका तत्कालीन पार्टी सचिव चित्र निरौलाले प्रतिक्रियास्वरुप लेख्नुभएको थियो, ‘त्यो मेसिन कहाँ पुग्यो भन्ने बारेमा पार्टीका तत्कालीन सुनसरी जिल्ला सचिव राजेश बान्तवालाई थाहा होला ।’

यस वर्षको भाइटिकाको दिन उहाँ राजेश बान्तवासँग बागबजारमा भेटघाट हुने अवसर जुट्यो । भेटको अवसरमा मैले सोधिहाले ‘होइन हौ ! दाजु, त्यतिखेर पार्टीले चोरी गरी धरानतिर पठाएको टाइपराइटर मेसिन चाहिँ कता पुग्यो ?’

‘पार्टीको दस्ताबेज जहाँ पायो त्यहीँ लेख्न, छपाउन नमिल्ने, त्यहीँ भएर टाइपराइटर मेसिनहरू सङ्कलन गर्ने निर्णय गरियो । त्यसबाट आय बढाउने पनि पार्टीको नीति थियो । समय क्रममा त्यो कता पुग्यो, कता ?’

उहाँले त्यो भेटमा एउटा रहस्य चाहिँ खोल्नुभयो । उहाँको भनाइमा त्यो टाइपराइटरको चोरीको नेतृत्व र चाँजोपाँजो चाहिँ भीरगाउँका अगुवा बाम नेता उदय बस्नेतले गर्नुभएको थियो । कार्यकर्ता परिचालन गरी उहाँले यस्तो काम गर्नुभएको थियो । उदय बस्नेत भूमीगतकालमा लामो समय खोटाङमा पार्टी सचिवको हैसियतले सक्रिय हुनुहुन्थ्यो ।

ooo

राजेश बान्तवाले व्यक्त गर्नुभएको दस्ताबेज लेखन तथा प्रकाशनका क्रममा विभिन्न ठाउँबाट टाइपराइटर मेसिन सङ्कलन गर्ने नीति पार्टीको रहेको प्रसङ्ग माथि आइहाल्यो । यो लेखनमा चाहिँ राजेशले पार्टीकै मुख पत्र भारतबाट छापेर नेपाल भित्र्याउँदा के कस्तो हण्डर खानु पर्‍यो, बालवाल आफूलाई पक्राउ पर्नबाट कसरी जोगाउनु पर्‍यो भन्ने त्यो ऐतिहासिक प्रसङ्गको बारेमा चर्चा गर्नु रहेको छ । जुन कुराहरू राजेशले नै सविस्तार जानकारी दिनुभएको हो । 

सन्दर्भ हो, २०३५ साल पुस ११ गतेको ।  माओ सेतुङको जन्म जयन्ती पारेर मोरङको सातपिडी भन्ने गाउँमा विभिन्न बामघटकहरु मिलेर नेकपा (माले) गठन भयो । त्यहीँ पार्टी यतिखेर नेपाली बाम आन्दोलनको मूलधारमा स्थापित समेत भएको छ ।  भलै ! माले संस्थापक महासचिव सिपी मैनाली चाहिँ नेकपा(माले)कै नाममा सानो बाम घटकको नेतृत्व सम्हालेर बस्नुभएको छ यतिखेर ।

राजेश पनि के कम ती कमरेडलाई भन्नुभएछ, ‘तपाईँहरू ज्यान जोखिममा राखेर भए पनि पार्टीको हितका काम गर्छु भन्ने कसम खाने मानिस । यो पनि पार्टीकै काम हो । यति सुरक्षा पनि गर्न सक्नु हुन्न ?’ त्यसपछि भने ती कमरेड ‘दादा’ गलेछन् दस्ताबेज भण्डारण गर्न तयार भएछन् ।  अब दस्ताबेज सुरक्षित हुने भयो राजेशलाई लागेछ ।

यसरी पार्टी गठनपछि राजेश बान्तवा भारतको मुज्जफपुर जानुपर्ने भयो, पार्टीको महत्त्वपूर्ण कामको सिलसिलामा । उहाँ ईश्वर पोखरेल (हाल उप प्रधानमन्त्री)का साथ त्यसतर्फ प्रस्थान गर्नुभयो । सीमावर्ती विराटनगरको रानीमा रहेर पार्टी सङ्गठनमा सक्रिय भएकै कारण सम्भवतः राजेशलाई पार्टीले ईश्वर पोखरेलको साथ लगाएको थियो पार्टी  महत्त्वपूर्ण  काममा । राजेश बान्तवाको त्यो बेला भूमि गत नाम उत्तम थियो । मदन भण्डारीको सागर थियो भने माधव नेपालको नाम चाहिँ विवेक थियो ।

यात्रा सुरु भयो, थर्ड क्लास डिब्बामा रेलको यात्रा । यात्रा थियो, जोगवनीदेखि मुज्जफपुरसम्म ।

एक रातको बासमा ईश्वरकै प्रस्तावमा एउटै खाँदा पनि अघाइने बाक्लो रोटी खुर्सानी र नुनमा चोबेर भोजन गर्नु भएछ । ईश्वरलाई त्यस्तो खानामा पहिल्यै बानी परिसकेकोले केही भएन, तर बानी नपरेका राजेशलाई अपच भएछ पखालाले समाति हालेछ । पार्टीले सिकाएको प्राथमिक उपचार प्रणाली उपयोग गरेर सामान्य औषधोपचारले नै पखाला पनि ठिक बनाउने कम भएछ । 

पार्टीले मुख पत्र ‘वर्ग सङ्घर्ष’ को सबै सामग्री तयार पारेर छापाखानामा छाप्न दिइसकेको रहेछ । त्यो तयार पनि भइसकेको रहेछ । राजेशलाई लाग्यो– त्यो प्रकाशनलाई ईश्वर कमरेडसँग आफू मिलेर नेपाल भित्राउन सजिलै सकिनेछ । 
 
तर भएछ के भने ईश्वर पोखरेलले राजेशलाई ‘कमरेड म चाहिँ गोरखपुर हुँदै पश्चिमतिर जानुछ, तपाईँले अरू काम गर्नुहोला’ भन्दै ईश्वर पोखरेलले चार पाँचप्रति पुस्तक झोलामा हालेर बाटो लाग्नुभएछ । अब कार्यभार आइपुगेछ, राजेश बान्तवाको काँधमा ।

मोटो पुस्तक त्यो पनि एक हजार प्रति । त्यसको बण्डल लिएर रेलमा चढी मुज्जफपुरबा राजेश आइपुग्नुपर्ने थियो कटिहारसम्म । साँझ ४ बजेको रेलको समय थियो । रिक्सा प्रयोग गरेर ती पुस्तकको बण्डल रेलको प्लेटफर्मसम्म त पुर्‍याउनु भयो । हिउँदको समय भएकोले घाम गइसकेको थियो । एक्लो ज्यानले त्यो पुस्तकको भारी उठाउन सक्ने अवस्था नै थिएन ।  मजदुर लगाएर पुस्तकको भारीलाई रेलमा चढाउनु बाहेक राजेशसँग अर्को विकल्प पनि थिएन । भारी उठाएर रेलमा हालेवापतको पारिश्रमिकमा मजदुरले मगे पाँच सय भारु ! राजेशसँग त्यो दिन सक्ने अवस्था नै थिएन । ओहो, त्यो बेलाको पाँच सय रुपैयाँ भारु !

राजेशले ‘अहँ म दिन सक्दिनँ’, के  मात्र भन्नुभएको थियो, कुनै पनि मजदुरले त्यो भारी उठाउन मञ्जुरी देखाएनन् । राजेशलाई आइलाग्यो, फसाद ! रातो लुगा लगाएका मजदुरहरूको एकता पनि उदेकलाग्दो रहेछ त्यस बेला । कोही पनि तैयार भएनन् भारी उठाउन । 

बल्लतल्ल तीन सय ५० भारुमा समान उठाउन मजदुरहरुसँग कुरा मिलेछ र त्यो पुस्तकको बण्डल रेलभित्र हाल्नु भएछ ।

रातभरको यात्रापछि रेल कटिहारमा रोकियो । रेलबाट पुस्तकको बण्डल उतार्दा चाहिँ ५० भारुमा नै सम्भव भएछ ।  तर  खतरा भने कायम थियो । भारतीय प्रहरीले बण्डल चेकजाँज गर्नुपर्छ भनिहाल्यो । जवाफमा राजेशले हिन्दी भाषामा भन्नुभएछ,‘म दार्जिलिङतिर पढाउने शिक्षक हुँ । यो बण्डलमा दिल्लीबाट छापेर ल्याइएका पाठ्यपुस्तक छन् । यस्तो पुस्तक पनि किन हेर्न पर्‍यो ?’ 

यति भन्दा पनि प्रहरीले बण्डल खोल्ने नै अडान लिएछन् । राजेशले भारु ५० ती प्रहरीलाई घुस दिनुभएछ  । त्यसपछि प्रहरीको चेक जाँच पनि सम्पन्न भइहालेछ !

यसरी अनेकौँ हण्डर खाँदै पार्टीको मुख पत्र राजेशले जोगवनी ल्याइपुर्‍याउनु भएछ ।  त्यो भण्डार गर्नका लागि नक्सालवादी आन्दोलनका एक बङ्गाली कार्यकर्ता ‘दादा’ कहाँ प्रस्ताव गर्नुभएछ  । ‘दादा’ जोगवनीमा पसल चलाएर बस्थे । तर त्यति ठुलो बण्डल आफ्नो पसलमा सुरक्षित राख्न ती कमरेडले पनि आनाकानी गरेछन् । त्यतिखेर नक्सालवादीलाई भारतमा पनि सुरक्षा चुनौती कडा थियो ।

राजेश पनि के कम ती कमरेडलाई भन्नुभएछ, ‘तपाईँहरू ज्यान जोखिममा राखेर भए पनि पार्टीको हितका काम गर्छु भन्ने कसम खाने मानिस । यो पनि पार्टीकै काम हो । यति सुरक्षा पनि गर्न सक्नु हुन्न ?’ त्यसपछि भने ती कमरेड ‘दादा’ गलेछन् दस्ताबेज भण्डारण गर्न तयार भएछन् ।  अब दस्ताबेज सुरक्षित हुने भयो राजेशलाई लागेछ ।

OOO

ती बङ्गाली कमरेडको पसलबाट एउटा दुईवटा गर्दै ‘वर्ग सङ्घर्ष’का प्रतिहरू सिम वार भई नेपाल भित्रने क्रम जारी थियो । अरू बढी नै प्रति भित्र्याएर नेपालभरि छर्ने पार्टीको योजना त छँदै थियो । यस योजनामा पार्टीका ठुला नेताहरू पुस्तकका प्रतिहरूको पर्खाइमा रहेका थिए ।

यस योजनाअनुसार कार्य सम्पन्न गर्न रघुपति जुट मिलमा कार्यरत धनकुटा आहालेका जीतबहादुर राई खटिएका रहेछन् । उहाँका घरमा पाहुनाका रूपमा जिम्मेवार कमरेडहरू आएका थिए । पाहुनालाई खुवाउनका लागि एक धार्नी सुँगुरको मासुको व्यवस्था गरिएको थियो । भात पाकिसकेको थियो, सुँगुरको मासुमा लगाइएको झोल भकभक के उम्लिरहेको थियो ।

खाना खानेबेलैमा अचानक एउटा खबर आएछ ।  सिमानामा चेक जाँच गर्ने क्रममा ‘वर्ग सङ्घर्ष’ लिन गएका कमरेड जीतबहादुर राई पक्राउ परे । सूचनाअनुसार अब जिम्मेवार कमरेडहरू त्यहाँ भात र पुस्तक पर्खेर बस्न उचित नहुने निष्कर्ष निकालिएछ र  त्यहाँ रहेका मदन भण्डारी र अर्को जिम्मेवार कमरेडसहित राजेशले तत्कालै  पाकेको खाना छोडी त्यो सेल्टर छाड्न बाध्य हुनु भएछ । 

यसरी भाग्दै र सुरक्षा खोज्दै तीनै जना राती १ बजे विराटनगरको तीनटोलियामा रहेको शिक्षक बिके बर्मा र राम बर्माको घरमा आई खाना खाई ३ बजेतिर आआफ्नो गन्तव्यतिर जाने क्रममा मदन र अर्को एक जना कमरेड मोरङतिर र राजेश चाहिँ सुनसरीको मधेलीतिर लाग्नु भएछ ।

000

यता पक्राउ परेका जीतबहादुर राईले चाहिँ अनेकौँ अक्कलले कमरेडहरूलाई बचाउनुभएछ । उहाँले आफूले पुस्तकलाई सिमापार गर्न लगाउने मानिस खासै नचिनेको र सिमापार गराएबापत एक पुस्तकको २०–२५ रुपैयाँ दिने भनेकोले पुस्तक ओसार पसार गरेको भन्दै यस्तो जिम्मेवारी दिने व्यक्ति यस्तो छ भनी नक्कली हुलिया दिनुभएछ । राईलाई एक महिनासम्म जेल राखेर छोडिएछ । 

पछि पनि  अवैध रूपमा सीमा वरपर गर्न व्यक्ति र अनेकौँ जुक्ति लगाएर ‘वर्ग सङ्घर्ष’ नेपाल भित्राउने काम भएछ । 

यो पुस्तक छाप्न र नेपाल भित्र्याउने ज्यान जोखिम मोल्नेमध्ये एक ईश्वर पोखरेल नेपाल सरकारका उप प्रधानमन्त्रीका रूपमा शक्तिशाली राज्य सञ्चालक हुनुहुन्छ भने राजेश बान्तवा चाहिँ वृत्ति चलाउन श्रीमती शारदाले सञ्चालन गर्नुभएको कार्यक्रम वा समारोहहरूमा छातीमा टाँसिने ब्याचका रिबनहरू सिलाई गर्ने बागबजार स्थित सानोतिनो पसलका सहयोगीका रूपमा जीवन बिताइ रहनु भएको छ । उहाँ राजेश बान्तवा जो मदन भण्डारी मालेका कोसी अञ्चल सचिव हुँदा उहाँ उपसचिवको जिम्मेवारीमा  हुनुहुन्थ्यो ।