प्रधानमन्त्रीको आरामले बाँच्न पाउने अधिकार खोई ?

प्रधानमन्त्रीको आरामले बाँच्न पाउने अधिकार खोई ?

अनुरोध शर्मा  |  दृष्टिकोण  |  मंसिर ११, २०७६

दुई तिहाई बहुमतप्राप्त सरकारका कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई लिएर अहिले सर्वत्र चासो र चिन्ता व्याप्त छ । स्वाभाविक हो, मुलुकका प्रमुख कार्यकारीको स्वास्थ्यमा गडबडी हुनुले समग्र मुलुकको गति र दिशामा नै नकारात्मक असर पर्छ । यसर्थ पनि प्रधानमन्त्रीको स्वास्थ्यबारे आमजनता बढी चिन्तित र सजग हुने गर्छन् ।

प्रधानमन्त्री ओली १२ वर्षअघि नै मिर्गौला पीडित भई एक पटक मिर्गौला ‘ट्रान्सप्लान्ट’ गरिसकिएको हो । उक्त ट्रान्सप्लान्ट गरिएको मिर्गौलाले पनि काम गर्न छाड्दै गएपछि अहिले उहाँको उपचार तारन्तार भइरहेको थियो । सिंगापुर गएर प्लाज्मा फेरेसिस गरियो भने नेपालमै सातामा दुईदेखि तीन पटकसम्म डायलाइसिस भइरहेको थियो ।

मंसिर १० गते मंगलवार बिहान अचानक ओलीमा स्वास्थ्य समस्या देखापर्‍यो । हतारमा अस्पताल लगियो । अस्पतालमा जाँचपछि उहाँलाई एपेन्डिसाइटिस भएको थाहा भयो । तत्काल उहाँको एपेन्डिसाइटिसको अपरेसन गरियो । अपरेसनका लागि पेट चिरिसकेपछि थाहा भयो, उहाँलाई त पेटको व्यापक संक्रमण (पेरिटोनाइटिस) भएको रहेछ ।

अस्पताल र डाक्टरहरू अझ चिन्तित हुनु अस्वाभाविक होइन । तत्काल भेन्टिलेटरमा राखेर उहाँको पेरिटोनाइटिसको उपचार आरम्भ गरियो । लामो समय ‘स्थिर’ रह्यो उहाँको अवस्था अर्थात् सुधार पनि भएन, खराब पनि भएन ।

तर, डाक्टरहरूमा चिन्ताको पारो भने घटेन बरु बढ्यो किनभने पेरिटोनाइटिस सामान्य अवस्था होइन, त्यसमाथि रोग प्रतिरोधात्मक क्षमता अत्यन्त कमजोर भएका, एउटा प्रमुख अंग मिर्गौलाले काम गर्न छाडिसकेका, तत्काल एपेन्डिसाइटिसको अपरेसन गरेका र वृद्ध अनि कमजोर बन्दै गएका व्यक्तिका लागि पेरिटोनाइटिस जस्तो ‘घातक’ समस्या देखिनु चिन्ताको विषय नै हो ।

प्रधानमन्त्री आफ्नै हठका कारण सत्ता र दलको नेतृत्वमा रहिरहन इच्छुक हुनुभएको भए पनि त्यो उहाँको ठूलै कमजोरी हो किनभने सत्ता र दलको नेतृत्व त फेरि पनि पाइएला बाँचेमा । तर, बाँचिएन भने ?

पेरिटोनाइटिस सामान्य अवस्था होइन किनभने यसले आन्द्राको कुनै भागमा सुरुमा समस्या सिर्जना गर्छ र समयमै प्रभावकारी उपचार नभएमा यो रगतका माध्यमबाट शरीरभर फैलिन्छ । केही क्षणमै यसले धेरै अंगलाई फेल गराउँछ अर्थात् ‘मल्टिपल अर्गान फेलर’को अवस्था निम्त्याउँछ, जसका कारण बिरामीको मृत्युसम्म हुन सक्छ ।

यही अवस्था अचानक देखापर्‍यो प्रधानमन्त्रीमा । र, सकेसम्मको र जानेसम्मको उपचार विधि अनि उपाय चिकित्सकहरूले अपनाइरहेका छन् ।

यो सब हुने कुरा हो, हुने हुनामी भनेजस्तै । जिउँदो मान्छे बिरामी हुन्छ, वृद्ध हुन्छ, कमजोर हुन्छ, स्वाभाविक हो । प्रधानमन्त्री पनि जिउँदो मान्छे हो, उहाँ बिरामी हुनु अस्वाभाविक होइन, त्यसमाथि उहाँ त निकै अघिदेखि औषधि र ‘उच्चमनोबल’ले बाँचिरहनुभएको हो ।

तर, सवाल यो हो कि प्रधानमन्त्री, जो मुलुकको प्रमुख कार्यकारी हुनुहुन्छ, उहाँको स्वास्थ्यका लागि अनेक विज्ञ र निजी चिकित्सक तैनाथ हुन्छन्, राज्यकोषबाट मोटो रकम लिएर । उहाँको स्वास्थ्यप्रति उनीहरू किन गंभीर बन्न सकेनन् ? किन उहाँको स्वास्थ्यमा उनीहरूको चासो रहन सकेन ? जबकि उहाँको एपेन्डिसाइटिस फुटेपछि मात्र अस्पताल पुर्‍याइयो । के प्रधानमन्त्री, जो आफैँ पहिलेदेखि नै अस्वस्थ हुनुहुन्छ, उहाँको सम्पूर्ण शारीरिक स्वास्थ्य जाँच समय समयमा निरन्तर गरिनुपर्दैन ?

एकातिर खराब र गिर्दो स्वास्थ्य अवस्था, अर्कातिर मुलुककै ठूलो राजनीतिक दलको र सरकारको नेतृत्वको धपेडी, प्रधानमन्त्रीमाथि निरन्तर निगरानी जरुरी थियो, उहाँको स्वास्थ्यलाई लिएर । तर, त्यसो हुन सकेन, जुन दुर्भाग्य हो ।

उसो त जीवनभन्दा ठूलो राजनीतिक सत्ता र नेतृत्व होइन भन्ने कुरा स्वयं प्रधानमन्त्रीले पनि बुझ्नुपर्ने हो तर उहाँ आफूले त्यतातिर सोच्नुभएन । अर्कातिर उहाँका सल्लाहकार, परिवारका सदस्य, पार्टी र शुभचिन्तकले उहाँको स्वास्थ्य अवस्थालाई ख्याल गरेर आराम गर्न सुझाव दिनुपर्ने हो तर त्यो पनि भएन ।

प्रधानमन्त्री आफ्नै हठका कारण सत्ता र दलको नेतृत्वमा रहिरहन इच्छुक हुनुभएको भए पनि त्यो उहाँको ठूलै कमजोरी हो किनभने सत्ता र दलको नेतृत्व त फेरि पनि पाइएला बाँचेमा । तर, बाँचिएन भने ? यसर्थ उहाँले यो बेला सत्ता र दलको नेतृत्व अर्कैलाई सुम्पिएर आफू अभिभावक भएर सल्लाह र सुझाव दिएर बस्नुपर्ने थियो, जुन हुन सकेन ।

यसो हुन नसक्नुमा पर्दा पछाडिका ‘खेलाडी’हरूको भूमिका पनि हुन सक्छ । मतलब, प्रधानमन्त्रीको चाकरी र चाप्लुसी गरेर आफ्नो दुनो सोझ्याउने ठूलै समूह उहाँको वरिपरि छ, उक्त समूहले आफ्नो शक्ति र सामथ्र्य निरन्तर कायम राख्न प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई ‘बाल’ नदिएर सत्ता र शक्तिको केन्द्रमै ओलीलाई राखेर तलबाट आफूले तर मारिरहन चाहन्छ उक्त समूह । यही कारण पनि ओलीका निकट, आसेपासे र तथाकथित शुभचिन्तकले यति खराब स्वास्थ्य अवस्थालाई पनि बेवास्ता गरेर धपेडीतिरै ओलीलाई धकेलिरहेका हुन सक्छन् ।

यदि यसो हो भने ती पापी हुन्, अमानवीय र अपराधी हुन्, जसले यस्तो गंभीर बिरामीलाई पनि आराम गर्न र सन्तोषले बाँच्न दिएका छैनन् । उनीहरू आफ्ना कुत्सित स्वार्थ पूरा गर्न एक स्वप्नदर्शी नेतालाई पीडित बनाइरहेका छन् । एउटा मान्छेको आरामले बाँच्न पाउने अधिकारको हनन् गरिरहेका छन् ।