देवेन्द्र केसी 'देवु'का चार मुक्तक

देवेन्द्र केसी 'देवु'का चार मुक्तक

देवेन्द्र केसी 'देवु'  |  साहित्य  |  मंसिर १३, २०७६

यता जाडोको कहर उता चुलिँदो महँगीको दर
यता शिक्षित युवा बेरोजगार उता दुर्व्यसनीको डर
कहिले मिल्छ होला सुख, शान्ति मान्छेहरूलाई
यता अकासे पानीकै भर उता रेमिट्यान्सकै ठहर !

कहिले कोही बिझाउँछ मनभित्र
कहिले कोही रिेझाउँछ मनभित्र
एकनास किन हुन सक्दैन मान्छे
कहिले आशा फिँजाउँछ मनभित्र ।

झुपडीहरूमा जाडो पस्छ कहर बनेर
महलहरू रमाउँछन् ह्विस्कीमा रहर बनेर
हुने ढाक्दैन लाज आधुनिकताको निहुँमा
गरिबी डस्छ हरप्रहर नाङ्गो जहर बनेर ।

पसिना बगाउनेहरू अझै पनि रुँदै थिए रे !
बन्दुक समाउनेहरू बकपत्र छुँदै थिए रे !
सुखले दैलो उघारेन अझै जसका नाउँमा
निर्धनका छाप्राहरू अझै पनि चुहुँदै थिए रे !