बालागुरु षडानन्द : पारदर्शिता र प्रचार प्रसारको प्रभावकारी अभ्यास

बालागुरु षडानन्द : पारदर्शिता र प्रचार प्रसारको प्रभावकारी अभ्यास

यादव चापागाईं  |  दृष्टिकोण  |  मंसिर १७, २०७६

सहभागिता केन्द्रित सामाजिक कार्यमा पारदर्शिता र प्रचार प्रसारको अहं भूमिका हुन्छ । प्रचार प्रसारले के भइरहेको छ, किन भइरहेको छ, कसरी भइरहेको छ र यसमा कसको के योगदान छ ? जस्ता जानकारी सर्वसाधारणलाई सही ढंगले पुग्छ । यही जानकारीले सर्वसाधारणलाई थप योगदान गर्न प्रेरणा र विश्वास जगाउँछ ।

षडानन्दको नेतृत्वमा भएको दिङ्लाको अभियानमा यो पक्ष राम्रोसँग सम्बोधन भएको पाइन्छ । त्यहाँ सुरुवाती दिनदेखि नै सानोभन्दा सानो जमिन दान लिने सिलसिलामा पनि कानुनतः आवश्यकभन्दा धेरै बढी मानिसहरूको भेला गराइएको पाइन्छ ।

आमसंचारका लागि आज प्रचलित अन्य माध्यम नभएको त्यसबेलामा आममानिसहरू नै प्रचार प्रसारका उत्तम माध्यम हुन सक्थे । संभावित कुप्रचारको सामना गर्ने पनि त्यही नै मात्र उपयुक्त उपाय हुन सक्थ्यो । पारदर्शिताका लागि पनि यो उपाय प्रभावकारी हुन सक्थ्यो । षडानन्दले दिङ्लामा यस माध्यमको उत्तम प्रयोग गर्नुभएको देखिन्छ ।

उहाँको गुठी बन्दोबस्तीसम्बन्धी शिलालेख र धर्मपत्रिकामा पनि भद्र भलाद्मीहरूलाई उच्च सम्मानका साथ आदर गर्दै सिर्जित सम्पति र सम्पदाहरूको संरक्षण गर्न आह्वान गरिएको छ । सरकार, गुठियार, सर्वसाधारण आदि सबै सरोकारवालाहरूलाई उचित जिम्मेवारी तोकिएको छ । हिसाब किताब लेखाजोखा गर्ने, सर्वसाधारणलाई भेला गराउने, हरहिसाब अनुमोदन गराउनेजस्ता असल अभ्यासहरू अपनाउन भनिएको छ ।

पारदर्शिता र प्रचार प्रसारका लागि पर्याप्त यस्तो प्रबन्धले उहाँलाई आफ्ना कार्यहरूको अभीष्ट, योजनाको उद्देश्य र त्यसका प्रमुख कार्य र पक्षहरूबारे सही जानकारी दिन सजिलो भयो । अन्ततः जनविश्वास, उत्साह र सहभागिता जुटाउन मद्दत गर्‍यो ।

व्यवस्थापकीय प्रणाली र प्रक्रियाहरू

धर्मपत्रिकामा षडानन्दले गुठीको बन्दोबस्तका लागि प्रणाली र प्रक्रियाहरूको व्यवस्था गर्नुभएको छ । ती प्रणाली र प्रक्रियाहरू ‘षडानन्दको व्यवस्थापन कुशलता’ नामक कृतिमा विश्लेषण गरिएको छ, जसलाई उत्तम व्यवस्थापकीय प्रणाली र प्रक्रियाहरू भन्न सकिन्छ । त्यसअनुसार ‘धर्मपत्रिकाको सुरुका हरफहरूमा गुरुले आफ्ना कामको उल्लेख गर्नुभएको छ अनि कसरी व्यवस्थापन गर्ने भनेर सोझो भाषामा सटिक मार्गदर्शन गर्नुभएको छ ।’

उहाँका प्राथमिक केन्द्रविन्दु तीनवटा रहेका छन्– सीताराम मन्दिर, पाठशाला र श्रीषडेश्वर महादेव । शिक्षा, मन्दिरहरू र पूजाआजा उहाँको कार्यको मूल उद्देश्य देखिएको छ भने मेलापर्वहरूको व्यवस्थापन, बगैँचाको संरक्षण र संवद्र्धन दोस्रो तहका कार्यहरूमा परेका छन् । मुख्य खर्च शीर्षकहरूमा पहिलो सीताराम मन्दिर र शिवालयको नित्य नैमित्तिक पूजा रहेको छ भने दोस्रोमा विद्यार्थीहरूलाई सिधा र तेस्रोमा कामदारहरूको खुराकी खान्की रहेको छ ।

षडानन्दले गर्नुभएका व्यवस्थापकीय उत्तम अभ्यासहरूमा उद्देश्य र कार्यहरूमा स्पष्टता अनि सरोकारवालाहरूको पहिचान रहेको छ । मूल सरोकारवालाहरूमा उहाँले सरकार, देवता र गुठियार तथा स्थानीयहरूलाई लिनुभएको छ । ती सरोकारवालाबाट त्यहाँको भौतिक, संस्थागत र धार्मिक संरचनाको रक्षा होस् भनी कामना र प्रार्थना गर्नुभएको छ ।

यहाँ पनि उहाँले आफ्नो कृतित्वको दिगोपना सरकार र स्थानीयहरूबाट सहभागितात्मक तवरले हुने परिकल्पना गरेको देखिन्छ, जहाँ सरकारलाई नियामक कार्यको जिम्मेवारी दिइएको छ  । अझ राम्रो त के भने उहाँले त्यो कामको सन्दर्भमा कसको के भूमिका हुने भनेर पनि स्पष्ट तोक्नुभएको छ । संस्थागत व्यवस्थापनका लागि दीर्घकालीन सोच, परिकल्पना र सरोकारवालाको मुख्य भूमिकाका बारेमा स्पष्टता आवश्यक तत्त्वहरू मानिन्छन् । ती कुराहरू धर्मपत्रिकामा पाइन्छन् ।

दैनन्दिन व्यवस्थापनको कोणबाट हेर्दा उहाँबाट पद विवरण, कार्य विवरण र जिम्मेवारी तोकिएको र सोहीअनुसार उनीहरूको खान्की निर्धारण गरिएको पाइन्छ । पहिचान गरिएका पदहरू यस्ता छन्: नित्यपूजा गर्ने ब्राह्मण, पढाउने पण्डित, परीक्षा गर्ने पण्डित, गुठीको काम गर्ने जिम्मावाल, कागज जाँच्ने जाँचकी, बगैँचाको मर्मत र झारुबढारु गर्ने, जिम्मावाल र पढाउने पण्डितको सहयोगी, विद्यार्थीको हेरचाह गर्ने, नगरा बजाउनेहरू आदि ।

त्यस्तै, जिम्मावाल, जिम्मावालको सिपाही, टहलुवा, पण्डितको अह्रौैटे रहेको छ । ती सबै पदहरूका कार्य जिम्मेवारी ज्यादै स्पष्ट र सटिक भाषामा लेखिएको छ । कर्मचारी बदली हुनुपर्दा नयाँ मानिस भर्ना गरी बदली हुनु भनिएको छ । भण्डार र बगैँचा सालबसाली सबै भेला भएर जाँच्नु भनिएको छ । यसरी व्यवस्थापनको असल अभ्यास सँगसँगै सहभागितात्मक व्यवस्थापन, र पारदर्शिताका तत्त्वहरू पनि धर्मपत्रिकामा उल्लेख भएका पाइन्छन् ।

नियन्त्रण, सन्तुलन र प्रेरणा तत्त्वहरू पनि यथेष्ट मात्रामा पाइन्छन् । व्यवस्थापकहरूभन्दा बाहिर सर्वसाधारणसम्म जानकारी पुर्‍याउन सार्वजनिक लेखापरीक्षण प्रक्रियाको व्यवस्था भएको पाइन्छ । उत्तरदायित्व सुनिश्चित गर्न त्यसैगरी सरकारबाट हिसाब जाँच गर्ने व्यवस्था गरेर बाह्य लेखापरीक्षणको व्यवस्था गरिएको छ । शैक्षिक गुणस्तर सुनिश्चित गर्नका लागि बाह्य विज्ञबाट परीक्षण गरिने व्यवस्था छ र त्यस्ता कामका लागि आवश्यक खान्कीको व्यवस्था गरिएको छ ।

कर्मचारीका लागि पारितोषिकका अलावा कर्तव्य पालन गरे उत्तरोत्तर प्रगति होला, नत्र पाप र पातक लाग्ला भन्नेजस्ता शब्दावलीले उच्च मर्यादा पालन गर्न र इमान्दारीसाथ काम गर्न प्रेरणा प्रदान गरिएको छ ।

व्यवस्थापनको अर्को एउटा अनिवार्य पक्ष: वित्तीय व्यवस्थापन र बजेटिङका बारेमा पनि धर्मपत्रिकामा उल्लेख भएको छ । यसअनुसार गुठीमा दाताहरूबाट प्राप्त भएको जमिनको आम्दानी मुख्य काममा अर्थात् गुठीकै कामदारहरू, मन्दिर, विद्यालय, र बगैँचा जस्ता खर्च शीर्षकमा उपयोग गर्ने भनिएको छ । नगदबाट आउने ब्याजबाट उहाँको जन्मोत्सव र मरणोपरान्त श्राद्धका लागि खर्च गर्ने भनिएको छ । जमिनबाट हुने आय घटबढ हुन सक्छ भन्ने सत्य आत्मसात् गरी वार्षिक खर्च अपुग भए अबन्डा जमिनको आयले धान्नु र बढी भए मौज्दात राखी गुठीको सम्पत्ति वृद्धि गर्नु भनिएको छ ।

त्यसैगरी ब्याजको आयमध्ये पनि वार्षिक कार्यमा लगाई बाँकी रहेमा फेरि गुठीकै कामका लागि लगाउने भनिएको छ । बजेट शीर्षक र शीर्षकगत खर्चको दररेट अनि अनुमानित रकमसमेत गरेर वार्षिक बजेटका लागि मार्गदर्शन पनि धर्मपत्रिकामा गरेको देखिन्छ ।

यसरी केलाएर हेर्दा गुठी बन्दोबस्तीका लागि छाडिएको धर्मपत्रिकामा व्यवस्थापकीय असल अभ्यासहरूको व्यवस्था गरिएको पाइन्छ, जसले गर्दा गुठीको दिगोपना सुनिश्चित गरिएको छ । व्यवस्थापनशास्त्रका सिद्दान्तहरू सिद्दान्तका रूपमा विकसित हुनुभन्दा अगावै गरिएको यस्तो व्यवस्था समयभन्दा धेरै अगाडिको रहेको पनि देख्न सकिन्छ ।

साधन, स्रोत र संस्था हुँदैमा सफलता सुनिश्चित हुँदैन । अझ १०० वर्षभन्दा बढी समयसम्म अभियान र संस्था दिगो हुने त झन् पक्का हुँदैन । दिगोपना पक्का हुनका लागि अर्को महत्त्वपूर्ण तत्त्व हो, त्यो साधन, स्रोत र संस्थाको उचित व्यवस्थापन । यस पक्षमा पनि षडानन्दले धर्मपत्रिका गरेर उपयुक्त प्रबन्ध गरेर छाड्नुभएको थियो ।

निष्कर्ष

सुरुमै भनियो कि जनसहभागिता र संस्थागत व्यवस्थापनमा षडानन्दको योगदानबारे चर्चा गर्दा यो मनन् गर्न आवश्यक छ कि उहाँले गरेका कार्य कुनै लेख, रचना वा कृतिबाट भएको होइन । षडानन्दले कुनै व्यवस्थापन सिद्दान्त प्रतिपादन गर्नुभएन, न त आफ्ना कार्यहरूलाई कुनै सिद्दान्तसँग जोड्नुभयो ।

व्यवस्थापन र जनसहभागिता जस्ता विषयहरू उहाँको पालामा अध्ययन वा छलफलका विषय नै थिएनन्, यिनीहरू त पछि विकास भएका अवधारणा वा विषयहरू हुन् । तर, उहाँले व्यवहारमा प्रयोग गरेका नीति, विधि र उपायहरू ज्यादै प्रभावकारी रहे, उच्च प्रतिफल भएका रहे । मिहीन अध्ययन विश्लेषण गर्दा तिनीहरू आधुनिक शास्त्रसम्मत देखिए । यसले उहाँको कार्य र कार्य व्यवस्थाले यी विषयहरूलाई थप स्थापित गर्न मद्दत पुगेको भने स्पष्ट रूपमा देखिन्छ ।

जहाँसम्म सहभागिताको सबाल छ, षडानन्दका लागि त्यो अपार रहेको देखिन्छ । नन्दिकेश्वर अधिकारीको काव्यअनुसार त्यहाँ एक लाख रुपैयााँ माथिको नगद खर्च भएको छ । १०० रुपैयाँको ब्याज चार मुरी धान आउने त्यसबेलामा त्यत्रो रकम जुटाउनु लरतरो काम होइन ।

सबै जात, लिङ्ग, धर्म, उमेर समूह र वर्गका व्यक्तिहरूले उहाँको अभियानमा सहभागिता जनाएका छन् र त्यो सहभागिता बहुआयामिक र उच्च स्तरको रहेको छ । बहुआयामिक यस अर्थमा छ कि आमजनताले उहाँलाई आर्थिक (जस्तै: नगद र सम्पति), भौतिक (जस्तै: सामग्री र स्थान) र शारीरिक (जस्तै: बल, सीप र बुद्धि) हरतवरले सहयोग गरेका छन् । यी सहयोगहरूलाई उच्चस्तरको भन्न सकिन्छ किनभने आमसमुदायले ‘बुढाले मागे, दिऊँ न त’ जस्तो मात्र सोच राखेर दान गरेनन्, बरु भित्री हृदयदेखि नै लक्ष्य (मिसन)मा संलग्न भएर विचार, समर्पण, र प्रतिबद्धतासमेतले सहभागिता जनाएका छन् ।

प्रतिबद्धतासहितको सहभागिताचाहिँ उच्चस्तरको सहभागिता मानिन्छ र जति बढी सहभागीहरू प्रतिबद्ध स्तरका हुन्छन्, त्यति बढी त्यो संस्था तथा अभियान सफल हुन्छ । षडानन्दको अभियानमा प्रतिबद्धता स्तरको जन सहभागिता जुटेको देखिन्छ ।

साधन, स्रोत र संस्था हुँदैमा सफलता सुनिश्चित हुँदैन । अझ १०० वर्षभन्दा बढी समयसम्म अभियान र संस्था दिगो हुने त झन् पक्का हुँदैन । दिगोपना पक्का हुनका लागि अर्को महत्त्वपूर्ण तत्त्व हो, त्यो साधन, स्रोत र संस्थाको उचित व्यवस्थापन । यस पक्षमा पनि षडानन्दले धर्मपत्रिका गरेर उपयुक्त प्रबन्ध गरेर छाड्नुभएको थियो ।

अहिले संस्था व्यवस्थापनका असल अभ्यासहरू भनेर प्रमाणित तत्त्वहरू उहाँले त्यसैबेला त्यो सीताराम गुठीका प्रबन्धनका लागि राख्नुभएको धर्मपत्रिकामा देख्न पाइन्छ । त्यहाँ स्पष्ट दूरदृष्टि र रणनीतिक कार्यक्रमहरू रहेका छन् । संस्थागत र व्यवस्थापकीय पक्षहरूलाई अलग अलग हेरिएको छ । जस्तै: गुठियार र मन्दिर अनि विद्यालयको व्यवस्थापन छुट्टै गराइएको छ । नियन्त्रण र सन्तुलनका लागि उचित कार्य प्रणाली अपनाइएको छ । पारदर्शिता र सार्वजनिक लेखापरीक्षणका उपायहरूलाई संस्थागत गरिएको छ । विभिन्न गतिविधिमा सर्वसाधारणलाई संलग्न हुनका लागि अवसर दिएको तथ्य पनि धर्मपत्रिकामा देख्न पाइन्छ । यसबाट व्यवस्थापन पक्षमा पनि उहाँ खरो निस्कनुभएको छ ।

विश्लेषकहरूले षडानन्दमा नेतृत्व र व्यवस्थापन कुशलताको विलक्षण संयोग रहेको कुरा बारम्बार उल्लेख गर्ने गरेका छन् । नेतृत्वले टाढासम्म देख्छ, अरूभन्दा पहिले देख्छ र बढी आयामहरू पनि देख्छ तर व्यवस्थापक सामान्यतया देखेको बाटोमा कुशलतापूर्वक हिँड्न जान्दछ वा अरूलाई हिँडाउन सक्छ ।

सामान्यतया एउटै व्यक्तिमा नेतृत्व र व्यवस्थापनका दुवै क्षमता कमै हुन्छन् । उहाँमा भने यी दुवै विशेष क्षमता रहेछन् । उहाँमा परिकल्पना गर्ने, योजना बनाउने, कार्यान्वयन गर्ने जस्ता नेतृत्व, व्यवस्थापन, र प्राविधिक सीप र क्षमताको अनौठो सम्मिश्रण रहेको देखिन्छ । त्यसैले उहाँले त्यति धेरै संरचना, संस्था र आयोजनाहरू एक्लैले मार्गदर्शन, रेखदेख र नियन्त्रण गर्न सक्नुभयो ।

उहाँको नेतृत्वमा भएका कार्यहरू फरक फरक प्रकृतिका छन् । त्यहाँ समग्र भूउपयोग योजना बनेको छ । भौतिक संरचनाहरूको अभिकल्प (डिजाइन), अभिन्यास (ले–आउट) गरिएको छ । विभिन्न आकार र रूपका मूर्ति निर्माण परिकल्पना र योजना गरिएको छ । पोखरी, बगैँचा र बिरुवाको योजना भएको छ । भौतिक निर्माण विकासका लागि काठमाडौं वा भारतमा भएका थरीथरीका कालीगढ पहिचान गर्नुपरेको छ । ती सबलाई उनीहरूले बुझ्ने भाषामा काममा लगाउनुपरेको छ । भइरहेका कामको अनुगमन र सुपरीवेक्षण गर्नुपरेको छ ।

यस्ता फरक खालका कामका अलावा पोखरीमा पाल्नका लागि कहाँकहाँबाट माछाहरू खोजेर दिङ्ला पुर्‍याउनु, तिनको हेरचाह गर्न आफूले सिक्नु अनि हेरालुलाई सिकाउनु नितान्त अर्कै खालको काम छ, जो उहाँले आफैँ गरेको बुझिन्छ ।

उता, मन्दिरको पूजा र मेला आयोजन गर्ने, विद्यालयमा पठनपाठनको परिबन्द मिलाउने कामहरू छुट्टै प्रकृतिका र जस्ता तस्ता मानिसका लागि आफैँमा पूर्णकालिक काम हुन् । यी सबै खालका कामहरू उहाँ आफैँले नै गर्नु र गराउनुभएको छ ।

यी सब गर्नका अझ अहं महत्त्वको विषय, आर्थिक स्रोतको व्यवस्था पनि उहाँले नै गर्नुभएको छ । कस्तो विलक्षण खुबी, कस्तो बहुआयामिक प्रतिभा ! वास्तवमै एक विशिष्ट विभूति !

षडानन्दको कार्यशैली विश्लेषण गर्दा उहाँ आजको समयमा मानिएका कुशल अभ्यासहरूका आँखामा एक असल परिकल्पनाकार, संयोजक र व्यावहारिक प्रयोगकर्ता देखिनुहुन्छ । उहाँको त्यस कामबाट हामीले केही सिक्न सक्यौँ भने त्यो हाम्रो उपलव्धि हो । सिक्न सकिने कुराहरू ‘षडानन्दको व्यवस्थापन कुशलता’ नामक कृतिमा उल्लेख भएझैँ रहेका छन् ।

त्यहाँ भनिएको छ: ‘उहाँ स्वप्नद्रष्टा, परिकल्पनाकार, योजनाकार, संयोजनकर्ता र व्यवस्थापक हुनुहुन्थ्यो । अनि, उहाँ आफ्ना शिष्यहरूलाई राम्रोसँग ज्ञान, तालिम र सीप हस्तान्तरण गर्न पनि सक्नुहुन्थ्यो । त्यसैगरी उहाँ शिक्षा प्रचारक, समाज संस्कृति सुधारक, प्रविधि प्रसारक, भौतिक योजनाकार, पैरवीकार, प्रभावकारी संस्था संस्थापक, पर्यावरणमैत्री विकास अभियन्ता, अलौकिक सिद्धिशक्ति भएका व्यक्ति अनि सरकार र जनताबीचका सेतु हुनुहुन्थ्यो । समष्टिमा उहाँलाई समाज र देशले सम्पूर्ण रूपमा बुझ्न बाँकी नै छ ।’

यो पनि
सामाजिक अभियन्ता षडानन्दः सामाजिक परिचालनदेखि सांस्कृतिक सुधारकसम्म

षडानन्दका कुशल अभ्यासः जनसहभागितासहितको व्यवस्थापनको अनुपम उदाहरण