विभिन्न ग्रहहरु बीचको विविधता

कसको दिन लामो कुन सबैभन्दा चिसो

विभिन्न ग्रहहरु बीचको विविधता

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  फाल्गुन ९, २०७५

चित्रमा वृहस्पति ग्रह र बुध ग्रहको तुलना गरिएको छ । वृहस्पति सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह हो र बुध ग्रह सबैभन्दा सानो ग्रह हो । 
सबैभन्दा  ठूलो ग्रह, वृहस्पतिको आयतन १.४३१३× १०१५ किमी छ । भनौ हाम्रो पृथ्वीको तुलनामा वृहस्पतिको आयतन १३२१ गुणा बढी छ । पृथ्वीको आयतन जम्मा १.०८३२१ ×१०१२ किमी छ । 

यसैगरी सौर्यमण्डलको सबैभन्दा सानो ग्रह, बुधको आयतन ६.०८३ × १०१० किमी मात्रै छ । भन्न सकिन्छ बुध ग्रहको आयतन पृथ्वी भन्दा झण्डै १८ गुणा घटी छ । 

अब सानो बुध र भीमकाय वृस्पतिको तुलना गर्नुस् । वृहस्पतिको आयतन बुधको तुलनामा झण्डै २३५३०  गुणा बढी छ । 



यस चित्रमा सबैभन्दा तातो ग्रह र सबैभन्दा चिसो ग्रह देखाइएका छन् । 

सूर्यको सबैभन्दा नजिक भए पनि बुध ग्रह सबैभन्दा तातो ग्रह होइन । सबैभन्दा तातो ग्रहको श्रेय शुक्रलाई प्राप्त छ । शुक्रको तापमान ४६२  डिग्री सेन्टीग्रेड सम्म हुन्छ । यसो हुनका पछाडि शुक्रको वातावरण नै मुख्य कारण हो । 

यसैगरी सौर्यमण्डलको सबैभन्दा चिसो ग्रहको दर्जा वरुण ग्रहलाई (NEPTUNE) प्राप्त छ । वरुणको तापमान माइनस २१८ डिग्री सेन्टीग्रेड सम्म पुग्छ । 

पृथ्वीको हकमा भने प्राकृतिक तापमान न्यूनतम माइनस ८९डिग्री सेन्टीग्रेड र अधिकतम ५६.७डिग्री सेन्टीग्रेड सम्म रेकर्ड गरिएको छ । 


चर्चा अब सौर्यमण्डलको सबैभन्दा सुस्त र चुस्त ग्रहको । जुन ग्रह आफ्नो अक्षमा सबैभन्दा बढी गतिले घुमेर एक फन्को सबैभन्दा कम समयमा पूरा गर्छ, त्यसलाई चुस्त भनौ र ढीलो गरी अर्थात आफ्नो अक्षमा एक फन्को पुरा गर्न सबैभन्दा बढी समय लगाउने ग्रहलाई सुस्त भनौ । 

आफ्नो अक्षमा सबैभन्दा छिटो परिक्रमा गर्ने ग्रह वृहस्पति हो । १ लाख ३९ हजार ८ सय २२  किमी व्यास भएको वृहस्पतिले आफ्नो अक्षको एउटा परिक्रमा ९ घण्टा ५५  मिनेट ३० सेकेण्डमा पूरा गर्छ । भनौ बृहस्पतिमा एक दिन र रातको अवधि जम्मा ९ घण्टा ५५ मिनेट ३० सेकेण्डको मात्रै हुन्छ । वृहस्पतिको आफ्नो अक्षमा परिक्रमा गर्ने गति १२.६ किमी. प्रति सेकेण्ड अर्थात ४५ हजार किमी. प्रति घण्टा हुन्छ ।

हामी बसेको पृथ्वीवले भने आफ्नो अक्षको एउटा परिक्रमा २३ घण्टा ५६  मिनेट ४.१  सेकेण्डमा पुरा गर्छ ।  जवकि पृथ्वीको व्यास भने जम्मा १२ हजार ७ सय ४२ किमी मात्रै छ । भनौ वृहस्पतिको व्यास पृथ्वी भन्दा झण्डै ११ गुणा बढी छ । व्यास कम्ती भएर पनि पृथ्वीलाई अक्षमा घुम्न बढी समय लाग्ने कारण यसको अक्षमा घुम्ने गति हो । पृथ्वीको अक्षमा घुम्ने गति जम्मा ४६५  मीटर प्रति सेकेण्ड अर्थात १६७४ किमी. प्रति घण्टा रहेको छ । वृहस्पतिसँग तुलना गर्दा पृथ्वीको अक्षमा घुम्ने गति झण्डै २७ गुणा कम्ती छ । 

सौर्यमण्डलको सबैभन्दा सुस्त ग्रह शुक्र हो । यसले आफ्नो अक्षको एउटा परिक्रमा पूरा गर्न २ सय ४३  दिनको समय लगाउँछ । भनौ झण्डै ५ हजार ८  सय ३२ घण्टाको समय लगाउँछ । शुक्रको एक दिन र रातको अवधि ५  हजार ८ सय ३२  घण्टाको हुन्छ । 

शुक्र ग्रह झण्डै झण्डै पृथ्वीको आकारको ग्रह हो । यसको व्यास १२१०३ किमी छ, झण्डै पृथ्वीको बराबरी । तर शुक्रको आफ्नो अक्षमा घुम्ने गति भने अति कम्ति ६.५२ किमी प्रति घण्टा मात्रै छ । यसो हुनुको मूल कारण भने शुक्र आफ्नो अक्षमा उल्टो घुम्छ । सौर्यमण्डलका सबै ग्रह वामवर्त घुम्छन् भने शुक्र दक्षिणावर्त घुम्ने गर्छ । शुक्रमा एक बर्षको अवधि २२४  दिनको हुन्छ तर एक दिनको अवधि भने बर्षभन्दा लामो २४३ दिनको हुन्छ । 

घनत्व (Density) का हिसाबले सौर्यमण्डलको सबैभन्दा हलुको ग्रह सबैभन्दा कम घनत्व भएको ग्रह, शनि हो । शनि ग्रहको घनत्व ०.६८७ ग्राम प्रति सेन्टीमिटर छ । 

यसैगरि सबैभन्दा बढी घनत्व भएको ग्रह पृथ्वी हो । पृथ्वीको घनत्व ५.५१३  ग्राम प्रति सेन्टीमिटर रहेको छ । 

तपाईलाई थाहा छ पानीको घनत्व कति हो ? पानीको घनत्व लगभग १  ग्राम प्रति सेन्टीमिटर हुन्छ । शनि ग्रहको घनत्व पानी भन्दा कम्ती छ । हामी भन्न सक्छौ यदि सम्पूर्ण शनि ग्रहलाई पानीमा राख्ने हो भने शनि ग्रह पानी माथि पौडी रहन्छ । 

अन्तमा 


विभिन्न ग्रहको तुलनात्मक अध्ययन गर्दै तपाईलाई केही जानकारी गराए । अब पालो तपाईको, जवाफ  दिने प्रयास गर्नुस् । 

१. सबैभन्दा बढी गुरुत्वाकर्षण भएको ग्रह कुन हो ?

२. सबैभन्दा कम्ती गुरुत्वाकर्षण भएको ग्रह कुन हो ? 

कमेन्ट बक्समा जवाफ लेखेर आफ्नो सहभागिता देखाउनुस् ।