रुमाटिक फिबर: परिचय, लक्षण र उपचार

रुमाटिक फिवर के हो ?

रुमाटिक फिवर प्रायः ५ देखि १५ वर्षका बालबालिकाहरूलाई हुन्छ । घाँटी दुखेर ज्वरो आएको दुई–तीन हप्तापछि रुमाटिक फिवर हुने संभावना हुन्छ । घाँटी दुखेका करिव ३ प्रतिशत बालबालिकाहरूलाई मात्र रुमाटिक फिवर हुन्छ ।

प्रायः मुटुका भाल्भहरू पहिलो हप्तामा प्रभावित हुन्छन् । पहिलो हप्तामा भाल्भ प्रभावित नहुने नानीहरूको मुटु रोग हुने संभावना धेरै कम भएर जान्छ ।

बालबालिकाहरूको घाँटीभित्र जीवाणुहरू अर्थात् ए समूहको स्ट्रेप्टोककसद्वारा संक्रमण भएर जोर्नीहरू दुख्नुका साथै सुन्निएर पछि मुटुका भाल्भहरू प्रभावित हुन्छन् । प्रायः ‘माइट्रल’ र ‘एबर्टिक’ भल्भहरू प्रभावित हुन्छन् । सामान्यतया बायाँपट्टिको तल्लो हृदय कक्ष अर्थात् लेफ्ट भेन्ट्रिकल खुम्चिँदा महाधमनी अर्थात् एबर्टा हुँदै शरीरका सबै अंगहरूमा रक्त संचार हुन्छ ।

यसरी रक्त संचार हुँदा बायाँ तल्लो हृदय कक्षबाट बायाँ माथिल्लो कक्ष अर्थात् लेफ्ट एट्रियम र महाधमनीबाट बायाँ तल्लो कक्षमा रगत फर्किंदैन तर रुमाटिक फिवरद्वारा मुटु रोग हुँदा भल्भहरू रोगग्रस्त हुन्छन् र बायाँ तल्लो कक्षबाट बायाँ माथिल्लो कक्षमा रगत फर्किन सक्छ । त्यसैगरी महाधमनीबाट एबर्टिक भल्भ चुहेर रगत बायाँ तल्लो कक्षमा फर्किन्छ ।

रुमाटिक फिवरमा लेफ्ट भेन्ट्रिकलबाट माइट्रल भल्भ हुँदै रगत लेफ्ट एट्रियममा फर्किन्छ । लेफ्ट एट्रियमबाट लेफ्ट भेन्ट्रिकलमा ज्यादा रगत जाँदा माइट्रल भल्भ साँघुरिएजस्तो भएर ‘मिड डायष्टोलिक मरमर’ सुनिन सक्छ । यसलाई रुमाटिक फिवरमा पाइने क्यारिकुम्स मरमर भनिन्छ । रुमाटिक फिवरमा माइट्रल भल्भहरू सुन्निन सक्छन् र यसलाई एकोकार्डियोग्राफीद्वारा थाहा पाउन सकिन्छ ।

रुमाटिक फिवरको मुख्य लक्षण जोर्नी दुख्नु हो । हात, गोडा, मुख स्वतः चल्ने लक्षणहरू कोरियामा हुन्छन् । शरीरको छालामा ‘इरिदिमा मार्जिनेटम’ नामक चर्मरोग र छालामुनि डल्लाडल्ली पनि रुमाटिक फिवरमा पाइन सक्छन् । यिनै लक्षणहरू र केही परीक्षणका आधारमा रुमाटिक फिवर भए वा नभएको पत्ता लगाउन सकिन्छ ।

रुमाटिक फिवरमा पाइने विशेष लक्षणहरू

हातका औँलाहरूले चम्चाको आकार बनाउने लक्षण देखिन सक्छ ।

सेन्ट भाइटस चौथो शताब्दीका नाच्नेहरूका प्याट्रोन मानिन्छन् । रुमाटिक फिवरमा ‘कोरिया’ भएका बालबालिकाहरूले जीउ हल्लाउने लक्षणलाई ‘सेन्ट भाइटस डान्स’ भन्ने गरिन्छ ।

बिरामीका दुवै हातका बीचको र चोर औँलालाई रुमाटिक फिवर भएको बालकलाई दुवै हातले समात्न लगाउँदा औँलाहरूलाई समात्दै छाड्दै गरिन्छ । यसरी बालकले गाईको थुन समातेर गाई दुहिरहेको जस्तो भएकाले यो लक्षणलाई मिल्क मेड्स साइन वा दूध दोहिरहेको जस्तो लक्षण भनिन्छ ।

एरोप्लेनलाई एयरपोर्टमा उतार्दा दुवै हातले संकेत गरिनेजस्तै लक्षण रुमाटिक फिवरमा देखिन सक्छ । यसलाई ल्यान्डिङ् साइन भनिन्छ । प्रायः रुमाटिक फिवरमा जोर्नीहरू दुख्ने र सुन्निने भए तापनि हड्डीहरू प्रभावित हुँदैनन् । कहिलेकाहीँ हातका साना जोर्नीहरूका हाड खिइन सक्छन् । यसलाई ज्याकोड्स अर्थाइटिस भनिन्छ ।

रुमाटिक फिवरद्वारा पीडित बालबालिकाहरूको जिब्रो आफैँ बाहिर निस्किँदै भित्र पस्ने गर्छ । यस किसिमको लक्षणलाई ज्याक इन दि बक्स खेलौनासँग दाजिएको छ ।

कति छन् रुमाटिक फिवरबाट पीडितहरू ?

स्ट्रेप्टोकोकस एक किसिमको जीवाणु अर्थात् व्याक्टेरिया हो । ग्रुप ए स्ट्रेप्टोकोकसले ५–१५ वर्षसम्मका बालबालिकाहरूमा घाँटी दुखेर ज्वरो आउने फ्यारिञ्जाइटिस भएका बालबालिकाहरूलाई २ देखि ३ हप्तापछि रुमाटिक फिवरका लक्षणहरू देखा पर्न सक्छन् । स्ट्रेप्टोकोकसको संक्रमणले मुटुका साथसाथै मिर्गौलालाई पनि प्रभाव पार्छ ।

रक्तश्राव हुने किसिमका दाँतको उपचारमा भल्भका रोग भएका, कृत्रिम भल्भ प्रत्यारोपण गरिएका र पहिले भल्भहरूको संक्रमण भएकाहरूले एन्टिबायोटिक प्रयोग गर्नुपर्छ । दुधे दाँत फुकाल्दा, सिजेरियन सेक्सन र सामान्य प्रस्तुतिमा एन्टिबायोटिक आवश्यक पर्दैन । रुमाटिक फिवर भए तापनि मुटु प्रभावित नहुँदा एन्टिबायोटिक प्रयोग गर्नुपर्दैन ।

संसारभर चार लाख ७० हजारलाई रुमाटिक फिवर भएको अड्कल लगाइएको छ भने २ लाख ५० हजार जनाको रुमाटिक हृदयरोगबाट वर्सेनि मृत्यु हुने गर्छ । संसारभरका १ लाख स्कुल जाने बालबालिकाहरूमध्ये १९ जनालाई रुमाटिक फिवर हुन्छ भनिन्छ । नेपालमा एक हजार स्कुल जाने बालबालिकाहरूमध्ये १–१.८ जनालाई रुमाटिक फिवर भएको पाइएको छ ।

माथि उल्लेखित तथ्यांकबाट रुमाटिक फिवरवाट पीडित बालबालिकाहरू कति छन् भन्ने कुराको अड्कल लगाउन सकिन्छ । रुमाटिक हृदयरोग भइसकेकाहरूले आजीवन औषधि सेवन गर्नुपर्ने हुन्छ । रुमाटिक फिवरद्वारा मुटुका भल्भहरू प्रभावित भएका पुरुष, महिलाहरूमा कृत्रिम भल्भ प्रत्यारोपण गर्नुपर्ने हुन सक्छ ।

भल्भको प्रत्यारोपणमा शल्यक्रिया महँगो हुन्छ र साथै आजीवन रगत पातलो पार्ने औषधि प्रयोग गर्नुपर्छ । यो औषधि प्रयोग गर्दा समय समयमा रगतको परीक्षण आवश्यक पर्छ ।

रुमाटिक फिवरको निदान

रुमाटिक फिवरको निदान गर्ने क्राइटेरियाहरू समय समयमा परिवर्तन भइरहेका छन् । सन् १९४४ मा जोन्स क्राइटेरिया रुमाटिक फिवर पत्ता लगाउन प्रयोगमा ल्याइयो । यी क्राइटेरियाहरूलाई सन् १९९२ मा केही हेरफेर गरियो ।

पछि रुमाटिक फिवर कम हुने र ज्यादा हुने मुलुकमा रुमाटिक फिवरको निदान गर्न केही कुराहरूमा परिवर्तन गरिएको छ । हिजोआज यिनै परिवर्तित क्राइटेरियाअनुसार रुमाटिक फिवरको निदान गरिन्छ ।

चिकित्सकहरूले मुटु जाँचेर मुटु रोगका लक्षणहरू नहुने बालबालिकाहरूलाई एकोकार्डियोग्राफी गर्दा मुटुका भल्भहरू प्रभावित भएको पाउन सकिन्छ । यसर्थ रुमाटिक फिवरको शंका गरिएका किशोर किशोरीहरूको एकोकार्डियोग्राफी गर्नु आवश्यक छ ।

रुमाटिक फिवर निदान गर्न स्टेप्टोकोकाई नामक जीवाणुद्वारा संक्रमण भएको सबुत चाहिन्छ । थ्रोटस्वाब कल्चर, रापिड स्टे«प्टोकोकल एण्टिजन टेस्ट अथवा ए.एस.ओ टाइटरले स्टे«प्टोकोकाईद्वारा संक्रमण भएका जानकारी पाइन्छ ।

रुमाटिक फिवरमा पाइने लक्षणहरू र परीक्षणहरूलाई मेजर र माइनर क्राइटेरियामा विभाजन गरिएको छ । रुमाटिक फिवरको निदान गर्न दुई मेजर क्राइटेरिया अथवा एक मेजर क्राइटेरिया र दुई माइनर क्राइटेरिया आवश्यक पर्छ ।

मेजर क्राइटेरियाहरू

१. कार्डाइटिस– मुटुरोग
२. आर्थाइटिस– एक अथवा धेरै जोर्नीहरू प्रभावित
३. कोरिया– सिडनह्याम्स कोरिया
४. इरिदिमा मार्जिनेटम
५. सवकुटानियस नोडुल्स– छालामुुनि डल्लाहरू ।

  पोलिअर्थाल्जिया अर्थात  धेरै जोर्नीहरू दुख्ने बढी रिस्क ज्यादा भएकाे जनसंख्यामा  डाइगेनेशिसमा मेजर क्राइटेरियामा पर्ने  भनि मानिएकाे छ ।

माइनर क्राइटेरिया
१. पोलिअर्थान्जिया– धेरै जोर्नीहरू दुख्ने
२. ३८.५ सेन्टिग्रेड अथवा ज्यादा ज्वरो
३. ई.एस.आर – ६० अथवा ज्यादा र सी.आर.पी. ३ मिली ग्राम अथवा ज्यादा हाइरिक्स पपुलेसनमा ई.एस.आर.– ३० अथवा ज्यादा भए हुन्छ ।  
४. ई.सी.जी.मा पी.आर. इन्टरभल ज्यादा  मेजर क्राइटेरियामा कार्डाइटिस नभए मात्र ।

लोरिस्क पपुलेसनका स्कुल जाने बालबालिकाहरूमा २ अथवा २ भन्दा कम जनालाई वर्ष दिनभित्र रुमाटिक फिवर हुन्छ । एक हजार जनसंख्यामा १ अथवा १ भन्दा कम जनालाई १ वर्षभित्र रुमाटिक मुटु रोग पाइन्छ । उल्लेखित संख्याभन्दा ज्यादा रुमाटिक फिवर अथवा रुमाटिक मुटु रोग हाई रिस्क पपुलेसनमा हुन्छ । इन्डिया र नेपाल हाई रिस्क पपुलेसनमा पर्छन् ।

रुमाटिक फिवर हुन नदिन के गर्नुपर्छ ?

नानीहरूको घाँटी दुखेर ज्वरो आएको तीन हप्तापछि रुमाटिक फिवर हुने संभावना हुन्छ । घाँटी दुखेका करिव ३ प्रतिशत केटाकेटीहरूलाई मात्र रुमाटिक फिवर हुन्छ । प्रायः मुटुका भल्भहरू पहिलोे हप्तामा प्रभावित हुन्छन् । पहिलो हप्तामा भल्भ प्रभावित भएनन् भने मुटुको रोग लाग्ने संभावना धेरै कम भएर जान्छ ।

रुमाटिक फिवर हुन नदिन घाँटी दुखेर ज्वरो आउने बालबालिकाहरूलाई पेनिसिलिन, इरिथ्रोमाइसिन, एजिथ्रोमाइसिन अथवा केफालोसपोरिन जस्ता एन्टिबायोटिक १० दिन प्रयोग गर्नुपर्छ ।

रुमाटिक फिवर भएमा के गर्ने ?

रुमाटिक फिवरमा मुटुका भल्भहरू प्रभावित हुन पनि सक्छन्, नहुन पनि सक्छन् । मुटुका भल्भहरू प्रभावित भएका बालबालिकाहरूको उपचार निम्न तरिकाले गर्नुपर्छ ।

जोर्नी दुखेको निको पार्न अस्पिरिन प्रयो गर्नुपर्छ ।

१. कमसेकम ५ वर्ष अथवा २१ वर्षको उमेरसम्म बेञ्जाथिन पेनिसिलिनको सुई प्रत्येक ३ हप्तामा लगाउनुपर्छ । सुई लगाउनु अगाडि सुईले रियाक्सन गर्ने वा नगर्ने जाँच गर्नुपर्छ । पेनिसिलिनको सुई लिँदा रियाक्सन हुने देखियो भने इरिथ्रोमाइसिन खानुपर्छ ।

२. सुरुमा मुटुका भाल्भहरू प्रभावित भए तापनि मुटुको रोग नभएकाहरूले निम्न प्रकारका औषधिहरू सेवन गर्नुपर्छ ।

३. कमसे कम १० वर्ष अथवा २१ वर्षको उमेरसम्म बेञ्जाथिन पेनिसिलिनको सुई लिनुपर्छ अथवा इरिथ्रोमाइसिन खानुपर्छ ।

मुटुका भाल्भहरू प्रभावित भएर पछिसम्म भल्भको रोग भएकाहरूलाई निम्न प्रकारको औषधि प्रयोग गर्नुपर्छ ।

१. कमसे कम १० वर्ष अथवा ४० वर्षको उमेरसम्म बेञ्जाथिन पेनिसिलिनको सुई अथवा इरियोथ्रोमाइसिन खान दिनुपर्छ ।
२. कोरिया मात्र हुनेहरूले पनि एन्टिबायोटिक लिनु राम्रो हो ।

मुटुमा प्रभाव पर्न नदिन एन्टिबायोटिकको प्रयोग

रुमाटिक फिवर भएर मुटुका भाल्भहरू रोगग्रस्त भएकाहरूलाई दाँत फुकाल्नुपर्ने र विभिन्न किसिमका शल्यक्रियाहरू गर्नुपर्ने हुन सक्छ । यस्ता व्यक्तिहरूलाई पुनः भल्भहरूमा प्रभाव पर्न नदिन एन्टिबायोटिक प्रयोग गरिन्छ ।

रक्तश्राव हुने किसिमका दाँतको उपचारमा भल्भका रोग भएका, कृत्रिम भल्भ प्रत्यारोपण गरिएका र पहिले भल्भहरूको संक्रमण भएकाहरूले एन्टिबायोटिक प्रयोग गर्नुपर्छ ।
दुधे दाँत फुकाल्दा, सिजेरियन सेक्सन र सामान्य प्रस्तुतिमा एन्टिबायोटिक आवश्यक पर्दैन । रुमाटिक फिवर भए तापनि मुटु प्रभावित नहुँदा एन्टिबायोटिक प्रयोग गर्नुपर्दैन ।

 


प्रा.डा. डिबी कार्की, काठमाडौं मेडिकल कलेज मेडिसिन विभाग चेयरमेन र कार्डियोलोजी विभाग प्रमुख र चेयरमेन अफ पाेष्ट ग्रेजुएशन कमिटिमा हुनुहुन्छ ।