दाताको 'सहयोग': उपलब्धि 'माछो माछो भ्यागुत्तो'

दाताको 'सहयोग': उपलब्धि 'माछो माछो भ्यागुत्तो'

तीर्थ प्रसाईं  |  दृष्टिकोण  |  पुष १, २०७६

मान्छेको विगत विगत नै हुन्छ, इतिहास इतिहास नै हुन्छ, यसको भारी उसको घाँटीमा सधैँ झुन्डिन्छ । यसलाई रातारात फेर्न चाहेर हुँदैन, जबर्जस्ती कसैले पनि क्रान्ति लादेर 'तेरो चल्ने सही तरिका यो हो' भनेर हुँदैन ।

परिवर्तनको सेन्स भित्रैबाट आउनुपर्छ । ‘त्यो परिवर्तनपछि यो हुन्छ र त्यसबेला आउने परिवर्तनलाई म मानसिक रूपमा यसरी सामना गर्छु’ भन्ने चेत मान्छेमा आफैँ आउनुपर्छ । कुनै पनि परिवर्तनको चेत आफैँभित्रबाट आउनुपर्छ, यो दुनियाँले बारबार भोगेको कुरो हो । त्यसमा पनि पश्चिमाहरूले त बढी नै भोगेको कुरो हो ।

पश्चिमा भन्नाले पुँजीवादी र कम्युनिस्ट दुवैले क्रान्ति वा परिवर्तन निर्यात हुन सक्दैन भन्ने मजैले बुझेका र भोगेका छन् । त्यहीँका स्थानीय मानिसमा यसको आवश्यकता र यसपछि के गर्ने भन्ने भिजनको विकास नभए कुनै पनि क्रान्ति क्रान्ति हुँदैन भन्ने तिनलाई राम्रै थाहा छ ।

पुँजीवादीको भोगाइको कुरो

अमेरिकाको दक्षिणी भागमा रहेका राज्यहरू कन्फेडेरेट स्टेट्सहरूले अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले दास प्रथा उन्मूलन गर्दा गरेको युद्धलाई एउटा उदाहरणको रूपमा लिन सकिन्छ । अमेरिकी साउथको कन्फेडेरेट सेनाले राज्यले निर्णय गरेको दासत्व उन्मूलनलाई अस्वीकार गर्दै अमेरिकी नर्थको युनियन आर्मीविरुद्ध सन् १८६१ देखि १८६५ सम्म युद्ध लड्यो र करिब ३ प्रतिशत जनसंख्या ९दश लाख तीस हजार० मानिसको ज्यान गयो ।

अन्तत: युनियन आर्मीले युद्ध जितेपछि वासिंगटनको दासप्रथा उन्मूलन गर्ने योजना लागू भयो, कन्फेडेरेट राज्यहरूको कन्फेडेरेसन विघटन भयो । तर, यसरी युद्ध गरेर नै उन्मूलन गरिएको दास प्रथा बाहिरबाट जबर्जस्ती लादिएको जस्तै थियो, त्यहाँका दासहरू नै हामी दासत्वबाट मुक्त भयौँ भने यस्तो हुन्छ र यसो गर्छौं भनेर मानसिक तयारी नभएका, कोरा र योजनाविहीन थिए । जब दास प्रथा उन्मूलन भयो, उनीहरूमा मानसिक सकस अझ थपियो, उनीहरूसँग विगतको अवस्थाको विकल्प के हुनसक्छ वा अब आफ्नो जीवन कसरी चल्न सक्छ भन्ने कुनै पनि ज्ञान थिएन ।

त्यो तत्काल विकास भएन बरु उनीहरू केही गर्नुको साटो आफ्नो विगत सम्झिएर झोक्रिएर वा निस्क्रिय बस्न थाले । उनीहरूको यो हालत उपन्यासकार विलियम फक्नरले आफ्ना उपन्यासहरूमा मजाले चित्रण गरेका छन् ।

कम्युनिस्ट भोगाइको कुरो

२६ जुलाई मुभमेन्ट (सन् १९५३) सम्पन्न गरी क्युबाको क्रान्ति सफल पारेर त्यहाँ कम्युनिस्ट शासन स्थापित गरेपछि चे ग्वेभेरालाई विश्वका सबै स्थानमा क्रान्ति सफल पार्न सकिन्छ, मात्र त्यहाँका विद्रोही आवाजलाई एकताबद्ध गर्नुपर्छ भन्ने लागेको थियो । तसर्थ उनी अन्य देशमा पनि क्युबामा जस्तै क्रान्ति सफल पार्ने योजनामा जुटिरहे । उनको क्युबापछिको लक्ष्य बोलिभिया र पाराग्वे थिए ।

तर, उनले बोलिभियाका विद्रोही तथा कम्युनिस्टबाट साथ पाएनन् र सन् १९६७ मा बोलिभियन सेनाको कारबाहीमा मारिए । कम्युनिस्ट विद्रोह, क्रान्ति त्यहाँका स्थानीय विद्रोही तथा कम्युनिस्टहरूको आवश्यकता र मानसिक तयारीबेगर निर्यात गर्न सम्भव छैन भन्ने कुराको उदाहरण हुन्, ग्वेभेरा ।

यी भोगाइहरू भएका पश्चिमा मुलुकहरू च्यारिटी वा डेभलपमेन्ट फण्ड खर्च गरेर कुनै पनि देशको रूपरेखा र सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने भ्रममा परेका हुन् भने त्यो हाँसो उठ्दो कुरो हो । त्यसबेला नै दासत्व अन्त्य भएको अमेरिकी समाजमा अझै पनि रङ्गभेद कायम छ ।

समाज मानसिक रूपमा तयार हुन समय लाग्छ । वर्षौं चलेर आएको कुरा कुनै पनि हस्तक्षेप वा परिवर्तनको लहडले फुत्त परिवर्तन हुन अर्थात् कुनै दिग्गज गुरूले पढाएको पाठ जस्तै क्रान्ति हुन र रूपान्तरित हुन सहज छैन । यो अमेरिकीहरू सामाजिक र राजनीतिक अनुभवबाटै बुझ्छन् ।

उनीहरू अबुझ छैनन्- उनीहरूकहाँ रङ्गभेद बिस्तारै बदलिँदै र कम हुँदै जाँदै छ, हाम्रोमा हिजो क्षेत्री-बाहुनको घरमा छिर्न नपाउने, पानी नचल्ने दलित साथीसँगै बसेर हामी सँगै खानेकुरा खाँदै छौँ । समाज परिवर्तन हुँदै जाने कुरा अमेरिकामा र नेपालमा फरक छैन, यो क्रमिक रूपमा परिवर्तन हुँदै जान्छ । यो उनीहरूको भाषामा 'ओभरनाइट' अर्थात् एकै रातमा हुने प्रक्रिया होइन ।

उनीहरू मजैले बुझ्छन्, क्रान्ति वा सामाजिक परिवर्तन रातारात सम्भव छैन तर पनि नेपालका विभिन्न एनजीओमार्फत् पैसा लगानी गरेर यिनीहरू के बदल्न खोज्दै छन् रातारात ? सोच्नुपर्ने कुरो त्यहाँ छ । पंक्तिकारले पहिला पनि लेखेको छ, यो कमर्सियल युगमा कुनै न कुनै नाफा/फाइदाबेगर कसैले पनि कसैमाथि लगानी गर्दैन ।

मानौँ कि नेपालमा डलरवाद छैन, यहाँका आदिवासी जनजातिलाई बाहुनवाद र जात व्यवस्थाले मजैले थिचेको छ । यहाँ जातीय उत्थानका लागि च्यारिटी खर्च गर्नु पश्चिमा विवशता हो । यदि त्यसो हो भने पश्चिमा डोनेसन सबैभन्दा बढी पाएको र जातीय आन्दोलनको नेतृत्व गर्न सक्षम भनेर पश्चिमा विश्वको विश्वास जित्न सफल नेपाल आदिवासी जनजाति महासंघले १२५ वटा जनजाति भएको मुलुकमा आठवटा जनजाति संस्थालाई काखी च्याप्छ, किन ?

मुलुकमा आठवटा जनजाति मात्र शासन व्यवस्थामा धक्का दिन सक्ने गरेर बलिया छन् भनेर होइन ? यदि त्यसो हो भने १२५ आदिवासी जनजाति भएको मुलुकमा आठवटा जातिको स्वायत्तता स्थापित गर्ने कार्य अर्को बाहुनवादको सुरुवात हो कि होइन त ? प्रश्न गर्नोस्, जनजाति पहिचानको नाममा डलर पचाउने यिनै हुन् ।

उनीहरू हामी अझै भारतीय उपनिवेशको समयमा छौँ भन्ने सोचिरहेका छन् र यहाँ पैसा, डोनेसनका लागि के जनजाति, के क्षेत्री-बाहुन सबै एलिटहरूको दाताको पैसाप्रतिको व्यवहार एकै हो, जसले उनीहरूलाई सांस्कृतिक हस्तक्षेपको हिसाबले माछो माछो भ्यागुत्तो पार्दै लगेको देखिन्छ ।

डलर लिएको कुरा मेरो व्यक्तिगत आक्षेप होइन, आफ्नो पुस्तक 'क्रिएटिङ अ न्यू नेपालस् एथ्निक डाइमेन्सन'मा नेपाललाई राजनीतिक मोडलको पाठ सिकाउँदै सुसन हांगेनले डोनेसन कहानी यसरी भनेकी छन्- 'नेपाल आदिवासी जनजाति महासंघका गतिविधिका लागि आर्थिक सहयोगको दायरा सन् १९९० को दशकदेखि नाटकीय रूपमा वृद्धि भयो । पहिला संस्थाका मध्यम किसिमका खर्च विभिन्न व्यक्तिहरूले समय र पैसा लगानी गरेर धान्ने गर्थे । सन् १९९७ पछि यसलाई सरकारले पनि आर्थिक स्रोत उपलब्ध गराउन थाल्यो ।'

जनजाति महासंघका बारेमा हांगेन भन्छिन्- 'अधिकांश आदिवासी जनजातिहरू ग्रामीण इलाकामा बसोवास गर्ने भए तापनि महासंघ मुख्यतया काठमाडौंमा संचालित छ । यस संस्थाका नेतृत्वकर्ताहरू अत्यधिक रूपमा अधवैँसे, शिक्षित वर्गका शहिरया बुद्धिजीवीहरू छन्, जसमध्ये अधिकांश वाम विचारधारासँग आबद्ध, कलेज पढाउने, कानुनी फर्महरू चलाएर बस्ने वा विकास संस्थाहरूमा आबद्ध रहेका छन् । तर, महासंघका गतिविधिहरू राजधानीबाहिर पनि बढ्दै गएका छन् । सन् २००६ सम्ममा यसले नेपालका ७५ मध्ये ४२ वटा जिल्लामा जिल्ला संयोजन समितिहरू गठन गरिसकेको छ ।'

तपाईंको जिल्लामा जनजाति महासंघको कार्यालय वा जिल्ला संयोजन समिति भए त्यसलाई प्रश्न गर्नुहोस्, 'हाम्रो जातिका लागि कति डोनेसन आयो र केके काम भए ?' तिनले तपाईंको पहिचानको विकास गर्न तपाईंको मातृभाषामा, लिपिमा भएका पुस्तक पढाए ? तपाईंको मौलिक संस्कृति र धर्मलाई जगेर्ना गर्न केके गर्नुपर्छ भन्ने सिकाए ? पक्कै पनि सिकाए होलान् ।

नेपालमा विकास संस्थाहरूले कसरी काम गर्छन् भन्ने हामीले राम्रै भोगेका छौँ । यिनीहरू शहर केन्द्रित र सकेसम्म दुर्गम गाउँमा नजाने किसिमका एलिट कार्यक्रम चलाएर दाताले दिएको डोनेसन पचाउन अभ्यस्त छन् । मैले एउटा ग्रामीण क्षेत्रमा काम गर्ने सामाजिक संस्था आफैँले देखेको छु, जसमा विदेशी भोलेन्टियरसमेत आउँछन् । तिनले राजधानीमा संस्थाका स्वयंसेवकहरूले निरन्तर २४ घण्टा नाच्ने, ब्रेक लिँदै खानेकुरा, पानी आदि खाँदै गर्ने, अखण्ड कीर्तन वा रिले अनसन चलाएजस्तो ुडान्स फर लाइफु भन्ने कार्यक्रम चलाएको देखेको छु ।

त्यस कार्यक्रमले ग्रामीण क्षेत्रका जनतालाई के कति चेतना दिने हो रु कि त्यो प्रविधि सम्पन्न टेलिफोनको वेभ जस्तै उडेर गाउँमा विपन्न वर्गमा पुग्ने कार्यक्रम हो रु म अझै नबुझेर सोच्दै बसेको छु । यस्ता जादूगरी विकास कार्यक्रम निकै चल्छन् । भनिहालियो, यिनीहरू शहर केन्द्रित एलिटहरूको नेतृत्वमा छन्, जसलाई दाताको पैसो कसरी चप्काउने भन्ने धुन मुख्य हुन्छ।

रमाइलो कुरो के छ भने वाम (तात्कालीन माओवादीसमेत) विचारधारा देखी नसहने पश्चिमा दाताहरूले वाम नजिक भएका शहरी एलिटहरूले नेतृत्व गरेका संस्थामा जनजातिको नाममा पैसा छरेको देखिन्छ र तिनलाई अतिविश्वास गरेको देखिन्छ ।

अझ मजाको कुरो त आदिवासी जनजाति महासंघका प्रथम महासचिव सुरेश आले मगर त माओवादी जातीय मोर्चा अखिल नेपाल जनजाति संघमै लागेको कुरो हांगेन आफैँले औँल्याएकी छन् । माओवादी जातीय पहिचानको टेम्प्लेट पश्चिमालाई मनपरेको देखिन्छ तर त्यो सीमित र राज्यसत्ता हेरफेर गर्न सक्षम बलिया जाति मात्र समेटेर बनाइएको, साना जातिको पहिचान सीमित गर्ने बाहुनवाद (अभियन्ताहरूको भाषामा) भाग २ नै भएको देखिन्छ ।

पश्चिमा साम्राज्यवादले भारत खाएको समय हिन्दु संस्कृतिका केही प्रथाहरूलाई जोडले हिर्काएको थियो । त्यसमा जातीय छुवाछुत र सती प्रथा मुख्य हुन् भने हिन्दुहरूले गोरो छाला भएकालाई बढी सम्मान गर्ने मनोविज्ञानमाथिको खेलबाड अर्को हो । हिन्दुहरूकै गोरो छाला भएकाले कालो छाला भएकाहरूलाई सम्मान गर्ने मानसिकता प्रयोग गरेर उनीहरूले आफ्नो छाला हिन्दुको भन्दा गोरो भएको हिसाबले उनीहरूमाथि मनोवैज्ञानिक रूपले कब्जा जमाएर रङ्गभेद २ अर्थात् प्रत्यक्ष बेलायती शासन सुरु गरेका थिए ।

अहिले त्यसरी प्रत्यक्ष सांस्कृतिक हस्तक्षेप सम्भव छैन तर पैसाको माध्यमबाट त्यो कमजोरीमा हस्तक्षेप गर्न सजिलो छ भन्ने पश्चिमाहरूलाई राम्रै थाहा छ । उनीहरूले देखेको हाम्रो अबको मुख्य कमजोरी जातिवाद हो भन्ने उनीहरूले बुझेका छन् । तर, हाम्रो जातिवादभन्दा ठूलो कमजोरी पैसावाद हो ।

समाजको विकास हुने क्रममा अधिकांश शिक्षित क्षेत्री-बाहुनले जातीय छुवाछुत छोड्दै गएका छौँ, समाजमा हरेक समस्याको निरन्तर एड्जस्टमेन्ट छ र कसैले पनि उल्क्याएर मलाई मेरा विजातीय छिमेकीसँग झगडा गराउन नसक्ने मेलमिलाप छ, जुन तिनलाई आँकलन छैन, उनीहरू हामी अझै भारतीय उपनिवेशको समयमा छौँ भन्ने सोचिरहेका छन् र यहाँ पैसा, डोनेसनका लागि के जनजाति, के क्षेत्री-बाहुन सबै एलिटहरूको दाताको पैसाप्रतिको व्यवहार एकै हो, जसले उनीहरूलाई सांस्कृतिक हस्तक्षेपको हिसाबले माछो माछो भ्यागुत्तो पार्दै लगेको देखिन्छ ।