हराउँदै ग्रामीण जात्राको रौनक : कता जाँदै छ स‌ंस्कृति ?

हराउँदै ग्रामीण जात्राको रौनक : कता जाँदै छ स‌ंस्कृति ?

रूपक अलङ्कार  |  दृष्टिकोण  |  पुष ३, २०७६

तिहारपछि घर छाडेर हिँडेकाहरूले आउने समय जात्रालाई तोक्थे ।  हाम्रो गाउँका लागि दशैँ, तिहारपछिको महत्त्वपूर्ण चाड भनेकै जात्रा थियो । हामी पनि तिहारपछिको रमाइलो दिनका रूपमा जात्रालाई नै गन्ने गथ्र्यौं ।

बिरुवा लागाउने प्लास्टिकमा माटो भरीभरी कमाएको दुई–दुई रुपैयाँ जम्मा गरेर जात्राका लागि खर्चको जोहो गर्ने परंपरा हामीले बसालेका थियौँ । चतुर्थीका दिन बेलुकादेखि पञ्चमीका दिन बेलुकासम्म हामीलाई जात्राले छपक्कै छोप्थ्यो । विद्यालय जाने कुरालाई हामीले छाडी नै दिन्थ्यौँ ।

चतुर्थीका दिन बेलुकादेखि नै मन्दिरले अपूर्व शोभा प्राप्त गर्थ्यो । मइन्टोल र लालटिनको मध्यम आभामा मन्दिर परिसर सगबगाइरहेको हुन्थ्यो । साँझ गाढा हुँदै जाँदा माथिल्लो गाउँबाट देवी र गणेशको प्रतिमा रथमा राखेर ल्याइन्थ्यो र मन्दिरको आँगनमा पञ्चेबाजा र नेवारी बाजाका धूनमा उधुमसित नचाइन्थ्यो ।

देव प्रतिमालाई मन्दिरमा स्थापना गरेपछि बत्ती बाल्ने काम सुरु हुन्थ्यो । आफ्ना पितृहरूका नाममा संकल्प गरी बत्ती जगाएर पूजाआजा गरिन्थ्यो । रातभर महिलाहरू आफ्नाआफ्ना बत्ती कुरेर जाग्राम बस्थे । कुनै घरमा महिलाले नसक्दा पुरुषले नै ब्रत बसी दीप प्रज्ज्वलन गर्ने परंपरा पनि छ ।

बत्ती बालेपछि घरबाट बनाएर ल्याइएका खानेकुरा एकआपसमा बाँडेर खाने लोभलाग्दो चलन छँदै छ । दीप प्रज्ज्वलन र खानपानपछि नाचगानको पालो आउँथ्यो । बुढापाका मानिसहरू खैँजडी बजाएर उफ्रीउफ्री नाच्थे । हामी मानिसका कम्मर पन्छाउँदै घुस्रिँदै अगाडि पुग्थ्यौँ ।

चियाको मगमगाउँदो वासनामा मन्दिर रातभर लहराइरहन्थ्यो । दोहोरी गाउनेहरूले गाएरै रात बिताइदिन्थे । यो दिन आउला र गीत गाउँला भनेर कुर्नेहरू पनि थिए होलान् । तिनका गीतको रसात्मकता यतिबेला सम्झिँदा पनि रोमाञ्चित हुन मन लाग्छ ।

सबैभन्दा त्रासात्मक मनोरञ्जन त्यतिबेला हुन्थ्यो, जतिबेला चर्चित जँड्याहाहरू मारामार गर्दै लठारिँदै कान्लाकान्ला हामफाल्दै फाँटसम्म पुग्थे । खासमा यो पनि जात्राको एउटा निश्चित घटना जस्तै हुन्थ्यो ।

‘फलानो फलानो जँड्याहा’का झगडा पनि जात्राको अभिन्न तत्त्व नै थिए । घरमा पुगेर ओच्छ्यानमा लडिसक्दा पनि उनीहरूका मात्तिएका शब्दहरू हाम्रा कानमा ठोक्किन आइपुग्थे ।  मध्यराततिर ठूला मानिसलाई अगाडि पछाडि लागाउँदै घरमा आएर सुत्थ्यौँ ।

बिहान हामी उठ्दा राती बत्ती कुरेर बसेका आमा, हजुरआमाहरू घरमा आइसकेका हुन्थे । यो पनि अचम्मको जात्रीय अनुभव थियो । बिहान फेरि हामी सिठ्ठी बजाउँदै मन्दिर पुग्थ्यौँ । ऐँठे (बटारे), जेरी र बदामका बोरा वरिपरि घुम्थ्यौँ । होमहोमादि सकिएपछि बलि दिने काम हुन्थ्यो । बोका र कुखुराका रागतले मन्दिर आहाल बन्थ्यो । बलि दिएको बोकालाई भाटामा झुन्ड्याएर गाउँतिर लागिन्थ्यो ।

भातसात खाएपछि बोका खुइल्याउन र भुँडी धुन अनि मासु भाग लगाउन मानिस व्यस्त हुन्थे । आफ्नो भागमा आएको एक बोता मासु घरमा पु¥याएर मानिस फेरि हुर्दुराउँदै मन्दिर पुग्थे र नाचगानमा मिसिइहाल्थे ।

बिजुली–पानीमा पौडी खेलेकाहरू हिन्दी गीतमा ब्रेकडान्स हानिरहेका हुन्छन् । बलिको बोको मोटाएजस्तै जात्राको मौलिकता पनि मोटाउने हो भने कति रमाइलो हुन्थ्यो होला !

साँझ पर्ने बेलासम्म नाचगानमा रमाइसकेपछि देवी प्रतिमालाई फेरि रथमा राखेर सिन्दूर जात्रा गरिन्थ्यो । अन्त्यमा बाजागाजासहित देवीको बिदाइ गरेपछि घर आइन्थ्यो र बोकाको मासुको झोल र भात खाइन्थ्यो । यसरी दशैँपछि पहिलो पटका हाम्रा जिब्राले मासुको स्वाद पुनरावृत्ति गर्थ्यो ।

कुनै एक समुदायलाई जुठो, सूतक परे पनि अर्काे समुदायले जात्रालाई निरन्तरता दिने गर्छन् । बाहुन, क्षेत्री, सार्की, दर्जीलगायतका सम्पूर्ण स्थानीयहरूले यस जात्रामा उत्तिकै उत्साहका साथ भाग लिने गर्छन् ।

यस वर्ष गाउँमा लाग्ने जात्रामा जाने अवसर मिलाइयो । धादिङ जिल्लाको थाक्रे गाउँपालिका– ८ को महांकालीश्वरी मन्दिरमा लाग्ने मेलाको त्यस क्षेत्रमा विशेष महत्त्व रहिआएको छ । मंसिर पूर्णिमापछिको पञ्चमीमा लाग्ने उक्त मेला थाक्रे गाउँपालिकाको सांस्कृतिक सम्पदा हो । प्राचीन महिमाले युक्त उक्त मेलामा विभिन्न ठाउँबाट जात्रुहरू आउने गर्छन् । पृथ्वी राजमार्ग र त्रिभुवन राजपथबाट करिब उत्तिकैको समय र दूरीमा रहेको महांकालीश्वरी मन्दिर धार्मिक पर्यटनका लागि पनि उपयुक्त गन्तव्यका रूपमा विकास भइरहेको छ ।

सडक सुविधाबाट जोडिएको र गाउँ अनि फाँटको सिमानाको सुन्दर स्थानमा अवस्थित यस मन्दिरमा विशेष चाडपर्व तथा नवरथाका बेला भक्तजनहरूको भीड लाग्ने गर्छ ।

जात्राको पद्धति र परंपरा अहिले पनि उस्तै छ । मानिसको आस्था, विश्वास र समर्पण पनि उस्तै नै छ । मन्दिरको भव्यतामा पनि उस्तै विस्तार भएको छ । पहिलेको भन्दा अहिले मन्दिर सम्पन्न बनेको छ । फराकिलो प्रांगण छ । पक्की सत्तल पाटी पनि निर्माण भए । अरू विभिन्न देवी, देवताका मन्दिर पनि बनेका छन् ।

पहिले जस्तो स्थान अभावका कारण बारीका पाटामा, रूखमा, सत्तलको छानामा चढेर जात्र हेर्नुपर्दैन । यस मानेमा स्थानीयले मन्दिरलाई सुन्दर बनाउन धेरै नै परिश्रम गरेका छन् ।

यति हुँदाहुँदै पनि जात्राको मौलिकतमा भने दयनीय अवस्था देखिन्छ । खैँजेडी बजाएर भजन गाउने र नाच्ने सीप बुढाहरूसितै परलोक गयो । बचेकाले यसलाई बचाउन सकेनन् । लोकगीतका माहिरहरूको पनि उल्लेखनीय उपस्थिति देखिएन ।

मन्दिरको क्षेत्रफल बढे पनि भक्तहरूको संख्या झनझन कम हुँदै गइरहेको छ । समग्रमा जात्राको प्राचीन रौनकता लाउडस्पीकरले लिएको छ । यस्तो पनि देख्न पाइन्छ ।

बिजुली–पानीमा पौडी खेलेकाहरू हिन्दी गीतमा ब्रेकडान्स हानिरहेका हुन्छन् । बलिको बोको मोटाएजस्तै जात्राको मौलिकता पनि मोटाउने हो भने कति रमाइलो हुन्थ्यो होला ! हुनत यो महांकालीश्वरी मन्दिरको कुरा भयो । यस्ता जात्रा मात्र हुने मठमन्दिर हाम्रो देशमा हजारौँ छन् र तिनको हालत पनि यस्तै हुँदै गएकामा शंका छैन ।