सपना बाँड्नेका नाममा

सपना बाँड्नेका नाममा

अनुरोध शर्मा  |  दृष्टिकोण  |  पुष ३, २०७६

सपना त्यो चिज हो, जुन अवचेतन अवस्थामा देखिन्छ । चेतन अवस्थालाई विपना भनिन्छ । मनोवैज्ञानिकका अनुसार अवचेतन अवस्था नै हो प्रायः मानिसलाई निर्देशित गर्ने । र, अवचेतन अवस्थामा देखिने सपनालाई केही मनोविद्हरू कुनै भावी घटनाको संकेतका रूपमा पनि लिन्छन् ।

हाम्रो समाजमा पनि सपनालाई लिएर विभिन्न धारणा विद्यमान छन् । कस्तो सपनाको फल के भन्ने विषयमा विभिन्न पुस्तक प्रकाशित छन् । र, हामीमा यस्तो विश्वास छ कि सपनाले केही शुभ, अशुभ संकेत गर्छ ।

सपना देख्छु भनेर देखिने र देख्दिनँ भनेर नदेखिने होइन । व्यक्तिको सोचाइ र मनोविज्ञानअनुसार सपना देखिन्छ ।

कुरा हामीले निदाएको बेला देखिने सपनाको होइन, ब्युँझै रहेर देखिने सपना अर्थात् महत्त्वाकांक्षा वा भावी योजनाको हो ।

भनिन्छ, सपना नदेख्ने मान्छे जीवनमा सफल हुँदैन । यसको आसय कुनै निश्चित लक्ष्य, उद्देश्य र योजना अनि महत्त्वाकांक्षा नभएको मान्छेले उन्नति र प्रगति गर्दैन भन्ने हो ।

तर, सबै सपना पूरा हुँदैनन् ।यसो भनूँ, सबै सपना तत्काल पूरा हुँदैनन् । यसका लागि सपना देख्ने मान्छेले अनेक जुनी लिनुपर्छ ।

तर, कतिपय सपना (लक्ष्य र योजना) सपना देख्ने मान्छे बितेर गए पनि उसका अनुयायीले पूरा गरिदिन्छन् । यसको उदाहरण हो, चीन ।

चीनमा दशकौँअघि माओत्सेतुङले एउटा सपना देखे । यलो नदीको भ्रमणका क्रममा उनले सोचे, ‘यो पानीलाई बेइजिङ लैजान पाए त्यहाँका जनतालाई पानीको हाहाकार हुने थिएन ।’

उनका अनुयायीहरूले उनको यो सोच वा सपना सुनेका थिए । उनी बिते तर उनको उक्त सपनालाई उनका अनुयायीले आफ्ना सोचबाट हटाएनन् । अन्ततः विश्वलाई चकित पार्नेगरी आर्थिक प्रगति गरिरहेको चीनले बनाएको कृत्रिम नदीमा बगाइएको पानी राजधानी बेइजिङ ल्याइछाडियो ।

चीनको दोस्रो ठूलो नदी यलोमा बाँध बाँधेर करिव एक हजार ४०० किलोमिटर लामो कृत्रिम नदी बनाएको छ । यसले राजधानी बेइजिङसहित करिव ३० करोड जनतालाई खानेपानीको आपूर्ति गर्नेछ ।

चीनका मुख्य पाँच चामत्कारिक इन्जिनियरिङ परियोजनामा पर्ने यो कृत्रिम नदी निर्माणका लागि झण्डै ३३ अर्ब डलर खर्च गरिएको छ । नदी निर्माणका लागि झण्डै ११ वर्ष लागेको छ ।

यसले के देखाउँछ भने, यदि सपना सुन्दर छ, सर्वहितायका लागि छ, पूरा गर्न सकिने छ भने सपना देखने व्यक्ति नभए पनि उसका अनुयायीहरूले कुनै न कुनै दिन त्यसलाई पूरा गरिदिनेछन् ।

अहिले प्रधानमन्त्री ओलीका सुन्दर सपनाको बिस्कुन लगाइए पनि जनतामा त्यसप्रति कुनै उत्साह देखिँदैन । कारण, भोको पेट रहेको मानिसलाई सपनाको कुनै तुक हुँदैन । अशान्त र त्रासमा रहेको मानिसलाई जतिसुकै सुन्दर सपना पनि भयानक त्रासदी जस्तो लाग्छ । अभाव र पीडामा बाँचेको मानिसलाई सुन्दर सपना सुनाउनु झनै पीडादायी बन्छ ।

हामीकहाँ पनि २० वर्षदेखिको ‘पानी सपना’ छ । तत्कालीन कांग्रेस नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनावी अभियानका क्रममा भोट फकाउन राजधानी काठमाडौंका जनतालाई देखाएको ‘पानी सपना’ हो, मेलम्ची । उक्त कार्य धरमराउँदै, उतारचढावसँगै निकै अगाडि बढेको छ । संभवतः सपना देखाएको २५ वर्षभित्र मेलम्चीको पानी काठमाडौंका जनताले उपभोग गर्न पाउने आशा गर्न सकिन्छ ।

अहिले पछिल्लो समय त नेपालका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सपनै सपना देखाएर बस्नुभएको छ जनतालाई । उहाँका धेरैजसो सपना पूरा हुन सक्ने छन् यद्यपि, ती सपना उहाँकै जीवनकालमा भने नहुन सक्छन् । तथापि, माओपछिका चीनका नेताहरू जस्ता, जसले माओको दशकौँअघिको सपनालाई बेवास्ता गरेनन्, वा कृष्णप्रसाद भट्टराईपछिका सत्ता सञ्चालक, जसले भट्टराईको मेलम्ची सपनालाई तिलान्जलि दिएनन्, त्यस्ता व्यक्तिहरू सक्रियतापूर्वक र निश्वार्थ ढंगले समृद्धि र विकासका लागि लागे भने वर्तमान प्रधानमन्त्री केपी ओलीका सपना पनि पक्कै पूरा हुनेछन् ।

यद्यपि, केही सपना छन् प्रधानमन्त्रीका, जुन सपना पूरा गर्न दशकौँ लाग्न सक्छ । त्यस्ता सपनालाई जनताले विश्वास गर्न सक्दैनन् तत्काल । यही कारण प्रधानमन्त्रीलाई उडाइरहिएको छ ।

अर्को महत्त्वपूर्ण कुरा के भने, सपनै सपनाको भारले थिचिएपछि र शान्ति, समृद्धि र तत्कालीन आवश्यकतालाई राज्यले बेवास्ता गरेपछि जतिसुकै राम्रा र ठूला सपना देखाए पनि त्यसको माने नरहनेरहेछ जनतालाई ।

अहिले प्रधानमन्त्री ओलीका सुन्दर सपनाको बिस्कुन लगाइए पनि जनतामा त्यसप्रति कुनै उत्साह देखिँदैन । कारण, भोको पेट रहेको मानिसलाई सपनाको कुनै तुक हुँदैन । अशान्त र त्रासमा रहेको मानिसलाई जतिसुकै सुन्दर सपना पनि भयानक त्रासदी जस्तो लाग्छ । अभाव र पीडामा बाँचेको मानिसलाई सुन्दर सपना सुनाउनु झनै पीडादायी बन्छ ।

यसर्थ, सपना बाँड्ने हतार गर्नुअघि केही जनअपेक्षा र जनआवश्यकताका कामहरूमा ध्यान दिन सके उत्तम हुनेछ । तथापि, सपना देख्नु सुन्दर कुरा हो । सुन्दर सपना देख्नु त अझ सुन्दर कुरा हो ।
सपना देख्नेहरू नै हुन् जीवनमा सफल हुनेहरू ।