‘पहाड बूढो’भित्र अति प्राकृतिक बिम्बको खेल

‘पहाड बूढो’भित्र अति प्राकृतिक बिम्बको खेल

सुरेश हाचेकाली  |  साहित्य  |  पुष ५, २०७६

लेखन, अर्थगत विश्लेषण र त्यसको सार्वजनिकीकरण साहित्यिक क्याननहरूका एकलौटी अधिकारी होइनन् ।

आदरणीय पाठक ! कविता भाषाको तीव्र झङ्कार हो, जसले भावकको संवेदनशील दिमागमा खलबल उत्पन्न गर्छ । यस्तो गर्ने सम्बन्धमा बिम्बले निर्णायक भूमिका खेलेको हुन्छ । भाषिक अभिव्यक्तिका विभिन्न रूप र स्वरूपहरू प्रयोग हुँदै गएपछि उत्तरवर्ती कविहरूलाई अभिव्यक्तिको स्वरूपमा सङ्कट हुँदै जान्छ । परिणामतः कविलाई बिम्ब प्रसाधनमा नयाँ क्षेत्र र आयाम खोज्नुपर्ने आवश्यकता पर्छ ।

सिमौनाइड्सले कवितालाई ‘बाचाल चित्र’ र चित्रकलालाई ‘मुक कविता’ भनेर परिभाषित गरेका छन् । उनको यो कथनलाई अलिकति गहिरिएर सोच्ने हो भने उनले भनेजस्तो कवितालाई ‘बाचाल चित्र’ बनाउनका निम्ति बिम्ब आविष्कारमा नवीनता आवश्यक पर्छ ।

यो सैद्धान्तिक कुरोसँगै हामी यो लेखमा चक्रव्यूह सञ्चेतनाले मार्गदर्शन गरेको ऐकिक पद्धतिअन्तर्गत कवि शशि लुमुम्बूको वि.सं. २०६२ मा प्रकाशित ५८ वटा कविताहरूको सङ्ग्रह ‘पहाड बूढो’भित्र कसरी र किन अतिप्राकृतिक बिम्बको प्रचुर खेल आयोजना गरिएको छ भनेर विश्लेषण गर्न लागिएको छ ।

यसका अलावा सूत्रपरक प्राध्यापकीय, जीवनीपरक, विवरणात्मक र प्रभावपरक शैलीले निकम्मा बनाएको नेपाली समालोचनालाई कृतिहरूको सिद्धान्तपरक पठनको माध्यमद्वारा जीवन्त बनाउनुपर्ने आवश्यकता छ ।

वि.सं. २०२७ मा नेपालको पूर्वी पहाडअन्तर्गत भोजपुरको एक किसान परिवारमा जन्मिएका लुमुम्बूको जीवन सङ्घर्षै सङ्घर्षको निर्मिति हो । भाषा सम्पादन, साहित्यिक पत्रकारिता, संस्थागत संलग्नता र कविता लेखनमा एकै साथ क्रियाशील लुमुम्बू आफ्नै विशिष्ट कवितात्मक शैलीका प्रतिभा हुन् ।

हामीले माथि उल्लेख गरेअनुसार उनका कवितामा अति प्राकृतिक बिम्बहरूको घना रूपमा प्रयोग भएको छ । यसको कारण कवि त्रासद समय र प्रलयकारी परिवर्तनलाई इङ्गित गर्न चाहन्छन् ।

स्लेगलले कविताको ब्रह्माण्डमा केही पनि स्थिर छैन, प्रत्येक कुरा विकासशील, परिवर्तनशील र सौष्ठवपूर्ण तरिकाले गतिशील हुन्छ भनेका छन् । यो भनाइलाई मध्यनजर गर्ने हो भने शशि लुमुम्बूका कवितामा थुप्रै अतिप्राकृतिक बिम्बहरूलाई गतिशील, विकाशशील र परिवर्तनशील प्रतीकको रूपमा लिएको पाइन्छ ।

वैज्ञानिक हिसाबले  भूतप्रेत, किचकन्नी र मुर्कुटा जस्ता प्रकृतिइतर तत्त्वको अस्तित्व हुँदैन तर लुमुम्बू यिनै बिम्बहरूको प्रयोगमा लोभिएका छन् । यसको कारण उनी यी बिम्बलाई तरल र गतिशील प्रतीकको रूपमा लिएर आफ्ना तमाम आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक असन्तुष्टिलाई अभिव्यक्त गर्छन् । ‘ओ प्रिय पीडाहरू’ कविताबाट केही हरफहरू हेरौँ :

किच्कन्नीहरू आऊ
र, चिहानघारीमा लैजाऊ
काखमा सुताएर आँखा जुधाऊ
.....
अघोरीहरू आऊ
फर्केर मसानघाटबाट
मुर्दाहरू आऊ
उठेर चिहानबाट
र, आक्रमण गर
मान्छेहरूको चेतनामा । (५४)

व्यक्तिगत पीडालाई युग र समयको पीडासँग जोडेर सार्वजनिक पीडा व्यक्त गर्नु कवि लुमुम्बूको विशेषता हो । यसका लागि उनी कतिपय अवस्थामा अतिप्राकृतिक बिम्बको प्रयोग गर्छन् भने अन्य कतिपय परिप्रेक्ष्यमा चाहिँ प्राकृतिक र भयप्रदायक बिम्बको प्रयोग गर्छन् । प्रायशः ती बिम्बको आगमन स्रोत उनकै प्रारम्भिक जीवनको ग्राम्य परिवेश हो । केही उदाहरणहरू घतलाग्दा छन् ।

‘रोदीघरको जस्केलोबाट’ कवितामा उनी लेख्छन् :

आकाश
मिनीबसको टायर जस्तो
दनदनी बलिरहेको थियो । (३४)

लुमुम्बूका यस सङ्कलनभित्रका कविताहरू लगभग नेपालमा माओवादी युद्ध चलिरहेको कालखण्डभित्र रचिएका हुन् । त्यस कारण यी कविताले युद्ध र प्रतियुद्धको नाममा पागलपन बोकेर हिँडेको समयको चित्र प्रस्तुत गर्छन् ।

‘मेरो छातीको किनार’ कवितामा लिपिबद्ध एक शक्तिशाली अभिव्यक्ति हेरौँ :

पीडा बजाउँदै पानीका तारहरूमा
किन हिँडिरहन्छ अरुण
भत्काउँदै मेरो छातीको किनार ?
र, फेरि–
लासहरूको बण्डल बोकेर
किन लखेटिरहन्छन् मलाई
मेरा गाउँले बिम्बहरू ? (३८)

भयावह, त्रासद र कारुणिक बिम्बहरूको भण्डारशाला निर्माण गरेर कवि लुमुम्बूले विवेक गुमाएको समयलाई समातेका पाइन्छ ।
‘मेरो मृत्युमा’ कविताभित्रका केही हरफहरू यस्ता छन् :

को जाला मेरो मलामी
कसले बार्ला मेरो जुठो
को बस्ला क्रियापुत्री
कसले बारिदेला बर्खान्त
कसले गरिदिने श्राद्ध
माटो बनिसकेछन् प्रियजनहरू । (६६)

यसरी ‘जङ्गलबाट  हुँडारका बथानहरू÷पसिरहेछन् मधौरु गाउँतिर’ (१४) भन्दै कवि लुमुम्बू ‘हुरीचराको गीत’ कवितामा दैवी, अति प्राकृतिक र प्राकृतिक शक्तिलाई यस्तो आह्वान गर्छन् :

ओऽ हावाका आत्माहरू
ओऽ पानीका आत्माहरू
ओऽ भड्किरहेका पुर्खाका देहहरू
कालो बादलको सृष्टि गर
गर, समुद्री आँधीको आविष्कार गर
चट्याङ हान...चट्याङ हान । (पूर्ववत्)

सामाजिक, राजनीतिक तथा वैचारिक अपशकुनहरूलाई सङ्केत गर्न नेपाली ग्रामीण जीवनमा प्रयोग हुने अति प्राकृतिक प्रतीकहरूको प्रशस्त प्रयोग लुमुम्बूको कवितामा पाइन्छ । केही उदाहरणहरू यस प्रकार छन् :

काँधमा बत्ती बालेका मुर्कुटाहरू (३३), युवतीको भड्केको आत्मा (११), काँचो वायु, सुनसान वस्ती (६६), समुद्री राक्षसको कालो छाया (६७), किचकन्नीले लखेटिरहेका अन्तिम प्रेमीहरू (२२) ।

कवि लुमुम्बूका कविताहरूभित्र बिम्ब विधानको संरचना नियाल्ने हो भने उनले बाल्यजीवनमा अनुभूत गरेका ग्रामीण पहेलीहरू भेटिन्छन् । यो उनको आफ्नो लोकजीवन, लोकसंस्कृति र लोकपरम्पराप्रतिको आकर्षण हो ।

प्रिय पाठक ! अति प्राकृतिक बिम्बको खेललाई हामीले केन्द्रमा राखेर शशि लुमुम्बूका कविताको चिरफार गरिरहेका भए पनि हामीले यहाँनिर भुल्न नहुने दुईवटा कुराहरू छन् । पहिलो कुरो, अति प्राकृतिक बिम्बको प्रयोग विवेकहीन समय सन्दर्भलाई आक्रमण गर्ने एक वहाना हो । दोस्रो कुरो, प्रशस्त प्राकृतिक तथा सांस्कृतिक बिम्बको प्रयोगद्वारा कविले आफ्नो परिवेशका यावत् विसङ्गति, यन्त्रणा र अनाचारलाई नङ्ग्याएका छन् । ‘पहिलो डढेलो’ शीर्षकको कविताबाट एक उदाहरण लिऊँ :

रोइरहेछ सुकेनास–घाम रोइरहेछ
झुण्डिएर उँधोमुन्टो
नूतन सहस्राब्दीको
अत्याधुनिक यातनागृहमा । (६०)

बिम्ब निर्माणमा विशेष दक्षता र नूतन शिल्प भेटिने लुमुम्बूका कविताले खोक्रो समाज, ढोँगी संस्कृति र आर्थिक–सामाजिक असमानतालाई भत्काएर मानवीय मूल्य मान्यताको वर्चस्व भएको समाज हेर्न चाहेका पाइन्छ । उनी लेख्छन् :

उफ् !
किन डुब्दैन यो पृथ्वी
तेजाबको पोखरीमा ? (५५, रेगिस्तान सपना)

मध्यरातमा–
एक–एक गायव भयो
भूमध्यरेखाबाट नीलो हुरी । (४५, नीलो हुरी)

‘म आगो हुँ’ शीर्षकको कवितामा इजिप्सियन मिथकीय चरो फिनिक्सको जस्तो बिम्ब आरोपित गरेर पुनर्सिर्जनाको अभेद्य सन्देश कविले यसरी दिएका छन् :
म आगो हुँ–
आधुनिक लङ्का जलाइदिन्छु
खरानीको भुङ्ग्रोबाट
नयाँ ग्रह जन्माइदिन्छु । (१६)

उनका निम्ति कविता कलात्मकताको सडक हुँदै मानव कल्याणको देउराली छुने एक उद्देश्यपूर्ण सौन्दर्यक्रिया हो । यसका निम्ति उनी प्राकृतिक र अति प्राकृतिक बिम्बको सहारा लिन्छन् ।

पदसोपान भत्किरहेको उत्साहजनक समयको परिवर्तित चित्रलाई उनका कविताले परावर्तन गरेका छन् । यसका अलावा अभिभावकत्व ग्रहण गर्नबाट विमुख हुँदै शत्रुवत् व्यवहार गर्ने आफ्नै देशप्रति कविको असन्तुष्टिले भरिएको एउटा बलवान् प्रश्न यस्तो छ :

त्यस्तरी घुरेर रातो आँखाले
किन हेरिरहेको होला
घाइते बाघले झैँ देशले । (१२, खोतल्छ स्वप्न सनाखत)

बहुसङ्ख्यक जनताले अपनत्व महसुस गर्दै एकाकार हुन खोजेको देशमाथि शासकको निरन्तर दोहन चल्छ । भावनात्मक राष्ट्रियताको भाष्य निर्माण गरेर शासकहरू शोषित, पीडित र श्रमजीवी जनतामाथि आर्थिक र राजनीतिक रजाइँ गर्छन् ।

सबैभन्दा डरलाग्दो कुरो त शोषित, पीडितकै कल्याणका खातिर भनेर क्रान्तिकारी सङ्कथन निर्माण गरेर शोषित पीडितकै अस्तित्वको जरा काटिएको व्यङ्ग्यात्मक परिदृश्य विशेषगरी तेस्रो विश्वका देशहरूमा देख्न पाइन्छ ।

नेपाल यस सिलसिलाको एक ज्वलन्त उदाहरण हो । यस्तो विडम्बनापूर्ण परिवेशको दीर्घकालीन साक्षी हुँदाहुँदै पनि कवि लुमूम्बू आशावादिताको धैर्यवान् नजरले दुःखी र सीमान्तकृतहरूकै गीत गाउँछन् । ‘राजमार्ग छेउ’ कविताबाट एक उदाहरण लिन सकिन्छ :

त्रिशूलीको बगरमा नानीहरू सुताएर
ढुङ्गासँगै मुटु टुक्र्याइरहेका
जलुकीमाया थामीहरूलाई
नदेखाउनू विश्वको मानचित्र
र, नसोध्नू महादेशका नामहरू
काँप्ने छ थर्रर पृथ्वी पनि
तिनीहरू रिसाए भने...। (१७)

एकातिर प्रलयलाई स्वागत गर्ने अति प्राकृतिक बिम्बको आराधना गर्ने खप्पिस शशि लुमुम्बू अर्काेतिर फूल र सीमान्त मान्छेहरूको गीत गाइरहेका पाइन्छन् । ‘दिलसराको चिहान’ कवितामा उनको परिवेशमाथिको चनाखो अवलोकन यसरी प्रस्तुत छ :

चट्याङ पर्छ– फूलकै शिरमाथि
बमगोला बर्सन्छ– फूलकै शिरमाथि
बन्दूक पड्किन्छ– फेरि फूलकै छातीमा
तर, किन बज्रँदैन चट्याङ
हाहाकारको टाउकोमा ?
किन बर्संदैन बमगोला
महामारीको छातीमा ?
किन पड्कँदैन बन्दुक
अभावको कालो कोखामा ? (७३)

लगभग पछिल्लो ३०० वर्षको नेपालको राजनीतिक इतिहासमा धोखा, षड्यन्त्र र बेइमानीका शृङ्खलाबद्ध घटनाहरू नियाल्दै कवि कष्टपूर्ण बाटोबाट नेपाली समाज हिँडेको तथ्यबोध गर्दै सम्भवतः धार्मिक विसङ्गतिहरू परास्त भएपछिको प्रेम र अध्यात्मको मिश्रणबाट बनेको समाज निर्माण हुनुपर्ने लालसा राख्छन् ।

यो आँकलन उनकै विभिन्न कवितामा छरिएका बिम्बबीजको विश्लेषणबाट गर्न सकिन्छ । तल उद्धृत तीन विभिन्न कविताका अंशहरू नियालेर हेरौँ :

कत्रो दुःखले खनेथ्यौँ बाटो
भोकभोकै तिमी/हामीले
साले, घोडाहरू पो दर्गुन रै’छ । (११, मायावी ढिस्कुनो)

म पहाड बूढो
टेकेर इन्द्रेनीको लौरो
हिँडिरहेछु काँडैकाँडाको यात्रा । (पहाड बूढो)

भिन्चीको मोनालिसा जस्तो
प्रेम र अध्यात्मले
धपधपी बलिरहेको
आहा ! कति सुन्दर
तिम्रो रूपको चित्रकला ! (६८, तिम्रो रूपको चित्रकला)

पाठक महोदय ! नवसमालोचना पाठशालाका एक समालोचक जोन क्रौ ¥यान्सोमले कविताभित्र संरचना र विन्यासको सुसम्बद्धता कायम हुने कुरो लेखेका छन् । यो सैद्धान्तिक कथनलाई केन्द्रमा राखेर शशि लुमुम्बूका कविताका बारेमा सोच्दा उनी संरचनामा जति सचेत छन्, त्यति नै सचेत कविताको अङ््ग विन्यासमा पनि भेटिन्छन् ।

वास्तवमा संरचना र विन्यासको सन्तुलनमा नै कविताको शक्ति निर्भर गर्छ । र्‍यान्सोमले घरको गारोलाई संरचना भनेका छन् भने बुट्टा काट्ने, रङरोगन गर्नेजस्ता विषयलाई विन्यास भनेका छन् ।

संरचना र विन्यासको बीचमा कसरी सुन्दर समायोजन कायम गर्न सकिन्छ भन्ने विषयमा लुमुम्बुकै कविताका यी हरफहरूलाई लिन सकिन्छ । धोखा प्रपञ्चपछिको विरक्तिमा मान्छेले के गर्छ भन्ने कुराको चित्रण यहाँ भेटिन्छ :

पहाडलाई साक्षी राखेर
नदीको कसम खाँदै
तिमीले जाहेर गरेका
अजम्बरी बाचाहरू
आकाशमा जून–तारा नअस्ताउँदै
उल्का जस्तै बिलाएर गए
त्यही अप्रिय साँझ
ढुङ्गामा बजारेर मैले
प्रीतको बाँसुरी फुटाएँ । (३२, दुर्घटनापछि)

यी यावत् कुराको विश्लेषणपछि के निष्कर्षमा पुग्न सकिन्छ भने कवि शशि लुमुम्बू जीवन र जगतका धोखा प्रपञ्चहरू अनुभूत गर्दै कतै आक्रोश त कतै शालीन प्रतिबद्धता बोकेर ग्राम्य जीवनका बिम्ब, प्रतीक र अलङ्कारको लोक अभिव्यक्तिमार्फत् मानव जीवन र मानव समाजको सौन्दर्य श्रीवृद्धि होस् भन्ने अभिलाषासहित कविता लेख्छन् ।

उनका निम्ति कविता कलात्मकताको सडक हुँदै मानव कल्याणको देउराली छुने एक उद्देश्यपूर्ण सौन्दर्यक्रिया हो । यसका निम्ति उनी प्राकृतिक र अति प्राकृतिक बिम्बको सहारा लिन्छन् ।

यहाँनिर गलतफहमी गर्न नहुने कुरो के हो भने कवि लुमुम्बूका निम्ति अति प्राकृतिक बिम्बको प्रयोग रहस्यात्मकता र पाठकलाई रनभुल्ल तुल्याउने उद्देश्यका निम्ति नभएर एक प्रकार्यात्मक उद्देश्यका निम्ति हो ।

प्रिय पाठक ! अर्थहरूका तह जतिसुकै भए पनि अहिलेका लागि भने निर्ममतापूर्वक यस लेखसमालोचकले यही सैद्धान्तिक एकाईको आडमा आफ्नो दाबीलाई यहाँसम्म तन्काएको हो ।

छुटेका कुरालाई उठाउने जिम्मेवारी भविष्यको हो । तपाईं पाठक पनि एउटा भविष्य हो ।

अर्थ महोत्सव जिन्दावाद !