भर्सटाइल पुरेत

भर्सटाइल पुरेत

रूपक अलङ्कार  |  साहित्य  |  पुष ११, २०७६

नजिकै भए पनि ठुलीआमाको घर नगएको धेरै भएको थियो । जहिले फोन गर्दा पनि ‘कहिल्यै नआउने भइस्’ भन्ने गर्नुहुन्थ्यो । मैले आउँछु भनेर टारेको पनि निकै पल्ट भएको थियो । जान मन नभएर टारेको होइन, जाने परिवेश नमिल्नाले टार्नुपर्ने बाध्यता बनेको थियो ।

भनेजस्तो दिन पर्नेवित्तिकै जुनसुकै बेला हिँडिहाल्ने मनस्थितिमा  थिएँ ।

सानो छँदा ठुलीआमाका घरमा बरोबर गइरहन्थेँ । त्यहाँ जानुको छुट्टै मजा हुन्थ्यो । ठुलीआमाका बारीमा केही न केही फलेकै हुन्थ्यो, केही न केही पाकेकै हुन्थ्यो । आरु पाके पनि  पुगिहाल्थेँ, अम्बा पाके पनि पुगिहाल्थेँ । हिउँदमा बदाम र उखु खान पनि पुग्थेँ, बर्खामा आँप खान पनि पुग्थेँ ।

काठमाडौंको लाहुरे भएपछि घरमै कम जान थालियो, ठुली आमाको घर कसरी पुग्नु ? अति नै करकापमा परेपछि यस पटक म ठुलीआमाको आँगनमा उभिएँ । मोटरसाइकल अड्याएर हेल्मेट खोलेपछि ठुलाबा मात्र होइन, ठुलीआमा पनि आश्चर्यमा पर्नुभयो ।

‘यत्रा दिन आ कि आ भनेर फोन गर्दा आएन, आज पत्तै नदिई आइपुग्यो लौ यो त !’, ठुलीआमाको खुसी छरियो ।

‘थाहै नदिई टुप्लुक्क आइपुग्ने यसको बानी अझै गएको रै’नछ नि !’, ठुलाबाले खुसी बटुल्नुभयो ।

‘यहाँ आउन मैले कसको आज्ञा लिनुपर्ने हो र खबर गरेर आउनू ?’ , मैले दुबै जनालाई नमस्कार गरेँ ।

हाम्रो घर डाँडावारि र ठुलीआमाको घर डाँडापारि, फरक यत्ति हो तर यो डाँडो निकै राम्रो छ । पहारिलो, रसिलो र मलिलो पनि । सागसब्जी र फलफूलका लागि सदा सहकाल । म ठुलीआमाको घरबारीमा त्यसैगरी चरेँ, जसरी सानामा चर्थें । आँपको रूखमा झटारो हानेँ, आरुको हाँगो तानेँ । रूखमा कटहर गन्ने प्रयास गरेँ । गाईको कान कन्याएँ । खसीको मुख समाएँ ।

‘ल ल छोरा, यो मेरो कपाल खौरिदे त !’, ठुलाबा टाउको भिजाएर आउनुभयो र मेरा अगाडि पिर्का ओछ्याएर टुक्रुक्क बस्नुभयो । मैले ल, नाइँ केही भन्नै भ्याइनँ ।

‘मेरो हात काम्छ तपाईंको टाउको तास्येला नि ठुलाबा !’

‘तँलाई टाउको तास भन्या हो र ? कपालचाहिँ खौरिदे न !’

‘यो गाउँमा आइपुग्ने मोटर बाटो त्यही एउटा मात्र हो कि अरू नि छन् ठुलीआमा ?’, मैले मिसिन चलाउँदै सोधेँ ।

‘तेरो कुरा बुझिसकेँ मैले, आजलाई त कुनै बाटो नि छैन ।’

‘त्यसो होइन, आज त फर्कनै पर्छ’, मेरो खासै काम नभए पनि त्यहाँ बस्ने योजना नभएकाले यसै भनेँ ।

ठुलीआमाले मेरो कुरा भुइँमा खस्न दिनुभएन, ‘तँलाई मोरा ! एक त दश वर्षमा आउने अनि आउन नपाई जान्छु भनेर तन्किने ? आजै जानेले किन आएको ? हामी बुढाबुढीलाई घर कुर्ने बानी परेकै थियो, कहिलेकाहीँ तिमेरू आएर हाम्रो मनलाई किन बराल्छौ हँ ?’

ठुलीआमाको वचन वाण भएर गाडियो मेरो मुटुमा । खासमा उहाँको गालीमा बुढेसकालको एकाकीपनले सिर्जना गरेको असन्तोष देखिन्थ्यो ।

‘भोलि शनिबार छ, आज बस्न त बस्’, ठुलाबाले पनि जोड गरेपछि मैले मोटरसाइकल पिँढीमा उकालेँ र हेल्मेट भित्र लगेर राखेँ ।

भुइँचालोले गाउँको नाकनक्सा पूरै बदलिदिएको छ । धुरी भएका, पाली भएका र बार्दली भएका घरहरू इतिहास भए । गाउँमा कि त फलामकै खाँबो–बलो हालिएका घर छन् कि ढलाने घर । ठुलाबाले पनि ढलान गरेर घर बनाउनुभएछ ।

भुइँचालो जानेवित्तिकै छोरो आएर काठमाडौं जान र उतै बस्न ढिपी गर्‍यो तर बुढाबुढी पालमुनि बसे, जस्ताको टहरामा बसे, गाउँ छाडेर जान तयार भएनन् । केही सीप नलागेपछि सरकारले दिएको राहत रकममा थपथाप गरेर यो घर बनाइयो । घरसँग जोडेर गोठ, बाख्राको खोर र दाउरा बालेर भात पकाउने भान्छा ठुलाबाले पछि थप्दै जानुभयो ।

जतिसुकै आधुनिक घर भए पनि, धुवाँ नगह्नाउने र ध्वाँसो नखस्ने कोठा भए पनि ओच्छ्यान फेरिएपछि निद्रा आओस् कसरी ? फेसबुक र पोटमा बाह्र बजेकाले उठ्दा घरमा सेलपुरीको गन्ध व्यापक भइसकेको थियो । ठुलीआमाले पनि के ज्यान लिएर आउनुभएको होला– यति चाँडै यत्रा काम !

बल्ल थाहा भयो, हिजो ठुलाबाले किन कपाल खौरिनुभयो भन्ने कुरा । घरमा अरू मान्छेको पनि उपस्थिति थियो । हुन सक्छ वल्लाघरे, पल्लाघरे होलान् । पहिले त यस गाउँका धेरै मान्छे चिन्थेँ । अब कसलाई चिन्नु ? को कता गए, को कता ।

उतिबेला भुरा हुँदाका अनुहार आँखामा छन् तर तिनै मान्छे अहिले भेटिए भने चिन्न सक्दिनँ । समयले पनि मानिसलाई पङ्गु बनाएर छाड्छ ।

दश बजेपछि ठुलाबाले पुरेतलाई फोन गर्न थाल्नुभयो । अहँ, पुरेतको फोन उठेन । जब यसरी बेलामा पुरेतको फोन उठ्दैन नि तब मलाई पेट पोल्न थालिहाल्छ । ‘घरमै यत्रो शास्तरी, आचार्ज पढेको मान्छे छ केको पीर ? पुरेत सिदा तान्ने बेलासम्म आइहाल्छन् नि, यसैले पढिहाल्छ नि पस्तोक’, यसो भन्नेहरू निस्किहाल्छन् ।

लाज, रिस, आवेग आदिले म मर्माहत हुन्छु र भाग्ने प्रयत्न गर्छु या पुरेत मुन्टिहाले नि हुन्थ्यो भन्ने कामना गर्छु । धन्न, त्यस्तो कन्तबिजोग भएन त्यस दिन ।

साढे दशपछि पुरेतले फोन उठाए । ठुलाबाको मोबाइलमा  पुरेतको स्वर गुन्जियो, ‘हजुर हजुर केदार सर, म आउनै लागेँ ।’

‘हैन तिमी कहाँ बेपत्ता भा’ छौ । तिथि घर्किन लागिसक्यो त !’

‘याँ जयराम्या खेत जोतिदिन ला’को । अब एउटा सानो सुर्काे मात्र बाँकी छ । सिदासिदा तयार पार्न लगाउनुस् न ।’

‘ल ल सब तयार छ, छिटो आऊ ।’

‘पुरेत हो कि हली हो ? कल्लाई बोलाको तपाईंले ?’, विस्मयपूर्वक सोधेँ ठुलाबालाई ।

‘जे भने पनि हुन्छ उल्लाई । यतिबेला खेत जोतिरा’छ । कुन बेला श्राद्ध गराउन आउने हो ?’

‘हलीलाई श्राद्ध गराउन लगाउने चलन चलिसक्यो यता ?’, म अझै अचम्ममा परेँ ।

‘खेतबारी खनजोत गर्ने ट्याक्टर बजारमा आउनेवित्तिकै उनैले किने । गाउँमा गोरुको हाहाकार भएको छ । सबैले उनैलाई खेत जोत्न भन्न थाले । अहिले त अरूले पनि ट्याक्टर किने तैपनि घन्टाको सात सय रुपैयाँ ज्यालामा खेत जोत्ने काम उनले गरिरहेकै छन्’, ठुलाबाले सम्पूर्ण कुरा खुलस्त पार्नुभयो ।

पुरेतको आगमन भयो । कट्टु र गन्जी अलङ्कृत पुरेत ।

‘हात–खुट्टा पनि धुन नपाई अएछौ विचरा ! ल म खुट्टा धोइदिन्छु’, ठुलाबाले ड्रममा घुसारिरहेको पाइप तानेर पुरेतको खुट्टामा पानीको पिच्कारी लगाउनुभयो । पुरेत रच्छ्यानमा उभिए । पानीले उनको घुँडासम्म पखाल्यो ।

पुरेतको खुट्टा धुने काम सकियो । पहिला पनि ठुलाबा पुरेतका खुट्टा टपरीमा राखेर धुनुहुन्थ्यो र सुरुपसुरुप पादोदक पिउनुहुन्थ्यो । त्यो दृश्य त्यतिबेलै हाम्रा लागि घृणित थियो । तर, अहिले पुरेतको पादप्रक्षालन पद्धति परिवर्तन भएछ, रमाइलो तरहले ।

फलैँचामा पुरेत बसे । भिजाएको कुश ठुलीआमाले ल्याएर दिनुभयो । उनी कुश चुँडेर मोटक बनाउन थाल्दा मात्र उनको आँखा मसित जुधे । उनी त किस्ने पो रहेछन् अर्थात् कृष्णप्रसाद सापकोटा ।

किस्ने ठुलीआमाका छोरा पुरुषोत्तम दाइको मिल्ने साथी थियो । त्यहाँ जाँदा आउँदा म पनि किस्नेको साथी भएको थिएँ । उपद्रो गर्नमा किस्नेलाई जित्ने मानिस आर्काे जन्मिएको थिएन । पौडी खेल्दा रहमा पहिला हाम्फाल्ने उही । रूखको टुप्पामा पहिला पुग्ने उही, चराको गुँड पहिला भेट्टाउने उही । बारुलाको गोलो पोल्ने उही । मैले थाहा पाएअनुसार एक पटक मात्र किस्नेले अप्ठ्यारासित हार्नुपर्‍यो ।

‘सर पनि सानामा कक्षामा थर्काएजस्तो थर्काउनुहुन्छ त ! धन्न, कान तान्न चैँ आउनुभा’छैन’, कृष्णप्रसादले हाँसेर पचाए ।

किस्ने बारीको पाखापट्टि कान्लातिर छेकिएर पिसाब गर्दै थियो । कान्लामा रहेछ बारुलाको गोलो । बारुलाले आफ्नो जिन्दगीमा सङ्कट आइलागेको महसुुस गरेर गोलो छोडेर आए पनि जहाँबाट धारा प्रवाहित भएको छ, त्यहीँ वरपर डस्न थाले ।
त्यसपछि किस्ने उफ्रिन थाल्यो । उड्दै गरेको बारुला देखेपछि थाहा भयो, किस्नेलाई बारुलाले टोक्यो । हल्ला भयो, पर घाँस काट्न लागेकाहरूले पनि थाहा पाए । किस्ने दुवै हात त्यहीँ जोतेर कुप्रेको छ । विमली आई हँसिया लिएर ।

‘खै खै हँस्या दल्यो भने बारुलाले टोकेको निको हुन्छ । काँ टोक्यो म हँस्या दल्दिन्छु’, विमली हँसिया उज्याई ।

किस्नेले ‘याँ टोकेको’ भनेर देखाउन सकेन तर उसको अवस्थाबाट विमलीले थाहा पाई, हँसिया दल्न सकिने र मिल्ने ठाउँमा टोकेको होइन रहेछ ।

‘ला, आफैँ दल्’, विमली हँसिया भुइँमा फालेर गई । किस्ने अप्ठ्यारामा परेको त्यही बेलामा हो ।

म आठ कक्षामा पढ्दै गर्दा उनीहरू क्यम्पस पढ्न आए । गाउँमा भेट हुन छोड्यो । म पनि क्याम्पस जाने भएपछि एक दिन किस्नेसित भेट भयो ।

मूल्यवृद्धिविरुद्धको आन्दोलन चलेको थियो प्रदर्शनीमार्गमा । थाल बजाउँदै नारा लगाउँदै गरिरहेको किस्नेलाई देखेर म आश्चर्यमा परेको थिएँ । मैले बोकेको चम्चा र कचौरा उसले समायो । उसको थाल मैले बजाउन थालेँ । पद्मोदय मोडमा पुग्दा पुलिसले लाठीचार्ज सुरु गर्‍यो । तितर बितर भएको भीडमा किस्ने हरायो । म टुकुचा तरकारी बजारतिर पसेँ ।

‘के हो गुरु, थाल बजाउन छाडेर शङ्खघण्ट बजाउन पो थालियो ?’, म अलिक बाङ्गो रूपमा प्रस्तुत भएँ ।

‘के गर्नु, थाल बजाएर जिन्दगी चल्ला जस्तो लागेन । म त लागेँ बाउकै कम्पनीतिर ।’

किस्ने अब पुरेत कृष्णप्रसाद भएछ । जे होस्, बाउको कम्पनीको उत्तराधिकार बोकेर रोजगारीको टन्टाबाट मुक्त भएछ ।

कृष्णप्रसादले तर्पण सुरु गराए, किताब नहेरेरै । अचम्म छ, आफू आचार्य पास हुँदा पनि हँहँ गर्नुपर्छ मन्त्र फुटाउन । कृष्णप्रसादलाई जे पनि मुखाग्र छ ।

‘अलिक नहडबडाई भन’, ठुलाबाले सचेत गराउनुभयो ।

‘सर पनि सानामा कक्षामा थर्काएजस्तो थर्काउनुहुन्छ त ! धन्न, कान तान्न चैँ आउनुभा’छैन’, कृष्णप्रसादले हाँसेर पचाए ।

ठुलाबा गाउँको प्राथमिक विद्यालयमा शिक्षक हुनुहुन्थ्यो । त्यतिबेला कान निमोठी निमोठी पढाए तापनि यतिबेला कृष्णप्रसाद गुरु भएको छ ठुलाबाका लागि ।

मुखमा कोचेको सुर्तीको लुँठो चोरी औँलाको अङ्कुसेले सोहोरेर फालेपछि कृष्णप्रसादले चियाको गिलास समाए र खीर, पुरी र अचारको थाल आफूतिर सारे । ठुलाबा पिण्ड बाट्न थाल्नुभयो ।

‘अरू के छ त कृष्णप्रसाद दाइ ? आन्दोलनमा थाल, कचौरा साटेदेखि भेट भएको छैन’, मैले कुरा सुरु गरेँ ।

‘के भन्ने भाइ, छैन भनूँ सबथोक छ, छ भनूँ के छ के छ । थाल–कचौरा बजाउँदा त म ताहाचल क्याम्पसमा पढ्थेँ नि ब्याचलर अङ्ग्रेजी विषय लिएर । अखिलको क्याम्पस कमिटीको सदस्य पनि थिएँ । राजनीतिमा गति बढ्ने देखिनँ । ब्याचलर पास गर्न पनि सकिनँ अनि गाउँमा आएर शङ्ख बजाउन थालेँ ।’

‘म याँ केदार सरकाँ सराद्धे गराउँदै छु । झोलासोला छैन, कसरी आउने भन्नेवित्तिकै ? बेलुकासम्म आउँला । तात्तातैमा बिउ हाल्नुहुन्न, फेरि उल्टिन्छ’, कृष्णप्रसादले आफ्नो डाक्टरगिरी देखाए ।

‘राम्रै कुरा हो नि दाइ, आफू पनि तर्ने, अरूलाई पनि तार्ने योभन्दा उत्तम उपाय के छ र ?’, मैले ढाडस दिनुपर्छ भन्ने ठानेँ । कृष्णप्रसादको मोबाइल बज्यो । फोन गर्नेले समस्या सुनायो, ‘खसी मर्‍यो के गर्ने ?’

‘मरेको खसी के गर्नु ? खाल्टो खनेर पुर्ने’, मुखमै पुग्न आँटेको चम्चा थालमै राखेर कृष्णप्रसादले भने ।

‘गाडिसक्या’ रे ? बीमा गर्‍या छ हैन ? फोटो खिच्या छ कि छैन ?’

‘छैन’ भन्यो उताबाट ।

‘मर्‍यो भन्दैमा बीमाले पैसा दिन्छ त ? काटेर खाइस् भन्दैन ?’

‘अब के गर्नु त गुरु ?’, उताको मान्छे गल्यो ।

‘क्यामरा छ ?’, कृष्णप्रसादले स्वर बढाए ।

‘छैन ।’

‘मोबैलमा छैन क्यामरा ? त्यो गाडेको खसी खोस्रेर निकाल्नुस् र फोटो खिच्नुस् अनि त्यो कानको टप र नम्बर आउनेगरी खिच्नू नि ! फोटो नभई बीमाको पैसा पाइन्न । जोगाएर राख्नुस् ।’

‘मर्नीवित्तिकै किन गाडिहाल्नु पर्‍या’ होला । अब निकाल्छ अनि पुर्छ’, एकछिन फतफताएपछि कृष्णप्रसाद चुप लागे ।

‘च्या सक्केको भए सुरु गर्नुपर्‍यो’, ठुलाबा कराउनुभयो ।

‘ल तपार्ईं मोटक समाउनुस् न म यहीँबाट भन्दिहाल्छु नि ! अद्येह... अस्मत् पितु... तस्मै स्वधा, यो त अति भो हगि ?’, कृष्णप्रसादलाई आफ्नै पारा देखेर आफँैलाई लाज लागेछ क्यारे, आसनमा गएर बसे ।

‘हाम्रा पुरेत साह्रै बिजी, आज शानिबार भएर मात्र हो नत्र सराद्धे सक्न नि मुस्किल हुन्छ’, ठुलीआमाले पुरेतको कुरा निकाल्नुभयो ।

‘अरू दिन यिनी के गर्छन् र ?’

‘स्कुल पनि पढाउँछन् ।’

‘अझ स्कुल पनि पढाउँछन् ?’

‘प्राथमिक शिक्षकमा नाम निकालेँ नि मैले । थायी भएको दुई वर्ष भयो’, श्राद्ध बोल्दाबोल्दै यति भन्न भ्याइहाले कृष्णप्रसादले ।

‘अनि अघिको त्यो खसीको चक्करचाहिँ के हो नि दाजु ?’, श्राद्ध सकिएर ठुलाबा पिण्ड सेलाउन खोल्सातिर जानासाथ मैले आफ्नो खसखस उतारेँ ।

‘तीन महिने भेटनरी तालिम लिएको थिएँ, केही सीप नलागे त्यो पनि गर्नुपर्ला भनेर । त्यही तालिमले गाउँमा गाईवस्तुको डाक्टर बनाइदियो मलाई । के गर्ने बोलाएपछि जानै पर्‍यो ।’

कृष्णप्रसादको फोन फेरि बज्यो । फोन गर्नेले गाईले, ‘किलो उखेल्न आँट्यो गुरु, छिटो आइदिनुपर्‍यो’ भन्यो ।

‘म याँ केदार सरकाँ सराद्धे गराउँदै छु । झोलासोला छैन, कसरी आउने भन्नेवित्तिकै ? बेलुकासम्म आउँला । तात्तातैमा बिउ हाल्नुहुन्न, फेरि उल्टिन्छ’, कृष्णप्रसादले आफ्नो डाक्टरगिरी देखाए ।

‘वरिपरि जानै हुन्न, आफैँमाथि चढ्न आउँछ’, उसले अझै बेथा पोख्यो ।

‘त्यसो भए वरिपरि नजानू फेरि ढाड सोझ्याइदेला । म आउँछु ।’

‘गाईलाई ए आई गर्नुपर्ने रे !’, फोन राखेपछि कृष्णप्रसादले कुरो प्रस्ट गराए ।

‘ए तपाईं बहर पनि हो यो गाउँको ?’, म हाँसेँ ।

‘म बहर मात्र होइन, बोको र राँगो पनि हो । धन्न, गाउँलेले घोडा, बङ्गुर पालेका छैनन् नत्र मेरो के हाल हुँदो हो भन त !’, उनी पनि हाँसे ।

कृष्णप्रसादले श्रीमतीलाई फोन गरेर झोला ल्याउन लगाए । भात खाइसक्दा नसक्दै औषधि, भिटामिन, सुई आदिले भरिएको  उनको डाक्टरी झोला आइपुग्यो । उनले मुख पनि राम्रोसित नचुठी झोला काँधमा भिरे ।

‘जान पनि गारो छ बज्याका घराँ, मोटसाइकल जाँदैन एक घण्टा नि बढी लाग्छ’, उनी मुर्मुरिए एकपल्ट ।

कृष्णप्रसादले मेरो नम्बर मागेर मलाई नै मिसकल हाने र भने, ‘ल अब भेटघाट गर्नुपर्छ है !’

ठुलाबाले दक्षिणा टक्र्याउँदै भन्नुभयो, ‘सुन त किस्न, घरमा दुइटा बोका छन्, खसी पार्न कहिले आउँछौ ? भोलिपर्सितिर निस्क न है !’

‘साँचो त झोलामै छ, अहिल्यै च्यापिदिऊँ भने दक्षिणामै ज्याला कटाउने होला’, कृष्णप्रसादको कुराले घरभरि हाँसो गुन्जियो । उनी भने करेसापट्टिको बाटामा अलप भए ।