पढ्नुको उपयोगिता के ?

पढ्नुको उपयोगिता के  ?

ज्ञानमित्र  |  दृष्टिकोण  |  पुष १३, २०७६

स्मृतिको सागरमा डुबुल्की मार्दा सम्झिन्छु, मैले ‘कोर्स’बाहिरको पहिलो किताब ‘राजा बाबू’ पढेको थिएँ । उपन्यासकार मनोजको सामाजिक कृति थियो त्यो । त्यसपछि ‘कोर्स’ कम, यस्तैयस्तै पढ्नमा रुचि अभिवृद्धि हुँदै गयो । येनकेन प्रकारेण ५० प्रतिशत अंक ल्याएर उत्तीर्ण हुन्थेँ ।

त्यसपछि त रानू, राजहंस हुँदै कर्नल रंजित, जेम्स हेडली चेइज, सुरेन्द्रमोहन पाठक, वेदप्रकाश शर्मासम्मलाई भ्याइयो । वेदप्रकाशको ‘सभी दीवाने दौलत के’, ‘कैदी नम्बर सय’ त्यसबेला अहिलेको भाषाका ‘बेष्ट सेलर’ थिए ।

अलिक बुद्धि आएर हो कि रुचि फेरियो । अमृता प्रीतम, रवीन्द्रनाथ टैगोर, बंकिम, शरद, मन्टो, कमलेश्वर, राहुल सांकृत्यायन, प्रसाद, पन्त, निराला, महादेवी बर्मा, चतुरसेन, देवकीनन्दन खत्री, रंधेय राधव, प्रेमचन्द, गुरुदत्त, रेणु नरेन्द्र कोहली आदि भारतीय लेखकका अधिकांश किताब पढियो ।

व्यंग्यमा वेढव बनारसीको ‘लफ्टन्ट पिंगसन की डायरी’ भन्ने पुस्तकको ‘फ्यान’ नै भइयो । ‘गोरा’, ‘शेषेरे कविता’ रवीन्द्रका ‘मास्टर पिस’ नै हुन् । ‘भोल्गा से गंगा तक’ नपढेका साहित्यप्रेमीले ‘कफी’ पिए पनि ‘क्यापुचिनो’को स्वाद नपाएजस्तै हो ।

कवितातिर पनि झुकाव भयो । कुनकुन कविलाई पढेँ भन्दा पनि को कवि छुट्यो भनेर ‘गुगल’मा सर्च गर्नु सजिलो होला । धुमिल, बच्चन, कबीर, रहीम, मीरा, सूरदास, रसखान, बिहारी, भारतेन्दु हरिश्चन्द्र, अटल बिहारी बाजपेयी, नीरज, गुलजार, जायसी, काका हाथरसी, फैज, दुष्यन्त, साहिर लुधियानवी, केदारनाथ सिंह, नागार्जुन, दिनकर, सुभद्रा कुमारी चौहान आदि आदि सबैको नाम लेख्ने हो भने यहाँ अट्दैन ।

रुचि कहाँ रोकियो र ?  धर्म दर्शनमा आयो । धम्मपद रामायण, गीता, उपनिषद्, नीति, पुराणदेखि विभिन्न धार्मिक व्यक्तित्वको वरिपरि घुम्न थाल्यो । उमेरका विभिन्न पडावमा कहिले गोरेको प्रभाव पर्‍यो त कहिले कालेको, तर म यात्री थिएँ शीघ्र नै मुक्त भई यात्रामै रमी रहे । कुनै एक व्यक्तिलाई सबैभन्दा बढी पढेँ भने ती हुन् रजनीश  । उनको ‘करिश्मा’बाट मुक्त हुन भने तीन दशक नै लाग्यो ।

सन् १९८५ मा नेपाल आएपछि हिन्दी साहित्य अध्ययनमा रोक लाग्यो । धर्मयुग, साप्ताहिक हिन्दुस्तान, दिनमान, सरिता, कादम्बरी जस्ता पत्रिका मात्र उपलब्ध थिए, २०४१ सालताकाको मेरो विराटनगर बसाइमा ।

पढ्नुहोस्, पढनु व्यर्थ हो भन्ने बोध नभएसम्म पढ्नुहोस् । मेरो अनुभवमा समस्त वाक, भाषा, शब्द र ज्ञानको उपादेयता नै यति मात्र हो, तपाईंलाई बोध होस्, यो सब व्यर्थ हो ।

दुर्गा सुवेदीले केही पुस्तक पढ्न दिनुहुन्थ्यो । हातमा अलिक पैसा आउन थालेपछि रादुगा प्रकाशनले नेपाल पठाएका रसियन लेखक खुबै पढियो । टाेलस्टाय, गोर्की, दोस्तोवयस्की अनि केही कज्जाक लेखकहरूका तमाम ठेली भ्याइयो ।

नेपाली लेखकमध्ये पहिला पढेको देवकोटा हुन् । ‘मुना मदन’ नै हो । ‘तरुण–तपसी’ पनि पहिलो दशभित्र नै पर्छ होला । धरणीधर, बीपी, तारानाथ, माधव घिमिरे, दौलतविक्रम, लोकेन्द्रबहादुर, गुरुप्रसाद मैनाली, मोतीराम, पारिजात, ध्रुवचन्द्र गौतम, भूपी, मोहन कोइरालाहरूलाई पढियो ।

स्वयं लेखन र पत्रकारितामा जोडिएपछि धेरै कवि र साहित्यकारसँग परिचय भयो । यो लेख्दा कताकता गौरव अनुभूति भइरहेको छ । घुस्वाँ सायमी, डी.पी. भण्डारी, जनकप्रसाद हुमागाईं, मनुजबाबु मिश्र, सरुभक्त, नारायण ढकाल, क्षेत्रप्रताप अधिकारी, गोविन्द भट्ट, मन्जुल, दाहाल यज्ञनिधि जस्ता दिग्गज नेपाली हस्ताक्षरले सधैँ मप्रति मित्रवत् स्नेह राख्नुभयो ।

मेरा आफ्नै पुस्ताका प्रकाश सायमी, शशि लुमुम्बू, अभय श्रेष्ठ, पदम गौतम, श्रवण मुकारुङ, नारायण वाग्ले, बुद्धिसागर, रोशन शेरचन, रासा, आरआर चौलागाईं, प्रोल्लास सिन्धुलीय आदिका पुस्तक खोजेर पढे हुन्छ नयाँ पुस्ताले ।

सन् २००३ मा पत्रकारितालगायत सबै कर्मबाट बिदा लिएपछि मात्र दर्शनसम्बन्धी किताब पढेँ । रमण, योगानन्द, युजी, जे. कृष्णमूर्ति, अरविन्दो, स्वामी रामलगायत भारत र नेपालका अनेकन गुरुहरूका पुस्तक पढेँ । अहिले ‘क्वाण्टम फिजिक्स’, स्टेफिन हाकिन्स, अरविन्द गोस्वामी, फ्रित्जाक काप्रा, विजय ठाकुराय, कार्ल सगन, स्ट्रिङ्ग थ्योरी, प्रो. नर्लिकर, एण्टेलगमेन्ट थ्योरी, क्वार्क थ्योरी, थ्योरी अफ एभ्रीथिङ लगायतका विज्ञान विषयक लेख र लेखकहरू पढ्छु ।

एउटा प्रश्न थियो मसँग, ‘म किन पढछु ?’ उमेर र समयअनुसार यस प्रश्नका अनेकन जवाफ आफैँले आफूलाई दिएँ तर अब मैले अन्तिम जवाफ पाइसकेको छु ।

तपाईंले नेपालमा ‘फेसन’झैँ प्रकाशन भइरहेका विभिन्न महानुभावका आत्मकथा पढेर आफूलाई पढन्ते नठान्नुहोस् । यी आत्मै नभएका मानिसको कथा पढेर न तपाईंलाई मनोरन्जन हुन्छ, न त ज्ञानवृद्धि नै । यो समय र पैसा दुवैको सत्यानाश मात्र हो ।

पढनुहोस्, पढाइको अर्थ ज्ञान आर्जन पनि हो, मनोरन्जन पनि हो, मनोभन्जन पनि हो । सूचना संग्रह पनि हो, भाव उद्वीपन पनि हो । आफूलाई सुधार्ने आशामा नपढ्नुहोस्, बिग्रिने निराशामा पढ्न नछाड्नुहोस् ।

तपाईंलाई तपाईं आफैँले नचाहेसम्म भन्नेहरूले शब्दलाई ब्रह्म भने पनि, त्यो ब्रह्मले केही लछार्दैन किनकि यो ब्रह्म नपुंसक हो ।

पढ्नुहोस्, पढनु व्यर्थ हो भन्ने बोध नभएसम्म पढ्नुहोस् । मेरो अनुभवमा समस्त वाक, भाषा, शब्द र ज्ञानको उपादेयता नै यति मात्र हो, तपाईंलाई बोध होस्, कि यो सब व्यर्थ हो ।