हाम्रो विश्वविद्यालय र आगोको कथा

हाम्रो विश्वविद्यालय र आगोको कथा

तीर्थ प्रसाईं  |  दृष्टिकोण  |  पुष १४, २०७६

आज आगोको कथा नलेखी भएन ।

आगोको कथा मलाई मात्र जाडो भएर लेख्न लागेको होइन, माथेमा सरलाई जाडो हुनु आगोको कथा लेख्नुको एउटा कारण हो । माथेमा सरको जाडो देशको पनि जाडो हो भन्ने देखिएकाले पनि आगोको कथा लेख्नुपरेको हो ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाद्वारा पुस ८ गते मंगलबार मार्टिन चौतारीमा आयोजित ‘अकुपाई टुँडिखेलः वैचारिक मन्थन’मा व्यक्त विचारको एक अंश यस्तो रहेको छ ।

‘जागिर खाने ध्येय हो भने बीए मात्र पढे पुग्छ । विश्वविद्यालयमा मास्टर्स पढ्न त पेटमा आगो लिएर आउनुपर्छ । आफूले मास्टर्स गर्न रोजेको विषयमा थोरै भए पनि भिन्नता ल्याउने गरी हलचल मच्चाउने आगो । त्यो क्षेत्रमा अलिकति पनि तलमाथि भए जुरुक्क उठेर आवाज उठाउने आगो । खोइ त्यस्तो आगो हाम्रो विश्वविद्यालयका प्राध्यापकहरूमा ? खोइ त्यस्तो आगो हाम्रो विश्वविद्यालयका विद्यार्थीहरूमा ? पेटमा आगो नै नभएपछि किन आउनु विश्वविद्यालय ? किन पढ्नु ? केका लागि पढाउनु ?’

माथेमा सरको विश्वविद्यालयप्रतिको असन्तुष्टि यतिमा मात्र सकिएको छैन ।

उहाँले उदाहरण पेस गर्दै थप असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

‘वातावरण विनाशको मुद्दा यति ठूलो रूपमा उठेको छ । रिङरोड छेउछाउका रूखहरू काटेको विषयमा नागरिकहरू बोलेका बोल्यै छन् । प्रदूषणलाई लिएर यत्रो सार्वजनिक चासो छ । हाम्रो विश्वविद्यालय र वातावरणका प्राध्यापकहरूचाहिँ मौन छन् । मानौँ, काठमाडौंमा वातावरणको समस्या नै छैन, रिङरोड छेउछाउका वर्षौं पुराना रूखहरू धमाधम काटिनुले यहाँको वातावरणमा कुनै अर्थ नै राख्दैन ।’

उहाँले थप्नुभयो, ‘हाम्रो विश्वविद्यालय जिउँदो हुन्थ्यो भने तुरुन्तै अनुसन्धान सुरु गथ्र्यो । सम्पदाको विषयमा नागरिक स्तरबाट उठेको आवाजलाई प्राज्ञिक बहसमा ल्याउँथ्यो । ऐतिहासिक अनुसन्धान गरेर त्यसलाई सप्रमाण अघि साथ्र्यो । वातावरणका सम्बन्धमा पनि गहन अनुसन्धान गरेर प्रतिवेदन निकाल्थ्यो, जनतालाई सूचित गथ्र्यो, सरकारलाई घच्घच्याउँथ्यो । यहाँ त कोही पनि बोल्दैनन् ।’

जिउँदो विश्वविद्यालयले जनताको आवाजलाई बहसमा ल्याएर अनुसन्धान गर्ने, त्यसको नतिजा जनतालाई सूचित गर्ने र सरकारलाई घच्घच्याउने कार्य गर्छ तर यहाँ त कोही बोल्दैनन्, सबै अध्येताहरूमा जनताको आवाज र अध्ययन, अनुसन्धानप्रति हदैसम्मको बेवास्ता छ, त्यसलाई सामान्य मान्न सकिन्नँ । माथेमा सरको असन्तुष्टि यतिमा मात्र सकिन्नँ, उहाँ उदाहरण थप गर्दै जानुहुन्छ :

‘आठ लेन रिङरोडको उदाहरण लिऔँ । त्यसको डिजाइन त्रुटिपूर्ण छ भनेर त्यत्रो आवाज उठ्यो । मिडियामा आयो । नागरिक स्तरमा बहस भयो तर इन्जिनियरिङ अध्ययन संस्थान केही बोलेन । त्यहाँका प्राध्यापकहरूको चुइँक्क शब्द सुनिएन । त्यही अवस्था सार्वजनिक खुला स्थलको बहसमा छ । खुला स्थल भनेको शहरी योजनाको अभिन्न अंग हो । खुला स्थलविना कुनै पनि शहरको हामी परिकल्पनासम्म गर्न सक्दैनौँ । आजभन्दा चार–पाँच सय वर्षअघि मल्लकालमा त खुला स्थलबारे सोचिन्थ्यो भने आज आधुनिक युगमा शहर निर्माण गर्दा वा विकास गर्दा त्यसलाई उपेक्षा गर्ने कुरै आउँदैन । यति महत्त्वपूर्ण विषयमा खोइ त हाम्रो इन्जिनियरिङ अध्ययन संस्थान बोलेको ? के यो उनीहरूको सरोकारको विषय होइन ?’

माथेमा सरको चिन्ता एउटा विषय वा संकायसँग मात्र छैन भन्ने प्रष्ट छ । उहाँ विकास निर्माणका कुरामा इन्जिनियरिङ अध्ययन संस्थानका प्राज्ञ, अनुसन्धाता बोल्नुपर्छ भन्नुहुन्छ, तिनले अनुसन्धान गरेर कुनै पनि निर्माणका कुराका फाइदा, बेफाइदा जनतामा ल्याउनुपर्छ भन्नुहुन्छ, राजनीतिक समस्यामा राजनीतिशास्त्र, कानुनी समस्यामा कानुन संकाय गर्दै समस्याअनुसार ती विषयका प्राज्ञ, अनुसन्धाताहरूले अनुसन्धान गर्नुपर्ने, जनतामा सूचित गर्नुपर्ने र बोल्नुपर्नेमा उहाँको जोड छ । उहाँ समग्र प्राज्ञिक संस्थाहरूको औचित्यमा नै प्रश्न गर्नुहुन्छ ।

‘सार्वजनिक सरोकारका यस्ता विषयमा मुख नखोल्ने, सुनेको नसुन्यै गर्ने कस्तो खालका प्राज्ञिक संस्थाहरू विकास गरिरहेका छौँ हामी ?’

समाजलाई चाहिएका बेला बोल्न नसक्ने र समाजको उपयोगमै नआउने यस्ता लाचार संस्थाहरू हामीलाई किन चाहियो ? भन्ने उहाँको प्रश्न छ ।

‘मलाई यस्तो लाग्छ, हाम्रो कीर्तिपुर विश्वविद्यालय अब प्राज्ञिक संस्था रहेन, चिहान भइसक्यो । त्यहाँ सबै मृत छन् । कसैको पेटमा आगो छैन । न प्राध्यापकमा आगो छ, न त विद्यार्थीमा । जबजब म भर्भराउँदो हुनुपर्ने विश्वविद्यालयलाई मृत देख्छु, मलाई भित्रैदेखि रिस उठ्छ । छाती भतभती पोल्छ । म दाह्रा किट्छु ।’

हाम्रा प्राज्ञिक निकायमा आगो नभएको, दृढ इच्छाशक्ति नभएको, आफ्नो पेसाप्रतिको धर्म नभएको माथेमा सरको चिन्ता छ । मुलुकमा जाडो बढेकामा दुई मत छैन । बत्ती लिएर अघि लाग्नुपर्ने व्यक्तिहरू स्वयं नै आफ्ना नितान्त निजी फाइदा, स्वार्थ र दाउपेचको अन्धकारमा अल्झिएर बाटो हराएकामा दुई मत छैन ।

विश्वविद्यालय मृत भएको कुरा आमजनताले भोगेको तीतो यथार्थ हो । मृत शरीर चिसो हुन्छ, त्यहाँ जीवन हुन्न । त्यो सडिन्छ तर औँसाहरूका लागि सडिएको शरीर स्वर्गतुल्य हुन्छ । माथेमा सरको भनाइ त्यस अर्थमा सही छ ।

यो सांकेतिक आत्महत्याले मलाई झस्कायो तर त्रिविका शिक्षकहरू त्यो देखेर हाँसिरहेका थिए । त्यो कुनै बौलाहाको काम हो भनिरहेका थिए । कसैले पनि हामीमा भएका सही त्रुटि औँल्याएको छ, हामीले हामीमा सुधार ल्याउनुपर्छ भनेर सोचेको, मनन् गरेको मैले देखिनँ ।

माथेमा सर, हुनत आफैँ नै त्रिविको पूर्वउपकुलपति हुनुहुन्छ । उहाँले विश्वविद्यालयमा आगो र जीवन कायम राख्न कस्तो जग बसाउनुभयो भन्ने त्यति थाहा छैन । विश्वविद्यालय महाकवि देवकोटाको पेटमा भएको आगोले गर्दा जन्मिएको हो र त्यसपछिका पदाधिकारीहरूले यहाँ त्यो आगो अँगेनोमा भर्भराउँदो राख्न राम्रोसँग दाउरा नथपेको कुरो बारबार आउने गर्छ ।

हुँदाहुँदा केही समयअघि त्रिवि पदाधिकारीहरूले त्रिविको जमिन नै यसो मिलाएर आफ्नो नाममा सारेका कुराहरू पनि आएका थिए । यहाँ आगो त ठीकै देखिन्छ, मात्र त्यो आगोले कता जलाउन लागेको छ भन्ने प्रमुख कुरा भयो माथेमा सर !

देशलाई मार्गदर्शन गर्ने बत्ती बाल्नभन्दा त्यो आगो आफ्नो निजी फाइदाका लागि देश लुट्नतिर लागेको छ, यहाँ हरेक आगो यस्तै छ ।

आगोको कथा

ग्रीक मिथकमा एउटा किस्सा छ, प्रमिथियसको किस्सा । प्रमिथियस एउटा ओलिम्पिया हिमालमा बस्ने ग्रीक गड हो, ओलिम्पिया हिमाल हाम्रो पूर्वीय संस्कृतिको कैलाश पर्वत जस्तै हो, त्यहाँ ग्रीक भगवानहरू (मान्छेभन्दा उच्च वर्गका र जन्मेपछि मरण हुनु नपर्ने) बस्छन् भन्ने उनीहरूको मिथककीय मान्यता छ ।

प्रमिथियसअघि मान्छेहरूको समाजमा आगो थिएन । उनीहरू खाना पकाउन सक्दैनथे र काँचै खानुपर्ने अवस्थामा थिए । त्यसबेला प्रमिथियसले स्वर्गबाट आगो चोरेर ल्याएर मानव समाजलाई दियो, जुन सभ्य मानव समाजको विकासका लागि एउटा कोशेढुंगा सावित भयो ।

मिथकका अनुसार प्रमिथियसले सजाय पनि राम्रै पायो । आगो चोरेको सजाय स्वरूप स्वर्गका राजा जियसले उसलाई बाँधेर राखे र हरेक दिन आएर उसको कलेजो खाइदिन लागे । जियसले खाइदिएको प्रमिथियसको कलेजो फेरि रातभरमा बढेर पहिलाकै स्वरूपमा आउने गथ्र्यो, जियस आएर फेरि अर्को दिन उसको कलेजो खाइदिन्थे ।

यो क्रम हेराकल्स भन्ने अर्को पात्र आएर प्रमिथियसलाई मुक्त नगरेसम्म कायम रह्यो । तर, प्रमिथियस मानव समाजका लागि भने अत्यन्त आराध्य बने । आगो चोर्ने कहाँबाट हो, प्रमिथियसहरूलाई थाहा हुन्छ, त्यसको लगानी कहाँ र कसरी गर्ने, त्यो आगोको लगानी गरेर कुन किसिमको सम्मान आर्जन गर्ने भन्ने कुरा प्रमिथियसहरूलाई थाहा हुन्छ ।

हो, म पनि मान्छु, विश्वविद्यालयका हरेक प्रा.डा., उपप्राध्यापकहरू र अध्येताहरू प्रमिथियस हुन्, उनीहरू पनि प्रमिथियस जस्तै आगो चोर्छन् तर त्यो आगो गलत ठाउँबाट चोरिन्छ, त्यसको गलत ठाउँमा लगानी हुन्छ ।

माथेमा सर, म मेरै अनुभवबाट भन्न सक्छु– त्रिविमा मास्टर्स गर्न आउने युवामा केही आगो त पक्कै हुन्छ तर के गर्नुहुन्छ त्यो बेला ? जब विद्यार्थीले आफ्ना अनुसन्धानमूलक आर्टिकल छाप्न रुँदै कुद्नुपर्छ, तिनको आगोको उपयोग हुन्न तर तिनका थेसिस, अनुसन्धानबाट आइडिया निकालेर सार संग्रह गर्दै आधुनिक प्रमिथियसहरू पुस्तक निकाल्छन् ।

अनि ती पुस्तकहरू कुनै विदेशी डोनरलाई देखाएर विदेश घुम्छन् । यहाँ आगो झिल्काझिल्काको रूपमा चोरिन्छ, कुन विभागमा कसरी चोरिन्छ र त्यसको लगानी कहाँ गरिन्छ भन्ने कुराको अलिकति फेहरिस्त मसँग र अनेकन आगो भएका विद्यार्थीहरूसँग छन् । कुनै दिन सरलाई कहाँ गडबड भएछ भनेर सोध्न मन लागे खोलौँला ।

हरेक युवासँग आगो हुन्छ तर त्यो आगोले काम गर्दैन अनि त्यसले अर्को तिर जलाउन थाल्छ । मेरो विश्वविद्यालयको साक्षात्कारका बारेमा सरलाई एउटा छोटो कथा सुनाउँछु ।

म एमए पढ्न राजधानी आएँ । यो २०६३ सालको जनआन्दोलनपछिको कुरो हो । सिक्ने, जान्ने र देश, समाजका लागि केही गर्नुपर्छ भन्ने अलिकति आगो बोकेको युवामा म पनि हुँ । म मानविकी संकायमा एमए अंग्रेजीमा भर्ना भएँ । म नयाँ नै थिएँ । त्यो बेला एक दिन अनौठो घटना देखेँ– कुनै एक विद्यार्थीले अंग्रेजी केन्द्रीय विभागअघि एउटा हातले लेखेको पत्र टाँसेको थियो, जसमा उसको आगो प्रष्ट देखिन्थ्यो ।

उक्त विज्ञप्ति जस्तो पत्रमा उसका त्रिविप्रतिका अपेक्षा तथा निराशाका फेहरिस्त कोरिएका थिए । त्यो एउटा आगो बोकेको बेनाम विद्यार्थीमा त्रिवि आएपछि देशको उच्चतम तहका विद्वतवर्गसँग भेट होला भन्ने अपेक्षा रहेछ । त्यहाँ त पास हुन किताब घोकेरै पढ्ने होइन होला, कुनै नवीन खोज गर्न सिकाइने होला, शिक्षकहरू विद्यार्थीहरूसँग र तिनको वैचारिक आगोमा काम गर्ने होलान् भन्ने अपेक्षा रहेछ ।

तर, त्यो नपाएकाले म बर्बाद हुँदै छु भनेर उसले त्यहाँ लेखेको थियो । उसको समाधान विक्षिप्त थियो । आगोको म्यानेजमेन्ट सही तरिकाले नभए के हुनेरहेछ भन्ने म देखिरहेको थिएँ । त्यहाँ डिप्रेसन थियो, लागुऔषध थियो, आत्महत्या थियो ।

यो सांकेतिक आत्महत्याले मलाई झस्कायो तर त्रिविका शिक्षकहरू त्यो देखेर हाँसिरहेका थिए । त्यो कुनै बौलाहाको काम हो भनिरहेका थिए । कसैले पनि हामीमा भएका सही त्रुटि औँल्याएको छ, हामीले हामीमा सुधार ल्याउनुपर्छ भनेर सोचेको, मनन् गरेको मैले देखिनँ ।

मलाई गजब के लागेको छ भने आज त्यो बौलाहा विद्यार्थीको भाषा माथेमा सरले बोल्दै हुनुहुन्छ, यसको अर्थ के हुन्छ ?

युवामा अलिकति आगो त रहेछ माथेमा सर ! तर, त्यसको व्यवस्थापन मिलेन, अँगेनोले आगोलाई जोगाएर राख्न सकेन । त्रिविमा जागिर खाँदासम्म सरले पनि त्यो सोच्नुभएन होला, जागिरबाट फुत्केपछि बल्ल बेथिति कता रहेछ र के गर्नुपर्ने भन्ने बोध भयो होला । नेपालमा प्रायः यस्तै हुन्छ माथेमा सर !

म पनि सर जस्तै बुढेसकाल कुरिरहेको छु ताकि अरूमा समस्या देखेर उपदेश दिन पाइयोस् !