चित्रकुमार सुवेदी | साहित्य | पुष १९, २०७६
शहीदकी आमाको
सानो घर चर्किएको
ढल्न लागेको
जाडो महिना
खोइ सारी
खोइ चोलो फेरिरहन–
जसरी फेरिरहन्छन् अरू
दिनका दिन
नयाँनयाँ कपडाहरू ।
चार भाइ छोरा
औषधि नपाएर
उपचार नपाएर
दुई जना मरेर
एउटा जीवित छ
जो आफ्नो खुट्टामा आफैँ उभिन सक्दैन
हिँड्ने कल्पनै नगरौँ ।
जुन छोरो बाठो थियो
अलिअलि पढेको थियो
लरक्क बढेको थियो
मर्यो– ऊ जनयुद्धमा
समाजको मुक्ति खातिर ।
ऊसंँग बारुद थिएन
बन्दुक थिएन
विचार थियो
विचारले जित्छ भन्थ्यो बन्दुक
तर कसले जित्यो
त्यो भविष्यमा थाहा होला ।
उनको मनमा पीर छ
दिनहुँँ हेर्छिन्
तापखोलाको किनार
चुहाउँछिन्– आँँसु
सम्झिएर लक्का जवान छोरो ।
छोराका साथी भन्नेहरू
छोराले नेता मान्नेहरू
आमा भन्दै छोरासँग आउनेहरू
अहिले बाटोमा हर्न बजाउँछन् र भन्छन्-
'को हो ?
लाटी, कि अन्धी ?
बाटो छाड बुढी !'
आमा फेरि
आँसु चुहाउँछिन्
एउटा देख्दा सामान्य लाग्ने
गम्भीर प्रश्न छ-
ओ जनताको महानयुद्धका ड्राइभर
ओ जनताको मुक्तिका पाइलट
के पाइन् शहीदकी आमाले ?