हृदयहीन शासक, मुटुविहीन सम्पादक

हृदयहीन शासक, मुटुविहीन सम्पादक

अनुरोध शर्मा  |  दृष्टिकोण  |  माघ ३, २०७६

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि सम्पादकप्रति दिनुभएको अभिव्यक्ति निकै चर्चामा छ । उहाँले सरकारले गरेका राम्रा कुरा लेख्न सक्ने मुटु भएका सम्पादक नभएको  अभिव्यक्ति सार्वजनिक भयाे । 

कहिले प्रधानमन्त्री सार्वजिनक समाराेहमा गएर बाेद यसपछि सम्पादकहरूको मन कुँडियो । यो स्वाभाविक पनि थियो किनभने सरकार अर्थात् प्रधानमन्त्री केपी ओलीले नै ‘राम्रा कुरा लेख्ने अवसर नदिएको’ सम्पादकहरूलाई चिन्ता थियो । यस्तो बेलामा ‘अरिङ्गाल’ र ‘हनुमान’ शैलीमा सरकार र प्रधानमन्त्रीको पक्षमा  लेख्ने कुनै पनि व्यावसायिक पत्रकार, सम्पादकले आँट गर्ने कुरा नै भएन ।

तर, शासकको चाहना हुन्छ– जहाँ र जहिले पनि भक्तिगान मात्र गाइदिऊन् दुनियाँले ।

पत्रकारिता अर्थात् मिडिया यस्तो वस्तु हो, जसले सम्पादक वा प्रकाशक स्वयंलाई चिन्दैन कतिपय सन्दर्भमा । अझ सत्ताका लागि त मिडिया सधैँ नै प्रतिपक्ष  नै हो ।

सत्ताको प्रतिपक्ष भन्नुको अर्थ सधैँ सत्ताको विरोध र अवरोध मात्र गर्ने मनशाय भने मिडियाको हुनुहुँदैन । तर, सही कामलाई सही र गलतलाई गलत भनेर सत्तालाई गलत दिशामा जानकाट सचेत गराउने, गलत काम कारबाही गर्नबाट रोक्ने काम भने सशक्त मिडियाकै हो । यस कारण पनि मिडिया र मिडियाकर्मी सधैँ स्वतन्त्र र निष्पक्ष हुनु जरुरी छ भनिएको हो ।

प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिपछि निकै आलोचना भयो उहाँको । आलोचना यस अर्थमा स्वाभाविक थियो कि उहाँको प्रधानमन्त्रीमा दोस्रो इनिङसँगै देशमा अनेक वितण्डा सुरु भए । अनियमितता, भ्रष्टाचार, दुराचार, बलात्कारका घटनाले सीमा नाघ्ने अवस्था छ ।

३३ किलो सुन प्रकरणदेखि निर्मला बलात्कार र हत्याकाण्डको जरो पत्ता लाग्न सकेको छैन । वाइडबडी अनियमितताका प्रश्न जीवितै छन् । आफ्नै पार्टीका महासचिव विष्णु पौडेल मुछिएको ललिता निवास जग्गा प्रकरण सेलाइसकेको छैन । भर्खरै गोकर्ण रिसोर्ट अर्थात् यती होल्डिङ्स प्रकरणले उग्र आलोचना खेपिरहेको छ ।

त्यसो त कमजोर र अगतिलो सचिवालयको मारमा प्रधानमन्त्री पर्नुभएको तथ्य उहाँले केही समयअघि सचिवालय हेरफेर गरेबाटै प्रस्ट हुन्छ । सँगसँगै मन्त्रिपरिषद् पनि हेरफेर गर्न बाध्य हुनुभयो उहाँ ।

तर, अझै पनि सचिवालयका केही अनुहार विवादित र आलोचित भइरहेकै छन् ।

कुरो हृदय र मुटुको

शासक हुनु हृदय हुनु मात्र होइन, मस्तिष्क पनि चाहिन्छ भनिन्छ । यसको अर्थ जनतालाई माया, दया गर्न सक्ने र आवश्यक पर्दा कठोर कदम देश र जनताका निम्ति चाल्न सक्ने व्यक्ति नै सही शासक हुन्छ भनिन्छ ।

यसै कारण शासकमा मस्तिष्कसँगै मुटु र मुटुमा हृदय (संवेदना, कोमलता, प्रेम, करुणा र दया) हुन आवश्यक छ ।

तर, हाम्रा शासक कि त मस्तिष्क भएका मात्र भए कि हृदय भएका मात्र । हृदय भएकाहरू लामो समय शासनमा रहन सकेनन् । मस्तिष्क भएकाहरूले सही काम गर्न सकेनन् ।

अहिले हामीकहाँ प्रस्ट बहुमतको सरकार छ । निकै ‘बोल्ड’ र अडानिला भनिएका प्रधानमन्त्री हुनुहुन्छ । अझ ‘राष्ट्रवाद’ले ओतप्रोत हुनुहुन्छ प्रधानमन्त्री । तर, उहाँको मस्तिष्क बढी चल्छ, हृदय कम । जसको मस्तिष्क बढी चल्छ, त्यस्तो व्यक्तिमा संवेदना कम हुन्छ, स्वार्थ बढी । त्यसको विपरीत जसको हृदय बढी चल्छ, उसमा संवेदना बढी हुन्छ, स्वार्थ कम ।

हाम्रा प्रधानमन्त्रीको मस्तिष्क अत्यन्त तगडा देखिन्छ । उहाँमा कुनै गल्ती वा कमजोरीप्रति चिन्ता वा ग्लानि देखिँदैन । बरु आफ्ना गल्ती, कमजोरीलाई सही भनाउन कहिले ‘अरिङ्गाल’ छाड्नुहुन्छ, कहिले ‘छौँडा ।’

उहाँका चिकित्सक डा. अरुण सायमीले केही संचारकर्मीसँग उहाँलाई केही समयअघि एपेन्डिसाइटिस भएर अस्पताल राखेका बेला भन्नुहुन्थ्यो रे, ‘प्रधानमन्त्रीज्यूको मुटु साँच्चै दह्रो छ ।’ यसको मतलब उहाँको मुटुमा कुनै कमजोरी चिकित्सकीय हिसाबले देखिएन भनेको हो ।

तर, उहाँको मुटुभित्रको हृदय कस्तो छ ? भन्ने जाँच्न सकेनन् चिकित्सकले ।

यद्यपि, आमजनले जाँचिरहेका छन् उनको हृदय । उनको हृदय पछिल्लो समय संवेदनारहित, कठोर र निर्दयी लाग्न थालेको छ । यो माथि उल्लेखित काण्ड र प्रकरणको आलटाल, राज्यकोषको दुरूपयोगमा अग्रसरता, विकास र समृद्धिका क्षेत्रमा उदासीनता, आसेपासे पोस्ने प्रवृत्ति आदिलाई लिएर भन्न सकिन्छ ।

उता, हाम्रा मिडियाका सम्पादक आफ्नो मुटु हराएको बताइरहेका छन् । प्रधानमन्त्रीले भनेजस्तै आफूहरू मुटुविहीन भइरहेको उनीहरूले लेख र अभिव्यक्तिमार्फत् बताइरहेका छन् ।

कारण, मुलुकका शासकसँग मुलुक र जनताप्रतिको दायित्वबोध हराउँदै गएको, अनियमितता, भ्रष्टाचार, दुराचार प्रोत्साहित हुँदै गएको देखेर सम्पादकहरूको मुटुले काम गर्न छाडेको बताइरहेका छन् ।

आखिर सम्पादकको मुटु हराइदिने अन्ततः प्रधानमन्त्री नै भएको उनीहरूको भनाइ छ । यसको मतलब जबसम्म शासकले जिम्मेवारीबोध गरेर सही निर्णय र कामहरू गर्दैन, तबसम्म मिडिया अर्थात् सम्पादकहरू शासकप्रति संवेदनशील हुँदैन, हुनुहुँदैन भन्ने सार्वजनीन तथ्य हाम्रा सम्पादकहरूले प्रस्ट बुझेका छन् ।

यसकै परिणाम हो– प्रधानमन्त्रीको सातो पटक पटक गइरहेको छ– मिडियाका कारण । अनि त उहाँ मिडिया र सम्पादकमाथि दोष थोपरेर आफू साखुल्ले बन्न चाहनुहुन्छ ।