भारतीय वायुसेनाले पाकिस्तानमा बम खसाल्यो

जनधनको क्षति भएको छैन : पाकिस्तानी सेना, तीन सयभन्दा बढी आतंककारी मरे : भारतीय समाचार एजेन्सी

भारतीय वायुसेनाले पाकिस्तानमा बम खसाल्यो
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १४, २०७५

काठमाडौं । भारतीय वायुसेनाले भारत पाकिस्तानको सीमानामा पसेर बम खसालेको छ । पाकिस्तानी सेनाले यसको पुष्टि गरेको छ । 

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जर्नल आसिफ गफुरले ट्विट गर्दै भारतीय विमानले ‘लाइन अफ कन्ट्रोल’ क्रस गरेर पाकिस्तान पसेको उल्लेख गरेका छन् । उनको गरेका ट्विटमा भनिएको छ– भारतीय ‘एअरक्राप्ट’ले हतारमा भाग्ने क्रममा ‘पेलोड’ (‘एअरक्राप्ट’मा रहेका बम) खुला मैदानमा खसाए । मुजफ्फरावाद सेक्टरबाट भारतीय विमानले घुसफैठ गरे । पाकिस्तानी वायुसनेनाले तुरुन्तै प्रभावी प्रतिक्रिया जनाउँदा भारतीय विकान फर्कन बाध्य भए । र, भाग्ने क्रममा बालाकोट नामक स्थानमा तिनले बम खसाले । यसबाट जनधनको कुनै हानी भएको छैन । 

 

घटनाबारे एक पाकिस्तानी पत्रकारले ट्विटमार्फत् यस्तो लेखेका छन्– भारतीय विमानले यो हमला ‘लाइन अफ कन्ट्रोल’ र वरिपरि मात्र होइन, पाकिस्तान भित्रसम्म पसेर गरेको हो । 
भारतीय समाचार एजेन्सी एएनआइले वायुसेना स्रोतको भनाइ उध्दृत गर्दै लेखेको छ– भारतीय वायुसेनाका १२ वटा ‘मिराज–२०००’ विमानले पाकिस्तान अधीनस्त काश्मिरमा पसेर त्यहाँ रहेका आतंकी अखाडामाथि कारवाही गर्दै तिनलाई ध्वस्त पारिदिएको छ । 

समाचार एजेन्सीका अनुसार भारतीय वायुसेनाले एक हजार किलोग्राम क्षमता भएका बम खसालेर पाकिस्तानमा रहेका आतंकी अखडा नष्ट गरेको छ । स्थानीय समय अनुसार आज बिहान ३ः३० मा भारतीय वायुसेनाका विमानले ‘बोर्डर’ पार गरी जैश–ए–मुहम्मदका आतंकी क्याम्पमा बम प्रहार गरेका थिए । यो अपरेसनमा २० मिनेटको समय लाग्यो । 

भारतले केही दिन पहिला काश्मिरको पुलवामामा भएको आतंककारी विस्फोटको प्रत्युत्तरमा यो कारवाही गरेको जनाएको छ । जैश–ए–मुहम्मदले यस आतंकवादी घटनाको पछाडि आफ्नो हात रहेको बताएको थियो ।  

उक्त घटनापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसको बदला लिने सार्वजनिक घोषणा नै गरेका थिए । समाचार अनुसार पाकिस्तानको सम्भावित आक्रमणबारे भारतीय सेना ‘हाइ अलर्ट’ छ । 

भारतीय न्युज पोर्टल एबिपीका अनुसार आक्रमणबाट तीन सयभन्दा बढी आतंककारी मारिएका छन् । 

घटनापछि पाकिस्तान सरकारले आपतकालीन बैठक आह्वान गरेको छ । भारतमा पनि प्रधानमन्त्री मोदीको अध्यक्षतामा ‘क्याबिनेट कमिटी अन सेक्युरिटी’को बैठक बसेको छ । 

घटनाको समर्थनमा भारतका अन्य राजनीतिक नेताले भारतीय वायुसेनाको समर्थन गर्दै ट्विट गरेका छन् । 


याे पनि 

भारत पाक युद्धको सँघारमा !