हिँऊ

कविता

हिँऊ

रवीन्द्र आनन्द  |  समाज  |  फाल्गुन १६, २०७५

हिँऊको हल्का वर्षापछि
अविरल बर्षा रोकियो
हिँऊ देखियो जमिनमा,
पहाडमा, बुट्यानमा
लालीगुराँस, गुलाफ पनि सेतै देखियो ।
अचम्म प्रकृति सेताम्मै छे,
शोड़षी नवयौवना जस्ती
सेतै फ़ूलेकी तर परमसुन्दरी ।
म आज गुलाफ़ फ़िका देख्दैछु
बंगैचाका रंग, मौरीका भुनभुन
मलाइ लोभ्याउन असफल छन् ।
केवल म ती रेशमी सेता भुवातिर
अनायास आकर्षित छु
त्यसैले त म सेताम्मे भएको छु ।
ती हिजो पनि थिए
आकाशका वादलमा अर्कै रुपमा
आज धर्तीमा ओर्लियो झरीसँगै
म आज प्रेम र हिँऊ उस्तै देख्‍न थालेको छु
दुबैको अस्तित्व सदा छ अदृश्य रुपमा ।
त्यसैले म उनलाई हिँऊ ओढाउन चाहन्छु
खुट्टामा पाऊजूको रुपमा,
कम्मरमा कर्धनीको रुपमा,
नाकमा बुलाकीको रुपमा,
ओठमा लालीको रुपमा,
कानमा मुन्द्रीको रुपमा,
निधारमा टीकाको रुपमा,
फर्फराउँदा रेशमी केशमा
टलपल-टलपल टल्कने मोतीको रुपमा,
सम्पूर्ण शरीरभरि पछ्यौरीको रुपमा ।
किनकी गुलाव आज फिका छ,
लालीगुराँस फिस्स हाँस्छ ।
तर हिँऊ आज स्वयं उपस्थित छ
असीमित आकाशबाट र
प्रेम बर्षेको छ असीम हृदयबाट ।
त्यसैले आज हिँऊ प्रेम भएको छ
र प्रेम हिँऊ भएको छ ।
अनि म हिँऊको होली खेलिरहेछु
र प्रकृति हिँऊले सेताम्मे भएको देखिरहेछु
र म हिँऊ भएको छु
हिँऊ म भएको छ ।
दृश्य हिँऊ भएको छ,
दृष्टि हिँऊ भएको छ
द्रष्टा स्वयं हिँऊ भएको छ ।
अन्तर ?खोइ र !
सापेक्षता विलीन भएको छ,
निरपेक्षता ! निरपेक्षता !! निरपेक्षता !!!
र त्यहि नै सम्पूर्णता !!!