जनता जगाउने काइदा

कथा

जनता जगाउने काइदा

सीताराम नेपाल  |  समाज  |  फाल्गुन १८, २०७५


  ‘आजसम्म हाम्रो आन्दोलन केवल कागजमा, भाषणमा, नारामा मात्र रहेको छ । हाम्रा कार्यकर्ता चामलका बियाँजस्ता भा’ छन् । अहँ जनताले हाम्लाई ठ्याम्मै पत्या’का छैनन् । पटक्क हाम्लाई साथ दे’का छैनन् तिनले ।’

‘उसो भए यतिन्जेल गल्लीका कुकुरहरू भुकाउदै जुत्ताको तलुवा फटा’र घाँटी सुक्ने गरी करा’को बालुवामा हालेको पानी भो, हैन त ?’ संगठन विभाग प्रमुख चङ्खमान याख्वाको प्रतिवेदन सुनेपछि बैठकको अध्यक्षता गरिरहेका प्रमुख नेता वीरमानले ओइलाएको अनुहार लगाइ सुस्केरा काढ्यो ।

‘यत्रो मेहनत गरेर घोकाउदा सुगाले भए ‘गोपी कृष्ण कहो’ भनी सक्थ्यो होला । शायद दशकौँ लामो सामन्ती निरङकुशतन्त्रे दवदवाले दिमाग थिलथिल्याएको हुनाले होला जनताले हाम्रो कुरा खाएनन् ।’ स्कूल विभाग प्रमुख थीरकाजी वाइवाले मलिनु बोलिमा आफ्नो कुरा राख्यो ।

‘जनआधारित राजनीति गर्छौँ भन्ने हाम्रा लागि यो भन्दा लाजमर्दो अरू के हुन्छ ?’ 

‘लौ न मन छुने केही नौलो जुक्ति सोचौँ न । के गर्दा आन्दोलनमा जनताको ध्यान जाला ? श्रद्धेय अध्यक्षज्यूबाट केही उपाय सुझाउला भन्नुभा’ थ्यो नि । ख्योइ त ? के भो ? यस्तो मर्‍यास्याल हुनबाट उम्किन ढीलो भैसक्यो । तुरुन्त केही उपाय खोजौ, बित्यास परिसक्यो ।’ कमिटीको कनिष्ट नेता रविलालले बोलिनसक्दै अर्को वरिष्ट नेता गणेशलालले बेचैनी र हतारो प्रकट गर्‍यो ।

‘जनता जगाउने दल’को हाइकमाण्डको त्यो बैठकमा उपस्थित सबै निधार खुम्च्याएर आ–आफ्नो मगज खियाइरहेको बेला प्रमुख नेता वीरमानको विशेष मोबाइलले उनीहरूको ध्यान भङ्ग गर्‍यो

 ‘एऽ हो र ? साच्चै....? कतै यो पनि आकाशको फल त हुँदैन ?’ वीरमानले मोबाइलमा वात मार्‍यो । फोनमा कुरा शुरु गर्नलाग्दा नै वीरमानको डढेको कालो ठुटोजस्तो अनुहारमा एकाएक पूर्ण चन्द्र छाएको देखियो । फोनवार्ता सकिएपछि पहिले कहिल्यै नदेखिएको उज्यालो चेहरा बनाएर वीरमानले आफूले अज्माएको नितान्त कल्पनातीत कुरा व्यवहारमा आउन लागेको वारेमा साथीहरू माझ पस्कन थाल्यो । 

‘मान्छेको रगतमासु खान पल्केको नरभक्षी बाघ भयो यो सरकार । मान्छे मार्ने बाघलाई त छाडनु हुँदैन भने यो त जनताको जीउधनको रक्षा गर्नुपर्ने दायित्व भएको सरकार हो, यसलाई नढाली छोडनु हुँदैन । यसको तख्ता पल्टाउन आजैबाट लाग्न म आदरणीय जनसमुदायसमक्ष विनम्रतापूर्वक आग्रह गर्दछु । अनुरोध गर्दछु । होइन भने भोलि तपाईँहरुका कल्कलाउदा नानीहरूको ज्यान नजाला भन्न सकिन्न ।’

‘कस्तो अचम्मको कुरा सुनियो ? कतै घाम पश्चिमबाट त उदा’न ?’ 

अनुहारमा छाएको अनगिन्ति मुजाका डोबहरू देखिने गरी खुसी भएर चङ्खमानले झ्यालको पर्दा खोली थानकोट डाडा माथिको क्षीतिज हेर्‍यो । तर सूर्य घुर्मैलो बादलको पातलो च्यादर ओडेर भोलिको प्रतिक्षा गर्नु है भन्दै चन्द्रागिरीनेरको बाटो ओरालो लागिरहेको देखियो । ‘विषय स्पष्ट नभए पनि अनौठोको नयाँ कुरा सुनियो । कतै यो पनि हावामा बनाएको सुन्दर महल नहोस् ।’ नेता गणेशलालले आखामा पर्ने घाम छेक्न निधारमा राखेको दाहिने हात झा¥यो । अनि मनको कुरा मनमै थन्क्याएर ऊ पनि प्रशन्न चित्तमा रूपान्तरित भयो । 

‘जे होस अब भने ढुङ्गा टुसाउला जस्तो छ ।’

मन्द मुस्कान दिदै ‘यो काममा सफल भैयो भने जति तताउन सक्यो त्यति तिनीहरू तातिने बेला आयो, तामाको भाडो जस्तै ।’ 

वीरमान मोवाइलबाट प्राप्त रहस्यमय जानकारीको पोको फुकाउन भूमिका बनाउन थाल्यो । 

‘अब आन्दोलनसंग तर्सने, राजनीतिबाट तर्कने ठूलो जमातमा समेत आन्दोलनको राप पुग्ने छ ।  राजनीतिसंग वेखवर रहने र राजनीतिको उच्चारण गर्न मन नपराउने, तटस्थ तप्का पनि अछुतो रहन सक्दैन अब ।’ 

‘हैन कुरा धेरै रहस्यको गर्भमा राख्नुहुन्न । समय चिप्ल्यो भने त्यस्तो गर्भ तुहिन पनि सक्छ ।’ ‘जनता जगाउने अजम्बरी बुटी चाँहि के हो ?’ ‘लामो भूमिका नबाँधी छोट्टोरूपमा बुदागत जानकारी गराउनुस, यो बैठकलाई ।’ 

‘पख्नुस् न, म भन्दै छु त । खानाको मुख कैल्यै नदेखेको हन्तकालीजस्तो कति हतार भा’को तपार्इँहरूलाई हँ ? नेतागिरी गर्नेले ‘तातै खाम् जली मरौँ’ गर्नु हुन्न के ?’ त्यहाँ उपस्थित हाइकमाण्डका अधिकांश सदस्यहरूले कौतुहलता ओछ्याएपछि बैठकको अध्यक्षता गरिरहेका प्रमुख नेता वीरमान तामाङले रहस्यको गर्भ चिरफार गर्दै गयो । उसले अत्यन्त विश्वासप्राप्त कृष्णबहादुर घलानलाई आफूले अह्राएको गोप्य कुरा र उसले कुसलतापूर्वक काम तामेल गरेको वारेमा बैठकमा राख्यो । सबै विवरण सुनेपछि हाइकमाण्ड वीरमानको त्यो योजना कार्यान्वयन गर्ने निष्कर्षमा पुग्यो । काम सफलतामा पु¥याउन वीरमानकै नेतृत्वमा कृष्णबहादुर घलान र मातहतका शेरकाजी तमु समेत ३ जना कार्यकर्ता रहने गरी गुप्त एक्सन कमिटी बनाउने निर्णय भयो । 
प्राय सधैँ चिया समयपछि चोकमा भेला भएर गफ चुटन पल्केका चिस्यान टोलका केही युवाहरू त्यस दिन पनि जम्मा भइ गफ गर्दै गए ।

‘आऽ गोली मार्दे आन्दोलन सान्दोलन । हामी जनतालाई ‘बर्मा गए कर्मसंगै, नेपाल गए कपाल संगै’ त हो नि । दशनङग्रा नखियाइ खान पाइदैन क्या रे ! कस्ले के नाप्छ र ? ‘राजाका अगाडि कस्ता–कस्ता काँ’ गए, मुसाका बच्चा देवान’ हैन त साथीहरू ।’ बेखामानले भक्भकाउदै प्रतिगमनको समर्थन गरी कुरा सुरु गर्‍यो ।

‘त्यै त भन्या ! डेक्ची कुच्च्याजस्तो कोप्चेपरेको अनुहार भएको मान्छेले आफूलाई राम्रो देखेजस्तै सबै नेताहरू आफैँलाई असल, इमान्दार, निस्कलङ्क देख्दो रैछ । अरू सबलाई खराब, वेइमान, भ्रष्ट, कपटवाला, कलङ्कित भनेपछि त बर्बाद भएन र भन्या ?’ भक्तबहादुर श्रेष्ठ पनि वेखामानको पछि लाग्यो ।  

‘यी असत्तीहरू दिउसै रात पार्ने हुन् । यिनको त एउटा कुरा पनि मलाई पत्यार लाग्दैन बा !’ आफ्नो जुल्फी दायाँ हातले मिलाउदै रत्नलाल डंगोलले भक्तबहादुरकै बिँडो थाम्यो । 

‘सबै नेता र दलहरू हात्ती र हात्ती छाप चप्पल जस्तै उस्तै देखिन्छ, जुन जोगी भए नि भोग विलासको जुगुप्सा मनभरि गुम्स्याएका हुन्छन्, के फरक भयो र जोगी फेरिदैमा । बेकारमा सडक पेटीका नाङ्गले पसलेलाई सास्ती । कैले बन्द भन्छ । कैले हड्ताल भन्छ । क्या हो, क्या हो, मैले त क्यै बुझे मार्दिनु ल !’ हावाले उडाइ ल्याउने धूलो र दुर्गन्धबाट बच्न रुमालले नाक मुख  छोपेर श्यामरत्नले नेवारी लवजमा आफ्नो बोल्ने पालो भ्यायो । 

‘साथीहरू हामी यसरी पर भाग्नु हुन्न के, राजनीतिबाट । यो एक्काइसौँ सताब्दीमा समेत निरङकुश हुन चाहने राजा र गल्ती गर्ने दलहरूलाई एउटै घानमा हाल्नु हुन्न के । हाम्ले त ठीकलाई ठीक, वेठीकलाई गलत भन्नुपर्छ नि । निरङकुशताले दुःख देला कि भनेर किन डराउने हँ ? त्यसो भए पहेँलो देखिने सुन र पित्तल छुट्टयाउन नसक्ने हाम्रै दोष ठूलो हुँदैन र भन्या ।’

‘हो ऐले भने सही बोल्यो कृष्णमानले । हाम्ले दुःख पाएकै अरूको लहै लहैमा लागेर, नजिकबाट जाँचपडताल नगरी, दूधको दूध पानीको पानी नछुट्टयाएर हो, मलाई त यस्तै लाग्या छ ।’ कृष्णमानको अग्रगमन प्रेरित कुरालाई आफ्नो बानी अनुसार सानुभाईले समर्थन गर्‍यो ।

‘नेताहरूलाई पखाल्दै कतिन्जेल राजनीतिबाट पर भागौला र तिमी सहरिया बुज्रुक ठेट्नाहरू ? काँ’ जालास् मछली मेरै ढडिया’ हुने वेला भइसक्यो ।’ कृष्णबहादुर घलानले चिस्यान टोलको सुक्ष्म अबलोकन गर्‍यो । 

‘ए दाइ, हेर्नुस त ! हाम्रो टोलमा प्रहरी प्रवेश गरी एक युवकलाई आतङ्ककारीको कल्की भिराई मारी दियो रे । गोली लागेको मान्छे ठाउँको ठाउँमै ठहरै भयो अरे । नपत्याए उऽ त्याँ’ हेर्न जानुस् त ?’ त्यतिनैवेला परबाट दौडेर आएको एउटा अपरिचित केटोले एकसासमा भनीसकेर फटाफट नजिकको गल्लीभित्र छिर्‍यो । नभन्दै चिस्यान टोलबाट गल्को पाखातिर लाग्ने गल्लीको मुखैमा रहेको सुनसान स्थानमा एक युवकको लास लमतन्न पसारिएको देखियो । लास वरपर रगत लतपतिएर राताम्य भएको थियो । चोकमा गफ गरिरहेका युवाहरू मनभरि अनिष्टको कौतुहलता बोक्दै त्यतैतिर दौडिए ।

आइतवारको दिन, साँझ पर्नु अघि थानकोट डाडामा घाम सुस्ताउन आँटेको समय थियो । घरैघरको भीडले खेतीयोग्य जमिन मास्सिदै गएकोलो सिला खोज्नुपर्ने भएका किसानहरू बालाज्यूफाँटमा बचेखुचेका खेतवारीको काम सकेर घर फर्किन थालेका देखिन्थे । घर, डेरा फर्किने विद्यार्थीहरूको लामो लस्कर बिच्किएका कमिलाझैँ छरपष्ट भै हिडिरहेका थिए । त्यस्तै डकर्मी, सिकर्मी, ज्यामी जस्ता मजदुरहरू एवं कर्मचारीहरू बासस्थान पुग्न लम्किरहेका थिए । क्षणभरमै त्यो चिस्यान टोल, झ्यावहाल, नरदेवी, क्षेत्रपाटी र वरपरका चोक, वहाल, टोलहरू मानिसहरूको भीडमा रुपान्तरित भयो । 

जनतामा स्थापित हुन नसकेकोमा चिन्तित प्रमुख नेता वीरमान काम तामेल भएको रिपोर्ट पाएपछि सडकमा हेर्न गयो । पूर्वनिर्धारित योजना अनुसार तम्तयार रहेका केही कार्यकर्ता – युवा, विद्यार्थी तोकिएको समयमै घटनास्थल पुगिसकेका थिए । सबै मिलेर लासलाई घेरा हाले । पार्टीका अंचल प्रमुख शेरकाजी तमुले गम्भीर भावमा लासको टाउकोलाई पहेँलो खादाको घुम्टोले बेरिदियो । उसले शवको मुखमण्डल, निधारमाथिको कपालभरि अविर दली पहेँलो कात्रोले वेरेर गर्विलो पारिदियो । अनि नेता वीरमानले आफ्नो पार्टीको झण्डा ओडायो । त्यस अघि ‘जनजागृति युवासंघ’ का केन्द्रीय अध्यक्ष रविलालले बडो भावविभोर मुद्रामा, सुकसुकाउदै संघको झण्डा अर्पण गरिसक्या थ्यो । उसले आफ्नो दायाँ हातको मुठ्ठी उठाएर –‘हे वीर शहीद ! तिम्रो सपना साकार पारी छाड्छौँ !’ भनी ठूलो स्वरमा कराउदै जोशिलो अभिवादन गर्‍यो । यो सबै काम छिटो–छिटो भइरहेको थियो । नेता कृष्णबहादुर घलानको नेतृत्वमा खटिएका कार्यकर्ताहरू चनाखो हुँदै परिस्थिति नियाली रहेका देखिन्थे । परिस्थितिले उनीहरूतिरै हरियो बत्ती बालिरहेको ठहर्‍याउदै लासलाई थप क्रान्तिकारी बनाइयो । 

खासमा यथास्थितिवादमा रमाउन मन गर्ने, परिवर्तनका वारेमा मतलब नराख्ने, सजिलै हल्लाको पछि दौडने बानीमा अभ्यस्त थिए काठमाडौँका अधिकांश मान्छेहरू । जनताको यस्तो मनस्थिति ठम्म्याएर सरकारले दिनदहाडै मान्छे मारेको हल्ला पिटिएको हुनाले  मान्छेहरू भय र त्राशले निथ्रुक्क भिजेका देखिन्थे । कृष्णबहादुरको नेतृत्वको एक टुकडीले माहौल अनुकूल भइरहेको ठहर्‍याएको हुनाले कोण सभा गरिने भयो ।

आन्दोलनमा सहभागी अन्य दलहरूलाई काम पक्का भएपछि मात्र घटनाको जानकारी गराइएको थियो । ‘त्रिकालदर्शी पार्टी’, ‘त्रिशुलधारी दल’, ‘जनमुक्ति नेपाल’ लगायतका दलका मझ्यौला कदका नेताहरू निर्धारित समय छोप्न हस्याङफस्याङ गर्दै कोही बाइकमा, कोही ट्याक्सीमा, कोही पजेरोमा, कोही प्राडोमा, कोही मारुती कारमा सवार भई घटनास्थल पुगे । 

त्यतिले नपुगेर महङ्गी, कालावजारी, अभावको डण्डा बर्साइरहेको धेरै भयो । कति सहनु हुन्छ तपाईँहरु ? भ्रष्टाचार, अन्याय, अत्याचार, बेभिचारले तपाईँहरूलाई आक्रान्त पारेको छ । यतिन्जेल सरकारले हामी माथि थोपरेको ज्यादति सहेर बस्यौँ । सरकारको बिरोध गरेनम् । हामी चुपो लागेर हात बाँधेर बसेका हुनाले जे गरे पनि हुन्छ भनेर सरकारले यसरी टोल–टोलमा, चोक चोकमा, घुसेर निर्दोष, निहत्था जनता मारिरहेको छ ।’ आफ्नो अङ्गरक्षकले पिउन ठीक्क पारेको गिलासको पानी खाएपछि नेता अझ जोशिए ।

त्यस भेगमा सडक पेटी(फुटपाथ) र सडकै समेत ढाकेर पसल थाप्न पल्केका नाङले पसले, फुटपाथे तरकारी पसलेहरूको लास देखेपछि भागाभाग भइसकेको थियो । त्यसैले होला सधैँ साँघुरो देखिने त्यो चोक परपर फैलिएर फराकिलो भएको देखियो । फराकिलो भएको चोक हेर्दा हेर्दै एकैछिनमा मान्छेले टन्न भरियो । 

कोण सभाको सुरसार भयो । कार्यकर्ताहरूले जोडसंग ताली बजाएर सभा शुरु भएको संकेत गरे । छिनभरमै पहिले कहिल्यै नदेखिएको मान्छे नै मान्छेको विशाल भीड लाग्यो । नजिकको पसलेसंग सोध्दै नसोधी उसको पसलबाट वाइसिएल शैलीमा ल्याइएको टुलमाथि उभिएर अरू भन्दा अग्लो भएर दाहिने हातले हाते माइक समाइ नेता वीरमानले भाषण दिन थाले । 

‘आदरणीय जनसमुदाय ! यो हाम्रो पार्टीका होनहार कार्यकर्तालाई यहाँ सशस्त्र प्रहरीले गोली हानी नृसंश हत्या ग¥यो । देशको राजधानीमा समेत दिनदहाडै बाटो हिडिरहेको निर्दोस मान्छेको ज्यान यस्तो निर्ममढङ्गले लिइन्छ भने यो फासिष्ट सरकारले अन्यत्र के ग¥या होला ?’ नेताको चर्को र जोशिलो भाषणलाई तालीले स्वागत गरियो ।

‘अब काठमाडाँैका जनताले यो हत्यारो सरकारलाई छाड्ने छैनन् । छाड्नु हुँदैन ।’ 
फेरि तालीको पर्रा छुट्यो । कतिपय युवाहरूले जोशिएर चोरऔँला र बूढीऔँलाको टुप्पो जोडी मुखभित्र हालेर साईसाई र सुईसुई गरे । ताली बजुन्जेल मख्ख परि थामिएका नेता बोल्दै गए । 

‘यही टोलमा बस्ने यो व्यक्ति तपाईँहरू मध्ये कसैको छोरा होला, कसैको श्रीमान होला, कसैको बाबु वा भाइ होला, अर्काको भतिजा पर्ला, कसैको घनिष्ट मित्र हुनसक्छ । बाटो हिडिरहेको बेलासमेत यसरी अनाहकमा गोलीले भुटेर ज्यान लिइयो ।’ एकछिन रोकिएर वरपर सबैतिर नजर लगाएपछि नेता वीरमान फेरि बोल्दै गए । 

‘जनता ढुकुर होइन । ढुकुर मार्‍याझैँ जनता मार्न पाइदैन ।’ अझ गर्बिलो जोशले भरिएको ताली  पड्कियो । 

‘मान्छेको रगतमासु खान पल्केको नरभक्षी बाघ भयो यो सरकार । मान्छे मार्ने बाघलाई त छाडनु हुँदैन भने यो त जनताको जीउधनको रक्षा गर्नुपर्ने दायित्व भएको सरकार हो, यसलाई नढाली छोडनु हुँदैन । यसको तख्ता पल्टाउन आजैबाट लाग्न म आदरणीय जनसमुदायसमक्ष विनम्रतापूर्वक आग्रह गर्दछु । अनुरोध गर्दछु । होइन भने भोलि तपाईँहरूका कल्कलाउदा नानीहरूको ज्यान नजाला भन्न सकिन्न ।’

‘सुनौलो भविष्य भएको होनहार युवकलाई यो सरकारले दिन दहाडै मारेर सबै युवाहरूलाई लल्कारेको  होइन भनेर कसरी भन्न सकिन्छ र ?’ युवापङती जोशिएर उफ्री–उफ्री ताली बजाए । त्यो देखेर वीरमान पनि खूब जोशिए । 

‘अब नव जवानहरूका लागि यो सरकारको विरोध गर्नुको विकल्प छैन । होइन भने यहाँ कसैको जीवन रक्षा हुँदैन ।’ आफूलाई आक्रोशले भरिपूर्ण पारी ती नेता अझ कुर्ले । सभामा स्तब्धता छायो । नेता बोल्दै गए । 

‘आदरणीय दाजुभाइ, दिदीबहिनीहरू ! पुजनीय आमा बुवाहरू ! यो सरकारको शोषण, दमन, अन्याय, अत्याचारले सीमा नाघ्यो । नेपाली जनता सोझा छन्, सहनशील छन् भनी हेपेर यो सरकारले तपाईँहरूको टाउकामा गीर खेलिरहेको छ । त्यतिले नपुगेर महङ्गी, कालावजारी, अभावको डण्डा बर्साइरहेको धेरै भयो । कति सहनु हुन्छ तपाईँहरू ? भ्रष्टाचार, अन्याय, अत्याचार, बेभिचारले तपाईँहरूलाई आक्रान्त पारेको छ । यतिन्जेल सरकारले हामी माथि थोपरेको ज्यादति सहेर बस्यौँ । सरकारको बिरोध गरेनम् । हामी चुपो लागेर हात बाँधेर बसेका हुनाले जे गरे पनि हुन्छ भनेर सरकारले यसरी टोल–टोलमा, चोक चोकमा, घुसेर निर्दोष, निहत्था जनता मारिरहेको छ ।’ आफ्नो अङ्गरक्षकले पिउन ठीक्क पारेको गिलासको पानी खाएपछि नेता अझ जोशिए ।

‘आज यो देशमा बूढी मरी भन्दा पनि काल पल्क्यो भन्ने पीर बढिरहेको छ ।’ बेलाबेलामा छेउमा रहेको शवतिर फर्केर एकछिन टोलाएझैँ गरी नेता बोल्दै गरेका थिए । भरभराउदो यो युवा हाम्रो पार्टीको सक्रिय कार्यकर्ता थिए । यिनलाई विनाकारण गोली ठोकेर मार्नेले भोलि तपाईँहरूलाई मार्न के बेर !’ फेरि टररर जोशिलो ताली बज्यो । नेता पनि झन् जोशिएर अगाडि बढे । 

‘तपाईँहरूले आफ्नो जीवन सुरक्षित पार्ने हो भने, आफ्नो परिवारको रक्षा गर्ने हो भने संघर्ष गरौँ । संघर्षको विकल्प छैन । तपाईँहरूलाई थाहै छ जनअधिकार प्राप्त गर्ने यो लडाईँमा हाम्रो पार्टी सदा तपाईँहरूको साथमा छ । अलि भावुक हुँदै एकछिन तम्तमाइलो अनुहार पारी नेताले आफ्नो भनाइको बिट मारे –‘हाम्रो पार्टी उहाँलाई शहीद घोषणा गर्दछ ।’ 

त्यति नै वेला हराएको लास खोज्दै प्रहरी लिएर वीर अस्पतालका स्वास्थ्यकर्मीहरू त्यहाँ पुगे । आयोजकहरू छापामार शैलीमा भागाभाग गरेको देखियो । क्रान्तिकारी भाषण गर्न मुख मिठ्ठयाएर पालो पर्खेर बसेका सहयात्री दलका प्रतिनिधिहरू भने रनभुल्लमा परे ।