डा.भोजराज घिमिरे | साहित्य | फाल्गुन १७, २०७६
पार्दै छ शिर तल, पाउमाथि रहेछ,
शासन असल के भन्नु, नाजी रहेछ !
जुन बैङ्कमा निर्धन खजान्ची रहेछ,
बुझ्दै छु त्यसको क्यै लगानी रहेछ !
ठान्दै छ होला ऊ गरेँ बैँस बन्दी,
हेर्नू स्वयम् चौबन्दी बन्दी रहेछ !
जोतोस् कसले खेत त्यो दु:ख गर्दै ?
जब हातमा पर्ने सहज ‘हण्डी’ रहेछ !
को चढ्छ खै ऐले बली प्रेम पूज्दै ?
‘लैला र मज्नू‘ त्यो कहानी रहेछ !
‘भन्दैन भो, नाइँ पुग्यो,’ देवताले,
सोच्दै छ शायद त्यो अघोरी रहेछ !
कैले उदाङ्गो, लाग्छ कैले मखुण्डो,
के जिन्दगी जात्राको झाँकी रहेछ ?
कैले विजय आफ्नै र कैले अरूको,
यो जिन्दगी भन्ने त बाजी रहेछ !
आफ्नो म के ठानूँ ? हरे ! धूर्तलाई,
ताक्ने छुरीले जहिले काखी रहेछ !
लाग्दै छ नौका जिन्दगीको किनारा,
पक्कै समय त्यो एक माझी रहेछ !
जो काम गर्छ, बस्छ जहिले पछाडि,
चर्चित दियो भो, जल्ने बाती रहेछ !
एका बिहानै एउटा खाम आयो,
ठानेँ छ चिट्ठी भित्र, राखी रहेछ !
बहरे नदील