कोरोना भाइरस र  यसले विश्व अर्थतन्त्रमा पर्ने प्रभाव

कोरोना भाइरस र  यसले विश्व अर्थतन्त्रमा पर्ने प्रभाव

सरोज ज्ञवाली  |  कारोबार  |  फाल्गुन ३०, २०७६

६ डिसेम्बर २०१९ मा सम्पूर्ण चीन नयाँ वर्षको तयारी गरिरहेको थियो । चीनको वुहान शहरको एउटा अस्पतालमा एक किसिमको ‘निमोनिया’को सङ्क्रमणको लक्षणसहितका बिरामीहरू देखा पर्न थाले । यस्तो ‘निमोनिया’ हालसम्म स्वास्थ्य विज्ञानले विकास गरेका कुनै भ्याक्सिन तथा औषधिबाट  निको पार्न सकिएको अवस्था छैन । 

यसलाई नोबल कोरोना भाइरस नामकरण गरिएको छ । छोटो समयमा नै यो भाइरस विश्वभर फैलिन पुग्यो । सामान्यतया अन्य भाइरसका लक्षणहरू जस्तै रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, स्वासप्रस्वासमा समस्या हुने, छाती दुख्ने आदि लक्षणहरू देखिए तापनि कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका डाइबिटिज, क्यान्सर, दमका बिरामीहरूको भने यसले निरन्तर प्राण नै लिन थालेको अवस्था छ । 

हालसम्मको तथ्यांकअनुसार विश्वभर करिब १ लाख २० हजार  मानिसहरू यो रोगबाट संक्रमित भइसकेका छन् भने त्यसमध्ये झण्डै ४ हजारभन्दा बढीको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ । 

सबैभन्दा बढी चीनमा करिब ८० हजार ७७८ व्यक्तिहरू संक्रमित भएकामध्ये करिब ३ हजार १५८ जनाको मृत्यु भइसकेको छ । करिब ६१ हजार ४७५ जना संक्रमणबाट मुक्तसमेत भइसकेका छन् । 

यस्तै प्रकारले इटालीमा १० हजार १४९ संक्रमितमध्ये ६३१ जनाको मृत्यु भइसकेको छ । इरानमा आठ हजार ४२ संक्रमितमध्ये २९१ जनाको मृत्यु भइसकेको छ । दक्षिण कोरियामा सात हजार ७५५ मध्ये ६० जनाको मृत्यु भएको आँकडा छ । 

अर्को संक्रमित देश फ्रान्समा १७८ संक्रमितमध्ये ३४ जनाको मृत्यु भइसकेको छ । स्पेनमा एक हजार ६९५ मध्ये ३६ जना, जर्मनीमा एक हजार ५६५ मध्ये दुई जनाको मृत्यु भइसकेको विवरण दिइएको छ । यो भाइरसको संक्रमण विस्तारै एसियाबाट युरोप तथा अमेरिकामा फैलिँदै गइरहेको छ र आउने दिनमा कतिको जनधनको नोक्सानि गर्ला भनेर अनुमान पनि गर्न नसक्ने अवस्था सिर्जना भइरहेको छ । 

रुसको प्रस्ताव अस्वीकार गरिसकेपछि  साउदी अरबले आफ्नै उत्पादन क्षमता एक करोड १० लाख ब्यारेल पुर्‍याउने निर्णय गर्दा तेलको मूल्यमा ठूलो गिरावट आएको हो । हालको मूल्यमा पनि केही राष्ट्रहरूलाई करिब २० प्रतिशत सहुलियत दरमा तेल बिक्री गर्ने निर्णय गर्दा तेल बजारको मूल्य अझ अस्थिर हुने संभावना देखिन्छ ।

कोरोना भाइरस विभिन्न किसिमको रहेको पाइएको छ । पहिलो कोरोना भाइरस सन् १९६० मा नै पत्ता लागेको थियो । कोरोना भाइरस प्रायः अन्य जीवजन्तुबाट नै मनुष्यमा सर्ने भाइरस हो । सन् २००३ मा फैलिएको सार्स भाइरस बिरालोबाट मनुष्यमा फैलिएको निष्कर्ष निकालिएको थियो । 

त्यस्तै प्रकारले मार्स भाइरस पनि ऊँटबाट मनुष्यमा सरेको थियो । नयाँ कोरोना भाइरस पनि चमेराबाट मनुष्यमा संक्रमित भएको अनुमान गरिएको छ । हालसम्म यस भाइरसको कुनै भ्याक्सिन तथा औषधि पत्ता लाग्न नसकेकाले सबै जना सतर्क तथा सावधानीबाहेक कुनै उपाय देखिएको छैन । 

हुनत सार्स भाइरस जस्तो बढी प्राणघातक कोरोना भाइरस नभए तापनि एकै समयमा करिब ९६ भन्दा बढी राष्ट्रहरूमा फैलिनुले विश्वलाई चिन्तित तुल्याएको छ । 

कोरोना भाइरसको महामारी चीनमा सीमित नभएर सम्पूर्ण विश्वभर फैलिएको अवस्था छ । यस भाइरसले मनुष्यको स्वास्थ्यमा असर गरेको नै छ । तर, यसले अन्य क्षेत्र शिक्षा, समाज, वातावरण, अर्थतन्त्र आदिमा प्रतिकूल असर गरेको पाइन्छ । यसले सबैभन्दा बढी विश्वको अर्थतन्त्रलाई असर गर्ने  अवस्थामा लैजाँदै छ । 

धेरैजसो अर्थशास्त्रीहरूले आगामी समयमा विश्वभर ठूलो आर्थिक मन्दी आउने अनुमान गर्न थालिसकेका छन् ।  भाइरसको महामारीबाट हालसम्म पर्यटन व्यावसाय तथा हवाई उद्योग करिब करिब धराशयी हुने अवस्थामा पुगिसकेको छ ।

चीन हाल विश्वको दोस्रो आर्थिक महाशक्ति भएको राष्ट्र हो । करिब १३.६ ट्रिलियन डलरको अर्थ व्यवस्थासहित ३० प्रतिशत र १६.३० प्रतिशत विश्वको जीडीपीको हिस्सा एक्लै ओगटिरहेको छ चीनले । चीनले विश्वको उत्पादनको एक तिहाइ हिस्सा ओगटेको छ र करिब ३० प्रतिशत इलेक्ट्रोनिक  व्यापारको हिस्सा एक्लै ओगटेको छ । 

विश्व बजारका धेरैजसो वस्तु उत्पादन, जस्तैः मोबाइल, कम्प्युटर, अटोमोबाइल, फर्मा टेक्सटाइन आदि सामग्रीहरू उत्पादन तथा वितरण र आयात निर्यातको ठूलो हिस्सा चीनसँग जोडिएको छ ।

विश्वभरको पर्यटन उद्योगमा पनि चिनियाँ पर्यटकको ठूलो हिस्सा छ । करिब १.३ अर्ब जनसंख्या भएको चीनमा १५ करोड मान्छेहरू वैदेशिक यात्रा गर्ने गरेको आँकडा रहेको छ । चिनियाँ नागरिक करिब १.३ करोडले थाइल्याण्डको मात्र  यात्रा  गर्ने गर्छन् । विश्वभरको हवाई यात्राको ठूलो हिस्सा चीनले पनि ओगटेको छ । उत्पादन तथा वितरण प्रणालीमा विश्वको अग्रणी देश हो र चीनमा परेको आर्थिक समस्या विश्वभर फैलिँदो छ ।

सन् २००३ मा सार्स भाइरसका कारण विश्व अर्थतन्त्रमा  एक प्रतिशतले कमी आएको थियो । त्यसबेला चीन विश्वको छैटौँ आर्थिक शक्ति राष्ट्रको रूपमा मात्र थियो । तर, वर्तमानमा चीन दोस्रो आर्थिक शक्ति राष्ट्रको हैसियत राख्छ । त्यसले पनि विश्वभर ठूलो आर्थिक नोक्सानि हुन सक्ने अनुमान सत्यको नजिक छ ।  

हालै विश्वको शेयर बजारमा ठूलो नोक्सानि व्यहोरिसकेको छ भने डलर तथा सुनको मूल्यमा अप्रत्यासित रूपमा बढ्दै गइरहेको छ । यसलाई पनि विश्व अर्थतन्त्रको शुभसंकेतका रूपमा लिन सकिँदैन । 

सबैभन्दा अप्रत्यासित रूपमा असर देखिएको क्षेत्र हो, कच्चा तेलको बजार । हाल कच्चा तेलको बजारमा ३० वर्षपछिको ठूलो गिरावट आएको छ । कोरोना भाइरसको महामारीका कारण करिब विश्व ठप्प भइरहेको अवस्थामा, तेलको माग पनि कमी हुन पुग्यो । चीन विश्वको ठूलो कच्चा तेलको खरिद गर्ने राष्ट्र हो र यसले तेल बजारमा ठूलो हिस्सा नै ओगटेको छ । 

जुन भाइरसका कारणले मागमा कमी आए तापनि तेलको भाउमा गिरावट हुनुको अर्को कारण पनि छ । साउदी अरब र रुसको आपसी द्वन्द्वलाई लिने गरिन्छ । हालै करिब ५० डलर प्रति लिटर रहेको कच्चा तेलको मूल्य करिब ३१ डलर प्रति लिटरमा झरिसकेको छ । 

विशेषज्ञहरूको भनाइअनुसार यो द्वन्द्व अझै लम्बिने हो भने  कच्चा तेलको मूल्य करिब २० डलर प्रति लिटरमा पुग्ने संभावना छ । यस्तो भएमा विश्व अर्थतन्त्रमा ठूलै उथलपुथल ल्याउन सक्छ । 

विश्व बजारमा साउदी प्रमुख तेल निर्यातक राष्ट्र हो र यो ओपेक राष्ट्रहरूको नेतृत्व लिइरहेको छ । तर, गैरओपेक राष्ट्रहरू, जस्तैः  रुस पनि तेल निर्यातक राष्ट्रहरूको अग्रस्थानमा रहेको राष्ट्र छ र रुस पनि तेल बजारको महत्त्वपूर्ण हिस्सा ओगट्न खोजिरहेको छ । यसै समयमा पनि अमेरिका पनि आफ्नो सेल–तेलको माध्यमद्वारा विश्व बजारमा तेल निर्यातक देशको रूपमा आफ्नो स्थान सुरक्षित गर्न खोजिरहेको छ । यसरी सरसर्ती हेर्दा साउदी अरब, रुस र अमेरिका नै तेल व्यापारका अग्रणी खेलाडीको रूपमा रहँदै आएका छन् ।

हालै कोरोना भाइरसका कारण तेलको माग घट्न थाल्यो र माग आपूर्तिको अवस्थामा सन्तुलन कायम गर्नका निम्ति तेल उत्पादनमा कटौती गर्ने साउदी अरबको प्रस्ताव रुसले अस्वीकार गर्‍यो । 

साउदी अरब दैनिक ८४ लाख ब्यारेल तेल उत्पादन गर्ने राष्ट्रमा पर्छ । लागतको हिसाबले साउदी अरबले कम लागतमा उत्पादन गर्ने गर्छ । तर, रुसको प्रस्ताव अस्वीकार गरिसकेपछि  साउदी अरबले आफ्नै उत्पादन क्षमता एक करोड १० लाख ब्यारेल पुर्‍याउने निर्णय गर्दा तेलको मूल्यमा ठूलो गिरावट आएको हो । हालको मूल्यमा पनि केही राष्ट्रहरूलाई करिब २० प्रतिशत सहुलियत दरमा तेल बिक्री गर्ने निर्णय गर्दा तेल बजारको मूल्य अझ अस्थिर हुने संभावना देखिन्छ ।

हुनत साउदी अरब, अन्य ओपेक राष्ट्रहरू भन्दा कम लागतमा तेल उत्पादन गरे तापनि यो दर लामो समयसम्म रहेमा साउदी अरबलाई पनि थप मुस्किल पर्न सक्छ । रुसको अर्थतन्त्र अन्य क्षेत्रहरूबाट सम्हालिए तापनि अन्य ओपेक राष्ट्रहरूलाई यो मूल्यमा उत्पादन गर्न कठिन नै हुन सक्छ । 

तेल उत्पादन राष्ट्र इरान र  भेनेजुएला पनि विभिन्न राजनीतिक  कारणहरूले गर्दा  विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् । तर, अप्रत्यासित रूपमा अमेरिकाको अर्थतन्त्रमा तेलको मूल्यमा आएको गिरावटले ठूलो असर पर्ने  देखिन्छ । अमेरिकी सेल–तेल उद्योगमा तेलको मूल्य करिब ५० डलर प्रति ब्यारेलभन्दा माथि रहेमा मात्र बजारमा प्रतिस्पर्धा गर्ने हैसियत राख्छ । 

यदि तेलको मूल्य २० डलर प्रति ब्यारेलमा पुग्यो भने सेल–तेल उद्योग बन्द गर्नुपर्ने हुन सक्छ, जसले अमेरिकाको अर्थतन्त्रमा ठूलो धक्का लाग्न सक्छ ।

विश्व अर्थतन्त्रको प्रभावले नेपालमा ठूलो असर नगरे तापनि विश्वमा आउने मन्दीको असर नेपालको रेमिट्यान्स तथा पर्यटन व्यवसायको क्षेत्रमा अवश्य नै पर्छ । साथसाथै  दाताहरूले दिने सहयोगमा  पनि अवश्य नै  कटौती हुन सक्छ । 

नेपालको कृषि, उद्योग तथा व्यापारको अवस्था पनि नाजुक रहेको र विश्वस्तरीय आर्थिक मन्दीले अवश्य नै नेपालको अर्थतन्त्रमा ठूलो असर हुने संभावना देखिन्छ । अतः विश्व अर्थतन्त्र ठूलो आर्थिक मन्दीमा प्रवेश गर्न लागिरहेको अवस्थामा नेपाल यसप्रति सजग भई आपतकालीन व्यवस्थापनका विकल्पमा लाग्नु अति नै जरुरी छ ।