‘सर्नल्याब’मा शिवरात्रि

‘सर्नल्याब’मा शिवरात्रि

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  फाल्गुन २०, २०७५

जब तपाई भित्र संसार हेर्ने दृष्टिका साथै आफैं भित्र हेर्न सक्ने दृष्टिको क्षमता विकसित हुन्छ, संक्षेपमा भनौं जब तपाईसँग अन्तर्दृष्टि उपलब्ध हुन्छ तब मात्र तपाईमा पूर्णता आउँछ । यो नै शिवमय हुनु हो — चिदानन्द रुपम् शिवोहम् शिवोहम्, शंकराचार्यको उद्घोष अन्तर्दृष्टि उपलब्ध नभएसम्म गीत मात्रै हो । परमबोध, चरमबोधको साकार रुप नै शिव हो । सन्दर्भ — शिवरात्रि । आज शिवरात्रि, विश्वभरीका अर्बौं हिन्दुहरुका आराध्यदेव भगवान शिव, शंकर, नटराज, पशुपति हजारौं नाम रहेका परम चैतन्यको महास्मृति दिवस । 

सबै शिवभक्त, शिवप्रेमीहरुमा लोकसंवाद परिवारको भक्तिपूर्ण शुभकामना । 

यस पंक्तिकारका बारेमा अनलाइनद्वय देशसञ्चार, राताेपाटीले लेखिदिए, ‘लेखक अध्यात्म तथा विज्ञानमा रुचि राख्छन् ।’ 

मेरा लागि यो उपमा किञ्चित पनि सुहाउँदैन् । अध्यात्म र विज्ञानको क्षेत्र अनन्त हो, यो विषयक लेख्ने पात्रता मसँग कहाँ हुनु ? 

मन बहलाउन कहिले काँहि यताउताबाट जोडतोड गरेर गरिएको ‘कपि पेस्ट’लाई लेखन भन्नु मेरो अन्तर्दृष्टिले दिँदैन् । आफूलाई प्रस्तोता भन्दा बढी मैले मानेको छैन् । पाठकहरुले पनि मलाई प्रस्तोता मानिदिए म आफ्नो हैसियतमा रहिरहने थिएँ । 

हो विज्ञान र अध्यात्म विषयक पठन पाठनमा म रमाउँछु । मेरा लागि यी दुई विषय नै होइनन् । अध्यात्म परम विज्ञान हो, परम दृष्टि हो, परम वोध हो । विज्ञान अध्यात्मको साधन हो, आँखा हो, भूमि हो, ल्याब हो, बोध उपलब्ध हुने कीमिया हो । 

सन् २००१ देखि २०१३ सम्मका शिवरात्रिको अघिल्लो र पछिल्लो गरी तीन दिनरात म पशुपतिमा बिताउने गर्थें । मलाई भेट्न साथीहरु पद्म गौतम, सुर्दशन घिमिरे, विजय आचार्य, विनय देवकोटा, नारायण अमृत, बाबुराम अर्याल, गणेश बस्नेत, शिवमय भएका एम डी कुलुङ्ग, गौरव केसी, सुविद गुरागाई, घनेन्द्र ओझा लगायतका तमाम साथीहरु पशुपति आउने गर्थे ।

समय बदलियो, साधना बदलियो । शिवरात्रिमा पशुपति क्षेत्रमा तीनदिने प्रवासको संकल्प पूरा भयो । म भित्र अध्यात्म र विज्ञान एकाकार भइसकेको थियो । सन् २०१३ पछी म जहाँ भएँ मेरो बोध मसँगै रह्यो, शिव मैसँग रहे ।

आज शिवरात्रिका दिन म पशुपतिमा होइन, वरन स्विटजरल्याण्ड स्थित संसारको सबैभन्दा ठूलो प्रयोगशालाको गेटमा छु । मेरो बोध, मेरो शिव यहाँ नटराज रुपमा उपस्थित छन् । 

हजुर म सर्न (CERN)  प्रयोगशालाको कुरा गरिरहेको छु । संसारको सबैभन्दा ठूलो ल्याब हो यो । त्यै ‘ल्याब’ जसले ‘हिग्स बोसान’को पत्तो लगाएको थियो । 

हजुर यहाँ शिवको संहार रुप, रौद्र रुप, तांडव रुपको अध्ययन हुन्छ । यहाँ एटम लाई तोडिन्छ । यहाँ सृजन र लय एवं विनाशको पृष्ठभूमी बुझ्ने प्रयास गर्दैछन् वैज्ञानिकहरु । 

शिवप्रेमी, शिवभक्तहरु तपाईका लागि गौरवको कुरा हो, विज्ञानले वैज्ञानिकले बिम्ब स्वरुप यस ल्याबको गेटमा नटराज शिवको प्रतिमा स्थापना गरेका छन् । मैले यसपटकको शिवरात्रिमा ‘सर्न’ ल्याबको गेटमा स्थापित यसै प्रतिमामा आफ्नो श्रद्धासुमन अर्पित गरें । 

नभन्नु होला अब, विज्ञानले अध्यात्म मान्दैन, वैज्ञानिक नास्तिक हुन्छन् । संसारको सबैभन्दा ठूलो ल्याबमा त हाम्रो शिव प्रतिमा राखिएको छ । हो विज्ञानको पूजा गर्ने ढंग, भक्ति प्रदर्शन गर्ने तरिका, विश्वास गर्ने शैली तपाइको परम्परागत बिधि भन्दा फरक हुन्छ । 

अब कसैले तपाईसँग विज्ञानले ईश्वर मान्दैन भन्यो भने उसलाई सोध्नु होला, ‘सर्न ल्याब’मा हाम्रा शिवजीको प्रतिमा राख्ने कारण के त ?