वृद्ध आमाबुबालाई हेप्ने पुस्ता र यान्त्रिक दबदबा

आजको पुस्ताको स्वभावलाई तपाईंहरु हेरेर पुराना पुस्ता किन दुखी हुन्छन् ? नौ महिना कोखमा भोगेका लाखौँ पीडा र वेदना अनि प्रसवको हण्डर जीवन र मृत्युको दोसाँध थियो । 

सन्तानको जन्मसँगै अघिका सारा वेदनालाई सन्तानको मुख हेरेरै बिर्सने ममता कति महान् हुँदो हो ? गरिबीको रापमा पिल्सिएका हजारौँ आमाहरू अभावका सोपानसँग सन्तानकै विकासार्थ जुध्छन् । जाडो–गर्मी, भोक–तिर्खा, रोग–शोकबाट बचाउँदै देखभाल गरेर हुर्काउँछिन् कलिला नानीलाई । दिसा–पिसाब सोहोर्दै तातेताते गरेर बढाउँछिन् । हरेक आमाबाट जन्मिएका सन्तानले आमाको गर्भमा लात मार्नु पाप र जीवनको अभिशाप हुन्छ नै । 

आमाको त्याग र बाबा वा कोही अरू कसैको स्नेहविना हामी यस धर्तीमा जीवित रहेका होइनौँ । तुलनात्मक हिसाबमा बाबाभन्दा आमाको योगदानकै कारणले होला, मातृवात्सल्यलाई शिरोधार्य गरेर सन्तानले जीवनका गोरेटाहरूलाई चलाउँछ । आमा नभए जोसँग गाँसिएको छ ममताको तार, उसैको सहारामा जिउँछ मानिस । आमाबाबाको आशीर्वचन नै सन्ततिका प्रगतिपथ बन्छन् । जन्म दिएपश्चात् कति ममताले कर्म दिएर हुर्काएका पनि होलान् । बाबाको कर्मशीलता या त कोही अग्रजको सहाराले बाटो दिएको होला । एउटा जीवनको प्रारम्भसँग ठूलो हिस्सा गाँसिँदो रहेछ । 

विडम्बना, तर भन्नै पर्छ आज आफ्नै सन्तानले जब बढ्छ, हुर्कन्छ अनि अहंभावमा पौडिँदा बालापनको मार्गदर्शकलाई बिर्सन पुग्छ । 

विस्तारै जवान बन्छ । हुर्कनु त प्रकृति हो, हुनुपर्छ नै । तर, विस्तारै बाबाआमासँगको ममतालाई चुँडाउँदै गर्दा पराईझैँ व्यवहार गरिदिन्छ । 

घर–परिवारसँगको मित्रता र त्यागलाई हृदयबाट स्वीकार गर्न नसक्ने आजका गलत विचार भएका सन्ततिले आमाबाबालाई अनेकौँ पीडा र वेदनाको सिकार बनाउँछन् । आधुनिक युगमा यान्त्रिक दबदबाले घेरिएका पुस्ताहरूको सोच्ने हैसियतमै संकीर्णता बढ्नुका कारण हाम्रो समाजले आगामी पुस्तामा नैतिक आचरणलाई हस्तान्तरण गर्न नसक्ने भय छ ।

अग्रजले रातोदिन सन्ततिका निम्ति पसिना गुमाउँछन् । उता, बूढ्याइँले डाँडापारिका जून बन्दै गएका बाबाआमा भने त्यही सन्तानका बोझ बन्छन् । बूढेसकालमा स्वाभाविक हो, कर्म गर्ने शक्ति क्षीण बन्दै जान्छ । स्मरण वा सुद्धि पनि स्वभावैले कमजोर बन्छ । बोझ त बन्ने नै भए अनि बूढेसकालको सहारा भनिएको निष्ठुरी छोराले वृद्धाश्रममा लगेर छोडिदिन्छ । 

पाषाण हृदयको पीडाले अश्रु बहाएकी आफ्नी आमाले त्यही सन्तानको दर्शनको आशा राख्नुपर्छ । सुटबुटमा सजेको सन्तानले छिःछिः र दूरदूर गरिरहँदा ती ममतामयी हृदयले आफ्नो सन्ततिलाई देखिसक्दा अतालिएर छाँद हाल्न वृद्ध वदनलाई सकिनसकी घिसार्छिन् । भावले गहभरी आँसु बहाउँछिन् । 

वृद्ध मनोविज्ञानभित्र विगतका सम्झनाका कारण केही हठी भाव पनि हुन्छ नै । वृद्ध हुनु, स्वभाव र रूप बदलिनु पनि त प्रकृति हो । घरभरि पाहुनापाछा आउँछन् । घरका बूढाबा, बूढीआमालाई ढोगसम्म गरे पनि बोलचाल गर्दैनन् । छेउमा बसेर दुई शब्द मीठो बोल्दैनन् । कि त दौँतरी उमेरकासँग, कि त मोबाइल र इन्टरनेटमा मात्र झुल्ने आदतका कारण वृद्ध मनोविज्ञानमा अपहेलनाको भान हुन्छ । 

वृद्धावस्थामा मनले धेरै काम र उन्नति चाहन्छ तर शरीरले सक्दैन । तब बोलिरहने, भनिरहने आदत हुन सक्छ । छोराबुहारी, नातिनातिनाले बुझेर सकारात्मक सुझाव र स्पष्टीकरण दिनुको साटो झर्केर ‘यो आधुनिक युग हो’ भन्ने ओठे जवाफ फर्काउँदा उहाँहरूको मन पिरोलिन्छ । जवानीभर दुःख गरेर प्रेमले हुर्काएका सन्तानले वृद्धावस्थामा तथानाम भनेपछि जोकोहीको चित्त पिरोलिन्छ । 

भनिन्छ, बालहठ र वृद्ध हठ उस्तै हुन्छ तर समाजले, घरपरिवारले, आफन्तले श्रद्धापूर्वक व्यवहार गर्न जान्नुपर्छ । एकछिन उहाँहरूका गफलाई दिक्क नमानी सुनिदिनुपर्छ, तब न चाउरिएको अनुहारले खुसीको रङ भर्न पाउला । आजको पुस्ताले त एकल आमा छन् भने गोठालो जसरी व्यवहार गरेर उपेक्षा पनि गर्न पछि पर्दैन । अनेक लाञ्छना र गलत गालीगलोजद्वारा त्यो कोमल मनमा बज्र हान्दा लाज, घीन, डर मान्दैन । नैतिकता कुल्चन्छ ।

श्रीमतीलाई देउता जसरी राख्छ तर आमालाई अपमान गर्छ । हो, श्रीमतीलाई माया दिनुपर्छ तर आमालाई छोराबुहारीले ठाडै खाउँलाझैँ गरेर बाझ्ने अनि घरभित्र आफ्नै शासनको ढोल पिट्ने हिंसाबाट पीडितहरूको वेदना कति हृदयविदारक हुन्छ ? हिजो ममताको आँचलले हर्षका आँसु पुछ्ने आमाले उही छोराको गालीका लागि आँसुलाई त्यही आँचलले कसरी पुछ्ने ? न त छोराबुहारी छाडेर कतै जान सक्नु, न आफ्नो अधिकारको रक्षा हुने । 

आखिर कुण्ठामा ममता जलिरहन्छ । बालापनमा चिसोले सताउला भन्दै जोगाएका हातले उसैद्वारा बगाउन विवश पारिएका आँसु पुछ्नुपर्दा त्यो मन कति पिरोलिँदो हो ! के त्यो अन्यायलाई बोध गरेर आजको सन्ततिले मनन गर्ला त ! 

आजभोलि चिसोको मौसममा परिवारबाट तिरस्कृत हुने धेरैजसो वृद्धवृद्धाले ज्यान गुमाउनुपरिरहेको देखिन्छ । हिजो सासू, ससुराको दलन हुन्थ्यो, आज बुहारीको चर्को दमन र आडम्बर बढेको हुन्छ । कति दलन र अपहेलनालाई भुल्छिन्– वृद्ध आमा । तैपनि त्यो पाषाण हृदय पग्लिँदैन । सन्तानको मायामा रहेर रमाउन चाहेका बूढेसकालको सहाराले पैसाभन्दा ठूलो अरू केही नदेखेपछि मृत्युका दिन गन्नुशिवाय बाँकी विकल्प बच्दो रहेनछ । 

आज दुनियाँलाई पद, पैसा र प्रतिष्ठाको भूत चढ्दै गर्दा ममता र भ्रातृत्व मरिरहेको छ । बाँचुन्जेल आमाबाबालाई वास्ता नगर्ने पुत्रले मरेपछि तिनका नाममा गरिएका श्राद्ध, दान, पुण्यको ढोङ पनि लोकाचारशिवाय के नै होला र ! हाम्रो सुन्दर संस्कृति, जसमा बाँचुन्जेल स्याहार अनि मृत्युपछि स्मरणादिको संस्कार छ । तर, हिजोको तुलनामा समाज आज दिनानुदिन कठोर बनेर लालची दलदलमा फसिरहेको छ । 

दीनहीन वृद्धवृद्धाका लागि, जवानीमा कति खाने–लाउने मन हुँदा अभावले छाडेन । आफ्नै सन्तानले छिःछिः र दूरदूर गर्छन् । अहिले अभाव नहोला तर खटनमा चल्नुपर्छ । गालासँगै चाउरिन्छ सन्तान स्नेह । कतिका लागि रोगका कारणले धक खोलेर आँत मार्ने गरी खाने इच्छा नै अधुरै रहन्छन् । 

सन्तानको माया र ममताको लाड प्यारमा आपसी नैसर्गिक तादात्म्य गाँसिँदोरहेछ । मान्छेमा मात्र होइन, गाईले आफ्नो कलिलो सन्तानलाई जिब्रोले चाटेर माया दिन्छ । बाख्रीले पनि पाठापाठीलाई सांकेतिक भाषामा स्तनपानको जानकारी दिइरहेको हुन्छ । उसलाई थाहा छ, स्वतन्त्र नाचिरहेका, उफ्रिरहेका बच्चालाई कतिखेर बोलाउने । 

कुखुराले चारो खोज्छ र आफ्नो पेट भोकै भए पनि चल्लाका लागि अर्पिन्छ । शत्रुरूपी बिरालो या कुकुर सन्तान रक्षाका निम्ति आफ्नै ज्यानलाई दाउ थापेर झम्टिन पुग्छन् । सत्य कुरा हो, यो कार्य उसको क्षमताभन्दा पर छ तैपनि सन्तानको मायाभित्र ऊर्जा जाग्दोरहेछ । 

पशु, प्राणी या त सारा सृष्टिमै आमाको माया सन्तानका लागि कति अमूल्य हुँदोरहेछ ! कति दर्बिलो छ, ममताको आदर्श ! संस्कृतिले संस्कारका अन्धविश्वासबाहेक अनुशासनमा समाजलाई सजाएको हुँदोरहेछ । हाम्रा इतिहास, वेद, शास्त्र, पुराणमा मातृहृदयको आदर र आदर्शलाई प्राकृतिक शक्तिमा एकाकार बनाइएका हुन्छन् ।

मातातीर्थ औँशी (आमाको मुख हेर्ने दिन)मा आमाप्रतिको श्रद्धा र स्मरण गरिन्छ । कुशे औँशीमा ‘पितृ देवो भवः’को भावमा बाबालाई पुजिन्छ । आमाबाबा भगवान् हुन् भन्ने नैतिक शिक्षाको अभावमा आजको पुस्ताले जानेर, नजानेर अग्रजप्रति अपहेलनाको मुसल बर्साउँछ । आजको पुस्ताले आमाबाबासँग टरटर आवाजमा उत्तर दिन्छ । मीठो र प्रेमपूर्वक भाषामा अग्रजसँग बोल्दैन । 

घर–परिवारसँगको मित्रता र त्यागलाई हृदयबाट स्वीकार गर्न नसक्ने आजका गलत विचार भएका सन्ततिले आमाबाबालाई अनेकौँ पीडा र वेदनाको सिकार बनाउँछन् । आधुनिक युगमा यान्त्रिक दबदबाले घेरिएका पुस्ताहरूको सोच्ने हैसियतमै संकीर्णता बढ्नुका कारण हाम्रो समाजले आगामी पुस्तामा नैतिक आचरणलाई हस्तान्तरण गर्न नसक्ने भय छ । 

कार्यगत व्यस्तताभित्र हराएका मानिसभित्र मानवता भन्ने कुरै खतरामा बाँचेको हुँदोरहेछ । हिजो हाम्रो समाजले पापको डर राखेर पनि मानवीय कर्म गर्दथ्याे । धर्मको नामबाट बाटो, धारा, चौतारा बनाउने मानवीय भावमा समाजको सेवा भइरहेको हुन्थ्यो । आज आधुनिकताको नाममा आफ्नो भाषा, भेष, पर्व र कतिपय वैज्ञानिक तथा उपयोगी संस्कारसमेत पतन भइरहेका छन् ।

रुढीवादको संज्ञा दिएर हामीले अत्याधुनिकताको सदुपयोगभन्दा अन्धानुकरण गर्दै आफ्नै पहिचानलाई समेत बिर्संदै गइरहेका छौँ । बाध्यताको जोहो या त अलिकति त फेसन, अर्काको अन्धानुकरण र रवाफकै कारण पनि धेरै युवा पिँढीले आफ्नै मातृभाषा जान्दैनन् ।

घरमा विभिन्न पर्वहरू मनाइन्छन् तर त्यसको इतिहास थाहा भइरहेकै हुँदैन । अग्रजले अपनाएका राम्रा र लाभदायक संस्कृतिलाई नवपुस्ताले सिक्नै चाहँदैन । हाम्रा अग्रज हाम्रा ज्ञानका जीवन्त अनुभव हुन् । खुला तर अमूल्य किताब हुन् । तिनका ज्ञानलाई सिक्नु र व्यवहारमा अपनाउनु आजका पुस्ताको कर्तव्य पनि हो । 

सबै सन्तति गलत नै हुन्छन् भन्ने त छैन तथापि पश्चिमी कुसंस्कारको गलत आचरणमा आकर्षित आजको नवपुस्ताले आफ्ना सुसंस्कृतिलाई उपेक्षा गर्दै परसंस्कृतिका गलत धारणालाई अवलम्बन गर्न लहसिनु विडम्बनाको कुरा हो । आजको समाजले असल पुस्ता जन्माउन सिकेन । 

अंग्रेजी भाषाको मोहमा मौलाएका निजी विद्यालयको सिकार भइरहँदा आजको समाज हाम्रोपनाबाट ह्वात्तै बटारिएको छ । देखासिकी गर्नुपर्ने, अर्काको अनुसरणमा प्रतिस्पर्धा हुने कारणले बाध्यात्मक सिकाइबाट संस्कृतिको दोहन भइरहेको छ । 

यस मानेमा पश्चिमीकृत सोचबाट हामीलाई चाहिनेबाहेकका शैलीप्रतिको विकर्षण पनि आवश्यक छ । हो, सबैका सन्तान कठोर हुँदैनन्, ममताको रसलाई चाखेर बडो प्रेमसँग सुख दुःखमा रमाउँछन्, त्यहाँ आदर्श परिवारले बाँच्दोरहेछ । संस्कृतिले बाँच्ने अवसर पाउँदोरहेछ, पहिचान अटल रहँदोरहेछ ।