विज्ञानले बुझ्न सरल बनाउँछ कि झनै जटिल !

विज्ञानले बुझ्न सरल बनाउँछ कि झनै जटिल !

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  फाल्गुन २३, २०७५


विज्ञानको यात्रा जटिलता देखि सरलतातिर र सरलताबाट पुनः जटिलता उन्मुख रहेको छ । 

जीवन जगतमा हामीलाई जे कुरा जटिल लाग्छन्, विज्ञान तिन्लाई सुल्झाएर सरल बनाउने प्रयास गर्छ । ती कुरा अथवा वस्तु बारे बुझ्न विज्ञानले सहज, सरल, बोधगम्य बनाउँछ, बनाउने प्रयास गर्छ । 

एउटा उदाहरण लिउ विज्ञानले सम्पूर्ण विश्वको जटिल रचनाधर्मिता बुझ्ने प्रयास गर्‍यो । थाहा हुन आयो सबै वस्तु स–साना कणले बनेका हुन्छन् । प्रमाणित भयो विश्वका सबै वस्तु अणुले (एटम) बनेका हुन्छन् । हामीलाई बुझ्न सजिलो भयो र हामीले बुझ्यौं–संसारका सबैवस्तु अति साना कण (जसलाई एटम भनियो) बाट बनेका हुन्छन् र यो ‘एटम’लाई टुक्राउन सकिदैन, ‘एटम इज द स्मालेस्ट पार्ट अफ म्याटर ह्विच क्यान नट बी डिभाइडेड मोर ।’

 जटिल संरचनालाई विज्ञानले सरल बनाई दियो । तपाई हामी जस्ता सामान्य मानिसलाई ब्रह्मज्ञान प्राप्त भयो, हाम्रो संसारको निर्माण ‘एटम’बाट भएको हो । गीता, बाइबल, कुरान जस्तै हामीले नवज्ञान प्रति आस्था, निष्ठा, विश्वास राख्यौ । यसलाई परम सत्य मान्यौ । 

  ‘ईश्यावास्यमिदम सर्वम् यत्कििचिंत जगत्यामजगत । ‘कण कणमा ईश्वरको बास छ’, भन्ने सुगमतामा विज्ञानले मुहरलगाई दियो । 

 तर विज्ञानको अर्को एउटा रुप पनि छ, साचौ अर्थमा यही नै यसको वास्तविक स्वरुप हो । त्यो हो निरन्तर खोज ! विज्ञान कुनै सत्यलाई परमसत्य मानेर ‘म्युट मोड’ मा बस्दैन । निरन्तर गति र खोज नै यसको प्राण हो, ‘चरैवेति’, ‘चरैवेति’... । यो पनि होइन, त्यो पनि होइन, खोज्दै जाउ । नयाँ नयाँ सत्य उद्घाटित हुँदै जान्छन् तर तिम्रो खोजको क्रम कही पनि नरोकियोस् । 

हामी रोकियौ ‘एटम’मा, तर ग्रीक विद्वानद्वय लिउसिप्पस र डेमोकर्टस र भारतीय ऋषि कणाद एवम् अंग्रेज वैज्ञानिक जोन डाल्टन (१८०३) प्रतिपादित ‘एटम’ अवधारणाले जोसेफ जोन थामसनको चित्त बुझाउन सकेन । यी अंग्रेज वैज्ञानिकले १८९७ मा ‘एटम’ भित्र पसी छाडे र ‘एटम’लाई विभाजित गरी दिए । ‘एटम’ भित्र इलेक्ट्रन छुट्टै कण हुन्छ भन्ने सत्य यिनले संसार सामु ल्याइ दिए । मोटामोटी बुझ्नुस यिनले ‘एटम’लाई तोडी दिए, अब संसारलाई थाहा भयो ‘एटम’ अविभाज्य होइन, यो सबैभन्दा सानो कण होइन, ‘एटम’ पनि अरु कणबाट मिलेर बनेको हुन्छ । 

 यिनका शिष्य अर्नेस्ट रदरफोर्ड पनि के कम, उनले ‘एटम’ भित्र अर्को कण पनि खोजी दिए प्रोटन । फेरि रदरफोर्डका विद्यार्थी जेम्स चैडविकले ‘चरैवेति’ पालना गर्दै ‘एटम’ भित्र तेस्रो कण पनि खोजी छाडे, त्यसको नाम रह्यो न्युट्रन । गुरुशिष्य परम्पराका वाहक यि तीनैजना नोबेल पुरस्कारबाट सम्मानित भए । 

  ‘चरैवेति’ यहाँ पनि रोकिएन, विज्ञानले सरल बनाउदै लगेको ज्ञान यात्रा सरल भन्दा सरल हुँदै गइ रहेको थियो । एटमभित्र कण मात्रै होइन न्युक्लियस ज्ञात हुन आयो । तीनवटा आधारभूत बल (फण्डामेन्टल फोर्सेस) ‘वीक न्युक्लियर फोर्स,’ ‘स्ट्रांग न्युक्लियर फोर्स,’ ‘इलेक्ट्रोम्यागनेक्टिक फोर्स’ पत्ता लागे । हामी परिचित रहेको गुरुत्वाकर्षण बल (ग्रैभीटेशनल फोर्स) बारे अझै ज्ञात छैन । के ‘एटम’ भित्र त्यस बललाई उत्तपत्ति गर्ने अन्य कुनै कण पनि छ ? परिकल्पना ‘ग्रेभीटान’को गरिएपनि त्यसबारे प्रमाणिक रुपमा केहि ज्ञात भएको छैन । 

विज्ञानको यस यात्रामा एउटा कालखण्डमा ‘ईश्वर मर्‍यो’, पदार्थको अस्तित्व कायम भयो । अर्को कालखण्डमा पदार्थ रहेन, ‘एटम’को अस्तित्व कायम भयो । ‘एटम’ छिन्नभिन्न भयो अनेक अन्य कणको उदय भयो । ‘स्ट्रिंग थ्योरी’ को चरणमा प्रवेश गर्दा यी सबै कणको अस्तित्व पनि बाँकी रहेन । अब विज्ञान भन्छ, ‘संसारका सबै थोक ‘स्ट्रिंग’ ले बनेका हुन ।’ ‘स्ट्रिंग’लाई सामान्य भाषामा बुझौ, गितारको तार हल्लाउँदा भएको ‘भाइभ्रेसन’ । गितारको तार हल्लाउदा निस्केका तरंगबाट संसारकै सबै वस्तु बनेका छन् । विज्ञानको यो परिभाषा तपाईलाई सरल लाग्यो कि जटिल ?

प्रोटन र न्युट्रन पनि अन्य कणबाट मिलेर बनेका हुँदा रहेछन् । यी दुबै पनि विभाजित भए । ‘क्वार्क’कणको खोजी भयो, प्रोटन र न्युट्रन विभिन्न ‘क्वार्क’ बाट मिलेर बनेका हुँदा रहेछन् । 

जटिलतालाई सुल्झाउदै सरल बनाउदै गइरहेको विज्ञान ‘सरलता भित्रको जटिलतामा’ फस्न पुग्यो । जटिलताका केस्रा केस्रा केलाउदै हात आउँछ सरलता, सरलता परिभाषित गर्दै जाँदा कही न कही त सरलताको समापन सीमा आइपुग्छ । सरलताको धरातल अन्त हुँदा फेरी जटिलताकै स्थुल भूमि प्रारम्भ हुदोरहेछ । विज्ञान पनि वस्तु संरचनाको जटिलता सरलीकृत गर्दै गर्दै सरलता भित्रको जटिलतासँग ठोक्किन पुग्यो । 

विज्ञानको यस यात्रामा एउटा कालखण्डमा ‘ईश्वर मर्‍यो’, पदार्थको अस्तित्व कायम भयो । अर्को कालखण्डमा पदार्थ रहेन, ‘एटम’को अस्तित्व कायम भयो । ‘एटम’ छिन्नभिन्न भयो अनेक अन्य कणको उदय भयो । ‘स्ट्रिंग थ्योरी’ को चरणमा प्रवेश गर्दा यी सबै कणको अस्तित्व पनि बाँकी रहेन । अब विज्ञान भन्छ, ‘संसारका सबै थोक ‘स्ट्रिंग’ ले बनेका हुन ।’ ‘स्ट्रिंग’लाई सामान्य भाषामा बुझौ, गितारको तार हल्लाउँदा भएको ‘भाइभ्रेसन’ । गितारको तार हल्लाउदा निस्केका तरंगबाट संसारकै सबै वस्तु बनेका छन् । विज्ञानको यो परिभाषा तपाईलाई सरल लाग्यो कि जटिल ? 


  

तपाई हामी जीवनमा सधै सरलताको खोजी गर्छौ, तर याद राख्नुस जटिलता सुल्झाउँन जति सजिलो हुन्छ, सरलता सुल्झाउँन त्यति नै जटिल हुंदोरहेछ । जीवनका समस्या स्थूल हुन्छन्, हामीलाई जटिल लाग्छन, हामी ती बाट पन्छिन खोज्छौ । तर ती सबै जटिल समस्याको समाधान खोज्न सकिन्छ । सरलता जति सजिलो देखिन्छ त्यति सजिलो हुन्न, यो नै सबैभन्दा अप्ठेरो हुन्छ शायद यसको कुनै समाधान नै हुन्न ।

जटिल संसार बुझ्ने क्रममा ‘एटम’पत्ता लाग्यो । थाहा छ तपाईलाई ‘एटम’ कत्रो हुन्छ ? एक मिटरको युनिट हामी सबैलाई थाहा छ । एउटा ‘एटम’को ‘साइज’ एक मिटर भन्दा दश अर्ब गुना सानो हुन्छ । त्यो भित्र छन् इलेक्ट्रन, प्रोटन, न्युट्रन र न्युक्लियस । अब कल्पना गर्नुस ‘एटम’ भित्र रहेका इलेक्ट्रन, प्रोटन न्युट्रन न्युक्लियसको आकार कत्रो हुन्छ होला ? 

विज्ञान भन्छ, इलेक्ट्रनकोे आकार     = १ मिटर/ २८,०००,०००,०००, ०००,०००
प्रोटनको आकार                          = १ मिटर/८७०,०००,०००,०००,०००  
न्युट्रनकाेआकार                         = १मिटर / १६,०००,०००,०००,०००
न्युक्लियसको आकार                 = १ मिटर / १,७५६,६००,०००,०००,००० हुन्छ

एउटा हाइड्रोजन ‘एटम’को ‘मास’  १ किलोग्राम  / १,०००,०००,०००,०००,०००,०००,०००,०००,००० हुन्छ । हाइड्रोजनको ‘एटम’ सबैभन्दा हलुको हुन्छ । 

‘एटम’को ‘मास’ स्ट्रक्चरमा सबैभन्दा बढी ‘मास’ न्युट्रनसँग, त्यसपछि प्रोटनसँग र सबैभन्दा हलुको इलेक्ट्रन हुन्छ । 

 एटमको जुन ‘मास’हुन्छ त्यसमा ९९ प्रतिशत भन्दा बढी ‘न्युक्लियसमा’ रहेको हुन्छ । प्रोटन, न्युट्रन न्युक्लियस भित्र हुन्छन्, इलेक्ट्रान भने न्युक्लियस बाहिर हुन्छ । ‘एटम’ भित्र ९९.९९प्रतिशत रिक्त स्थान हुन्छ

 के तपाईलाई ‘एटम’को संरचना अझै सरल र सजिलो लाग्दैछ ? 

 प्रोटन र न्युट्रन ‘क्वार्क’ कणबाट मिलेर बनेका हुन्छन् । फरक फरक तत्वका ‘एटम’मा इलेक्ट्रन, प्रोटन र न्युट्रनको संख्या फरक फरक हुन्छ । इलेक्ट्रन ‘निगेटिभ चार्ज’, प्रोटन ‘पोजिटिभ चार्ज’ र न्युट्रन चार्जरहित हुन्छ । सबैको आ–आफ्नो ‘स्पिन’हुन्छ । ‘एटम’भित्र इलेक्ट्रन सर्वव्यापक हुन्छ, भनाईको अर्थ यो ‘एटम’ भित्र जहाँ पनि उपस्थित भएको देखिन्छ । 

‘एटम’का केही सामान्य जानकारी दिएर मैले जटिलता र सरलताको चिन्तन गरेको हुँ । एउटा सरल, सहज, सूक्ष्म ‘एटम’ भित्र कतिको जटिलता र रहस्य लुकेका छन् यो सबै सम्झेर सानो– सरल– सहज– सूक्ष्मको भयावहताले मनको ‘फ्युज’ नै उडाइ दिन्छ । जीवनमा सरलता रोज्नु सट्टा वरु जटिलता रोज्नु नै श्रेयस्कर लागि रहेको छ ।