थुनुवाको डायरीः 'बाजिगर', झुठो आरोप र जेलकाे बास
नखाएको विष
चैत्र २९, २०७६

म हनुमान ढोका पुगेको दोस्रो दिन बिहान ५ बजे मेरो निद्रा खुल्यो । यसो हेरेको त बाटोभरि लाइनका लाइन मानिसहरू मस्त निद्रामा सुतिरहेका थिए । कोठातिर हेरें । हरेक कोठाको ढोका खुल्लै रहेछ । त्यहाँ त महिला थुनुवाहरू पनि रहेछन् । उनीहरूको कोठामा बाहिरबाट हतकडीको ताला लगाईएको थियो । पुरुष थुनुवाहरूको कोठामा भने ढोका नै लगाएको थिएन । एकजना प्रहरी बरण्डामा पालो बसिरहेको थियो । यो ठाउँमा आजभन्दा करीव चालीस वर्ष पहिले पनि म आएको थिएँ । त्यतिबेला भारतले नेपालको सुस्ता र महेशपुरमा अतिक्रमण गरेको थियो । त्यसको विरोधमा भारतीय दुतावास लैनचौरमा ढुङ्गामुढा गर्न गएको थिएँ । त्यतिबेला प्रहरीले हामीलाई गिरफ्तार गरेर यहाँ दुई रात थुनेको थियो । त्यतिबेला त यति थुनुवाहरू थिएनन् । कोठामा दिनभरि ताला लगाइ राख्थ्यो । पिशाव फेर्न र खाना खानमात्र ढोका खोल्थ्यो । मलाई पिशाव लाग्यो ।

पिशाव फेर्न म तल ओर्लें । मैले त्यो ठाउँको राम्ररी निरीक्षण गरें । यो घरलाई पहिले रातो घर (मामाघर) भन्ने ठाउँको बीच भागमा एउटा सानो चोक छ । चोकको दायाँ बायाँ अर्थात् उत्तर दक्षिण लाइनको दुईटा भाग छन् । त्यो भाग जोड्न एउटा बरण्डा छ । माथिदेखि नै खुला भएको चोक हो । त्यहाँबाट आकाश देखिन्थ्यो । म विस्तारै भर्‍यांङ्गको बार समातेर तल ओर्लें । पन्ध्र खुड्किला रहेछ । तल हिलटेक कम्पनीको ठूलठूला दुईटा ट्यांकीहरू छन् । पानी थाप्न हुनेगरी दुईटै ट्यांकीमा धाराको टुटि राखेका छन् । बरण्डाको मुनि नुहाउने दुईटा कोठाहरू छन् । त्यसपछि एक लाईनले ५ वटा ट्वाईलेटहरू छ । एउटामा महिला शौचालय भनेर लेखिराखेको रहेछ । म एउटा ट्वाईलेटभित्र गएँ । ढोका लगाएर चुकुल लगाउन खोजेको त चुकुल नै छैन । पानी बाल्टिन ढोकानिर राखेर दिसा बसें । बाहिर आएर हातमुख धोएँ । माथि आएर एकछिन बसें । हातमा घडी छैन । कति बज्यो थाहा भएन ।

एकछिन पछि 'अय उठ, तल हिंड' भनेर एकजना प्रहरी लट्ठी घुमाउँदै आयो । बाटोमा सुतिरहेकाहरू आ–आफ्नो ओढ्ने–ओछ्याउने समेतेर कोठा तिर गए । महिला सेलको ढोका पनि खुल्यो । रातभर पिशाव गर्न नपाएकाहरू हस्याङ्ग फस्याङ्ग गर्दै चर्पीतिर लागे । उतरतिरको कोठाहरूबाट पनि ग्वारग्वार्ती मानिसहरू तल ओर्ले । त्यो सानो चोकमा ठेलमठेल गरेर बस्दा पनि त्यहाँका मानिसहरु अटेनन् । भर्‍यांङ्गको खुडकिलामा समेत बसे । म पनि लरखराउँदै तल गएँ । भर्‍याङ्गमै उभिएँ । महिलाहरूलाई बरण्डामा राखिएकाे थियाे। पन्ध्र मिनेटपछि माथि जाउ भन्यो । म पनि विस्तारै माथि गएँ । बरण्डामा एउटा भित्ते घडी रहेछ । विहानको ६ बजिसकेको घडीले जनाइरहेकोछ । ब्रस गर्नुपर्‍यो । आफूसँग केही थिएन । यस्तो सामान्य सामान किन्न आठ नम्बर कोठामा पसल रहेछ । आठ नम्बर कोठामा गएर एउटा ब्रस र टूथपेस्ट लिएँ । ब्रस गरेर आएँ । एकछिन पछि एक जना मानिस किटलीमा चिया राखेर बेच्न ल्यायो । बाजिगर र मैले चिया पियाैँ ।

बिहानको सात बज्यो । थुनुवाहरूको भेटघाट सुरु भयो । तल ढोकाबाट थुनुवाहरूको नाम लेखेर एउटा चिट माथि पठाउँदोरहेछ । माथि पालोमा बसेको प्रहरीले नाम बोलाएर जम्मा पार्छ अनि एकैचोटि चार पाँचजनालाई हतकडीमा मालाजस्तै उनेर तल पठाउँदो रहेछ ।

अब एकछिनमा मलाई भेट्न मेरा साथीभाइहरू, आफन्तहरू र परिवारका मानिसहरू आउँनेछन् । मेरा पार्टीका नेताहरूले मलाई छुटाउन आउनेछन् । प्रधानमन्त्री माधव नेपाल र गृहमन्त्री भिम रावल मेरै पार्टीका हुन् । उहाँहरूले मलाई छुडाउने छन भन्ने मनमा भरोसा छ । मैले गर्दै नगरेको अपराधमा कसरी सजाय पाउँछु र ? मलाई बोलाउन कोही आयो कि भनेर मेरो सम्पूर्ण ध्यान बरण्डा तिर रहिरह्यो । तर कोही पनि आएन । कसैले पनि मलाई भेट्न आएन । मेरो मन छटपटाउन थाल्यो । बाहिर को आएको छ भनेर थाहा पाउन झ्याल छैन ।

नौ बजे एकजना केटा ‘नजरराम महर्जन’ भन्दै कराएर आयो । उसको हातमा टिफिन क्यारियर थियो । मलाई टिफिन क्यारियर दियो । मैले टिफिन क्यारियर लिंदै सोधें, 'कसले ल्याएको यो ?'

'तपाईंको छोराले दिएर गएको ।' यति भनी त्यो केटा गयो । छोराले मलाई भेट्दै नभेटीकन गयो । किन होला ? 

भात खाने बेला भयो । घरबाट ल्याएको खाना बाजिगर र मैले बाँडेर खायाैँ । मैले प्रहरीले दिएको खाना खाइनँ । बाजिगरले नै खायो । कति खान सकेको होला ! भन्ने लाग्यो 

दश बजे पालोमा बसिरहेको प्रहरीले मेरो नाम लिएर बोलायो । ओहो ! को भेट्न आएको होला भनेर उत्सुक हुँदै  बरण्डा तर्फ गएँ । मेरो दुईटै हातमा हतकडी  पाे लगाई दियो । एउटा कागजको टुक्रा दिंदै तल जान भन्यो । गेटमा गएँ । हिजो मलाई हनुमान ढोका पुर्‍याउने प्रहरीहरू आएका रहेछन । उनीहरूसँग बाहिर गएँ । बाहिर गेटमा अर्की महिला प्रहरी पनि आएकी रहिछिन् । दुबैजना सादा पोशाकमा आएका रहेछन् ।

दिउँसो १२ बजेतिर एकजना असईले मलाई लिन आयो । कहाँ जाने भनेको त माथि जाने भन्यो । मलाई हतकडी नलगाईकन बाहिर लग्यो । बाहिरबाट माथि अफिस कोठामा लैजान लाग्यो । मैले मनमनै सोचें- मलाई केरकार शाखामा लगेर केरकार गर्न लागेको होला । जतिसुकै पिटे पनि, पिट्दा पिट्दै मारे पनि आफूले गर्दै नगरेको अपराध स्वीकार्दिन ।

 'कहाँ जाने ?' मैले उत्सुक भएर सोधें ।

'म्याद थप्न अदालत जाने !' प्रहरीले भन्यो ।

'एकछिन पर्खनुस् मेरो घरका मान्छेहरू आएका छैनन् । उनीहरू आएपछि मात्र जान्छु ।' मैले भनें

'अदालतबाट म्याद नथपेसम्म तपाईंलाई कसैसँग भेट्न दिंदैन । बरु छिटो म्याद थपेर आउँ अनि तपाईंका मानिसहरूसँग भेट गर्न पाउनु हुनेछ ।' प्रहरीले भन्यो, 'हामी ट्याक्सीमा जानुपर्ला ।'

'हुन्छ, ट्याक्सी खोजेर ल्याउनुस् ।' मैले भनें ।

महिला प्रहरीले ट्याक्सी खोजेर ल्याइन् । विवश भएर म उनीहरूसँग गएँ । उनी अगाडि सीटमा बसिन् । म र अर्को प्रहरी पछाडि सीटमा बस्यौं । आकाश बादलले ढाकेको छ । पानी पर्लाजस्तो लाग्छ ।

'मेरी छोरीहरू कहाँ छन् ?' मैले बाटोमा सोधें ।

'एउटा संस्थाको संरक्षणमा पठाइएको छ ।' महिला प्रहरीले जवाफ दिइन् ।

'अनि मेरो घरको साँचो कोसँग छ ?'

'हामीसँग छ । हामीले तपाईंको घरमा ताला लगाएर शिलबन्दी गरेर आएका छौ । त्यो ताला नतोड्नु होला । घरका मान्छेलाई भन्नुहोला ।' पुरुष प्रहरीले भन्यो ।

हामी सरकारी वकिल कार्यालय पुग्यौं । त्यहाँ उपस्थिति जनाएर जिल्ला अदालत लगे । एउटा झ्यालमा मलाई देखाउन लग्यो । फाँटवालाले न्यायाधीशको नम्बर लेखीदियो । मलाई इजलाश नं‍‍.३ मा लगे । कोठाभित्र पस्ने बित्तिक्कै मैले न्यायाधीशलाई प्रणाम गरे । न्यायाधीशको अगाडि मेरो फाईल राखीदियो । न्यायाधीशले सरसर्ती फाइल हेरेर मलाई पुलुक्क हेर्नुभयो । अनि प्रहरीतिर हेरेर भन्नुभयो, 'दुईटा एनजिओको झगडामा विचरो बुढो मान्छेलाई हतकडी लगाएर ल्याउनु भएको ? राम्ररी छानबिन गरेर पो ल्याउनु पर्छ । ल हतकडी खोल्नुस् ।'

प्रहरीले मेरो हतकडी खोली दियो । मलाई लाग्यो अब म छुट्छु होला ।

'तपाईंलाई घटनास्थलबाट गिरफ्तार गरिएको थियो ?' न्यायाधीशले मसँग सोध्नुभयो ।
'होइन श्रीमान, एउटा कुरा बुझ्नुछ अफिसमा एकचोटी आउनु भनेर कीर्तिपुर थानाको इन्स्पेक्टरले बोलाएर गएको थिएँ । त्यहाँबाट कालीमाटी महिला सेलमा ल्याएर थुनेको थियो । यो घटना घटेकै थिएन । म माथि झुठो आरोप लगाइएको हो, श्रीमान !'

'तपाईको खुट्टा कहिले कहाँ कसरी भाँचेको थियो ?  न्यायाधीशले एकैस्वरमा सोध्नुभयो ।

'पाँच दिन पहिले आफ्नै घरको आँगनमा चिप्लेर मर्केको थियो ।'

'हिरासतमा प्रहरीले तपाईंमाथि कुनै दुव्र्यवहार गर्‍यो कि ? '
'अहिलेसम्म त केही गरेको छैन । केरकारमा लगेर खुट्टा भाँच्नुपर्छ भन्छन् श्रीमान ।'

'त्यस्तो केही गर्न पाईंदैन । त्यस्तो गर्‍ यो भने मलाई भत्रुहोला । तपाईंसँग अरू कुनै रोग छ ?'

'मलाई डायबिटिज टाइप २ रोग लागेको छ । हिजोदेखि औषधी खान पाएको छैन श्रीमान । औषधी खान नपाएर अहिले नै मेरो आँखा धमिलो हुन थालिसकेको छ ।'

'के हो उहाँलाई औषधी खुवाउनु पर्दैन ?' न्यायाधीशले प्रहरीलाई भत्रुभयो ।

'हाम्रो सेलमा राखेको होइन श्रीमान । हनुमान ढोकामा राखेको थिएँ । अब गएर भनूँला ।' प्रहरीले जवाफ दियो ।

न्यायाधीशले फाइलमा केही लेखेर दिनुभयो । महिला प्रहरीले फाइल लिइन र बाहिर फाँटवाला कहाँ मलाई लिएर गइन् । एउटा रजिस्टरमा मलाई सहि गर्न लगायो । म प्रहरीहरूसँग अदालतबाट बाहिर आएँ । मलाई चिया पिउन मन लाग्यो । मैले प्रहरीहरूलाई भनें, 'यहाँ एक कप चिया पिउँ न । तपाईहरू पनि पिउने हो कि ?'

'होइन ! हामी चिया पिउँदैनौं । तपाई पिउनुँस् ।' उनीहरूले भने ।

मैले बिना चीनिको एक कप दूधवाला चिया पिएँ । एउटा चुरोट पनि सल्काएँ । पुरुष प्रहरीले ट्याक्सी खोजेर ल्यायो । त्यही ट्याक्सीमा बसेर फर्कियौं ।
'कति दिनको म्याद थप्यो ? ' मैले बाटोमा सोधें ।

'तपाईंलाई त न्यायाधीशले माया गर्नु भएको छ । हामीले पन्ध्र दिनको म्याद मागेको थिएँ । जम्मा तीन दिनको म्याद थप्नु भएको छ । अब १० गते फेरि आउनु पर्छ । चाँडै खाना खाएर बस्नुहोला ।' पुरुष प्रहरीले भन्यो ।

हनुमान ढोका प्रहरी परिसरमा मलाई जिम्मा लगाएर उनीहरू फर्के । म माथि पुग्ने बित्तिक्कै मेरो हतकडी खोलीदियो ।“कति दिनको म्याद थप्यो रु“ कोठामा बस्ने साथीहरूले सोधे ।

'पर्सिसम्मको लागि मात्र म्याद थपेको छ ।'
'ए ! तपाईं छुट्नु हुनेछ । अब दुईचोटीसम्म मात्र म्याद थप्न पाइन्छ । हामीलाई त पहिलो पटक पन्ध्र दिन दोस्रो पटक सात दिनको म्याद थपेको थियो । अब पर्सि पेशी छ ।' अलि बुज्रुक टाइपको व्यक्तिले भन्यो ।

यस्तै अनेकौं किसिमको गफ गर्दागर्दै समय वितेको चालै पाइन । तीन बजे प्रहरीले मलाई फेरि बोलायो । म गएँ । मलाई हतकडी लगाएर तल पठायो । मलाई भेट्न छोरा र बुहारी आएका रहेछन् । उनीहरूसँग भेटें । छोराले मलाई ओछ्याउने म्याट र ओढ्ने कम्बल ल्याइदियो । मैले कम्बल फर्काइ दिएँ । म्याट्मात्र लिएँ । अनि पाँगा घरको ढोकामा लगाएको ताला नतोड्नु भनें । ट्रयाक सुट र फेर्ने लुगा ल्याइदिनु भनें । यतिकैमा समय सकियो भनेर प्रहरीले मलाई फर्काई ल्यायो ।

साँझ साढे पाँच बजेतिर 'ल, तल जाऊँ, तल जाऊँ' भनेर एकजना प्रहरीले लट्ठी घुमाउँदै तल चोकमा उपस्थित हुन आदेश दियो । म विस्तारै उठें । लरखराउँदै  तल ओर्लें । मानिसहरूले चोक भरिसकेका रहेछन् । ठेलमठेल गरेर मानिसहरू बसिरहेका थिए । माथि बरण्डामा महिलाहरूलाई उभ्याइराखेका थिए । एक जना प्रहरी हवल्दार एउटा रजिस्टर र एउटा फाइल लिएर आयो । उसले हामीलाई अर्ति दिन थाल्यो । जिन्दगीमा कहिल्यै अपराध नगर्न र अनुशासन नतोड्न सुझाव दियो । त्यसपछि थुनुवाहरूको नाम लिएर बोलाउन थाल्यो । जसको नाम लिन्छ, उसले ‘यस सर’ भत्रु पर्दोरहेछ । मेरो नाम पनि बोलायो । मैले पनि यस सर भनें । सबैको हाजिर गरिसके पछि 'ल आ–आफ्नो ठाउँमा जानुु' भन्यो । केटाहरू एकैचोटि हारारा हुरुरु माथि आउन खोज्दा मलाई घचेटेर झण्डै भर्‍याङ्गबाट खस्न लागेको थिएँ ।

 खाना खाने बेलामा घरबाट ल्याएको खाना नै खाएँ । त्यो रात पनि म बरण्डामा नै बाजिगरसँग सुतें । हिजो जस्तै बाजिगरलाई बेलुका अण्डा र चिया खुवाएँ । मेरो मनले यस्तै हो भत्रे ठानीसकेको छु । रातभर मस्तिले सुतें ।

२०६७/०६/०९ शनिवार  अर्थात तेश्रो दिन

विहान सबेरै उठेर नित्यकर्म गरें । चाँडै उठिएन भने चर्पि प्याक हुने डर । ब्रश गरें । मुख धोएँ । मेरो चीनि बढेजस्तो छ । मैले औषधी नै खान पाएको थिएन । न हिंड्डुल गर्न पाएँ, न रेडियो सुत्र पाएँ न पत्रिका नै पढ्न पाएँ । कस्तो मानसिक यातनापूर्ण दिन बिताउनु परिरहेको छ । एक–एक पल बिताउन मलाई गाह्रो भइरहेको छ । गाह्रो भएर के गर्ने ?

छोराले बिहानको खाना ल्यायो । मलाई छुटाउन सबैजना लागिरहेको जानकारी दियो । साढे नौबजे अरूले खाना खाएको बेला मैले पनि खाना खाएँ । त्यहीबेला एउटी महिला प्रहरी आइन् । उनले औषधीको नाम लेखिन् र पैसा लिएर मेरो औषधी किन्न गइन् ।

विहानको १०:३० बजेतिर एकजना सादा पोशाकको प्रहरीले मलाई लिन आयो । हतकडी नलगाइकन एक्लै बाहिर लिएर गयो । म ढोकामा पुगें । डीएसपीले मलाई भेटघाटस्थलमा लिएर गयो । त्यहाँ त नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समिति अध्यक्ष मण्डलका सम्पूर्ण सदस्यहरू मल्ल के सुन्दर, उमेश स्थापित, पंचलाल, विपेन्द्र महर्जन र अरूहरू पनि आएका थिए । उहाँहरू मलाई छुटाउन आएका होलान् भन्ठानें । मेरो मन प्रफुल्लित भयो । उहाँहरूले घटनाको बारेमा सोध्नुभयो । मैले यथार्थ कुरा बताएर भनें, 'यो सबै झुठा आरोप मात्र हुन् । कुनै घटना घटेकै थिएन ।'

'हामीले एसपीसँग कुराकानी गरिसक्याैँ । यो महिला सेलको मामिला हो । यहाँबाट केही गर्न सक्दैन । म्याद थपेर ल्याइसक्यो । अब जे गर्छ अदालतबाटै फैसला हुनसक्छ ।' उहाFहरूले भन्नु भयो ।

पाँच मिनेट जति कुरा गरेर उहाँहरू जानुभयो । मलाई फेरि भित्र ल्यायो । यहाँबाट छुट्न पाउने मेरोे आशा निराशामा परिणत भयो । मनमा अनेकौं तर्कहरू उब्जिन थाल्यो । परिस्थितिको सामना गर्ने हिम्मत गरें ।

त्यसबेलादेखि प्रहरीहरूले मलाई अलि राम्रो व्यवहार गर्न थाले । अब कोठामा नबसी बरण्डामा बसिरहे पनि प्रहरीले केही भन्दैनन् । आज दुई जना नयाँ केटीहरूलाई देखें । कहाँबाट समातेर ल्याएको भनेर सोधेको त ठमेलबाट यौन कार्य गरिरहेका बेला दुई जना केटाहरू सहित समातेर ल्याएको भन्यो । साँझ मलाई भेट्न मेरा आफन्तहरू, साथीभाइहरू आए र  गए । कसैले मलाई यहाँबाट छुटाएर लान सकेन ।

साँझ रोलकल हुँदा पनि मलाई तल चोकमा उभिन जानु परेन । कोठाभित्रै बस्न दियो । कोठामा बस्ने केटाहरूसँग मेरो हेमखेम बढ्न थाल्यो । कोठामा बसेपछि त्यहाँ भित्र बसेका केटाहरूसँग कसरी थुनामा परेको भनेर एक अर्काको दुःखका कुराहरू साटासाट हुन थाले । केही कुरा लेखुं भने कलम, कापी केही पनि राख्न दिएको छैन । जतिसुकै मिल्ने साथी भए पनि फोन नम्बर टिप्न पाएको होइन । आजदेखि मलाई पनि भित्र कोठामा सुत्न दियो । कोठाको झ्याल ठूलै रहेछ । झ्याल बन्द गरीराखेको छ । भ्यान्टिलेसन बाहेक प्रकाश र हावा आउने कुनै ठाउँ थिएन । झ्यालभरि काठको फ्लेक ठोकी राखेको छ । मनमा अनेकौं कुरा खेलाउँदै आधारातसम्म नसुतिकन बसें । ती बच्चाहरूले ममाथि त्यस्तो झुठो आरोप किन लगाएको होलान् ? घरमा श्रीमती हाइ ब्लड प्रेसरको रोगी । उनले कसरी मन थामी होलिन् । मेरा दाजु भाइ, इष्टमित्रहरूले के सोचे होलान् ?  मेरो जिन्दगी जेलमै बित्ने हो कि ?  कहिल्यै यस्तो फण्डामा नपरेको मान्छे । अरूहरूलाई प्रहरीले समात्दा म छुटाउन जान्थें । आज मलाई कसैले छुटाउन आएन । यस्तै सोच्दै कुनबेला निदाएँ थाहा नै पाइन ।

२०६७/०६/ १० आइतवार  अर्थात चौथो दिन  दोस्रो म्याद थप 

विहान उठेर आउँदा नयाँ अनुहारका मान्छेहरू थुप्रै बरण्डामा बसिरहेको देखें । यिनीहरू हिजो राति ल्याएका होलान् । मैले नित्यकर्म गरें । अब त म पनि यहाँको पुराना थुनुवा भइसकें । मेरो मनबाट डर हटिसकेको छ । छोराले विहान बेलुका घरबाट खाना पुर्‍याइरहेकाे छ ।

विहान छोराले ल्याएको  खानमात्र सकेको थियो । प्रहरीले मलाई लिन आयो । हातमा हतकडी लगाइदियो । प्रहरी भ्यानमा राखेर वीर अस्पताल पुर्‍यायो । मेरो मेडिकल जाँच गराएर तुरुन्त फर्काए ल्यायो । यसलाई के मेडिकल जाँच भन्ने ?  मेरो तौल लियो । ब्लड प्रेशर नाप्यो, तपाईंसँग कुनै दीर्घ रोग छ भनेर सोध्यो । चीनि रोग छ भनें । मलाई कमिज फुकाल्न लगाएर मेरो जिउ हेर्‍यो भैगो भनेर पठायो । शायद बलात्कार प्रयास गर्दा कुनै घाउ चोट लागेको छ कि भनेर हेरेको होला ।

खाना खाएर एकछिन बसेको मात्र थिएँ । फेरी प्रहरीले मलाई बोलायो । हतकडी लगाएरै गेट बाहिर पठायो । बाहिर हेरेको त मलाई लिन महिला सेलका दुईजना महिला प्रहरीहरू सादा पोशाकमा आएका रहेछन् ।

पहिले झै ट्याक्सीमा राखेर सरकारी वकिल कार्यालयमा लगे । हुनत उनीहरूले प्रहरी भ्यानमा अरूसँगै मलाई पनि कोचेर लैजान लागेका थिए । ट्याक्सी भाडा म तिर्छु भनेकोले ट्याक्सीमा लगेका हुन् । म सरकारी वकिल कार्यालय पुग्दा छोरा–बुहारी, रामकुमारी, नन्दकुमारी र भान्जा नरेन्द्रलाई देखें । मलाई त्यहाँ बयान लिन लाग्दा मैले भनें, 'जाहेरवालीहरू मेरा छोरीहरू हुन् । उनीहरूलाई मेरो अगाडि ल्याउनुस् । यदि उनीहरूले मेरो अगाडि मैले कुन दिन, कुन बेला, कसरी बलात्कार गर्न खोजेको हो भने म जुनसुकै सजाय भोग्न तयार छु । तपाईंहरूले जस्तोसुकै बयान गराउन चाहनु हुन्छ, त्यस्तो बयानमा सही गर्न म तयार छु ।’

महिला सेलबाट आएकी असईले भनिन्, ‘तपाईंको बच्चाहरू तल आएका छन् । भेट्ने हो ? '

मलाई ती बच्चाहरूको मुख हेर्न मन लाग्यो । मैले भनें, 'हुन्छ, बोलाएर ल्याउनुस् !'

'म बोलाएर ल्याउँछु ।' यति भनि उनी तल गइन् ।

म बयान नदिइकन बसिरहें । असई फर्केर आएर भनिन्, ‘बच्चाहरू आउन मानेन् । संस्थाका मान्छेहरू पनि आएका छन् । उनीहरूले पनि पठाउन मानेन् ।’

'झुठो कुरालाई सत्य बनाउन गाह्रै होला । मैले गर्दै नगरेको कुरो कसरी मेरो अगाडि भन्न सक्छ ?' मैले भनें ।

त्यहीबेला मेरा विद्यार्थीहरू नीमता, सरिता, अनिशा, सबिना, कृष्णकुमारी र सम्झना लगायत थुप्रै बच्चाहरू आएका थिए । त्यसमध्ये सम्झना र नीमता मलाई समातेर धुरुधुरु रोइन् । कृष्णकुमारी र सविना पनि रोइन ।

'यिनीहरू को हुन ?' असईले सोधिन् ।

'यिनीहरू पनि मैले नजन्माएका छोरीहरू हुन् ।' मैले भनें ।

मेरो बयान लिन सुरु भयो । मैले भनें, 'ममाथि लगाइएका आरोपहरू सबै झुठा हुन् । जाहेरवालीहरूसँग मेरो रगत या हाड कुनै नाता नभए पनि मैले भावनात्मक रूपले छोरीजस्तै व्यवहार गरेर पाली राखेको थिएँ । असोज १ गते म उनीहरू बसेको घरमा गएकै थिइन । त्यो दिन एउटा सामाजिक संस्थाको वैठकमा थिएँ ।'

'यदि तपाईंले केही नगरेको भए यस्तो अमानवीय आरोप किन लगाएको होला ?'

'मैले उनीहरूलाई टीभी मोबाईल हरेक सुबिधा दिइराखेको थिएँ । उनीहरू गरीव भनेर माया गरी राखेको त उनीहरूको बानि विग्रीयाे । बाहिरका केटाहरूसँग हिंड्न थाले । मोबाईलमा ‘आइ लव यू’ भन्ने एसएमएस पाएपछि मोबाईल खोसें । एकजनाको डायरी भेट्टाएँ । यो पढ्ने बेला हो, यसरी नहिंड भनी सुझाव दिने गर्दथें । उनीहरू मध्ये एक जनालाई असोज ३ गते घरबाट निकालि दिएँ । अर्कीलाई दसैंमा घर पठाई दिन्छु भनेकोले मलाई यस्तो आरोप लगाई झुठो मुद्दा दिएको हुन सक्छ ।'मैले बयानमा भनें ।

यसरी मसँग विभित्र १७ वटा प्रश्नहरू सोध्यो । सबैको जवाफ दिएँ । त्यतिबेला मैले जुजुभाइ, मखमल र जनार्दनलाई झलक्क देखेको थिएँ । त्यहाँ बस्दाबस्दै मैले चिया पिएँ । अरूहरूलाई छोराले चिसो पिलायो । त्यसपछि मलाई जिल्ला अदालत लग्यो ।

'तपाईंको राजीखुसीले यो बयान दिनुभएको हो ?'  न्यायाधीशले सोध्नुभयो ।

मैले हो भनें । त्यसदिन पनि जम्मा ५ दिनको म्याद दियो । मेरा शुभचिन्तकहरू र प्यारा बच्चाहरूलाई छाडेर हामी हनुमान ढोका फक्र्यौ ।त्यसपछिका ५ दिन हनुमान ढोकामा । 

छोराले दिनका दिन मलाई विहान बेलुका खाना पुर्‍याइरहेको छ । मेरा साथीहरू, आफन्तहरू बिहान बेलुका मलाई भेट्न आइरहेका छन् । हातमा हतकडी लगाएर बाहिर जान मलाई मनै पर्दैन । तर के गर्ने ? यो मेरो बसको कुरा होइन । सबैजनाले अदालतमा पेशी भयो भने म छुट्छु होला भनेर ढाडस दिएर जान्छन् । हनुमान ढोका खोरमा बस्दाबस्दै मैले थाहा पाएँ कि सार्वजनिक मुद्दामा २४ दिन, जिउ मास्ने बेच्ने र जवरजस्ती करणीमा ४० दिन र लागू औषध र बन मुद्दामा ९० दिन खोरमा राख्नसक्छ । म यहाँ आएको भर्खर ६ दिन भयो । मेरो दसैं खोरमै बित्ने भयो ।

पैसा हुने र आफ्ना ठूला मान्छे हुनेहरूको लागि प्रहरी खोर पनि होस्टेल जस्तो रहेछ । म बस्ने कोठामा दुई जना हत्ताकत्ता युवाहरू छन । उनीहरूलाई हरेक दिन प्लास्टिकमा प्याक गरीराखेका खानाहरू बाहिरबाट पठाउँछन । कुखुराको सांप्रो, पुलाउ, माछा आदि खाना हुन्थ्यो । दिनका दिन त्यो खाना खाएर उनीहरूलाई वाक्क लागिसकेका थिए । एकदिन उनीहरूले मेरो खानासँग साट्ने भन्यो । हरियो साग तरकारी र छ्वयला दिएँ, मलाई कुखुराको साँप्रो र माछा दियो । पछि मैले थाहा पाएँ, उनीहरु त काठमाडौंका डन रहेछन । ठेक्का पट्टाको काममा झगडा हुँदा दुई जना मान्छेहरूलाई काटेर आएका रहेछन । अहिले ती मान्छेहरू अस्पतालमा औषधी गराईरहेका छन । यदि उनीहरू मर्‍यो भने ज्यानमारा केस लाग्ने, मरेन भने ज्यान मार्ने उद्योग केस लाग्ने भएको छ । तैपनि उनीहरूलाई कुनै फिक्रि छैन । उनीहरूत यहाँ आराम गर्न आएको पो भन्छन ।

दिउँसो १२ बजेतिर एकजना असईले मलाई लिन आयो । कहाँ जाने भनेको त माथि जाने भन्यो । मलाई हतकडी नलगाईकन बाहिर लग्यो । बाहिरबाट माथि अफिस कोठामा लैजान लाग्यो । मैले मनमनै सोचें- मलाई केरकार शाखामा लगेर केरकार गर्न लागेको होला । जतिसुकै पिटे पनि, पिट्दा पिट्दै मारे पनि आफूले गर्दै नगरेको अपराध स्वीकार्दिन ।

माथि पुगेपछि एउटा कोठामा जान भन्यो । कोठाभित्र गएको त डीएसपी कुर्सिमा बसिरहेको थियो । उसको सामुन्ने सोफामा सानुराजा शाक्य र राजेन्द्र श्रेष्ठ बसिरहेका थिए । दुबैजनासँग हात मिलाएँ । म पनि उहाँहरूसँगै बसें । कुराकानी भयो ।

'अब जे हुन्छ अदालतबाट हुन्छ । यहाँबाट केही हुँदैन बरु प्रहरी कार्यालयबाट के सुविधा दिउँ ?' भनेर डिएसपीले सोध्यो ।

'म लेखक हुँ । मलाई कापी कलमको व्यवस्था मिलाई दिनुहोस् . ' मैले भनें ।

 'हामी तपाईंलाई कापी कलम त दिन्छु तर त्यो कापीको सुरक्षा गर्न सक्नुहुन्छ ?' डीएसपीले भन्यो, 'तपाईंलाई पाना गनेर कापी दिन्छु । गनेर मात्र कापी बाहिर लैजान दिन्छु । त्यतिबेला एक पानामात्र कम भयो भने तपाईँमाथि कारवाही हुनेछ ।'

म नाजवाफ भएँ । त्यो कापीको सुरक्षा गर्न सकुंलाजस्तो मलाई लागेन । किनकी यहाँभित्र खोरमा एकसे एक हात सफाई गर्नेहरू छन । अस्ति मेरो खल्तीमा रहेको चार सय रुपैयामा एक सय रुपैयाँ कसैले निकालेको थियो । त्यसैले मैले कापी कलमको कुरा नगरीकन भनें-म डायबिटिजको रोगी मलाई हिंडिरहनु पर्छ । त्यसैले तल यता छेउबाट उता छेउसम्म हिंडन दिनुहोला । रोलकलमा जान भर्‍याङ्गमा तल माथि गर्दा हिंड्न गाह्रो छ । रोलकलमा जान नपर्ने गराई दिनुस ।'
'ल हुन्छ, म केटाहरूलाई भनिदिन्छु । डायबिटिजको रोगीलाई बलात्कारको आरोप ? हा...हा...हा कुनै संस्था लागेको होला ।' डीएसपीले हाँस्दै भन्यो ।

'हो, भ्वाइस अफ चिल्ड्रेन भत्रे संस्था लागेको छ ।' मैले भनें ।

डिएसपीको कोठामा निकैबेर कुराकानी भयो । के मात्र कुरा गर्ने ?  सानुराजा र राजेन्द्र जान उठ्नुभयो । म तल आएँ । त्यस दिनदेखि मलाई त्यहाँ बरण्डाभित्र घुम्न दियो । प्रहरीहरूले पनि सम्मान दिन थाले । अबदेखि मैले रोलकल हुँदा तल चोकमा उभिन जानु परेन ।

पेशीको लागि अदालत या सीडीओ अफिस लगेका ५/६ जना हरेक दिन छुट्ने या जेल चलान हुन्थ्यो । फेरि ८/१० जना थप्थे । दुई सय पचास जनाभन्दा कम कहिल्यै भएन । जानेभन्दा आउनेको संख्या बढ्न थाले । केटाहरू मात्र होइन, केटीहरू आउनेक्रम पनि बढ्न थालेको छ । केटीहरू पनि कोही मसाज सेन्टरबाट, कोही डान्सबारबाट समातेर ल्याएको भन्थ्यो । ३५/४० वर्ष उमेरका महिलाहरूलाई पनि ल्याएको छ । कोही लागूऔषध प्रयोग गरेका, कोही क्यासिनोबाट, कोही जिउ मास्ने बेच्ने अभियोगमा पक्राउ गरेर ल्याउँथ्यो । ती केटीहरूलाई फकाउन त्यहाँ भित्रका दादा टाइपका केटाहरू कुरा गर्न जान्छन । उनीहरूलाई चिया खुवाउँछन् । बाहिरबाट मगाएर खाना खुवाउँछन । उनीहरू दिनभरि कोठामा हुँदैनन् । कहाँ जान्छन् कहाँ जान्छन् । चेकिंग आउने बेलामा भने आइपुग्छन ।

मलाई सबभन्दा गजब त एकैदिनमा ६ जना तेश्रो लिंगीहरू समातेर ल्याउँदा भयो । अहिलेसम्म मैले लिंग नछुटेका तेश्रो लिंगीहरू खासै देखेको थिएन । अहिले प्रत्यक्ष देख्न पाउँदा म खुशी भएँ । एक जनाको अनुहार केटाजस्तो थियो, लुगाचाहिं केटीको लगाइराखेको थियो । मैले उसलाई हेरिरहँदा उनले भनिन्, 'ए बुढो ! मलाई देखेर लोभ लाग्यो कि क्या हो ?'

एक जना केटाले मेरो हात समातेर कोठाभित्र लगेर भन्यो, 'बा, यिनीहरूसँग आँखा जुधाउनु हुँदैन । बोल्दै नबोल्ने । यिनीहरूले हाम्रो बेइज्जत गरीदिन सक्छन् ।’

मलाई सहयोग गर्दै आइरहेका बाजिगरको पेशी हुनेभयो । फाइल बुझाउन दुई सय रुपैयाँ खर्च चाहियो भन्यो । अनि बल्ल ऊसँग सोधें, 'बाबु तिमी के मुद्दामा आएको ?'
'बा, म पोखरा–काठमाडौं चल्ने बसको खलासी थिएँ । एकचोटी बसमा ठूलै मान्छेको पाकेट मारेछ । थानकोट पुगेपछि पाकेट मारेको उसले थाहा पाएछ । सबैको पाकेट हेर्‍ यो । झोला चेक गर्‍यो । उसको पैसा भेटाएन । अनि मैले नै पाकेट मारेर पैसा गायब गरेको भन्ने आरोप लगाएर मलाई प्रहरीमा बुझाई दियो । आज एक्काईस दिन भयो । अब चौबीस दिनको दिन सीडीओ अफिस लान्छ । धरौटी खुल्छ होला । तर के गर्ने धरौटी तिर्न सक्दिन । म जेल जानुपर्छ । तपाई छुट्नुस है,  बा !'

मैले उसलाई दुई सय रुपैयाँ दिएँ ।  ऊ खुसी भयो ।

यसरी मैले हनुमान ढोकाको पिडादायी जीवनलाई सहज बनाउन हरेकसँग कुराकानी गरेर दिन बिताउन थालें । मलाई बाटोमा होस या बरण्डामा होस जहाँ मन लाग्छ त्यहाँ बस्न छूट पाएको छु ।

एकैदिनमा ४०/ ५० जना थुनुवाहरूलाई अदालत र प्रजिअ कार्यालय लैजान्छन । त्यसमध्ये कोही कोही मात्र फर्केर आउँछन् । मलाई सहयोग गर्दै आइरहेका बाजिगर आज प्रजिअ कार्यालय गएको फर्केर आएन । मैले एकजना प्रहरीसँग सोधें, 'बाजिगर छुट्यो कि ?' 'तीन हजार रुपैया धरोटी मागेको थियो । उसले तिर्न सकेन । जेल पठायो ।' प्रहरीले भन्यो ।

असोज १५ गते नवौं दिन तेस्रो म्याद थप

असोज १५ गते तेस्रो पटक मलाई अदालत लग्यो । न्यायाधीशको अगाडि मलाई उभ्याउन लग्यो । न्यायाधीशले फाईल हेरेर भत्रुभयो, ‘खोई अभियोग पत्र तयार गर्नु भएको  ?  खाली म्याद थप्न आउनु हुन्छ ।'

'केटीहरूको मेडिकल रिपोर्ट आएको छैन ।' महिला प्रहरीले भनिन् ।

'मेडिकल रिपोर्ट पठाएको छैन भने तपाईंहरू गएर ल्याउनु पर्‍यो । दुईटा एनजिओको झगडामा विचरो बूढो मान्छेलाई दुःख दिइरहनु भएको छ । ल अब पनि पाँच दिनको समय दिन्छु । त्यतिबेलासम्म पनि अभियोग पत्र तयार गरेर ल्याउनु भएन भने म उहाँलाई यहिंबाट रिलिज गरिदिन्छु ।' न्यायाधीशले भन्नुभयो ।

महिला प्रहरी निरुतर भइन । लुसुक्क परेर मलाई फिर्ता ल्याइन । पाँगा घरको मुचुल्का उठाएर ताला खोलिसकेको र त्यहाँ केटीहरूले भने बमोजिम केही पनि प्रमाण नभेटेको कुरा प्रहरीले मलाई बाटोमा बतायो । प्रहरीको यो बयान र न्यायाधीशको व्यवहारले मेरो मन आनन्दित भयो । अदालतमा पेशी भयो भने छुट्छु होला भन्ने मलाई पूरा विश्वास भयो ।

मलाई भेट्न विहान साँझ मेरा साथीहरू, आफन्तहरू आइरहेका छन । उनीहरू आए भने मलाई हतकडी लगाएर बाहिर लैजान्छ । हतकडी लगाएर बाहिर जानु पर्दा मलाई बाहिर जान मनै लाग्दैन तर के गर्ने ?  भेट्न आएपछि जानै पर्‍यो ।

हनुमान ढोका प्रहरी खोरमा थुनुवाहरू आउन बढेजस्तै घर जानेहरू पनि बढ्न थाल्यो । एकैदिनमा ४०/ ५० जना थुनुवाहरूलाई अदालत र प्रजिअ कार्यालय लैजान्छन । त्यसमध्ये कोही कोही मात्र फर्केर आउँछन् । मलाई सहयोग गर्दै आइरहेका बाजिगर आज प्रजिअ कार्यालय गएको फर्केर आएन । मैले एकजना प्रहरीसँग सोधें, 'बाजिगर छुट्यो कि ?''तीन हजार रुपैया धरोटी मागेको थियो । उसले तिर्न सकेन । जेल पठायो ।' प्रहरीले भन्यो ।

बाजिगरको ठाउँमा अर्को एकजना गुरुंङ थरको केटा आयो । उसको दायाँ हात भाँचेर ढलान गरीराखेको छ । प्रहरीको पिटाईबाट उसको हात भाँचेको हो कि जस्तो लाग्यो । मैले उसँग सोधेंं 'यो हात कसरी भाँचेको ? के मुद्दामा आएको ?'

'मोटरसाइकल दुर्घटनामा यो हात भाँचेको थियो । त्यसैले घरमै बसिरहेको थिएँ । आजभन्दा बाईस दिन पहिले मेरो घर अगाडि निकैबेरसम्म प्रहरी भ्यान रोकीराख्यो । किन होला भनेर उत्सुकतावश म तल गएँ । भ्यान किन रोकीराख्नु भएको भनेर सोधें । तँलाई के मतलव भनेर प्रहरीले हप्कायो । मेरो घरको अगाडि भ्यान रोकिराख्नु भएको छ । त्यो सोध्ने अधिकार मलाई छैन ?' मैले भनें । त्यतिकैमा अरू दुई जना प्रहरीहरू खाली हात आइरहेको देखें । त्यतिकैमा मसँग कुरा गरिरहेको प्रहरीले 'ए, तँ अधिकार खोज्ने होइन ?  तँलाई नै समात्न आएको' भनेर समातेर ल्यायो । 'ड्यूटीमा रहेका प्रहरी जवानहरूलाई अपशब्द प्रयोग गरेको ।' भनेर मलाई अभियोग लगाइयो ।

१२ कक्षामा पढिरहेका केटा, प्रजिअमा तारिख लिन जाँदा उसको कलेजको एक जना केटी साथीले उसलाई देखेछ । उनले कलेजमा गएर के भन्ने होला अब म क्याम्पस नै जात्र भनेको थियो । प्रहरीको सानो भूलले एक जना केटाको जीवनमाथि खेलवाड गरेको अनुभव भयो ।

त्यसको दुई दिन पछि उसलाई प्रजिअ कार्यालय लगेको थियो । उसले सफाई पाएर घर गयो भत्रे खवर आयो ।

लेखक तथा पत्रकार नजरराम महर्जनको जीवनको वास्तविक जीवनमा घटेको घटना कीर्तिपुर सन्देसबाट 

यो पनि

थुनुवाको  पहिलो दिनको डायरी: नखाएको विष