वामदेव कमरेड ! म्यारिज खेलको ‘सिक्वेन्स’ लगाउने जोकर होइन, हुकुमको एक्काको लागि शुभकामना !!

वामदेव कमरेड ! म्यारिज खेलको ‘सिक्वेन्स’ लगाउने जोकर होइन, हुकुमको एक्काको लागि शुभकामना !!

वसन्त बस्नेत  |  दृष्टिकोण  |  बैशाख २०, २०७७

नेकपाको शक्ति सङ्घर्ष अहिले उत्कर्षमा छ । कतिपयलाई यो शक्ति सङ्घर्ष नेकपाका अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई सत्ता च्युत गर्न खेलिएको खेल लाग्न सक्छ । कतिपयलाई यो वरिष्ठ नेता कमरेड माधव नेपाललाई  शक्तिमा आउन इच्छा जागृत भएर चालिएको कदम लाग्न सक्छ । तर समग्रमा नेकपाको अहिलेको राजनीति शक्ति सङ्घर्षको पछिाडीको लुकेको पाटो पनि छ, त्यो हो– समग्र छलछाम, धोकाधडी र महत्त्वाकाङ्क्षा राजनीतिको पाटो । तत्कालीन नेकपा माले हुँदै एमालेमा परिणत हुनु अघिकै प्रसङ्ग कोट्याउने हो भने पनि कम्युनिष्टहरुको राजनीतिमा बाहिरबाट जति त्याग र बलिदानले भरिएको गाथा भेटिन्छ, भित्र त्यति नै पिडादायी घटनाहरूको उत्पीडनबाट यसका नेताहरू प्रताडित हुँदै आएको भेटिन्छन्, छन् पनि । पार्टी निर्माणमा पञ्चायतकालदेखि नै अहम् भूमिका निर्वाह गर्ने टङ्क कार्की लगायत धेरै नेता कार्यकर्ताहरू यस्तो राजनीतिक तिकडम बाजी, गुटबन्दी र दुई लाइनको सङ्घर्षको सिकार भएको यथार्थ कम्युनिस्ट पार्टीको नेताहरूको इतिहासबाट प्रस्टसँग बुझ्न सकिन्छ । यद्यपि यस लेखको आशय धेरै पुरानो इतिहास कोट्याउने भन्दा पनि हाल नेकपा भित्रको शक्ति सङ्घर्षसँग जोडिएका केही घटनाक्रम र प्रमुख नेताहरूको भूमिका, असंवैधानिक रूपमा प्रधानमन्त्री पदको आश्वासन माथि केन्द्रित गर्ने प्रयत्न गरिएको छ । 

मदन भण्डारी पश्चताको एमाले,  २०५८ सालसम्म

कमरेड मदन भण्डारी र जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुंगा जिप दुर्घटनामा  (हत्या !?) मा निधन भए पश्चात् तत्कालीन विदेश विभागका प्रमुख कमरेड माधव नेपालले पार्टीको महासचिवको रूपमा जिम्मेवारी सम्हाल्नु  पुग्नु भयो । यसो त माधव नेपाल भन्दा वरिष्ठ नेताहरू पार्टीमा नभएका होइनन् । कमरेड सी.पी. मैनाली र झलनाथ खनाल जस्ता पूर्व महासचिवहरू रहँदा रहँदै पनि मदन भण्डारीले सुरु गर्नु भएको तत्कालीन जनताको बहुदलिय जनवादी कार्यक्रम (जबज) को पक्षधर नेताहरूले नै पाँचौँ महाधिवेशनको लाइन अनुसार जिम्मेवारी लिँदा महाधिवेशनको कार्य देश अनुसार पार्टी सञ्चालन गर्न सहज हुने लगायत राजनीतिक कारणले माधव नेपालमा जिम्मेवारी आएको थियो । त्यतिखेर पार्टीका नेता कमरेड बामदेव गौतम जबजका कट्टर हिमायती थिए भने उनको त्यो राजनैतिक विचार अझैसम्म पनि कायम छ । पार्टीमा जबजको रक्षार्थ जो सुकै प्रति पनि बामदेव गौतम असहिष्णु ढङ्गले प्रस्तुत हुन पछि नपर्ने नेताको रूपमा चित्रण गर्ने गरिएको छ । बामदेव गौतमको यस्तो हठी स्वभावकै कारणले माधव नेपाल विरुद्धको मोर्चाबन्दीमा उहाँलाई अगुवाइ गर्न लगाई २०५४ सालमा पार्टी विभाजन समेत भएको थियो ।  त्यति बेलाको पार्टी विभाजनको कारक तत्त्वको खोजी गर्ने हो भने त्यस बेला पार्टी भित्र क्रियाशील षडयन्त्रकारी गुट थियो भने आवरणमा हेर्दा पार्टी महासचिव माधव नेपाल र बामदेव गौतमको झगडा जस्तो देखिन्थ्यो । 

जबजको हिमायती र मदन भण्डारीको नजिकका सहयोगी मध्य एक भएकैले बामदेव गौतमलाई महासचिव माधव नेपालले दोस्रो बरीयतामा राखी पार्टी सङ्गठन जिम्मा लगाएका थिए । यस क्रममा विधानमा नभएको उपमहासचिव पद सिर्जना गरी बामदेव गौतमलाई पार्टी काम जिम्मा लगाएको र सफलतापूर्वक पार्टी सङ्गठनलाई उचाइ दिन वहाँले गर्नु भएको योगदान कहीँ कतै लुकेको छैन । यसै क्रममा बामदेवका विरुद्ध कमरेड केपी, ईश्वर र प्रदिप नेपाल लगायतको समूह गर्ने निरन्तर आक्रमण, जालझेल, तिकडम र महासचिव माधव नेपाललाई उकासी बामदेवलाई बहिर्गमन गराउने योजना बुनिएको बामदेव गौतमले थाहा नै पाउनु भएन ।

माधव नेपालसँग रुष्ट हुँदा आफ्नो पक्षमा पार्ने र माधव नेपालसँग नजिक हुँदा अन्तरविरोध सिर्जना गर्ने कार्यमा तत्कालीन केपी खेमा सफल हुँदै आएको देखिन्छ । यसरी कहिले के बहानामा कोसँग त कहिले कोसँग सहकार्य गरी कतिपय अवस्थामा अर्काका लागी प्रयोग समेत हुने स्वभावका व्यक्ति भएकोले प्रमुख खेलाडीको भन्दा पनि सहायक खेलाडीको रूपमा प्रयोग हुने बामदेव गौतम प्रवृत्ति हाल पनि कायम रहेको देखिन्छ । 

 २०५४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा गृहमन्त्रीको पद सम्हाल्दै देशभर सङ्गठन विस्तार गर्ने र स्थानीय निर्वाचनमा पार्टीलाई ७० प्रतिशत भन्दा बढी स्थानीय निर्वाचनमा विजयी गराउन वहाँको भूमिका अहंम रहेकोले पार्टीमा वहाँको बढ्दो प्रभाव मत्थर गर्नु केपी खेमाको लागी अनिवार्य जस्तै भएको थियो । यस क्रममा महाकाली सन्धिको विवादले वारपारको स्थितिमा पुर्‍याई वैचारिक कित्ताकाटको अवस्था सृजना गरिएको थियो ।  बामदेव पक्षधरले महाकाली सन्धि पारित गर्ने वा नगर्ने भन्ने विवादमा पार्टीको केन्द्रीय कमिटीमा बहुमत हुँदाहुँदै पनि आफ्नो स्थिति रक्षा गर्न सकेन, परिणामतः महाकाली सन्धि पार्टीको केन्द्रीय कमिटीले १ मत बदर गर्दै १ मतको झिनो अन्तरले पारित गर्न सफल भयो । जुन सन्धि सदनबाट पारित भए पश्चात् यसलाई भारतसँग भएको राष्ट्रघाती महाकाली सन्धि भनेर चिनिन्छ । यो सन्धि पूर्ण पाठ अध्ययन गर्ने हो भने यो साँच्चै राष्ट्रघाती भएकैले हालसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन । यहाँ यो पनि स्मरण गराऊँ कि हाल वर्तमान सरकारले सांसदबाट पारित गर्न खोजेको अमेरिकाको एक कम्पनीसँगको एमसिसि सम्झौता महाकाली सन्धि भन्दा सयौँ गुणा राष्ट्रघाती रहेको छ । संयोगवश महाकाली सन्धि पारित गर्न अगुवाइ गर्ने कमरेड केपी ओली नै देशमा अहिले एमसिसि पास गर्न चाहने प्रधानमन्त्रीको रूपमा विराजमान हुनुहुन्छ । 

२०५४ सालमा नेपालगन्जमा सम्पन्न भएको एमालेको छैठाैं महाधिवेशनमा कमरेड माधव नेपालसँग महासचिवमा पराजित भए पश्चात् काठमाण्डौंमा फर्केपछि वहाँलाई अझै उत्तेजित गराउने र वहाँको विरुद्धमा शालीन नेता तथा अध्यक्ष कमरेड मनमोहन अधिकारी र माधव नेपाल समेतलाई अनावश्यक रिपोर्टिङ गरी टाढा पुर्‍याउने कार्य समेत सफलतापूर्वक सम्पन्न भयो । बामदेव गौतमको क्रान्तिकारी, कर्मठ, साहसी, इमान्दार र हठी स्वभावका व्यक्ति भएता पनि विश्लेषणात्मक क्षमताको अभावमा वहाँले आफू विरुद्धको षडयन्त्र थाहा पाउन नै सक्नु भएन । पार्टीको शक्ति सङ्घर्षलाई उत्कर्षमा पुर्‍याई बामदेव गौतम र वहाँका सहयोगी नेताहरूलाई कारबाही गराउने षडयन्त्र स्वरूप सुखानीको सहिदहरूको सम्झनामा सहिद दिवस मनाई रहँदा २०५४ साल फागुन २१ गते बामदेव, सिपी, आरके लगायत ९ जना नेताहरूलाई पार्टीबाट निष्कासन गर्ने गरी कारबाही  गरिएको थियो ।  यो कारबाही कम्युनिस्ट पार्टीको इतिहासमा विदेशीको समेत इसारामा गरिएको ठुलो घटना थियो भने कारबाही गरी पार्टीबाट बहिर्गमन गर्न बाध्य पार्ने विखण्डनकारीहरूको आन्तरिक उद्देश्य स्वरूप यो योजना अगाडी आएको बामदेव गौतमले पत्तै पाउनु भएको थिएन । 

यसका लागि भारत लगायतका विदेशी मुलुकबाट प्राप्त रकमले सांसद किनबेच समेतको स्थिति आएको व्यापक चर्चाले व्यापकता पाएको नै थियो । पार्टीमा देशभर महाकाली सन्धि र भारत विरोधी मनोविज्ञान कायम रहँदा रहँदै र पार्टीका अधिकांश जनसङ्गठन आफ्नो पक्षमा हुँदाहुँदै पनि सो ‘सेन्टिमेन्ट’लाई राजनैतिक ढङ्गले नेतृत्व गर्न नसक्दा र केपी ओली खेमाको षडयन्त्र धैर्यता पूर्वक सामना गर्न नसक्दा पार्टी विभाजन नै हुन गयो । यो विभाजन भारत, अमेरिका लगायतका कम्युनिस्टहरूको विभाजन चाहने देशहरूको समेत इच्छा आकाङ्क्षा अनुरूप भएको थियो । यसरी जीवनभर अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको थिचोमिचोका विरुद्ध लाग्ने कमरेड मदन भण्डारीको पार्टी २०५४ सालमा विभाजन पश्चात् भारत परस्त पार्टीको रूपमा चिनिँदै गयो । 

स्मरणीय छ, मदन भण्डारीको हत्या अमेरिका र भारतको योजनामा भएको निष्कर्ष निकाल्दै पार्टीले गरेको आन्दोलनमा दर्जनौँ व्यक्तिको सहादत समेत भएको थियो । महाकाली सन्धि पारित भई पार्टी विभाजन पश्चात् कमरेड मदन भण्डारी र एमालेका नेताहरूको नाममा खोलिएका विभिन्न फाउन्डेशनहरुले निरन्तर रूपमा भारतबाट आर्थिक सहयोग लिने गरेको तथ्य सबैको सामु छर्लङ्ग छ ।

२०७२ सालको नाकाबन्दीताका भारतीय सञ्चार माध्यमहरूले नेपालका नेताहरूले बेला बेलामा लगेको पैसाको फेहरिस्त सार्वजनिक नै गरेका थिए । यसरी पार्टी भित्रको राष्ट्रवादी, देशभक्त, क्रान्तिकारी, भारतीय विस्तारवाद विरोधी तथा अमेरिकी साम्राज्यवाद विरोधी विचार राख्ने अधिकांश नेता कार्यकर्ता लिएर बामदेवले २०५४ सालमा नेकपा माले पुनर्गठन गरे भने एमालेलाई दक्षिणपन्थी र भारत परस्त आत्मसमर्पणवादीहरूको जिम्मामा छाडी दिएको  भनिएको थियो  । यस घटनाले मातृ पार्टी एमालेलाई विचार र क्रान्तिको दृष्टिकोणले भुत्ते मात्र बनाएन, मदन भण्डारीले आलोचनात्मक समर्थन गरेको २०४७ सालको संविधानलाई पूर्ण समर्थन गर्दै पछि राजा ज्ञानेन्द्रको प्रतिगमन शासनकालमा प्रतिगमन ‘आधा सच्चिएको’ निष्कर्षका साथ सरकारमा समेत सामेल हुन पुग्यो । पार्टी भित्रको क्रान्तिकारी नेता कार्यकर्ता लिएर अलग पार्टी बनाउने कार्य कालान्तरमा आत्मघाती साबित हुन पुगेको थियो । 

२०५४ सालमा पुनर्गठित नेकपा माले तत्कालीन अवस्थामा क्रान्तिकारी पार्टीको रूपमा उदाएको थियो । यसका विद्यार्थीहरूले गरेका कालापानी मार्च, सीमा सुरक्षा अभियान, पारस विरुद्धको आन्दोलन, विद्यार्थीको लागी ३३ प्रतिशत यातायात भाडा छुट अभियान लगायत थुप्रै राष्ट्रिय तथा शैक्षिक सुधारको आन्दोलनमा केही हदसम्म सफलतामा पुर्‍याएको थियो । नेकपा मालेका महासचिवका हैसियतका बामदेव राजनितीका शिखर चुम्दै थिए । तर २०५६ सालमा भएको आम निर्वाचनमा ७ लाख मत प्राप्त गर्दै गर्दा समेत प्राविधिक कारणले ‘सून्यशिट’ आएकोले बामदेव लगायत केन्द्रका नेताहरूले सो पार्टी अगाडी लैजान पूर्णतया असफल भएका थिए ।  पुनः २०५८ सालमा नेकपा मालेका केही नेताहरू लिएर बामदेव गौतम एमालेमा प्रवेश गरे । मालेको शून्य सिट आएपनी विशाल मत ल्याएकोले कम्युनिस्ट जनमत विभाजन हुँदा यस निर्वाचनमा एमालेले बहुमत ल्याउनमा असफल भएको थियो । 

२०५८ साल पश्चातको एमाले

निर्वाचनमा शून्य सिट आएको र पार्टी भित्र सिपी मैनालीसँगको २ लाइन सङ्घर्षको कारण विक्षिप्त झैँ बन्नुभएका पुनर्गठित मालका तत्कालीन महासचिव बामदेव गौतमले सिपीको नौलो जनवाद र आफूले अनुसरण गरेको जबजको बिचमा समन्वय गरी नयाँ विचार दिन असफल हुनुभयो । जबज एमालेले नै अनुसरण गरेकोले एउटै विचारको दुई पार्टी किन चाहियो भन्नेसम्मको धारणाहरू राजनीतिक वृत्तमा माले बुद्धिजीवीहरूबिच समेत उठ्न थालिसकेको थियो ।  यस्तो अवस्थामा या त नयाँ विचार लिएर पार्टी अगाडी लाने र आफैले पाएको जनमत संरक्षण गर्ने या पार्टी नेकपा एमालेमा विलय गराउने  विकल्प मध्य बामदेव गौतमले दोस्रो विकल्प रोज्नु भयो । अर्को विकल्प भनेको सिपीले अगाडी सार्नुभएको नौलो जनावादी कार्यक्रमलाई अङ्गीकार गर्नु थियो, जुन असम्भव प्राय भइदियो । 

हुन त बामदेव कमरेडको एमाले समाहित हुने कार्यलाई पार्टी एकताको नाम दिइयो, तर पनि त्यो एकता नभएर पार्टी प्रवेश थियो । कमरेड बामदेव गौतमले न त सबै आफ्ना कार्यकर्ताहरू मातृ पार्टी एमालेमा फिर्ता लान सक्नुभएन । नेकपा माले भन्ने पार्टीको अस्तित्व नामेट भयो । कमरेड सिपी मैनालीको नेतृत्वमा अहिले पनि उक्त पार्टी  निर्वाचन आयोगमा अस्तित्वमा छ । बामदेवले छाडेर गएका मध्य अधिकांश कार्यकर्ताहरू माओवादी पार्टीमा क्रियाशील भई हाल पनि नेतृत्वमा छन् भने कयौँले सहादत नै प्राप्त गरे । धेरैले सक्रिय राजनीतिक जीवन परित्याग गरी पेसा व्यवसायमा संलग्न हुन बाध्य भए । 

यसरी बामदेव गौतमको अगुवाइमा बहिर्गमन भएका कार्यकर्ताहरू माले–एमाले एकताको नाममा तितरवितर भए भने माओवादी आन्दोलनले धेरै 'रेडिमेड' कार्यकर्ताहरू पाउन सफल भयो । यसरी यती छोटो समयमा बामदेवले आफ्नो मात्र राजनीतिक भविष्य सुरक्षित गर्न एमालेमा फर्किन्छन् भन्ने भेउ पाएको भए पहिले नै बामदेवसँग धेरै नेता कार्यकर्ताहरूले पार्टी नै छाड्ने थिएनन् ।  धेरै नेता कार्यकर्ताहरूको राजनीतिक जीवन बामदेवले नै समाप्त गर्नु भएको थियो । यही कारणले तत्कालीन क्रान्तिकारी पार्टी एमाले समेत विचारको आधारमा भुत्ते हुँदै गएको थियो । यस अर्थमा बामदेव गौतमले ‘आन्दोलन र नेता कार्यकर्तालाई  ठुलो धोका’ दिएको निष्कर्ष निकालिँदै आएको छ ।

२०५८ सालमा राजा ज्ञानेन्द्रले संसद् विघटन गरी प्रत्यक्ष रूपमा शासन आफ्नो हातमा लिएर मन्त्री परिषद्को अध्यक्ष समेत आफै भएको घोषणा गरे । मुलुक नयाँ परिस्थितिबाट गुज्रिएको अवस्थामा आन्दोलनको स्वरूप समेत परिवर्तन भएको थियो । २०४६ सालको काँग्रेस र कम्युनिस्ट मिलेर आन्दोलन गरी पछि संवैधानिक राजतन्त्रमा सम्झौता भएकोमा अब पुनः सोही उपलब्धि पुनर्स्थापित गर्ने वा राजसंस्था नै उन्मुलन गर्ने भन्ने कार्यदिशा आन्दोलनले नै निर्दिष्ट गर्ने अवस्था भए पनि जनयुद्ध लडिरहेको माओवादी समेतलाई शान्तिपूर्ण आन्दोलनमा सहभागी गराउन प्रचण्ड र काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला बिच सफल वार्ता गराउन नेकपा एमाले सफल भएको थियो । सो कार्यको जिम्मा समेत तत्कालीन महासचिव माधव नेपालले बामदेव गौतम र झलनाथ खनाललाई दिएकोमा सो जिम्मेवारी सफलता पूर्वक निभाएकोमा बामदेव धन्यवादको पात्र बनेका  थिए । खास गरी कमरेड केपी ओली त्यति बेला नै यस्तो खाले आन्दोलनले गणतन्त्र ल्याउन नसकिने निष्कर्षका साथ ‘बयल गाडा चढेर अमेरिका जानु र राजा हटाउने आन्दोलन गर्नु एउटै हो’ भनेर गरिएको टिप्पणी गरेको दृष्टान्त राजनैतिक वृत्तमा ताजै छ । 

पार्टीका महासचिव माधव नेपालसँग राजनीतिक वार्ता गरी पार्टीमा फर्किएका बामदेव गौतम सातौँ महाधिवेशनमा बामदेव गौतम फेरी महासचिव माधव नेपालसँग रुष्ट हुन पुगे ।  माले पार्टी एमालेमा मिसाउँदाको आश्वासन पुरा नभएको बहानामा माधव नेपाल रुष्ट भएका बामदेव पुनः केपी ओलीलाई समर्थन गर्न पुगे । माधव नेपालसँग रुष्ट हुँदा आफ्नो पक्षमा पार्ने र माधव नेपालसँग नजिक हुँदा अन्तरविरोध सिर्जना गर्ने कार्यमा तत्कालीन केपी खेमा सफल हुँदै आएको देखिन्छ । यसरी कहिले के बहानामा कोसँग त कहिले कोसँग सहकार्य गरी कतिपय अवस्थामा अर्काका लागी प्रयोग समेत हुने स्वभावका व्यक्ति भएकोले प्रमुख खेलाडीको भन्दा पनि सहायक खेलाडीको रूपमा प्रयोग हुने बामदेव गौतम प्रवृत्ति हाल पनि कायम रहेको देखिन्छ । 

२०६४ को निर्वाचन पश्चातको एमाले

२०६४ सालको आम निर्वाचनमा नेकपा एमालेले लगायत पुराना सांसदवादी दलहरूले लज्जाजनक हार व्यहोर्नु पर्‍यो । जनयुद्धलाई पूर्णविराम लगाई शान्तिपूर्ण रूपान्तरणमा आएको नेकपा माओवादीले संसद्मा सबैभन्दा बढी सिट जित्न सफल भयो । यसरी निर्वाचनमा पार्टी परास्त भएपछि नैतिकताको आधारमा महासचिवबाट राजीनामा दिएका माधव नेपालले कार्यवाहक महासचिव झलनाथ खनाललाई दिए । यसरी नैतिकताको आधारमा दिएको राजीनामाको नैतिक मूल्य अत्यन्त उच्चो भएपनी यसले एमालेको राजनीतिलाई नराम्ररी प्रभावित पार्‍यो । बामदेव गौतम लगायतका अन्य माधव नेपाल निकटका अधिकांश नेताहरूले आठौँ महाधिवेशनमा कार्यबावक महासचिव झलनाथ खनाललाई नै अध्यक्षमा समर्थन गरी विजयी बनाउने कार्य गरे । महाधिवेशनमा माधव नेपालसँग कुरा नमिलेकोले केपी ओलीलाई समर्थन गरेका बामदेव गौतमले आठौँमा झलनाथलाई अगाडी बढाए । यद्यपि झलनाथ खनाल जबजलाई अनुसरण गर्ने नेता थिएनन् । यहाँ पनि बामदेव गौतमलाई आफूलाई पुनः सहायक खेलाडीको रूपमा मात्र प्रस्तुत गरिएको थियो  ।

नवौँ महाधिवेशनमा एकाएक पुनः केपी ओलीलाई समर्थन गरी विजयी गराउन समेत बामदेव गौतम सफल भए । बामदेवको साथ विना केपी ओलीको विजय असम्भव थियो । यसो त महाधिवेशन पूर्व नै  आफूले आठौँ महाधिवेशनमा सहयोग गरेको बहालवाला अध्यक्षलाई संसदीय दलमा हराई केपी ओलीलाई प्रधानमन्त्रीमा सहयोग गर्न बामदेव गौतमको भूमिका अहंम रह्यो । नवौँ महाधिवेशनमा पनि केपी बामदेवको बिचमा भएको राजनैतिक सम्झौता पटक पटक केपी ओलीले लागु नगर्नु भएकोले केपीतिर लाग्ने र छाड्ने कार्य समेत  पटक पटक नभएको भने हैन । 

कमरेड बामदेव गौतम चौका छक्का हान्ने हैन हान्न सहयोग गर्ने र आफू कप्तान नभई कप्तानको सफल सहयोगी मात्र बन्ने क्षमता राख्नु हुन्छ । यदि यो भनाई सही होइन भने संविधानले नै अवरोध गरेको अवस्थामा प्रधानमन्त्री बनाई दिन्छु भनी केपी ओलीले आफ्नो खेमा बलियो बनाई सत्ता जोगाउन र गठबन्धनका नेताहरूलाई सिद्ध्याउन फालेको कार्ड बामदेव गौतमले समात्नु हुँदैन । भर्खरै राष्ट्रिय सभामा लैजाने पार्टीको निर्णय कार्यान्वयन नगर्ने र युवराज खतिवडासँग तुलना गरी होच्याउने प्रधानमन्त्रीसँग यती छिटै ‘कन्भिन्स’ आफैमा घातक हो भन्ने कुरा ख्याल हुनुपर्ने हो । 

एक पटक जसरी भए पनि प्रधानमन्त्री बन्न चाहने महत्त्वाकाङ्क्षा बोकेका बामदेव गौतमलाई प्रधानमन्त्री हुनको लागी २०७४ सालको निर्वाचनमा भएको पराजयले अवरोध गरेको थियो । तत् पश्चात् पनि वहाँ कहिले उपनिर्वाचन लड्ने त कहिले बहालवाला सांसदलाई राजीनामा गराई निर्वाचन लड्ने हल्ला पटक पटक नआएको हैन । तर बामदेव निर्वाचन लड्ने हल्लासँगसंगै वहाँलाई हराउने हल्ला समेत साथै आउने हुँदा निर्वाचन वहाँलाई तत्काल लाभदायक देखिँदैन । यसर्थ पनि वहाँले राष्ट्रिय सभा सदस्य भई प्रधानमन्त्री हुने इच्छा राख्नु भएको हुनसक्छ । संविधान नै बाधक भएको कुरामा हुन्छ भनिँदिन कुनै महाभारत नभएकोले बेलाबेलामा सबै नताहरुले आफ्नो ‘सिक्वेन्स्’मा बामदेवलाई टाँस्नका लागि हुन्छ भनिदिने र वहाँले पनि पत्याई हाल्ने समस्याका कारण पनि थप समस्या सिर्जना भएको देखिन्छ । 

कोरोना पछिको प्रधानमन्त्री र तेस्रो पार्टी अध्यक्षको आश्वासन

सबैलाई थाहा छ, बामदेव जता लाग्यो त्यतै बहुमत .हुन्छ । उनी केही न केही गर्छन् । उनीसँग अपूर्ण समीकरणलाई पूर्ण बनाउने क्षमता छ, अर्थात् ‘सिक्वेन्स्’ बनाउन कठिन भएमा जोकर फिट गरेर ‘सिक्वेन्स’ बनाई म्यारिज खेलमा गेम गरे जसरी उनलाई फिट गरिदिन्छिन् चतुर नेताहरू । बामदेव इमान्दर, हठी, क्रान्तिकारी मात्र हैन पक्का मार्क्सवादी लेनिनवादी हुनुहुन्छ । तर सधैँ सहायक मात्र हुनुहुन्छ । यदि क्रिकेट खेलाडी भएको भए वहाँ अधिकांश समय बेन्चमा बसेर खेलाडीहरूलाई सही मार्ग निर्देश गनुहुने भूमिकाका नेतामा पनुहुन्छ ।  तर नाम त फेरी पनि चौका छक्का हान्ने कै आउँछ, या त क्याप्टेनको । 

कमरेड बामदेव गौतम चौका छक्का हान्ने हैन हान्न सहयोग गर्ने र आफू कप्तान नभई कप्तानको सफल सहयोगी मात्र बन्ने क्षमता राख्नु हुन्छ । यदि यो भनाई सही होइन भने संविधानले नै अवरोध गरेको अवस्थामा प्रधानमन्त्री बनाई दिन्छु भनी केपी ओलीले आफ्नो खेमा बलियो बनाई सत्ता जोगाउन र गठबन्धनका नेताहरूलाई सिद्ध्याउन फालेको कार्ड बामदेव गौतमले समात्नु हुँदैन । भर्खरै राष्ट्रिय सभामा लैजाने पार्टीको निर्णय कार्यान्वयन नगर्ने र युवराज खतिवडासँग तुलना गरी होच्याउने प्रधानमन्त्रीसँग यती छिटै ‘कन्भिन्स’ आफैमा घातक हो भन्ने कुरा ख्याल हुनुपर्ने हो । 

बामदेव गौतम साँच्चै प्रधानमन्त्री बन्ने कानुनी परामर्शमा हुनुहुन्छ भन्ने हल्ला सुनिँदैछ । तत्काल केपी कमरेडले राजीनामा दिई बामदेवलाई प्रधानमन्त्री बनाउन प्रक्रिया आरम्भ गरे त यो पनि पत्याउन सकिन्छ पनि होला । तरा कोरोना पछि बनाउने र त्यो पनि सांसद नभएको व्यक्तिलाई प्रस्ताव आएको हुँदा यो आफैँमा षडयन्त्रमूलक र फुटाऊ र शासन गर भन्ने सिद्धान्त अन्तरगतको कार्ड हो भन्नेमा अत्युक्ति नहोला । प्रचण्डसँग लिखित समहमती गरेका प्रधानमन्त्री आफ्नो भाग कार्यकाल पुरा गरी सकेपछि प्रचण्ड विरोधीहरूलाई सल्लाहकार बनाई विरोध गर्न लगाउने र राजनीतिक, कानुनी, सामाजिक, साङ्गठनिक अवरोध सिर्जना गरी पाखा लगाउने खेल हुँदै छ भने कमरेड बामदेवसँग कुनै लिखित सम्झौता पनि त छैन । र, सम्झौता भए पनि गैर कानुनी र स्वतः शून्य हुन्छ भन्ने कानुनी व्यवस्था नै छ । एउटा करार कायम रहेको अवस्थामा अर्को करार कसरी क्रियाशील हुन्छ भन्ने पनि द्विविधा छँदैछ ।  संविधान संशोधन गरेपछि मात्र लागु हुने सम्झौताको वर्तमान अवस्थामा  केही अर्थ छैन र हुँदैन । त्यति बेलासम्म बाग्मतीमा धेरै पानी बगिसक्छ भन्ने त बामदेव गौतमले बुझ्नु  भएकै हुनुपर्छ । तसर्थ माधव कमरेड सहितको गठबन्धन तोड्नको लागी फालिएको कार्ड बामदेवले नसमाउँदैमा सबैको हित हुन्छ भन्ने सहृदयी सुझाव बामदेव कमरेडलाई !

अर्कातिर पार्टीको विधानमा नभएको तीन पार्टी अध्यक्ष माधव नेपाललाई समेत दिइएको छ । बामदेव र माधव नेपाललाई अलग गरी प्रचण्डलाई एक्लो बनाई माओवादीसँगको एकता भङ्ग गर्ने मनसाय थियो  भने पहिले एकता गर्नु नै गलत थियो । पार्टी एकता केवल केपी ओलीको एकल स्वार्थ र मनोआकांक्षामा भएको सबैलाई ज्ञातै छ । पार्टी एकता नगर्ने छुट पहिले एमाले अध्यक्षको रूपमा कमरेड केपी ओलीमा थियो भने अब आफूलाई नचाहिएपछि ब्रेक गराउन चाहनु गलत हो । अब सिङ्गो पार्टीले एकताको झन्डा बोकिसकेको अवस्था छ । संभवत आज हुने पार्टी सचिवालयको बैठकले स्थायी कमिटी बैठक बोलाउने लगायत विषयमा टुङ्गो लगाउने नै छ । यदि सहज पार्टी निर्णय भएन र अस्वस्थ ढङ्गले चलखेल छल छाम भएका त्यो पार्टीलाई मात्र हैन मुलुकलाई नै दुर्दशा हुनेछ । यसको जिम्मेवार यताउता गर्ने नेताहरू नै भविष्यमा  निरभर हुनेछन् ।   

अन्तमा,

बामदेव कमरेड कता लाग्नु भएको छ भनेर बेलुकी सुत्नेबेलामा ठोकुवा गर्न सकिन्न,  किन कि बिहान उठ्दा त्यो समीकरण राति नै परिवर्तन भएको पनि हुन सक्दछ । अधिकांश समयमा वहाँ जता लाग्यो त्यता नै समीकरण बन्ने हुँदा  म्यारिज खेलको भाषामा ‘सिक्वेन्स’ लगाउन प्रयोग हुने जोकरको रूपमा समेत प्रयोग भइरहने प्रवृत्तिका नेता हुन् भनी वहाँका आलोचकहरूले भन्ने गरेका छन् । यस्तो किंवदन्तीलाई कमरेड बामदेव गौतमले आजकै सचिवालयको बैठकबाट झुट्ठा साबित गर्दै पार्टी एकताको पक्षमा, दोहोरो जिम्मेवारीको विपक्षमा, सह अस्तित्व र सहकार्यको पक्षमा आफूलाई उभ्याई समग्र नेपाली समाजलाई समाजवाद उन्मुख राज्यको अगिबढाउन र आफ्नो राजनीतिक जीवनको बारेमा उधारो चेक लिने तथा राजनीतिमा अर्काको ‘सिक्वेनस’ पुरा गर्न जोकरको भूमिका निर्वाह गर्ने कार्य छाडी नेपाली कम्युनिस्ट आन्दोलनमा हुकुमको एक्का साबित गर्नु हुनेछ भन्ने अपेक्षा सहित विशेषतः कमरेड बामदेव गौतमलाई शुभकामना !