दिवङ्गत बाहरूको सम्झनाः मेरा बा, राउतनी आमैको कथा र आफ्नो बाटो आफैँले तय गर्ने कर्मयोगी सन्देश

दिवङ्गत बाहरूको सम्झनाः मेरा बा, राउतनी आमैको कथा  र आफ्नो बाटो आफैँले तय गर्ने  कर्मयोगी सन्देश

हरिविनोद अधिकारी  |  साहित्य  |  जेठ ३, २०७७

पढाइको कुरा त अलिअलि पढियो, तर यस पटक भने म मात्र बाको बारेमा सम्झन्छु है । बा कति प्यारो, मिठो र भरलाग्दो वाक्य । हुन त व्याकरणले बालाई एउटा अर्थपूर्ण शब्दको रूपमा मात्र मान्ला तर मेरालागि यो एउटा ब्रह्माण्ड नै हो र मैले होस समालेदेखि बा भन्ने शब्दलाई एउटा सम्पूर्ण वाक्य, अझ भनौ सम्पूर्ण विश्व अटाउने र अत्यन्तै भरपर्दो छतको रूपमा ग्रहण गरेको हुँ । 

आज झन् त्यो वाक्य यस्तो भएको छ कि अब मैले त्यो  बा नाम गरेको विश्वसँग, बा नाम गरेको त्यो ब्रह्माण्डसँग सपनामा बाहेक, तस्बिरमा बाहेक र स्मृतिमा बाहेक कहिल्यै साक्षात्कारसमेत गर्न पाउने छुइन । बा हुनुहुन्थ्यो भनेर प्रमाण दिनका लागि म, मेरा भाइहरू र बहिनीहरूलाई नै देखाउनु जरुरी हुन्छ । अझै मेरी कान्छी फुपू हुनुहुन्छ र उहाँलाई त हामीलाई देख्दा पनि आफ्नो दाजुको तिर्सना मेटिन्छ रे !

हामी तीन भाइका छोरा सन्तानहरू १३ जना थियौँ तर अहिले माहिला बाका जेठा छोरा हामी सबैभन्दा ठुला दाजु गणेशप्रसाद अधिकारीको परार निधन भयो अनि मेरो माहिलो भाइ हिमालयको ७ वर्ष अघि एउटा सडक दुर्घटनामा निधन भयो । अहिले बाँकी ११ भाइ छौँ । द्वारिका दाइ, पीताम्बर दाइ, म ,भाइ विष्णु, भाइहरू उत्तर, पूर्णचन्द्र, चुडा, विनोद, शम्भु, श्रीवत्स, तारिणी छौँ । सबैलाई मेरा बाले आफ्ना छोरा नै मान्नुभएको थियो । 

महाभारतको वन पर्वमा युधिष्ठिरलाई जब यक्षले पिताको परिचय सोध्छ, युधिष्ठिरले पितालाई आकाशको रूपमा र मातालाई धर्तीको रूपमा परिभाषित गरेको पाइन्छ । आज पनि त्यही परिभाषा विश्वव्यापीकरण चलायमान छ, चर्चित छ । पिताका बारेमा सामान्यरुपमा दिएको जस्तो लाग्ने त्यो उत्तर आज आएर पो म बुझिरहेको छु कि आकाश के रहेछ ? वास्तवमा आकाश नै हो रहेछ पिताको परिभाषा । धरती नै हो रहेछ आमाको परिभाषा । बाको अभिभावकत्वको छहारी कति मजबुत र बलियो हुन्छ भन्ने कुरा उहाँको अनुपस्थितिमा मात्र थाहा हुँदो रहेछ । 

अहिले जब बा पनि हुनुहुन्न र आमा पनि हुनुहुन्न । लाग्छ पृथ्वी र आकाश नभएको मेरो संसार यस्तै गरी चलिरहेको छ । चल्दो रहेछ । तर म आफैँले भने त्यो छतको, आकाशको उत्तरदायित्व निर्वाह गर्न सकेको जस्तो पटक्कै लाग्दैन किनकि म पनि सन्ततिको पिता, बा, बाबा, पितामह भइसकेको छु । लाग्छ, बाजस्तो मेरोलागि अपनत्व शब्द तर कतै फेला पार्न सकेको छुइन । मलाई मात्र हो कि अरूलाई पनि हो, पिताजीका लागि भनिने त्यो बा नै मेरालागि फराकिलो, चौडा र पटाङ्गिनी जस्तै शब्द लाग्छ । हुन त मलाई ब्रह्माण्डजस्तै लागेको शब्द बा सिङ्गो  वाक्य जस्तै किन लाग्यो त्यो भन्न सक्दिन, त्यसको आधार पनि थाहा छैन मलाई । 

म नियतिले विद्यालय शिक्षक हुनु, नेपाल शिक्षक सङ्घको संस्थापकमध्ये एक हुन पाउनु र शिक्षक शिक्षाका लागि मात्र खोलिएको काठमाडौँ शिक्षा क्याम्पसको संस्थापकसमेत हुनुमा उहाँको त्यही शिक्षाप्रतिको पुरानो लगावले नै मनोवैज्ञानिक काम गर्‍यो कि भन्ने पनि लाग्छ । 

सम्भवतः आमा भन्ने सम्पूर्ण वाक्यको थालनी पश्चात् नै बा भन्ने ब्रह्माण्ड वाक्यको शब्दोच्चारण मैले गरेँ हुँला । यो कुरा आमालाई पनि त्यति याद थिएन मैले पहिले बा भनेँ कि आमा ? तर बाले मनोविज्ञानका आधारमा भन्नचाहिँ सकिन्छ कि मैले आमा पछि बोलेको शब्द पक्कै नै बा नै हुनुपर्दछ तर आड भरोसका लागि भने बाको नै, धाक धक्कु लगाउने र सबैभन्दा ठुलो, बलियो र पैसा भएको मान्छेमा बालाई नै मैले आफ्नो महानायकको रूपमा पहिचान लिएँ जुन प्रभाव अब झन् गाढा हुँदै जाँदैछ । 

जब जब म आफ्नो पहिचान र परिचयको गाढा लेपनमा लिप्त हुन्छु, त्यस बेलामा बाको यत्ति धेरै याद आउँछ कि मेरा आँखा सजल हुन्छन् । मेरी १० वर्षकी नातिनी विश्रुता, उसका ८, ६ र ५ वर्षका बहिनीहरू सुदेष्णा, आरुषि, प्रसिद्धिहरूले जब जब बाको तस्बिरनेर गएर बाबाको बालाई प्रणाम भनेर आफ्ना प्रपितामहलाई, प्रमातामहलाई ढोग्नका लागि ती साना साना हात जोडेर निधारमा पुर्‍याउँछन्  अनि झन् झन् मलाई बाको सम्झनाले कोक्याउँछ र घाँटीमा एउटा विषादपूर्ण आवाजविहीन आवाजले ख्याप्प पार्छ किनभने उनीहरू बाका पनातिनीहरू हुन्  र उहाँको वंश वृक्षको चौथो शाखामा पर्दछन् । कोही उहाँकै काश्यप गोत्री हुन्, कोही आत्रेय गोत्री र कोही शाञ्डिल्य गोत्री हुन् । हुन् त उहाँकै पनातिनीहरू । अझ अर्की अदितिलाई त नेपालमा नहुनाले त्यो अवसर नै पाएकी छैन मेरा बालाई बाबाको बा भनेर प्रणाम गर्न किनभने ऊ अहिले ओस्लोको बार्न हागे(बाल कक्षा)मा भर्खर प्रवेश गरेकी छे । 

अनि उनीहरूकै माध्यमले बा यो संसारमा अमर भइरहनु हुनेछ, म पनि र मेरो छोरो पनि र मेरा छोरीहरू पनि । त्यसले सबैभन्दा ठुली नातिनीले बालाई नचिनेर पनि प्रणाम गरिरहँदा र बाबाको बा भनेर सम्बोधन गरिरहँदा मलाई हुने स्वर्गीय अनुभूतिको कुनै सीमा नहुने रहेछ किनभने ती सन्तति तन्तु नै हाम्रो विवाहका अभीष्टता पनि हुन् र जीवनको परिक्रमा भनेको नै फेरि फेरि जन्मनुमा छ । फेरि जन्मनु भनेको पुनरुत्पादन नै हो जो क्रमबद्ध हुँदो रहेछ । 

मलाई लाग्थ्यो, मेरो बालाई कुनै पनि कालले लान सक्दैन अर्थात् मेरो बाको निधन मैले सपनामा पनि कल्पना गर्न सक्दैनथेँ । तर बा बेला मौकामा भन्नु हुन्थ्यो रे कि त्यो म मरेपछिमात्र आउनेछ । अलिअलि ज्वरो आउँदा पनि आमालाई कराउँदै भन्नुहुन्थ्यो रे कि त्यसलाई छिटो बोलाइदे । आमाले बुझ्नु भएको थियो कि यो ज्वरो १-२ दिनमा सन्चो भइहाल्छ, किन छोरालाई काठमाडौँदेखि हतार हतार गरी बोलाउनु ? तर बालाई २०६१ सालको भदौको ३१ गते राती १२ बजे यसरी अचानक टाउको दुखेछ कि उहाँले आमालाई समेत टाउको दुख्यो मात्र भन्न भ्याउनु भएछ र सदाका लागि हामीलाई छोडेर जानुभएछ । 

अहिले हामी अनुमान गर्न सक्छौँ कि त्यो कडास्वरुपको मस्तिष्क घात हुनुपर्छ । हामीलाई लाग्थ्यो बालाई केही भएको छैन । छाकमा झन्डै एकमानको भात घिउसँग खानै पर्ने उहाँको साँढे सात दशकदेखिको चलन थियो । साहुको पहिलो छोरोको रूपमा उहाँको यस धर्तीमा अवतरण हुँदा देखिको खानपानको सोखले अन्तिम दिनसम्म पनि उस्तै रह्यो । कुनै दिनमा बाले ख्याल ख्यालमा भनेजस्तै, असोज १ गते दिनको ३ बजेतिर म महोत्तरी जिल्लाको अस्थायीरुपमा बस्न भनेर तयार गरिएको तर बस्दै आइएको  निवास सीतापुरको घरमा पुग्दा बालाई घाटमा अन्तिम यात्राको व्यवस्था गरेर माहिलो भाइ हिमालय  घरमा आइपुगेको रहेछ । त्यो भाइ पनि २०६९ सालको घोडे जात्रा दिन सडक दुर्घटनामा हामीलाई यहीँ छोडेर बाको सेवामा गयो । जीवन एउटा अनपेक्षित यात्राको अथाह गन्तव्य र परिणामहीन परिणामको पुञ्ज हो रहेछ । सोचेजस्तो पनि नहुने र सोचेर मात्र पनि नहुने । जे हुने हो भएरै छाड्ने र गणितको शैलीमा सबै आफैँ मिल्ने उत्तर जति । प्रश्न विनाको उत्तर या उत्तर विनाको प्रश्न ।६जे सम्झे पनि हुने र नसम्झे पनि हुने । 

बाले गरेको जस्तै भविष्यवाणी पुग्यो–त्यो म मरेपछिमात्र किरिया गर्न आइपुग्छ । नभन्दै त्यस्तै भयो । विसं १९७६ साल हली तिहारका दिन यस पृथ्वीमा आउनु भएको मेरो बा २०६१ सालको हरितालिकाका दिन अर्थात् तीजका दिन निर्वाण प्राप्त गर्नुभयो वा महाप्रस्थानमा निस्कनु भयो । पहिले पहिले घरबाट साइत हेरेर निस्कने मेरो बा । बाहिर जाँदाका प्रस्थानमा बा सधैँ फर्कनु हुन्थ्यो तर यस पटकको घरभित्र नै सबैले देख्ने गरी भएको आफू यहीँ बसेर गर्नु भएको महाप्रस्थानमा फेरि कहिल्यै फर्कनु भएन । त्यो महायात्राबाट फर्कनु पनि हुन्न पक्कै । सायद ! त्यसैले महाप्रस्थान भनिएको पनि होला मृत्युलाई । आजसम्म पनि त्यो पत्याउने गाह्रो छ र सपनामा भेटिँदा त्यही रमाइलो र गर्विलो आवाजले मलाई बिहान उठ्दा लाग्छ, बासँग फेरि भेट पक्कै हुन्छ बिपनामै । नभए पनि सपनामा । त्यो पनि साइत हेरेर भेट हुने रहेनछ । 

जीविकोपार्जनका लागि गरेको सङ्घर्षका ती दिनहरू र जीवनलाई सहजताका साथ सामान्यीकरण गर्न भोगेका ती सङ्घर्षका गाथाहरूभन्दा बाको मृत्यु धेरै गहु्रँगो हुँदो रहेछ । सबै दुःख दर्द एकातिर र बाको कमी अर्कोतिर ।  त्यो नै भारी रहेछ । 

भन्ने पर्ने हुन्छ कि कसैलाई पनि बा आमाको मृत्यु भोग्नुपर्ने दिन नआओस् तर फेरि यो पनि ध्रुव सत्य हो कि त्यो दिनचाहिँ भोग्नै पर्दो रहेछ । त्यो जीवित देवताको अनुहार सम्झँदा जहिले पनि गर्वले आँखा भरि आँसु आउँछ र वेदनाले मुटु भक्कानिन्छ । गर्व यस कारणले लाग्छ कि म उहाँको छोरो हुँ र मुटु यस कारणले भक्कानिन्छ कि अब यो जुनीमा मैले बालाई कहिल्यै भेट्ने छैन । मलाई देवता वा ईश्वरका बारेमा खासै जानकारी छैन । विश्वास पनि कति गर्ने ? थाहा छैन  र त्यो दर्शनप्रति मेरो त्यति विश्वास पनि छैन तर बा ईश्वर हो भन्ने कुरामा म विश्वस्त छु कि म उहाँको सृष्टि हुँ जसलाई उहाँले पाल्नुभयो, पोस्नुभयो र दीक्षित गराउनु भयो यो सन्सारसँग मिलेर बस्न सिकाउनु भयो ।  नीतिका कुरा गरेर नैतिकताको पाठ पढाउनु भयो र बारम्बार मलाई भन्नुभएको थियो-हेर छोरा ! अठार पुराणको अन्तमा व्यासले भन्नुभएको छ कि अठार पुराणको निष्कर्ष भनेको परोपकार पुण्य हो अनि अर्कालाई पीडा दिनुचाहिँ पाप हो । यही हो तँलाई मेरो उपदेश वा सन्देश । मैले थाहा पाएसम्म एकै समयमा लगातार १८ पुराण लगाएको बाले नै हो । जुन मैले आजसम्मको हाम्रो सामयिक समाजमा देखेको , सुनेको । दीक्षित हुन सोमयज्ञ गरेको सुनेको हुँ तर अठार पुराण लगाएको मैले अन्त थाहा पाएको छैन । उहाँले लगाउनु भयो २०२३ सालदेखि २०२५ सालसम्ममा । 

उहाँ बारम्बार एउटा कल्पिन कहानी सत्यझैँ सुनाउनु हुन्थ्यो देउरालीटारकी कुनै राउतनी आमैको कथा । सधैँ छोरो राउतले आमालाई नेपाल भनेको काठमाडौँ जानलाई पैसा, चामल, घिउ, राडी, चिउरा, गुन्द्रुक र कुराउनी भनेर हैरान गर्दो रहेछ रे ! लक्का जवान सेनामा जागिर खान जान लागेको होला । तर आमासँग यो देऊ, जान्छु जागिर खान भनेर हैरान पार्दो रहेछ । एक दिन आमाले छोरालाई चुलेसी लिएर आइज भनेर भनेपछि छोराले चुलेसी ल्यायो । अनि आमाले आफ्नो बुढेसकालको झोलिएको स्तन चोलाबाट बाहिर निकालेर त्यही चुलेसीले काट्न खोजिछन् । अनि छोराले हत्तपत्त चुलेसी खोसे आमालाई यसो किन गरेको भनेर आत्तिँदै सोधेछ । अनि आमाले मार्मिक कुरा भनिछन्—यो क्षत्रिनीको दूध खाएर हुर्केको छोराले जागिर खान जानका लागि के खोजेको घरबाट ? जाने, कर्म गर्ने, जागिर खाने, कमाउने, जहान छोराछोरी पाल्ने । राम्रो काम गर्ने, नाम कमाउने । जा आजैबाट त्यसो भए । म केही पनि दिन्न । अनि ती राउत नेपाल गएर सेनाको ठुलो पदमा पुगेका थिए रे ! वास्तवमा यो कथा बाले हामीलाई सुनाउनुको कारण थियो, आफ्नो बाटो आफैँले तय गर्ने । कर्मयोगी हुने भन्ने आशय थियो । 

 बाको ८५ वर्षको जीवनमा मैले पनि ५१ वर्ष उहाँको प्रत्यक्ष छहारीमा बिताएँ । २०११ साल वैशाख २५ गते जन्मेको ममा । एउटा मनोविज्ञान पनि होला त्यो मैले कुनै पनि समय आफूलाई असुरक्षित सम्झिन उहाँको जीवनभर । अहिले लाग्छ, म बाविना कतै सुरक्षित छुइन कि ? मैले यो आभास आफ्ना सन्ततिलाई गराउन सकेको छैन, यो मेरो स्वघोषणा हो किनभने उहाँकै छतमा हामी सबैले सुरक्षा महसुस गरिरहेका थियौँ । उहाँकै इच्छाबमोजिम म १३ वर्षको उमेर देखि घर छोडेर बाहिर पढ्न हिँडेँ । उहाँको चाहना संस्कृत पढोस् र पण्डित बनोस् भन्ने थियो, मैले त्यो पूरा गर्न सकिन तर अहिले आएर लागेको छ, मैले त्यस बेलामा संस्कृत पढेको भए अहिले मलाई ग्लानि हुने थिएन संस्कृत नजानेकोमा । म अहिले महाभारतकालीन शिक्षाको आजको शिक्षामा परेको प्रभावसँग सामाजिक न्यायको बारेमा अनुसन्धान गर्न थालेको छु र संस्कृतको अल्प ज्ञानले मलाई अत्यास लागिरहेको छ । 

त्यसपछि उहाँकै चाहनाअनुसार आफ्नै खुट्टामा टेक्ने काम गर्न थाल्दा उहाँसँग सामान्यतया वर्षका एकपल्ट वा दुईपल्टमात्र भेट हुन्थ्यो । बाको गुनासो हुन्थ्यो, अरू त बिदामा आउँछन्, तँ पनि आउने गर्नु । म हुन्छ भन्थेँ र खोइ केले केले हो जानै चाँजो पर्दैनथ्यो । २०६१ सालको जेठमा काठमाडौँ आउनु भयो र यस सालको दसैँ काठमाडौँमा नै मनाउने गरी असारमा जानु भएको थियो । म यस कारणले पुलकित भएको थिएँ कि बालाई यस पटक त काठमाडौँमा नै दसैँ मनाउन मनाएँ । एक पटक सीतापुर पुगेर आउने वाचा त बाले नै गर्नु भएको थियो । म दसैँमा बा आउने गरी दिन गन्न थालेको थिएँ जस्तो कि पहिले पहिले बा नै म घर आउने दिन गनेर बस्नुहुन्थ्यो घटस्थापनाका दिनदेखि । केटाकेटी घर पुग्थे र त्यसको २ वा ३ दिनपछि म पुग्थेँ जनकपुरतिर अलमलिएर, साथीभाइ भेटेर ।

वास्तवमा मेरो पुर्ख्यौली अहिलेको काभ्रेपलान्चोक जिल्लाको दाप्चामा रहेछ तर मभन्दा ४ पुस्ता पहिले नै अहिलेको सिन्धुलीको हैबार, देउराली टार हुँदै ग्वाल्टारमा बसाइ हुँदै आएको रहेछ । त्यसैले मेरो बा र मेरो जन्म ग्वाल्टारमा नै भयो र अहिले पनि ग्वाल्टारमा हाम्रो स्थायी बसोबास छ, हुन त हामी अहिले कोही पनि त्यहाँ बसेका छैनौ । घर छ, गोठ छ, खेत छ,बारी छ । जस्ताको तस्तै छ । हामी ग्वाल्टारका नै हौँ र स्थायी बसोबासका रूपमा त्यहीँ नै हो । अहिले भूकम्पले क्षत विक्षत भएको घर बनाइएको त छ तर बा आमा विनाको गाउँ बनेको छ । 

परोपकार पुण्याय पापाय परपीडनम् । यो हेक्का राखेस् । तँ म नै हुँ र म नै तँमा सरेको हुँ । म कतै गएको छुइन र पनि तैँले मलाई देख्न सक्दैनस्, म तँलाई देखिरहेको छु । तँ आफ्नो कर्तव्यबाट कतै च्युत नहुनू । बारम्बार जीवन आउनु र बारम्बार जानु एउटा नियति हो तर मोक्षको लागि गरिने सत्प्रयासचाहिँ अनवरत गरिरहनू । 

सधैँ एकनास कहाँ पो हुँदो रहेछ र ? २०६१ साल भदौको ३१ गते राती दर खाएर सुतेका मात्र थियौँ सबै परिवारका सदस्यहरू, करिब २ बजेतिर फोन आयो, बा टाउको दुखेर बेहोस हुनुभएको छ भनेर सीतापुरबाट नचिनेको कुनै केटाको आवाजमा । मैले अनुमान गरेँ र बिस्तारै सबैलाई उठाएर भनेँ कि बा त बिरामी हुनुभएको छ र बेहोससमेत हुनुहुन्छ रे ! सबै फोन गर्न थाले र घरमा दर खान आउन नभ्याएको भाइले पनि फोन गरेर त्रासदीपूर्ण तर सम्भावित धु्रवसत्यलाई अनुमान गर्‍यो । हामीले सीतापुरमा बासँगै रहेको भाइ हिमालयलाई बालाई जसरी पनि काठमाडौँ लिएर आउन भन्दा उसले अब औषधि गर्नतिर लाग्नुभन्दा तपाईँहरू नै बालाई भेट्न छिटो आउनु भन्दा मैले त्यति बेरचाहिँ आकाश खसेजस्तै ठानेँ । 

सायद ! त्यसैले होला, युधिष्ठिरले बालाई आकाश मानेको जस्तो लाग्यो । तर आशा बाँकी थियो अझै हुनुहुन्छ कि भन्ने । एक छिनपछि भाइले करिब करिब सङ्केत ग¥यो कि अब बा हुनुहुन्न । त्यो समयको म अहिले पनि कल्पना गर्न सक्दिन, कस्तो भयो मेरो मनमा । वास्तवमा जीवनमा बाको महत्त्व मैले त्यति बेर अनुभूत गरेँ । अहिले त्यही भाइ पनि सडक दुर्घटनामा पर्‍यो र २०६९ साल चैत्र २८ गते हामीलाई यतै छोडेर सदाका लागि त्यस्तो ठाउँमा गयो जहाँ बा पहिले नै पुगिसक्नु भएको छ । भनौँ बाको सेवाका लागि ऊ नै मभन्दा पहिले गयो । नियमले त बा आमा पछि मेरो पालो हो र पनि उसले मलाई र आमालाई नै यतै छोडेर गयो । सायद त्यसैको पिरले पनि हुनुपर्छ, आमा पनि उसको बरखीको केही दिनमा नै २०७० सालको चैत्र २४ गते चैते अष्टमीका दिन हामीलाई छोडेर जानु भयो । बाको कमीको क्षतिपूर्ति खासै नहुने भए पनि आमाको त झन् कसरी खप्ने ? अनि बा पनि नहुने र आमा पनि नहुने भएपछि यो संसार साँच्चै नै अकल्पनीय सन्त्रासयुक्त नै लाग्दो रहेछ । 

यो कुनै गुनासो गर्न वा बिलौना गर्नका लागि कथेको कथा होइन । मात्र बा भन्ने ईश्वरको अवतारको निर्वाणप्राप्तिको एउटा सम्झना मात्र हो । अर्थात् मेरो बा रामप्रसाद उपाध्याय अधिकारीको मोक्षको एउटा सम्झना मात्र हो । न कुनै दम्भ , न कुनै विषाद,  न कुनै आकाङ्क्षा, न कुनै छल छाम । ८५ वर्षको आयुसम्मको आफ्नो लामो जीवन यात्रामा । आफ्नो सिन्धुली र रामेछाप अर्थात् पुरानो पूर्व २ नम्बर क्षेत्रमा शिक्षा र सामाजिक  कामका लागि दानवीरका रूपमा प्रख्यात बाले २००८ र २०१५ सालमा नै हाइ स्कुल सञ्चालनार्थ उसै बेलामा रु १ हजार पटक पटक दिनु भएको रहेछ । ग्वाल्टार, तीनमाने, बतासे, राम्चे, किराँते, फलामे, बाँझे, तीनपाटनमा विद्यालय खोल्दा लाग्ने खर्चसमेत बेहोर्ने मेरा बाले हामीलाई कहिल्यै पनि ती कुरामा घमण्ड नगर्न सम्झाइरहनु भयो । म नियतिले विद्यालय शिक्षक हुनु, नेपाल शिक्षक सङ्घको संस्थापकमध्ये एक हुन पाउनु र शिक्षक शिक्षाका लागि मात्र खोलिएको काठमाडौँ शिक्षा क्याम्पसको संस्थापकसमेत हुनुमा उहाँको त्यही शिक्षाप्रतिको पुरानो लगावले नै मनोवैज्ञानिक काम गर्‍यो कि भन्ने पनि लाग्छ । 

आज बाको महाप्रस्थानको झन्डै १६ वर्षतिर आइपुग्दा र आफैँलाई समयसँग फर्केर हेर्दा लाग्छ के साँच्चै मेरो बा यस दुनियाँमा हुनुहुन्न त ? सत्य त त्यही हो, हुनुहुन्न । तर लाग्छ कतै मलाई बोलाइ रहनु भए जस्तो यसो उभिएर र दाहिने हातको चोरी औँलो यसो उठाएर, मन्द मन्द हाँस्दै यसो भन्दै रहनु भएको त होइन ? परोपकार पुण्याय पापाय परपीडनम् । यो हेक्का राखेस् । तँ म नै हुँ र म नै तँमा सरेको हुँ । म कतै गएको छुइन र पनि तैँले मलाई देख्न सक्दैनस्, म तँलाई देखिरहेको छु । तँ आफ्नो कर्तव्यबाट कतै च्युत नहुनू । बारम्बार जीवन आउनु र बारम्बार जानु एउटा नियति हो तर मोक्षको लागि गरिने सत्प्रयासचाहिँ अनवरत गरिरहनू । 

संसारमा विना बा कोही पनि यो संसारमा आएको छैन र आउने पनि सायद छैन । अनि अमर पनि कोही छैन र सबै मरिने कुराबाट जति डराए पनि मरिन्छ भनेर कोही पनि सोच्दैन । भोलि त मर्नु छ भनेर अर्काको अहित गर्न पनि कसैले छोडेको छैन । तर पनि बाको छहारी नभएको जीवनले सृजनशीलतालाई अगाडि बढाउन सक्छ र भन्ने प्रश्न त सधैँ ताजा नै रहनेछ । त्यसैले आजको दिनमा ती साँच्चै नै ईश्वरका अवतारलाई सम्झनु नै कृतज्ञ सन्ततिको कर्तव्य हुन जान्छ । 

सायद ! त्यसैले पूर्वीय दर्शनमा बालाई सम्झने दिनको पनि व्यवस्था गरेको होला । म पनि मेरा बा र मेरा बा जस्तै जजसका बा हुनुहुन्न, सबैका बाहरूप्रति नतमस्तक हुँदै कृतज्ञता जाहेर गर्छु र उहाँहरूको सम्झनामा शब्द सुमनाञ्जलि चढाउँछु ।