‘नीति तथा कार्यक्रम’ बिचरा जनताका लागि राम्रा र मीठा शब्द ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात !’

‘नीति तथा कार्यक्रम’  बिचरा जनताका लागि राम्रा र मीठा शब्द ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात !’

रमेश भट्टराई ‘सहृदयी’  |  दृष्टिकोण  |  जेठ ४, २०७७

सरकारद्वारा सुन्दर नीति तथा कार्यक्रमलाई प्रस्तुत गर्ने भनियो । सञ्चार माध्यमले पनि प्राथमिकताका साथ ‘लाइभ टेलिकास्ट’ गरेर सर्वसाधारणलाई सुसूचित गराए ।सायद ! यो उनीहरूको कर्तव्य थियो होला । राष्ट्रपतिका अघि–पछि कारदेखि बाइकको लाममा सुरक्षा कर्मीको कडा पहरा पनि देखिन्थ्यो । बाटोमा सायद लकडाउनका कारण ट्राफिक जाम पनि त थिएन । यो दृश्यलाई नियाल्दा तामझाम बडो सानदार राजा–महाराजाकै जस्तो देखिन्थ्यो । कार्पेटको साजसज्जा उस्तै लाग्थ्यो । जननेता स्व. मदन भण्डारीकी जीवन सङ्गिनीलाई श्री ३ कै जस्तो तामझाममा खातिर दारी भएको प्रस्ट देखिन्थ्यो । त्यो आवश्यक थियो कि थिएन । त्यो समयले नै देखाउला । सञ्चार माध्यमले क्षण–क्षणका समाचारमा अद्यावधिक गर्न हतारो गरेको पनि उत्तिकै देखिन्थ्यो । जनता पनि के आयो, के आयो नयाँ के भ भन्नेमा उत्सुक अलि बढी नै थियौँ किनकि लकडाउन छ, काम छैन नि । 

त्यसै पनि हिजोआज हामी धेरैजसोले रुचिअनुसारका कुरालाई हेरेर सामाजिक सञ्जालतिरै समय बिताउँछौँ । सामाजिक सञ्जालले समयोचित सन्देश पनि छोडिरहेकै छ । अहिले त सञ्चार शक्ति नै सबैभन्दा बलियो शक्ति हो । घरमा बसेर देश र परिवेशलाई दाँत कोट्याउँदै टिप्पणी गर्नेलाई सञ्चार शक्तिको मर्म बोध हुनु आवश्यक पनि त छ । कोरोना महामारी र भारतले गरेको नेपाली भूमि अतिक्रमणको नाङ्गो नाचको विषय, त्यसअघि प्रधानमन्त्रीको अध्यादेशको विषय, सांसद अपहरण र नेकपा गुटको तन्त्रले बजार गर्मागर्मीको जानकारी । अब भने एक–दुई हप्ता नीति तथा कार्यक्रमले स्थान लिनेछ । साष्द कोरोना र महामारी थिएन भने प्रमुख स्थान पाउने नै थियो । 

यत्तिकैमा आयो ‘सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठ’ को कुरा । अनि विपक्षी दलको विरोधको रोइलो सुरु भएको छ । धेरै हदमा सत्तारुढ दलले वाह ! वाह ! भन्दै गर्दा विपक्षीले सत्ताबाहिर हुनुको धर्म निभाउने शैली त पुरानै हो । यसपालि पनि उस्तै कार्य उसै गरी दोहोरिइरहेको छ । अब एक–दुई हप्तासम्म विज्ञहरूले घतलाग्दा शब्द र तर्क बोकेर टिप्पणी गर्ने नै छन्  । केहीले चाहिँ केही विश्लेषणात्मक आधारमा निष्पक्ष टिप्पणी नगरेको भन्ने पनि होइन । 

कोरोना महामारीका कारण धेरै नेपाली युवाहरू विदेशबाट कम्पनी टुटेर वा घाटामा गएर स्वदेशमै फर्कने सम्भाव्यता पनि उत्तिकै छ । त, ती युवालाई साँच्चै नीति तथा कार्यक्रमले सम्बोधन गर्छ ? ‘युवा रोजगार कार्यक्रम’ ले जस्तो सानो पैसा दिएर बाटो र कुलो सफा गराउने शैलीबाट देशले मुहार फेर्न पनि त नसक्ला । बरु भएकै स्रोत उपयोगका लागि कृषिका कुरालाई नै अब जोड दिने कुरामा प्रश्रय दिए राम्रो होला । दुःखको कुरा– भूकम्पपछि पनि आत्मनिर्भरताको पाठ पढिएन । 

अनि मलाई याद छ– गाउँका जनता बिचरा उस्तै छाप्रोमा बसेकाहरू उही पुरानो कुवाको पानी भर्न भन्दै त्यही कुच्चिएको हलुङ्गेको गाग्री बोकेर उसै गरी धाइरहन्छन् । तिनको जीवनशैलीलाई यी राम्रा र मीठा शब्द ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात !’ गत साल पनि ठ्याक्कै यस्तै चिटिक्क परेको नीति तथा कार्यक्रम आएको थियो ‘माटोलाई चिनौँ......., जग्गा बाँझो त राख्दै नराखौँ.....युवाले रोजगार पाइहाल्छन्...., विदेश पलायन रोकिन्छ.....इत्यादि । अनि अलिपछि कता हो सुनिएको थियो– ‘फलानो देशले नेपाली कामदार मागेकोमा फलानोद्वारा खुसी व्यक्त....’ । इन्स्टिच्युटहरू, कन्सल्टेन्सीहरू, मेन पावरहरू ‘कोरियाले यति जनालाई भिसा खुलायो’, जापानले या अस्ट्रेलियाले ... खुलायो भनिसक्दा खुसी मान्छन् । अनि, मन्त्रीज्यू पनि त्यसको श्रेय लिन हतारिनुहुन्छ । यता नीति तथा कार्यक्रममा भनिन्छ ः स्वदेशमै रोजगारीको व्यवस्था गरेर युवा पलायनको अवस्थालाई सुधार गर्ने । अनि शङ्का गरौँ या विश्वास गरौँ । एउटा दोधार कायमै रहन्छ । 

कोरोनाले देशको सोच र शैलीलाई बदलिएको छ । द्वन्द्व काल यताकै कुरा गरौँ दशौँ वर्ष भय, पीडा, युद्ध, आतङ्क, चक्का जाम, बन्द–हड्ताल भए । जे–जे परिवर्तनमा कुरा गरे पनि देशको ठुलो जन–धनको विनाश भयो । यो सबै त मान्छेकै कारणले भयो । अनि, २०७२ मा भूकम्पले ठुलो क्षति गरायो । पुनर्निर्माण सम्पन्न भई नसकेको अवस्थामा छौँ । सङ्क्रमण, जोखिम र अप्ठ्यारोका बिचमा उता भारतले अघोषित नाकाबन्दीको मुसल प्रहार गर्‍यो । त्यसपछि पनि कहिले बाढी–पहिरो, डुबान, डढेलो आदिका विपत्तिबाट छुटकारा नै पाइएको छैन । देशले तङ्ग्रिने बाटो खोज्दै मात्र थियो कोरोनाले विश्वव्यापी रूपमै अर्को बज्र हान्यो । सायद अब त जीवन शैली र सोचलाई नै पनि बेग्लै तरिकाले बदलिदिनेछ । विश्वव्यापी सोचलाई एउटा तरङ्ग पैदा गर्ने छ भने त्यसबाट हामी चाहिँ कहाँ अछुतो हुन्छौँ र ! हामीलाई त तङ्ग्रिनै समय लाग्ने भयो । अनि यसै बिचमा अर्को चासोको कुरा भयो के नीति तथा कार्यक्रममा भनिए जसरी सबै कार्य सम्पादन होलान् ? के यो हात्ती आयो हात्ती आयो फुस्सा त हुँदैन ! योजना धेरै राम्रा छन् तर कार्यान्वयन हिजो कति भए र अब कसरी हुन्छन् यो चासोको विषय बन्ने देखियो । 

जे जति कुरा गरे पनि जनताको चाहना एउटै छः  ‘आफ्नै माटोमा काम अनि कामअनुसारको दाम देऊ ।’ ‘शिक्षा र स्वास्थ्यलाई सक्छौ भने निःशुल्क बनाइदेऊ ।’ धेरै जनता महँगा स्कुलमा पढाउने समाज मनोविज्ञानको होडमा ठगिन्छन् । सामुदायिक विद्यालयमा पढाइ राम्रो हुँदैन । सरकारी काम सबै राजनीतिगत बल्छीमा बेरिएको हुन्छ । तब पनि जनताले शिक्षा र स्वास्थ्यका लागि दुःखी खेप्नुपरिरहेको छ । अप्ठ्यारोले मान्छेलाई ठुलो निर्णय लिन विवश बनाउँछ त्यसैले अर्को सबैभन्दा ठुलो पीडा स्वास्थ्य सेवाको अभाव नै हो । ताप्लेजुङका मान्छे किन झापा झर्छन्, गोरखातिरमा मान्छे किन चितवन जान्छन्ः गाँस, बास र कपास पहिलाको कुरा थियो । अहिलेको समस्या स्वास्थ्य सेवाको प्रभावकारिता हो । बाटो र बजारीकरण हो । शिक्षा हो । 

जनता कहाँ ठगिन्छ ?  सरकारी अस्पतालमा राम्रो सेवा–सुविधा हुँदैन । हेरचाह गरिँदैन । ढिलासुस्ती हुन्छ । बेवास्ता गरिन्छ तब निजीतिरै होमिनुपर्छ । निजीले घर खेत, आफन्तको पैसा समेत धुतेर एउटा रोग उपचार गरेपश्चात् अर्को चिन्तारूपी दीर्घ रोग भिराएर पठाउँछन् । त्यसले पुस्तौँ पुस्तासम्मलाई गरिबीको खाडलमा हालिदिन्छ । यो काल्पनिक मनगणन्ते कुरै होइन, यथार्थ हो । अतः सरकारले शिक्षा र स्वास्थ्यलाई नितान्त सरकारी करण गरोस् अनि नितान्त निःशुल्क गराओस् । ग्रामीण क्षेत्रमा राम्रो शिक्षा र स्वास्थ्यको पहुँच विस्तारको बाटो फराकिलो बनाओस् । 

अब कृषिका कुरा पनि उठ्छन्, पर्यटन आउँछ तर अहिले अलि जोडतोडका साथ ‘स्वास्थ्य’ को कुरा नै आएको छ । तब त ‘डाक्टर’ को भूमिकाले प्रश्रय पायो भनौँ । भूकम्पको समय ताका पनि ‘पुन निर्माण’ का कुराले स्थान पाए अनि ‘इन्जिनियरिङ’ को विचारले ठाउँ पायो । कुरा नीतिको खराबीको हुँदै होइन मात्र व्यावहारिकताको हो । हामी बिचरा जनतालाई यत्ति लामा नीति किन चाहियो र बरु त साना नीति र योजना तर कार्यान्वयन हुने गरी भए जाति हुन्थ्यो ।  

कोरोना महामारीका कारण धेरै नेपाली युवाहरू विदेशबाट कम्पनी टुटेर वा घाटामा गएर स्वदेशमै फर्कने सम्भाव्यता पनि उत्तिकै छ । त, ती युवालाई साँच्चै नीति तथा कार्यक्रमले सम्बोधन गर्छ ? ‘युवा रोजगार कार्यक्रम’ ले जस्तो सानो पैसा दिएर बाटो र कुलो सफा गराउने शैलीबाट देशले मुहार फेर्न पनि त नसक्ला । बरु भएकै स्रोत उपयोगका लागि कृषिका कुरालाई नै अब जोड दिने कुरामा प्रश्रय दिए राम्रो होला । दुःखको कुरा– भूकम्पपछि पनि आत्मनिर्भरताको पाठ पढिएन । 

भारतले नाकाबन्दी लगाएपछि पनि आत्मनिर्भरताको पाठ त पढेनौँ । खेतबारी बाँझै बसे पनि सहर तिर यसो कोठाभित्र बसेर बासमतीको भुजा ज्युनार गर्ने चाहना हामीमा छ । सर्वहारा वर्गले नेतृत्व गर्‍यो । बाम गठन हुँदा ‘मदन–आश्रित’ को स्मरण गरेर दुई ठुला दलको तन मिलेको ढोल पिटियो तर मन चर्किएको पदीय रोलभित्र बिचरा हामी जनता अपेक्षा बोकिरहन विवश छौँ । सत्तारुढमा सत्ता उन्माद अनि सत्ताबाहिर हुनेलाई उही सत्ता स्वार्थको प्रतिशोध ठ्याक्कै उस्तै देखिन्छ । उही स्वार्थभित्र कुँदिएको रहस्यमा हामी जनता ताली बजाउँछौँ पनि र गालीले सामाजिक सञ्जाल सजाउँछौँ । हामीमा सामाजिक सञ्जालभित्र हल्ला गर्ने ज्ञान चाहिँ आवश्यक बढेको छ । यो जनतामा आएको ठुलो परिवर्तन हो । जनता बिचरो प्रजातन्त्रको प्राप्तिका ७० औँ वर्षपछि पनि स्वाभाविक परिवर्तनबाहेक आमूल परिवर्तनका लागि चाहिँ भाषण सुनिरहेकै छौँ । बानी परिसकेका छौँ पनि । 

हाम्रो मुलुकले युवाको क्षमता उपयोग गरेर बाँझो खेतलाई उब्जनीयोग्य बनाउने गरी आधुनिकीकरण गरेर बजार भाउ दिए मात्र पनि देशले अहिले ठुलो फड्को मार्न सक्छ । यसो भए कमसेकम कोरोना महामारी अभिशाप मात्रै नभएर अवसर पनि बन्न सक्छ । खाद्य सङ्कटको सामना गर्ने योजना नै अबको ठुलो विषय बन्ने देखिन्छ । त्यसैले नीति बनाएर सपना देख्ने र पूरा नगर्ने स्थिति नहोओस् । विनम्र अनुरोध नीति तथा कार्यक्रमलाई बजेटमा समेटियोस् । हामी जनतालाई धेरै ठुला कुरा, ठुला स्वप्न चाहिँदैन । हामीलाई अहिले बाँच्न पुग्ने गरी, कम्तीमा सामाजिक सुरक्षाको प्रत्याभूति हुने गरी स्वदेशमा काम दिए मात्रै पनि पुग्छ । हामी नै काम गर्छौँ अनि हाम्रो देश हामी नै बनाउँछौँ । मात्र देशले नीतिमा सहजीकरण गरिदियोस् । भ्रष्ट्राचार र गुटबन्दी शैलीको अन्त्य गर्नेमा तीनै तहको सरकार सचेत होओस् । अनि, स्थानीय सरकारले अब हाम्रै माटो सुहाउँदो कृषि विकास र युवा रोजगारकै कुरालाई अहिलेको माग बनाओस् । नीति राम्रो होओस्, नहोओस् तर कार्यक्रम राम्रो होओस् । जनताले धेरै ठुला कुरा जान्दैन र बुझ्दैन पनि । ज्ञात होओस् ।