मंगलग्रहबाट आजका दिन रेडियो सन्देश आउन कति मिनेट लाग्छ

मंगलग्रहबाट आजका दिन रेडियो सन्देश आउन कति मिनेट लाग्छ

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  फागुन २६, २०७५

पृथ्वीवासीलाई सौर्यमण्डलका समस्त ग्रहमध्ये सबैभन्दा बढी आकर्षित गर्ने ग्रह हो मंगल । कैयन लोककथा तथा जनश्रुतिहरुमा त्यहाँ हामी भन्दा उन्नत मानव सभ्यताले बसोबास गर्ने चर्चा पनि चले ।  जानौं मंगल ग्रहबारे केही रोचक तथ्य । 

१) सूर्यबाट दूरीको हिसाबमा बुध, शुक्र, पृथ्वी पछि मंगल चौथो नम्बरमा पर्छ । 

२) मंगलको सूर्यबाट सरदर दूरी २२ करोड ७९ लाख ३९ हजार १ सय किमि छ । 

३) सूर्यबाट पृथ्वीको दूरी १४ करोड ९६ लाख किमि छ । यसलाई खगोल विज्ञानमा एक ऐ.यू.-ASTRONOMIONAL UNITभनिन्छ । सूर्यबाट मंगलको दूरी १.५२३ ऐ.यू. रहेको छ । 

४) ग्रहले सूर्यको परिक्रमा दीर्घवृत्तिय पथमा -ELLIPTICAL_ गर्छन । मंगलले पनि यसै रीतिले परिक्रमा गर्दा कहिले सूर्यको नजिक त कहिले टाढा हुने गर्छ । 

५) सूर्यको नजिक हुँदा अपसौर -PERIHELION_  मा यो दूरी घटेर २० करोड ७७ लाख ६९ हजार किमि आई पुग्छ । घटेर यो १.३८१ ऐ.यू. आईपुग्छ । 

६) यसै गरी सूर्यबाट टाढा हुँदा उपसौर -APHELION_ मा यो दूरी बढेर २४ करोड ९२ लाख ९ हजार ३ सय किमिसम्म पुग्छ । भनौं १.६६५ ऐ.यू. टाढा हुन्छ । 

७) मंगल ग्रहलाई आफ्नो अक्षको एउटा परिक्रमा पूरा गर्न २४.६ घण्टाको समय लाग्छ । भन्न सकिन्छ मंगलमा एक दिन र रातको अवधिमा २४.६ घण्टाको हुन्छ । स्मरण रहोस पृथ्वीको एक दिन र रातको अवधि २३ घण्टा ५६ मिनेट ४ सेकेण्डको हुन्छ । भन्न सकिन्छ मंगलको एक दिन र रातको अवधि पृथ्वीको १.०२५९ बराबरी हुन्छ । 

८) मंगलको आफ्नो अक्षमा परिक्रमा गर्ने गति २४१.१७ मिटर प्रतिसेकेण्ड वा ८६८.२२ किमि/घण्टा रहेको छ । 

९) मंगललाई सूर्यको एक परिक्रमा पूरा गर्न पृथ्वीको समय अनुसार ६८६.९७१ दिनको समय लाग्छ । तर मंगल ग्रहमा दिन र रातको अवधि पृथ्वी भन्दा झण्डै ४० मिनेट बढी भएकोले मंगलको समय अनुसार सूर्यको एक परिक्रमा पूरा गर्न ६६८.५९ दिनको समय लाग्छ । भनौं मंगलमा एक वर्ष ६६८.५९ दिनको हुन्छ । 

१०) मंगलले सूर्यको परिक्रमा २४.०७७ किमि/सेकेण्डको गतिले गर्छ । घण्टामा यो ८६६५९किमि/घण्टा हुन्छ । 

११) मंगलग्रह र पृथ्वीको सरदर दूरी २२५,०००,००० किमि छ । 

१२) दुवै ग्रह आ–आफ्नो परिक्रमा पथमा नजिक हुँदा यो दूरी घटेर ५६,०००,००० किमि सम्म आईपुग्छ । अगस्त २००३ मा मंगल पृथ्वीको यति नजिक आएको थियो । सामान्यतया दुवै ग्रह नजीक हुँदा यो दूरी ७७,७९२,००० किमि हुने गर्छ । 

१३) यसै गरी दुवै ग्रह एक अर्काबाट टाढा हुँदा यो दूरी बढेर ४०१,०००,००० किमि सम्म पुग्छ । नजीक हुँदाको स्थिती भन्दा ७.३७ गुना बढी । 

१४) सबै ग्रहहरुमा तापको प्रमुख श्रोत सूर्य हो । पृथ्वी सूर्यबाट १ ऐ.यू. टाढा भएकोले यहाँको तापमान सुखद छ । तर मंगल र यस पछीका ग्रह चिसा छन । कारण उनीहरु सूर्यबाट धेरै टाढा छन । 

१५) मंगलको सतहको न्यूनतम तापमान  माइनस ८७ डिग्री हुन्छ । त्यहाँको औसत तापमान (मध्य तापमान) माइनस ६३ डिग्री छ र अधिकतम तापमान भने २० डिग्री सेल्सियससम्म पुग्ने गर्छ । 

१६) मंगलको तापमानमा हामीले बुझेको जीवन र जीवन सम्बन्धी हाम्रो व्याख्या अनुसारको जीवन सम्भव छैन । 

१७) मंगल ग्रहको व्यास ६७९२ किमि छ । पृथ्वीको आधी भन्दा अलिक बढी छ मंगल ग्रहको व्यास । 

१८) मंगलको कुल क्षेत्रफल १४४,७९८,५०० किमि रहेको छ । पृथ्वीको तुलनामा मात्र ०.२८४ । 

१९) मंगल ग्रहको आयतन १.६३१ ह १०११  किमि  रहेको छ । पृथ्वीसंग यसको तुलना गर्दा मंगलको आयतन पृथ्वीको ०.१५१ मात्रै छ । 

२०) मंगलको द्रव्यमान ६.४१८५x१०२३ किग्रा छ । यो पृथ्वीको तुलनामा ०.१०७ मात्र हो । 

२१) मंगल ग्रहको घनत्व ३.९३३५ ग्राम/सेमि  छ । पृथ्वीको घनत्व भने ५.९७२३७ ग्राम/सेमि  छ । 

२२) मंगलग्रहको सतहको गुरुत्वाकर्षण पृथ्वी भन्दा कम्ती छ । यहाँको गुरुत्वाकर्षण ३.७११ मि./से छ । यो पृथ्वीको झण्डै एक तिहाई मात्रै हो । 

२३) मंगलग्रहको सतहबाट आकाशमा पुग्नलाई ५.०२७ किमि/सेकेण्डको गति आवश्यक हुन्छ । पृथ्वीमा यो गति ११.१८६ किमि/सेकेण्ड आवश्यक पर्छ । 

२४) प्राकृतिक उपग्रह(चन्द्रमा) को मामलामा मंगल पृथ्वीभन्दा धनी छ । मंगलसंग दुइ वटा चन्द्रमा छन । 

२५) मंगलका दुवै चन्द्रमा फोबोस -PHOBOS_ र डिमोस -PHOBOS_  मंगलको सतहभन्दा धेरै माथि छैनन । 

२६) फोबोस चन्द्रमा मंगलको सतहभन्दा जम्मा ९,३७७ किमि माथिबाट मंगलको परिक्रमा गर्छ  भने डिमोस २३,४६० किमि माथि रहेर मंगलको परिक्रमा गर्छ । 

२७) आकारको हिसाबले मंगलका दुवै चन्द्रमा पृथ्वीको चन्द्रमाको तुलनामा धेरै साना छन । फोबोसको व्यास २२.२ किमि र डिमोसको व्यास १२.६ किमि मात्र छ । 

२८) फोबोस चन्द्रमाले मंगल ग्रहको एउटा परिक्रमा पूरा गर्न ७.६६ घण्टाको समय लगाउँछ । यसैगरी डिमोसले भने ३०.३५ घण्टामा ग्रहको एउटा परिक्रमा पूरा गर्छ । 

२९) मंगलको सतहमा प्रत्येक ११.१२ घण्टामा फोबोस चन्द्रमा देख्न सकिन्छ । यो पश्चिमबाट उदय भएर पूर्वमा अस्त हुन्छ । 

३०) डिमोस भने पूर्वबाट उदय भएर पश्चिममा अस्त हुन्छ । १३१.०० घण्टाको अवधिमा डिमोस मंगलको सतहबाट देखिन्छ । 

३१) खगोलविदहरुले गरेको अध्ययन अनुसार फोबोस चन्द्रमालाई मंगल ग्रहको गुरुत्वाकर्षणले आफूतिर तानी रहेको छ । प्रत्येक सय वर्षमा फोबोस १.८ मिटर नजीक आउँदै गइरहेको छ । अनुमान अनुसार झण्डै ५ करोड वर्षमा यो मंगल ग्रहको धरातलमा खस्छ । 

३२) मंगल र पृथ्वी बीचको दूरी सर्वप्रथम १६७२ इस्वीमा जियोवैनी कासिनीले पत्ता लगाएका थिए । 

३३) के तपाईलाई थाहा छ, सौर्यमण्डलको सबैभन्दा अग्लो पर्वत कहाँ छ ? मंगलग्रहको ‘माउण्ट ओलम्पस’ सौर्यमण्डलकै सबैभन्दा अग्लो पर्वत हो । यो २२ किमि अग्लो छ । 

३४) मंगलग्रहको वायुमण्डलमा ९५.३२ प्रतिशत कार्वन डाइअक्साइड, २.७ प्रतिशत नाइट्रोजन, १.६ प्रतिशत आर्गन, ०.१३ प्रतिशत अक्सिजन, ०.०८ प्रतिशत कार्वन मोनो अक्साइड रहेको छ । 

३५) सन् १९६४ मा मेरीनर–४ यानले मंगलग्रहको ‘फ्लाईबाई’ यात्रा शुरु गरे पछि अहिलेसम्म ५० भन्दा बढी यान मंगलग्रहको दिशामा पठाइ सकिएका छन । 

३६) मेरीनर–४ भन्दा पहिला रुस र अमेरिकाका कुनै पनि मंगल मिशन सफल हुन सकेका थिएनन । 

३७) मंगल ग्रहमा पठाइएका कुल अन्तरिक्ष यान मध्ये आधा भन्दा बढी अभियान असफल भएका छन । 

३८) अमेरीका, रुस र यूरोपियन स्पेश एजेन्सी र भारतले मात्रै मंगलग्रहमा यान पठाउने सफलता पाएका छन । भारतको इसरोले २०१३ मा आफ्नो पहिलो प्रयासमै सफलता पाएको थियो । 

३९) मंगलग्रहको धरातलमा ओर्लिने पहिलो स्पेशक्राफ्ट वाइकिंग–१ र वाइकिंग–२ थिए । २० जुलाई १९७६ का दिन वाइकिंग–१ यानको ‘ल्याण्डर’ ले मंगलको सतह छोएको थियो । त्यसपछि ३ सेप्टेम्बर १९७६ मा वाइकिंग–२ को ‘ल्याण्डर’ मंगलमा ओर्लिएको थियो । 

४०) तपाईलाई अचम्म लाग्न सक्छ, अहिले सम्मको मंगल ग्रहको यात्रा ‘एकतर्फी यात्रा’ मात्रै हो । यसको अर्थ हाम्रा वैज्ञानिकले पठाएका यान मंगलको सतहमा ओर्लिन त सक्छन । अहिलेसम्म विज्ञानसंग त्यहाँ पठाइएका यान पुनः पृथ्वीमा फर्काउने प्रविधि छैन । 

४१) डिसेम्बर २०१८ सम्म पृथ्वीबाट पठाइएका तीनवटा यानले मंगलसतह बाट पृथ्वीमा सन्देश पठाइरहेका थिए । 

४२) नासाले २००४ मा ‘मार्स एक्सप्लोरेशन रोभर’ मिशन अन्र्तगत ‘स्प्रिट’ र ‘अर्पच्युनिटी’ नामक दुइटा ‘रोभर’ मंगलमा ओर्‍हालेको थियो । ‘स्प्रिट’ले २०१० सम्म काम गर्‍यो । ‘अर्पच्युनिटी’ ले गत महिनासम्म काम गरेकाे थिथाे । 

४३) यसै गरी २०११ मा नासाले ‘मार्स साइन्स ल्याबोरोटरी’ नामक अभियान अन्र्तगत ‘क्युरोसिटी’ नामक ‘रोभर’ ६ अगस्त २०१२ मा मंगलमा ओर्‍हालेको थियो । 

४४) नासाले नै ५ मई २०१८मा ‘इनसाइट’ भन्ने अभियानमा मंगलतिर यान पठाएर २६ नोभेम्बर २०१८ मा ‘इनसाइट’ ‘रोभर’ लाई मंगल ग्रहमा ल्याण्ड गरायो । उपरोक्त तीनवटै ‘रोभर’ले पृथ्वीमा सन्देश पठाउने काम गरी रहेका छन । 

४५) के तपाईलाई थाहा छ मंगलमा रहेका ‘रोभर’ले पठाएको कुनै सन्देश पृथ्वीमा आइपुग्न कति समय लाग्छ ? यो समय परिवर्तित पनि भई रहन्छ । 

४६) पृथ्वी र मंगलग्रह नजिक हुँदा (आज फब्रुरी २०१९ को १० तारिखमा) यो दूरी १.८४५ ऐ.यू. रहेको छ । १.८४५ ऐ.यू. भनेको २७६,०१२,००० किमि हुन आउँछ । आजको मितिमा मंगलमा रहेका कुनै पनि ‘रोभर’ले पठाएको सन्देश पृथ्वीमा आइपुग्न ९२२ सेकेण्ड अर्थात १५ मिनेट २२ सेकेण्ड समय लाग्छ । 

४७) सूर्यबाट मंगलग्रहसम्म प्रकाश पुग्न न्युनतम ६८९.३७ सेकेण्ड, मध्यम ७६०.३२ सेकेण्ड र अधिकतम ८३१ सेकेण्ड सम्मको समय लाग्ने गर्छ । 

४८) मंगलको कक्षमा घुमीरहेका ७ वटा यानले पनि यस ग्रहबारे जानकारी पठाई रहेका छन । ती हुन — ‘मार्स ओडिसी’, ‘मार्स एक्सप्रेस’, ‘मार्स रिकान्सेन्स अर्विटर’, ‘मार्स अर्विटर मिशन’, ‘ट्रेस ग्यास आर्विटर’ , ‘माभेन’ ।

४९) मंगलग्रहबाट वैज्ञानिकहरुले आजसम्म कुनै पनि ‘सैम्पल’ पृथ्वीमा ल्याउने सफलता पाएका छैनन । 

५०) मंगलग्रहलाई लिएर ३० भन्दा बढी ‘साइन्स फिक्शन’ फिल्म बनेका छन ।

५१) मंगल ग्रहमा काम गरिरहेको ‘अपारच्युनिटी रोभर’ गत महिना नै निस्कृय भएको थियो ।