गाउँ वस्तिकाे सत्य तथ्य विश्लेषण र भ्रमहरूको रोटे पिङ खेल्ने खेलाउने सहरिया बुद्धिजीवी !
जेठ १३, २०७७

हामी कुनै न कुनै कामको सिलसिलामा कहिले सहर छाडेर दूर दराजका गाउँबस्तिमा पुग्छौ त कहिले गाउँबस्तिबाट सहरतिर पुग्छौँ। जीवनमा अनेकौँ पटक अध्ययन, नोकरी, व्यापार, उपचार, तीर्थाटन, पर्यटन, शुभ कार्य, भेटघाट र अरू धेरै कामले हामी गाउँबाट सहर र सहरबाट गाउँ गइरहेका हुन्छौँ। अझ एक देशबाट अर्को देशसम्म जाने यात्राका अनुभवहरू झनै बढी जानकारीमूलक हुन्छन्। प्राचिनकालमा जीवन यापनका लागि घुमन्ते जीवन अनिवार्य थियो। राज्य व्यवस्था अन्तर्गतको संरचनागत समाजमा आई पुग्दासम्म मानिस एक ठाउँबाट अर्को ठाउँमा जानु एउटा नियमित प्रक्रिया जस्तै थियो। यो आधुनिक युगमा एक ठाउँबाट अर्को ठाउँमा जानु त पानी पँधेरो जस्तै भई सकेको छ। अनुभव र जानकारी प्राप्त गर्ने कुराका लागि यस्ता यात्राहरू महत्त्वपूर्ण हुन्छन्।

जीवन भरी अनेक ठाउँ घुम्दै यायाबर जीवन बिताएर अकाट्य ज्ञान सँगाल्नेहरू पनि यो दुनियाँमा धेरै  छन्। प्राचिनकालमा मात्र होइन आधुनिक कालमा पनि यस्तो जीवनमा रमाएर हामीलाई अनेकौँ ज्ञान दिनेहरूको कुनै कमी छैन। अनेक प्राचीन ऋषि मुनिहरू, जेम्स कुक, मैगेलान, भास्को डिगामा, मार्को पोलो, राहुल साङ्कृत्यायन, केशर सम्सेर र पुष्कर शाहहरूले विश्वका अनेक ठाउँहरू घुमेर हासिल गरेको ज्ञान हाम्रा लागि निकै महत्त्वपूर्ण छन्। त्यस्ता अनुभव र ज्ञानहरू विश्वविद्यालयको कुनै डिग्रीभन्दा केही कम हुँदैनन्।

जब हामी विश्वविद्यालयको डिग्रीले दीक्षान्त हुन्छौँ, हामीलाई लाग्छ कि अब म नै सबैभन्दा जान्ने भएँ। मैले जे जानेको छु त्यो नै ज्ञानको अन्तिम पराकाष्ठा हो। तर यस्तो सोचाइ पूर्ण रूपमा गलत मात्र होइन एक प्रकारको घमन्ड हो। त्यस्ता व्यक्तिहरूको यात्रा, खोज, अनुसन्धान र निष्कर्षहरू विश्वविद्यालयको कुनै पनि डिग्रीभन्दा कम थिएनन्। पोर्चुगलका अन्वेषणकर्ता फर्डिनान्ड मैगेलनले ९सन् १४८०–१५२१० पृथ्वीको पूरा परिक्रमा गरेर यसको बृहत् जानकारी हासिल गरेका थिए। शास्त्री तहको परिक्षामात्र दिएका छत्तिस भाषाका ज्ञाता राहुल साङ्कृत्यायनले (सन् १८९३–१९६३) आफ्नो पूरा जीवनको पैतालीस वर्षसम्म विभिन्न देशको भ्रमण गरी एक सय भन्दा बढी पुस्तकको रचना गरेका थिए। हाम्रो देशका विद्वता धरोहर संस्कृतिविद् सत्यमोहन जोशीले कर्णाली क्षेत्र तथा पश्चिमका गाउँ गाउँ घुमेर अनेक खोजमूलक कृतिहरू सिर्जना गरेका छन्। यस्तो विवरण खोज्दै जाने हो भने लामो सूची तयार हुन सक्छ। 

आधुनिक युगमा आई पुग्दासम्म गाउँ गाउँ र सहर सहरमा विद्यालय, क्याम्पस र विश्वविद्यालयहरू धेरै खुलेका छन्। त्यस्ता शैक्षिक संस्थाहरूमा अध्ययन गर्नेहरूको सङ्ख्या पनि हरेक वर्ष बढी रहेको छ। यसरी शिक्षित भएकाहरूले देश र विदेश ढाकी सकेका छन्। एउटा शैक्षिक प्रमाणपत्रको खोस्टो प्राप्त गरेपछि हामी हरेक विषयको ज्ञाता, विश्लेषक, विद्वान, अन्वेषक र ज्ञानको स्रोत आफैलाई मान्छौँ।  ब्रह्माण्डको पूरा जानकारी र सूचना हाम्रो मुठ्ठीमा रहेको भ्रमले हामी ग्रसित हुन्छौँ। अहिले आफ्ना कुराहरू राख्न सकिने अनेक सञ्चार माध्यम र सामाजिक सञ्जालहरूले विश्व ढाकी सकेको छ। हामी जो कोही पनि त्यस्ता माध्यमको प्रयोग गरेर आफ्ना कुराहरू राख्छौँ र अरूका कुराहरू पनि सुन्ने र हेर्ने गर्छौँ।

इन्टरनेटको पहुँच भएको एउटा स्मार्ट फोनमात्र भयो भने हामी वैज्ञानिक, चिकित्सक, गायक, कवि, कलाकार वा कुनै पनि विषयको ज्ञाता भई हाल्छौँ। यस प्रसङ्गमा फेसबुकबाट साभार गरिएको एउटा प्रचलित भनाई एकदम मिल्दोजुल्दो छ। 'यो जमानामा टिकटक चलाउने कलाकार हुन्छ, स्मुले चलाउने गायक हुन्छ, ट्विटर चलाउने विचारक हुन्छ, फेसबुक चलाउने लोकप्रिय हुन्छ, इन्स्टाग्राम चलाउने रूपवान हुन्छ, युट्युब चलाउने सबै थोक हुन्छ र केही नहुने तर कोदालो चलाएर तरकारी, फलफूल र अन्न फलाउने उल्लेखित सबै मूर्खहरूलाई आफ्नो उत्पादन बेचेर पैसा कमाउने मानिस ज्ञानी हुन्छ'।

मानौँ ! हाम्रो जीवन यस्ता भ्रमहरूको रोटे पिङ खेल्न खेलाउन बाध्य छ। तर हाम्रै गाउँबस्तिका अनपढ मानिसहरू सत्य र भ्रमलाई आफ्नै दिमागले सोच्छन् र निष्कर्ष निकाल्छन्। उनीहरूको निष्कर्ष निकै लामो समयसम्म टिक्छ। तर कतिपय सहरिया बुद्धिजीवीहरू र हामी सहरमा बस्ने अधिकांशको सोच र निष्कर्षको आयु केही दिनमै फुट्ने केटाकेटीको खेलौना जस्तै हुन्छ। 

विश्लेषक र विद्वानका कुरा सुनेर हामी आम मानिसहरू अनेक कुराको जानकारी पाउने कोसिस गरी रहेका हुन्छौँ। उनीहरूले दिएको ज्ञान र जानकारीहरूमा हाम्रो प्रतिक्रिया पनि तुरुन्त दिई हाल्छौँ। तर त्यसरी पाएको ज्ञान वा जानकारी केही दिन पनि बित्न नपाउँदै झुटो साबित हुन्छ। अनि हाम्रो प्रतिक्रिया पनि बेवारिसे बन्न पुग्छ। सत्य कुरा त सधैँ सत्य नै हुन्छ। अर्ध सत्यलाई कसरी सत्य मान्ने र पूरा झुटलाई पनि सत्य मानेर कहिलेसम्म भ्रममा परि रहने ? आम मानिसलाई यो एउटा ठुलो समस्या भएको छ। वैचारिक र सैद्धान्तिक विषयमा अलग अलग दृष्टिकोणहरू रहनु स्वाभाविक कुरा हो तर देखादेखि हेरेको, बुझेको, सुनेको र अनुभव गरेको कुरालाई पनि मानिसले स्वतन्त्र ढङ्गले बुझ्न र ग्रहण गर्न नपाउने अवस्था समाजमा कसरी आयो भन्ने कुरा विचार गर्न जरुरी छ। सञ्चारका साधनहरूको मात्र भर पर्दा हाम्रो मस्तिष्कको मौलिकतालाई धराशायी बनाएर चेतना, चिन्तन, मनन र दृष्टिकोणलाई क्रमशः क्षीण पारि रहेको छ।

जब हामी सहर छाडेर दूर दराजका गाउँ बस्ती पुग्छौँ। त्यहाँका मानिसहरूले केही जानेका बुझेका छैनन् भन्ने ठुलो भ्रममा परिरहेका हुन्छौँ र आफूलाई सबै कुराको ज्ञाता ठान्छौँ। किनकि हामीसँग विश्वविद्यालयको प्रमाणपत्र हुन्छ र उनीहरूसँग त्यस्तो केही हुँदैन। दूर दराजका मानिसहरूको सैद्धान्तिक ज्ञान कम भए पनि अनेक हण्डर र ठक्करले उनीहरूलाई प्रमाणपत्रधारी जत्तिकै बनाइ सकेको हुन्छ। तर त्यस कुरालाई हामी अस्वीकार गर्दछौँ र आफ्ना डिग्री अनुसारका कुरा गरी हाल्छौँ। हाम्रो कुरा उनीहरू चुपचाप सुन्छन् तर भित्र भित्रै त्यसलाई पत्याउँदैनन्। किनकि हामीसँग खोक्रो ज्ञान हुन्छ, उनीहरूसँग अनुभव र बुद्धिले खारिएको व्यवहारिक ज्ञान पनि हुन्छ।

यस क्रममा त्यहाँका मानिससँग बुद्धिजीवीहरूले दैनिक जसो भनी रहने राजनीतिक, आर्थिक, सामाजिक र दैनिक जीवनका कुरा पनि गर्छौँ। हाम्रा कुरा सुनेर उनीहरू सिधै विरोध गर्दैनन् तर फिस्स हाँस्छन्। सहरमा बसेको,  पढेको र जानेको मानिसका कुराको सिधै विरोध गर्नु पनि त भएन। तर दूर दराजका गाउँमै बसेका भए पनि सबै उस्तै कहाँ हुन्छन् र ! कसै कसैले खरो प्रतिक्रिया दिई हाल्छन्। जब हामी टेलिभिजन, रेडियो, पत्रिका, अनलाइन र सामाजिक सञ्जालमा आइरहने त्यस्ता व्यक्तिहरूको नाम उल्लेख गरेर कुरा गर्छौँ, उनीहरू फेरि पनि फिस्स हाँस्छन्। अनेक तर्क वितर्क त गर्दैनन् तर हाम्रा कुराहरू पत्याउँदैनन्। अर्थात् पत्याउन लायक ठान्दैनन्।

म आफैले देशका करिब पैसठ्ठी जिल्लाका अनेक गाउँ बस्तीमा कामको सिलसिलामा जाँदा यस्तो अनुभव गर्ने अवसर पाएको छु। आन्दोलन, चुनाव, सरकार गठन, सत्ता परिवर्तन, विकास निर्माण र महत्त्वपूर्ण सवालहरूमा हामी सहरमा बसेर कसैको अन्तर्वार्ता र त्यसको प्रतिक्रिया सुनेर आफ्नो सोच बनाउने भन्दा गाउँको अनपढ र अशिक्षित मानिस वास्तविकताको एकदमै नजिक हुन्छ। उसको सोच, अनुमान र निष्कर्ष केही दिनमा असत्य साबित हुने कुनै विद्वानको सनसनिखोज अन्तर्वार्ता जस्तो पक्कै नहुने रहेछ। उसले बनाएको व्यवहारिक र तथ्यपरक सोच निकै लामो समयसम्म टिक्न सक्ने पाइन्छ भने यता बेलुका टेलिभिजनमा टेबुल ठोकी ठोकी कुर्लनेहरूको कुरा बिहान हुँदा नहुँदै गलत साबित भई सकेको हुन्छ। सबैको हकमा यो कुरा भन्न खोजिएको चाहिन् होइन तर अधिकांशको हकमा यो कुरा भई रहेको छ। वास्तविक अवस्था र जनजनका कुरा बुझ्न सहर बाहिरको कार्यस्थलमा गएर, यथार्थ बुझेर, सत्य तथ्यको विश्लेषण गरेर मात्र सत्यको नजिक पुगिएला। 

यो भएन, त्यो भएन, अब खत्तम हुन्छ, विकास भएन, भ्रष्टाचार मात्र भयो, सरकार गिर्छ, फलानो चोर, विदेशी दलाल, आदि आदि भनेर ढोल पिटिन्छ। यतिसम्म कि कसैले केही गर्न सक्दैन, अब सकियो र व्यवस्था नै जाने भयो भनेर रूने, कराउने र चिच्याउने गरिन्छ। सञ्चार माध्यममा आएर उक्सिन्छन्, उकास्छन्, भड्काउँछन् र गलत कुरा सम्प्रेषण गर्छन्। गाउँबस्तिको के कुरा हामी सहरमा बस्ने आम मानिसहरू पनि त्यसलाई पत्याउँछौँ। जब त्यस्ता कुराहरू पानीका फोका सरह फुट्छन्। बिचरा सहरिया बुद्धिजीवीहरू र हामीहरू फेरि ट्वाँ पर्छौँ। त्यसपछि अर्को विषय आउँछ र यो क्रम फेरि दोहोरिन्छ। मानौँ ! हाम्रो जीवन यस्ता भ्रमहरूको रोटे पिङ खेल्न खेलाउन बाध्य छ। तर हाम्रै गाउँबस्तिका अनपढ मानिसहरू सत्य र भ्रमलाई आफ्नै दिमागले सोच्छन् र निष्कर्ष निकाल्छन्। उनीहरूको निष्कर्ष निकै लामो समयसम्म टिक्छ। तर कतिपय सहरिया बुद्धिजीवीहरू र हामी सहरमा बस्ने अधिकांशको सोच र निष्कर्षको आयु केही दिनमै फुट्ने केटाकेटीको खेलौना जस्तै हुन्छ।