खुर्कोट ठाँटीको धर्मशालाको पहिलो अधिवेशन, प्रजातन्त्रको लडाईँ र बाटाे बिराएकाे नेविस‌ंघ
फर्केलान् र ती दिनहरू
जेठ २४, २०७७

न भुत्तो न भविष्यतिरको बन्दाबन्दीमा बसिएको छ । यो वर्तमान काल हो । यो क्षणिक होला तर कतिसम्म भन्ने एउटा ज्युँदो प्रश्न सबैको  सामु उभिएको छ । यो  कोरोना भाइरसको सङ्क्रमणबाट संसारले कहिले मुक्ति पाउला भन्ने एउटा सन्देह पनि पैदा हुन थालेको छ । सन् २०१९को अन्त्यतिर चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको महामारीले संसारका २१३ देशहरूलाई गाँजेको छ र लाखौँको सङ्ख्यामा मानिसहरू सङ्क्रमित भई मरिरहेका छन् । भनिन्छ - यसको कुनै ओखती पत्ता लागेको छैन र कम्तीमा पनि धेरै छिटो ओखती बजारमा आयो नै भने पनि अबको भदौ असोजभन्दा पहिले आउने छाँटकाँट छैन । केही खोपको विकास भइरहेको छ रे बेलायतमा, चीनमा , फ्रान्समा या अन्त कतै । हुन त यसको पनि एउटा निरूपण होला । 

एक दिन यो सङ्क्रमण पनि आफैँ हराएर जाला या हाम्रा पुराणहरूमा भनेझैँ नयाँ प्रलयको कारण पनि हुन सक्ला । कसले पो देखेको छ र भविष्य ? यसका लागि एउटै उपाय अवलम्बन गरिएको छ जसरी पनि नसरोस् भनेर एकान्तवास, सामाजिक सम्बन्धमा दूरता अपनाउने । अर्थात् यो सर्ने सरुवा रोग हो, रोग लागेको व्यक्तिबाट मात्र यो सर्छ, आजसम्मको अनुसन्धान यस्तै छ । चीनबाट सुरु भएको र युरोप अमेरिकामा सङ्क्रमणले हजारौँ, लाखौँ व्यक्तिहरूको निधन भइसकेको अवस्थामा नेपालमा पनि यसबाट बच्ने उपायका लागि बाँकी विश्वसँग टाढा बस्ने भनी लकडाउनलाई प्रयोग गरिएको छ । 

नेपालमा २०७६ साल चैत्र ११ बाट सुरु गरिएको लकडाउन अर्थात् बन्दाबन्दी वर्तमानको एउटा सामाजिक दूरताको एउटा उपाय हो तर यसबाट समाजमा पर्ने, व्यक्तिमा पर्ने असरको पनि मूल्याङ्कन सुरु भएको छ । वास्तवमा लकडाउन एउटा ध्यानावस्था जस्तै भएको छ । मान्छे वर्तमानमा बाँच्छ, भूतको सम्झना गर्छ र भविष्यका साध्य असाध्य कल्पनाले ओतप्रोत हुन्छ र भोलिका लागि बाँच्ने कल्पना गरिरहेको हुन्छ । भोलि जे पत्ता लाग्ला, जे खोप या खाने ओखती पत्ता लाग्ला तर वर्तमानमा त भगवान् भरोसा नै भयो । कसो गरे कोरोना भाइरस नसर्ने होला या कसरीचाहिँ बढी सङ्क्रमित होला भन्ने कुराको एउटै मानक देखिएन । कतै कुनै सङ्केत नभएर पनि भाइरसले ग्रस्त देखाएको छ जस्तो कि लक्षण देखिएको पाइँदैन र पनि लागेकै भनिन्छ । तर जो मरिरहेका छन्, तिनको पनि एउटै कारण देखिँदैन । सङ्केत देखिँदैन, लक्षण देखिँदैन तर मानिसहरू भकाभक मरिरहेका छन् । कोरोना लागे पनि नलागे पनि मान्छे मर्ने काम जुन भएको छ, त्यसका लागि मानिस किन निरीह भएको छ ? झन् ती विकसित देशको अवस्था झन् नाजुक देखिएको छ । यसले ती देशहरूका स्वास्थ्य सुविधाको अवस्थाको धोती खुस्किएको छ । 

त्यसो भए यही हो त प्रलयको सङ्केत या महाव्याधिको तरिका ? पहिलेका महाव्याधिहरूमा पनि यस्तै भएका थिए कि ? सामान्य भाइरसले त जहिले पनि ग्रस्त गरेकै हो, रुघाखोकी, निमोनियाले । त्यति मात्र होइन कि के कारणले कोरोना भाइरसको यो संस्करण फैलियो भन्ने पनि निक्र्यौल हुन सकेको छैन । यसका लागि चीनले बेलैमा जानकारी नदिनु र चीनमा बेलैमा सङ्क्रमण नियन्त्रण हुनु अनि संसारमा सङ्क्रमण अनियन्त्रित तरिकाले फैलिनुलाई आधार बनाएर चीनलाई दोष लगाउनेको सङ्ख्या पनि बढेकै छ । अस्ट्रेलियाको नेतृत्वमा १२४ देशहरूले वुहानको उत्पत्तिको कारक अवस्था र चीनको भूमिकालाई निष्पक्षरुपमा छानबिन हुनुपर्ने माग विश्व स्वास्थ्य सङ्गठनसँग मागिएको छ जबकि चीनका पक्षमा नै सङ्गठन लागेको भनेर संयुक्त राज्य अमेरिकाले सङ्गठनलाई दिने सम्पूर्ण सहयोग नै बन्द गर्ने घोषणा गरेको अवस्था छ । यो वर्तमानको राजनीति हो तर एकले अर्कालाई दोषारोपण गर्दैमा त्यो अदृश्य भाइरसले आफ्नो सङ्क्रमण गर्ने काममा कुनै कमी देखाएको छैन । झन् झन् उग्र रूपमा अघि बढिरहेको छ र कहिलेसम्म यसको यात्राको क्रम गतिशील रहने हो भन्न कसैले सकेका छैनन् । 

यो राजा साह्रै बदमास छ, यसलाई नमासेसम्म नेपालमा प्रजातन्त्र ल्याउन सकिँदैन । अनि राइफल खोपा खोपामा राखेर बसेका करिब १० जना प्रहरीहरूमध्येको प्रहरी टोली नेता हवलदार बाहिरबाट गर्जन थाल्यो ‘ए बाहुन, राजा राजा नभन है, म त गोली चलाउँछु । दादा झन् कसिन थाल्नुभयो र भन्न थाल्नुभयो ‘लु हान गोली, हान्, मार, मारेकै त हो नि ! अनि मैले नजिकै भएकाले अङ्ग्रेजीमा भन्नका लागि साउती गरेँ । अनि दादाले भन्न थाल्नुभयो —यो मोनार्क अटोक्रेट भयो, यसलाई फिनिस गर्नुपर्छ, अनिमात्र यो कन्ट्रीमा डेमोक्रेसी आउँछ । अनि त्यो हवलदारले बाहिरबाट भन्यो —हो यसो भनन, भइहाल्छ नि, खालि राजा राजा भनेपछि कसरी सहने त ? 

यो लकडाउन भनेको चुपचाप घरमा बसेर भाइरस सङ्क्रमण हुनबाट जोगिनका लागि अपनाइने माध्यम हो । तर कहिलेसम्म ? विश्वका कतिपय देशहरूमा लकडाउनलाई सतर्कताका साथ अवज्ञा गर्न थालिएको छ किनभने त्यसले मानव जीवनमा जड स्थिरता कायम गरेको छ । भाइरस मानव जातिमाथि  सङ्क्रमण गर्नका लागि विश्व परिभ्रमणमा निस्केको छ र त्यसको कुनै सीमा देखिएको छैन । तर सबैलाई थाहा छ, एक दिन त यसको अन्त्य हुनेछ, या त निर्भयताका साथ मृत्युसँग पौँठाजोरी खेल्नका लागि सबै भय छोडेर जीवन बाँच्ने नयाँ अवस्था सृजना हुनेछ या त महामारीले यति विकराल रूप लिनेछ कि यसको कुनै नियन्त्रण देखिने छैन । तर पृथ्वीको यो सृष्टिमा मानिस नै यस्तो प्राणी हो जसले सबै कुरासँग लड्न पनि जान्दछ र मिलेर बस्न पनि जान्दछ । मानौँ यो महाव्याधि अब चाँडै समाप्त हुनेछ या भनौँ यसका लागि अचुक ओखतीको अनुसन्धान छिटै हुनेछ र मानव  हितमा त्यसको प्रयोग हुनेछ अनि यो महाव्याधिलाई मानिसले सामान्य सम्झने छन् ।

यो लकडाउनको समय ध्यानावस्था जस्तो भएको छ । आफूलाई पुनरावलोकन गर्ने समय भएको छ । अरूलाई ढाँट्न त सकिन्छ तर आफूलाई कसरी ढाँट्न सकिन्छ र ? जसरी ध्यानमा बस्दा आँखा चिम्लेको भए पनि झलझली आफ्ना अतीतका समयहरू वरिपरि घुम्छन् र जिस्क्याउँछन् या कुतकुती लगाउँछन् ठिक त्यसै गरी आफूलाई नियाल्ने फुर्सदको समय बनेको छ । सधैँ दौडधुप, कुदाकुदको समयलाई बाध्यतावश घरमा थच्चिएर बस्ने अवस्था बनेको छ मात्र जीवन बाँच्ने आशाले । आफूलाई पनि सरुवा रोगले नगाँजोस् र आफ्ना कारणले अरूलाई पनि नसरोस् भन्ने कारण हो । अनि मैले पनि कतिपय कुराहरू सम्झँदा सम्झँदै पनि प्रजातन्त्रका बारेमा अतीतका ती बेलाहरू सम्झन पुगेको छु । भन्न त भनिन्थ्यो -कुहिनाले पहिरोलाई के गर्न पो सक्थ्यो र ? तर होइन रहेछ, यी निहत्था नेपालीले एक दिन प्रजातन्त्र स्थापना गरे, हत्या भएको प्रजातन्त्रलाई पुनर्स्थापना गरे र बारम्बार प्रजातन्त्रमाथि हमला गर्ने कुलीन जमातमाथि नै हमला गरेर मुलुकबाटै राजतन्त्रको अन्त्य गरे । 

अभिव्यक्ति स्वतन्त्रता भएको देशमा पनि, पूर्ण प्रजातन्त्र भएका देशहरूमा पनि नदेखिएको राजनीतिक संस्कार र सहिष्णुता नेपालमा देखियो- बारम्बार प्रजातन्त्रमाथि धावा बोल्ने र प्रजातन्त्रको हत्या गर्ने राजतन्त्रलाई राजतन्त्र हटाएपछि चुपचाप नेपाली नागरिक हुनका लागि स्वतन्त्रता प्रदान गर्‍यो । जर्मनीमा तत्कालीन शासक एडोल्फ हिट्लरको अन्त्य भएर पनि आजसम्म त्यसपछि नाजीको नामसमेत पनि प्रतिबन्ध छ र हिट्लरको नाम सार्वजनिकरुपमा बोल्न पनि प्रतिबन्ध छ, फौजदारी मुद्दाको कारण बन्न सक्छ । तर नेपालमा त्यसो भएन किनभने यसले प्रजातन्त्रको संस्कारलाई उच्च विन्दुको अभ्यास मान्दा पनि हुन्छ र राजाले पनि आफ्नो स्थिति कमजोर देखेपछि उज्यालो घाममा नै नारायण हिटी दरबार छोडेर हिँडेको उदाहरण पाइन्छ । शास्त्रमा भनिएको छ- आगोको शेष, ऋणको शेष र शत्रुको शेषलाई त्यसै नछोड्नू, त्यो कुनै पनि बेला बल्झन सक्छ । तर बहुदलवादी तथा गणतन्त्रवादीहरुले राजालाई शत्रुको रूपमा देखेनन्, त्यसको पछिल्तिरको जेसुकै कारण भए पनि यो उच्च राजनीतिक संस्कारचाहिँ हो भन्न सकिन्छ । 

तर आजको प्रजातन्त्रको अभ्यास हिजो हामी किशोर हुँदा वा हाम्रा बालापनमा कल्पना गरिएको स्वर्णिम अभ्यास हो त ? म आफू पनि कुनै न कुनै तरिकाले प्रजातन्त्रको निरन्तर सङ्घर्षमा होमिएको व्यक्ति हुँ जस्तो लाग्छ । हतियार लिएर होइन, कलमको हतियार लिएर । प्रजातन्त्रप्रति प्रतिबद्ध विद्यार्थी सङ्गठन हुँदै प्रजातन्त्रवादी शिक्षकहरूको सङ्गठन र पत्रकारहरूको  सङ्गठनमा । मलाई थाहा छैन कुन बेलामा ममा प्रजातन्त्र प्रतिको आस्थाको बीजारोपण भएको हो ? मलाई अलिअलि याद छ, सायद २०१६ सालको अन्त्य हो वा २०१७ सालको सुरुमा हो, हामी दाजुभाइ विष्णु र म, नेपाली काँग्रेस जिन्दाबाद, बिपी कोइराला जिन्दाबाद भन्दै भाटामा झन्डाजस्तो बाँधेर नारा लगाउँदा तल कुलादेखि घरसम्म गएका थियौँ । बा काँग्रेसमा लाग्नु भएकोले घरमा चार तारे झन्डा भएका कागजातहरू देख्थेँ, त्यो बेलामा पढ्न त जानेको  थिएन तर हामी काँग्रेस हौँ भन्नेचाहिँ स्पष्टरुपमा जेहेनमा छाप परेको थियो । त्यसपछि जब पठन थालेँ, बुझ्न थालेँ, मलाई प्रजातन्त्रप्रतिको त्यो अदृश्य समयमा परेको प्रभावले झन् झन् सकारात्मक प्रभाव पारेको छ, जुन यो स्मृति लेख्दासम्म परेको नै छ । 

मैले कहिल्यै त्यो नेपाली काँग्रेसको सिद्धान्तभन्दा अरू कुनै दलको सिद्धान्तमा आफूलाई बिपनामा त के, सपनामा पनि लागेको सम्झेको छैन । धेरैलाई लाग्दो हो, म नेपाली काँग्रेसको सदस्यता लिएको र त्यहाँको अनुशासित कार्यकर्ता हुँला तर मैले २०३४ सालमा प्रतिबन्धको अवस्थामा लिएको सदस्यताबाहेक फेरि लिने चाहना राखिन किनभने २०७१ सालको वैशाखसम्म त म शिक्षकको रूपमा कार्यरत थिएँ र दोहोरो मापदण्डमा नरहनका लागि लिइनँ । नेपालका कानुनहरूले भनेको थियो - शिक्षकले कुनै पनि दलको सदस्यता लिनु हुँदैन ।

 मानवअधिकारको पक्षमा मैले नेपाली काँग्रेसमा त्यसको विपक्षमा वकालत गरेँ र शिक्षकलाई त्यसबाट बन्देज नगर्न तत्कालीन पार्टीका सभापति तथा महासचिवलाई चित्त बुझाएँ तर आफूले लिइन र लिने अब झन् विचार छैन । आफैँ पनि स्वअनुशासनमा प्रजातन्त्रवादी हुन सकिन्छ र नेपाली काँग्रेसको मूलधारको सहयोगी हुन सकिन्छ भन्ने लागेको छ । बिचमा शेरबहादुर देउवाजीले पार्टी फुटाउनु भयो तर म बिपीको मूल पार्टीमा आफूलाई सक्रिय गराएँ किनभने मलाई कसैको कुनै पक्षधरता भन्दा सिद्धान्तको माया थियो । अहिले पनि नेपाली राजनीतिमा सैद्धान्तिकरुपमा प्रजातन्त्रप्रति समर्पित संस्था भनेको नेपाली काँग्रेस नै हो । 

कमला हाइ स्कुल, सिन्धुली माडीबाट प्रवेशिका परीक्षा दिएँ २०२६ सालमा । ममा त्यही बेलामा नै नेपाली काँग्रेस र प्रजातन्त्रप्रतिको आस्थाका बारेमा विद्यालयमा हुने कार्यक्रमहरूमा बोलेको थिएँ । नेपाली काँग्रेसको सङ्गठन यस कारणले गर्न मानिसहरू डराउँथे कि नेपाली काँग्रेस भएर हिँड्नेलाई स्थानयि प्रशासनले शान्ति सुरक्षाअन्तर्गत जेलमा हाल्थे । कहिले छुट्ने हो भन्ने टुङ्गो हुँदैनथ्यो । कम्युनिस्ट हुनु निरापद थियो तर केहीलाई । 

पूर्व २ नम्बर भनेपछि अहिलेको रामेछाप, सिन्धुलीको उत्तरी भेग, दोलखा पर्दथ्यो । सिन्धुलीको दक्षिणी  भाग सायद भित्री मधेसमा पर्दथ्यो । तर जिल्लागत रूपमा बाँडिएपछि दोलखा जिल्ला, रामेछाप  जिल्ला र सिन्धुली जिल्लामा बाँडियो । ग्वाल्टारको जग्गा पास रामेछापमा नै हुन्थ्यो भन्ने कुरा म सानो हुँदा हाम्रो सेरो खेतको २० मुरी लोकबहादुर कार्की काकासँग किन्दा रामेछाप मालमा गएर पास गरेको म सम्झन्छु । 

तत्कालीन पूर्व २ नम्बर राजनीतिक रूपमा प्रख्यात थियो । अमर सहिद गङ्गालालको जन्म र  प्रारम्भिक शिक्षा रामेछापको भँगेरीमा भएको थियो । उहाँका भाइ पुष्पलालको पनि त्यहीँ जन्म र प्रारम्भिक शिक्षा त्यहीँ भएको थियो । मकैको खेतीका नायक कृष्णलाल अधिकारी कठजोरका हुनुहुन्थ्यो र राणा प्रधानमन्त्री चन्द्र समसेरलाई राजनीतिकरुपमा सुधार गरेर जनतालाई राज्य सञ्चालनमा सहभागी गराउन सल्लाह दिने र पछि राणाविरुद्ध विद्रोह गर्ने कृष्णप्रसाद कोइराला पनि पूर्व २ नम्बर दुम्जाकै हुनुहुन्थ्यो । पछि उहाँकै तीन ओटा छोराहरू नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक मोडमा प्रधानमन्त्री हुनुभयो–मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला । पछि निकट अतीतमा नै प्रधानमन्त्री भएर संविधान सभाबाट संविधान घोषणा गराउन सफल प्रधानमन्त्री सुशील कोइराला पनि त्यही दुम्जाकै हुनुहुन्थ्यो । त्यो राजनीतिकरुपमा चेतनशील र सङ्घर्षशील सपूत जन्माउने उर्वर पूर्व २ नम्बरको त्यसपछिका प्रजातन्त्रका लडाइँमा पनि उत्तिकै योगदान भएको पाइन्छ । 

०१७ सालमा प्रजातन्त्रको हत्या भएपछि प्रजातन्त्रका पक्षमा दृश्य अदृश्य प्रयासहरू भई नै रहे । यसै सिलसिलामा २०२० साल असोजमा ७ जना युवाहरूले आफ्नो औँठाको रगतको छाप लगाएर सदैव प्रजातन्त्रप्रति कटिबद्ध हुने र पञ्चायतका विरुद्ध सङ्घर्ष गरिरहने बचनसहितको अपिल जारी गरे । ती युवाहरू थिए-सिन्धुली दुम्जाका विपिन कोइराला, श्रवण कोइराला, हेमन्त कोइराला, ग्वाल्टारका भरतराज बराल, रामेछाप बेथानका शिवबहादुर खड्का, बाबिया खर्कका लक्ष्मणप्रसाद घिमिरे र दोलखाका भवेन्द्र खड्का । पछि उनीहरूलाई प्रशासनले  धरपकड गरेको र कति भागेर भूमिगत भएको सुनियो । 

तिनै विपिन कोइरालाको नेतृत्वमा २०२७ साल वैशाख ६ गते नेपाली काँग्रेस समर्थक विद्यार्थीहरूको सङ्गठन नेपाल विद्यार्थी सङ्घ गठन भयो र मुद्दा चल्दा त्यस्तो सङ्गठन खोल्न पाउने निर्णय सर्वोच्च  अदालतले गरेपछि त्यो संस्था आज पनि नेपाली विद्यार्थीहरूका बिचमा उत्तिकै प्रजातन्त्रप्रति आस्थावान संस्थाको रूपमा जीवित छ । तर जुन आस्था र विश्वासका साथ पञ्चायत कालमा त्यसले विद्यार्थीहरू र आम जनसमुदायको भावनालाई प्रजातन्त्रप्रतिको निरन्तर आस्थाको रूपमा प्रतिनिधित्व गरेको थियो ।  अहिले खुला समाजमा गर्न सकेको छैन । कतिसम्म भने बेलामा निर्वाचन हुन सक्दैन र अझै यो खुला समाजमा पनि नेपाली काँग्रेसले कार्यसमिति तोक्नुपर्छ । त्यसले बाटो समाउन सकेन र पनि प्रजातन्त्रप्रति आस्थावान संस्थाको रूपमा भने प्रख्यात छ । आजको २१ औँ शताब्दीमा ‘मेरा बाजेले घिउ खाएका थिए, मेरो हात सुँघ सुँघ भन्ने बेला होइन ।’ 

म अहिले त्यो नेपाली विद्यार्थी सङ्घको सिन्धुली जिल्लाको पहिलो अधिवेशन सम्झिरहेको छु । २०२८ साल असारको ८ गते । खुर्कोटको ठाँटीको धर्मशाला वा पाटीमा गरिएको नेपाल विद्यार्थी सङ्घको पहिलो अधिवेशन । हाम्रालागि त्यो जरुरी यस कारण थियो कि सिन्धुलीकै विद्यार्थी नेता विपिन कोइराला नेपाल विद्यार्थी सङ्घको अध्यक्ष हुनुहुन्थ्यो र उहाँ जेलमा हुनुहुन्थ्यो । अध्यक्षको जिल्लामा अधिवेशन बेलैमा हुनु जरुरी थियो भनेर हामीले जस्तोसुकै अवस्थामा पनि अधिवेशन गर्ने भनेर लागेका थियौँ र भयो पनि । हामीले खुर्कोटमा नै चामल माग्यौँ, दाल माग्यौँ, टपरी माग्यौँ आलु माग्यौँ घरघरमा गएर जस्तो कि जोगीले भिक्षा मागेर जीविका गर्छन् । सजिलो के भयो भने धनीमानी जत्ति हरिहरजीका परिवारका मानिसहरू थिए आचार्यहरू । उहाँहरूले नै हामीलाई चन्दा दिनु भएको थियो सामान पनि नगद पनि । हामी विद्यार्थी नेताहरूले पनि आफ्नो आफ्नो गच्छेअनुसारको सहयोग गर्ने नै भयौँ । 

हरिहर विरही र मसहितको एउटा एउटा ५ सदस्यीय अधिवेशन तदर्थ समिति गठन गरिएको थियो । हरिहरजी भर्खरै जस्तो जेलबाट आउनु भएको थियो जनकपुरमा राजाको मूर्तिमा कालो मोसो दलेका राजकाज मुद्दा खपेर । हाम्रो अधिवेशनका लागि हामीले मुख्य अतिथि बोलाएका थियौँ विघटित महासभाका सदस्य नेपाली काँगैसका नेता बोधप्रसाद उपाध्याय घिमिरे जो रामेछाप बडीमुहान चिसापानीकै मूल बासिन्दा हुनुहुन्थ्यो ।  तर स्थायीरुपमा जनकपुरको कपिलेश्वरमा बस्नुहुन्थ्यो । उहाँसँगै आउनु भएको थियो नेपाली काँग्रेसका नेता पद्म शंकर अधिकारी । मेरा हजुरबाको हत्यामा संलग्न हुनाले मैले उहाँको उपस्थितिका लागि विरोध जनाएँ तर वोधदादाले भन्नुभयो—‘यो दुर्घटना हो र उहाँको प्रत्यक्ष संलग्नता थिएन । तर प्रतिबन्धित अवस्थाको पार्टीको नेतालाई आफ्नो पहिलो ऐतिहासिक अधिवेशनको उद्घाटनमा राजनीतिक सहिष्णुताका आधारमा मैले सहेँ र मानेँ ।’ 

हाम्रो अधिवेशनका लागि म र हरिहरजी करिब एक हप्तासम्म खटेका थियौँ खुर्कोटमा नै । हराहरजीको दाजु दामोदर आचार्यको र वैकुण्ठ आचार्यको ठुलो सहयोग थियो किनभने खुर्कोटमा प्रहरीको थाना पनि थियो र प्रहरी हाम्रै चियो चर्चोमा देखिन्थे । तर अवरोध गरेका थिएनन् । तर विद्यालयमा अधिवेशन गर्न दिएनन् र त पाटीमा गर्नुपरेको थियो । अधिवेशनमा बिपीको पत्र पनि थियो र आफू अस्वस्थ भएकाले आउन नसकेको तर तरुण विद्यार्थीहरूले मुलुकमा परिवर्तन ल्याउने कुरामा आफू ढुक्क भएको सन्देश दिइएको थियो । त्यो पत्र पछि प्रहरीले हामीसँगबाट खोस्यो भन्ने कुरा तत्कालीन अध्यक्ष चक्रमानले जानकारी दिनुभएको थियो । हाम्रो कार्यक्रम बिथोल्न वा जासुसी गर्न सिन्धुलीबाट एक जना पीडीओ पनि आएका थिए । ती अघिपछि त  हामीसँग कुरा गर्दा आफू पनि काँग्रेस रहेको बताउँथे तर उनले हामीलाई त्यहाँ पिट्न र पक्रन चाहिँ दिएनन् । त्यो बेलामा सिन्धुलीमा हामीहरूको राम्रो सङ्गठन बनेको थियो । कतिपयलाई त अहिले के पनि थाहा रहेनछ भने सिन्धुलीमा कहिले नेविसंघको अधिवेशन कहाँ भयो र कोको पदाधिकारी थिए ? मैले त ती सदस्य साथीहरूको नाम बिर्सन थालेँ भने । 

वोधदादा जब भाषण गर्न थाल्नुभयो अधिवेशनमा । अधिवेशनमा हामी करिब ५० जना थियौँ विद्यार्थी र स्थानीय बुद्धिजीवीहरूसमेत । पाटीमा कोचाकोच गरेर नेपाल विद्यार्थी सङ्घको पहिलो अधिवेशन सिन्धुली २०२८ लेखेर छोपेका थियौँ,  बोधदादाले छोपेको ठाउँलाई उघार्नु भयो र उद्घाटन गरियो । दादा आवेशमा आएर भन्न थाल्नुभयो- यो राजा साह्रै बदमास छ, यसलाई नमासेसम्म नेपालमा प्रजातन्त्र ल्याउन सकिँदैन । अनि राइफल खोपा खोपामा राखेर बसेका करिब १० जना प्रहरीहरूमध्येको प्रहरी टोली नेता हवलदार बाहिरबाट गर्जन थाल्यो ‘ए बाहुन, राजा राजा नभन है, म त गोली चलाउँछु । दादा झन् कसिन थाल्नुभयो र भन्न थाल्नुभयो ‘लु हान गोली, हान्, मार, मारेकै त हो नि ! अनि मैले नजिकै भएकाले अङ्ग्रेजीमा भन्नका लागि साउती गरेँ । अनि दादाले भन्न थाल्नुभयो —यो मोनार्क अटोक्रेट भयो, यसलाई फिनिस गर्नुपर्छ, अनिमात्र यो कन्ट्रीमा डेमोक्रेसी आउँछ । अनि त्यो हवलदारले बाहिरबाट भन्यो —हो यसो भनन, भइहाल्छ नि, खालि राजा राजा भनेपछि कसरी सहने त ? 

हामी त्यस बेलाको त्यो टेन्सनमा पनि गललल हाँस्न थाल्यौँ । हाम्रो अधिवेशन समाप्त भयो त्यही दिन । कार्यसमितिको निर्वाचन नै भन्नुपर्‍यो - हाम्राबिचमा सहमति गर्‍यौँ र सिन्धुलीको भ्यालीको प्रतिनिधि चक्रमान श्रेष्ठलाई अध्यक्ष बनायौँ, म उपाध्यक्ष बनेँ अनि सचिवमा बलराम आचार्य हुनुभयो । कोषाध्यक्षमा बनायौँ टङ्कराज पहाडी पोखरेल लाई । हामीले टङ्कराज पोखरेल भनेर बाहिर नाम प्रकाशित गरेको मेरा विद्यालयको सहपाठी टङ्कराजलाई लागेछ, उसैको नाम मैले टाँसेँ अनि च्यात्न भनेर आएका थिए , मैले भनेँ, एउटै नाम अरूको हुँदैन र साथी ? एउटा शम्भु मैनाली थियो केन्द्रीय प्रतिनिधिका रूपमा जाने र सदस्यको रूपमा । अरू पनि थिए तर अहिले करिब ५० वर्षपछि बिर्सिएँ । पछि चक्रमान राजाको फोटो डढाएको केसमा जेल  पर्नु भएको थियो, सबै कागजात पुलिसले लगेछ भन्नुहुन्थ्यो । राजाको फोटो डढाएर साङ्केतिक विरोध गर्नेहरू सबैलाई जेल लगेको रहेछ पुस १ गते । संयोग पनि कस्तो परेछ भने पुस १ गतेको घटनाको बयान समाप्त नहुँदै जस्तो माघ १७ गते राजा महेन्द्रको निधन भएकाले कडा दण्ड दिइयो साथीहरूलाई । जनार्दन कोइराला, नरेन्द्र थापा, हरिहर विरही, चक्रमान श्रेष्ठ, भरत आचार्य जस्तो लाग्छ त्यो बेलामा राजकाज मुद्दामा परेका । 

त्यो बेला भनेको प्रजातन्त्रको एउटा भव्य स्वरूप कल्पनामा राखेर जीवन न्यौछावर गर्ने बेला थियो । त्यस्ता जगमा हजारौँ नेपालीहरू गाडिएकाले राजाले ढिलै भए पनि प्रजातन्त्रको विकल्पमा जनमतसंग्रह गर्न र  पुनर्स्थापना गर्न बाध्य भएका थिए । राजा र जनता मिलेर राज्य सञ्चालनमा लाग्ने बिपीको झिनो आवाजलाई राजा र उनका मतियारहरूले नमान्दा समयले फेर खायो । ‘छिनका कारणले दिनको फेरो, दिनका कारणले जुगको फेरो’ भन्छन् । जानाजान जनताको अधिकार राजाले हडप्ने कोसिस गर्दा एकातिर हजारौँ नेपालीहरूको अकारणमा ज्यान गयो, अपाङ्ग भए र मुलुक अहिलेसम्म पनि अस्थिरतामा रुमलिएको छ । यदि २०१७ सालमा प्रजातन्त्रको हत्या नगरी प्रजातन्त्रलाई संस्कारको रूपमा ग्रहण गर्ने संस्कृति बसाल्न राजाको योगदान हुन्थ्यो भने न त आज राजतन्त्र समूल नष्ट हुनुपर्थ्यो, न त प्रजातन्त्रले यो वर्णसङ्करको अवस्था भोग्नुपर्थ्यो । 
प्रजातन्त्रको लागि जगमा गाडिएका ती ज्ञात अज्ञात लाखौँ नेपाल आमाका सन्ततिहरूप्रति श्रद्धाका दुई थोपा आँसु चढाउँछु र त्यो स्वैरकल्पनाको प्रजातन्त्रका लागि अझै सङ्घर्षरत रहन म आफूलाई समर्पण गरिरहन्छु । प्रजातन्त्र भनेको  सत्ता मात्र होइन , त्यो त सहिष्णु र सदाचारको संस्कृति हो ।

क्रमशः
 


अधिकारी दर्शन, राजनीति र साहित्यमा कलम चलाउनुहुन्छ ।