हजुरआमाको इतिहास

हजुरआमाको इतिहास

सुरेश हाचेकाली  |  साहित्य  |  असार ६, २०७७

तुषारोले कठाङ्ग्रिएको हिउँदमा पनि 
चोलो फुकाएर 
चुलोमा भान्सा तयार गर्ने हजुरआमा
समयक्रममा नाकको लोती नै चुडाउने 
कमसल सुनको बुलाकी लगाएकी हजुरआमा
हरेक एकादशीमा
हजुरबाका गाउँडुलुवा गोडाको पानी खाने हजुरआमा
शौचालयबाट फर्केपछि
माटो र पानीले हात धुने हजुरआमा
करेसाबारीबाट
एक अँगालो पासाइको साग ल्याएर
मझेरीमा केलाउने हजुरआमा
जिउँदा र मरेका जोडेर 
पन्ध्र सन्तानका निम्ति
वर्षेनी कोख फुटाएकी हजुरआमा
‘रामनाथ उपाध्यायकी बाहुनी’ बाहेक
कहिल्यै ‘रत्नमाया’ कहिनु भएन । 

चारमाने कसौंडीमा 
मकैको च्याख्ला फत्किए जसरी
कहिलेकाहीँ बिरक्ति फत्किनुहुन्थ्यो हजुरआमा
तर त्यो फत्काइ
धँगेराको दाउराबाट निस्कने धूवाँँसँगै
भान्साकोठाभित्रै हराउँथ्यो 
र आँगन छेउको फलैंचामा 
कलब्रेक खेल्दै भैसीगफ जोतिरहेका
लोग्नेमान्छेहरूसम्म कहिल्यै पुग्दैनथ्यो । 

गुमनाम हजुरआमाले
नागरिकता फाँटसँग
आफ्नो शुभनाम माग्नुभएन
भद्रभलाद्मीको पञ्चेती डाकेर
परिवार नियोजनको अधिकार माग्नुभएन । 

हजुरआमाको चालिसौं पुण्यतिथिमा 
पितृलाई पिण्ड चढाइरहनुभएको छ बाबा
हजुरआमाको देह र आत्मा
दुइटैबाट बिमुख छौँ हामी आज । 

मध्ययुगीन मसी भरिएको कलमले
पारिवारिक बंशावली लेख्नुभो हजुरबाले
तर त्यो पुरुष नामसङ्ग्रहभित्र
हजुरआमाको नामोनिसाना छैन ।