उमानाथ गुरु अधिकारी हुँदै शास्त्रीबाट सिन्धुलीय ! स्वाभिमान र शिर ठाडो पारेर बाँच्ने देखाएको बाटो

फर्कलान र ती दिनहरू

उमानाथ गुरु अधिकारी हुँदै शास्त्रीबाट सिन्धुलीय ! स्वाभिमान र शिर ठाडो पारेर  बाँच्ने  देखाएको बाटो

हरिविनोद अधिकारी  |  साहित्य  |  असार ६, २०७७

अतीतका तरेलीमा घुम्न मज्जा त हुन्छ  । तर खासै तिथि मितिको अब याद हुन पनि छाडेको छ । आजभन्दा ५० वर्षअघि मैले सिन्धुली माडीको कमला हाइ (इङ्लिस) स्कुलबाट एसएलसी परीक्षा दिएको थिएँ २०२६ सालमा । अब धेरै साथीहरूको नाम पनि बिर्सिन थालियो । बारम्बार भेट हुने साथीहरू छन् भने नाम बिर्सिइँदैन थियो होला । त्यो बेलामा हाम्रो सिन्धुलीमा तीन ओटा स्कुलमा कक्षा १० सम्मको पढाइ हुन्थ्यो । कमला हाइ स्कुल सिन्धुली माडी, प्रगतिशील मावि रातमाटा, कुशेश्वर विद्यापीठ दुम्जा । अरू ठाउँमा पछि मात्र मिडिल स्कुल र हाइ स्कुल सुरु भएका हुन् । खुर्कोटमा मिडिल स्कुल थियो क्यारे । अरू त्यति थाहा भएन । 

अहिले अनुसन्धान गरेको होला पक्कै नै सिन्धुलीको शिक्षाको इतिहास । पहिले त्यही कमला स्कुल पनि कहिले खुर्कोट, कहिले गढी डाँडा त कहिले सिन्धुली माडी गएको देखिन्छ । त्यो बेलामा कमला हाइ स्कुलको नाम थियो राम्रो शिक्षाका लागि । २०२२ सालमा काठमाडौँभन्दा बाहिर पहिलो पटक बोर्डमा प्रथम त्यो स्कुल भएकोले पनि त्यहाँ बाहिरबाट विद्यार्थीहरू आउने गर्थे ।  २०२ २सालमा बोर्ड फस्ट हुने महेन्द्रनाथ अधिकारी हुनुहुन्थ्यो । मेरो नातामा दाजु पर्नुहुन्थ्यो । तर मेरो धेरै पछि मात्र चिनजान भएको हो उहाँसँग । उहाँको मावली हजुरआमा मेरा आमाको फुपू हुनुहुन्थ्यो अर्थात् मेरो आमाको भान्जी दिदीको छोरो हुनुहुँदो रहेछ । तर सिन्धुलीका लागि मात्र नभएर नेपालको शैक्षिक इतिहासमा नै उहाँ पहिलो राजधानी उपत्यका बाहिरबाट एसएलसी मा सर्वप्रथम हुने विद्यार्थी हुने अवसर प्राप्त गर्नुभयो । 

त्यसैले हाम्रो बेलामा सिन्धुलीको पढाइको खुबै प्रशंसा थियो । म पनि त्यहाँ भर्ना हुनका लागि बासँग गएको थिएँ । बालाई रामेछाप सजिलो थियो किनभने कम्तीमा पनि हप्तामा एक पटक घर आउने सम्भावना थियो शुक्रवार हाफ छुट्टीपछि । बाटोमा सुनकोसी पथ्र्यो र डुङ्गामा तरेर आउनु पथ्र्यो । हाम्रो बालुवाको घाट भनेको बिर्ताका साहुहरूको दिङदिङ बेसीमा खेती भएकाले आउने माध्यम मात्र थियो र पनि घाटमा डुङ्गा चलाउने काम हुन्थ्यो । तर हायुले वारपार गराउँथे साहुहरूको अनुमतिले । अनि हाम्रा घरबाट पनि वार्षिक खर्च धान दिइन्थ्यो मैपति हायुलाई खलाबाट दाईँका दिन । तर वास्तवमा पैसा दिएर घाट तर्ने त कि हर्दिनीमा थियो कि शूली भन्ज्याङमा थियो । खुर कोटमा साँघु भएकाले या त घुमेर जानुपर्थ्यो जस्तो कि बाढीको बेलामा हामी खुर कोटबाट पनि रामेछाप गएका थियौँ । पहिले पहिले साँघुमा ४ पैसा कर दिनुपर्थ्यो रे तर मैले थाहा पाउँदा त्यस्तो कर दिएको थाहा भएन । 

म पकरबास मावल जाँदा खुर्कोटको बाटो भएर जान्थेँ र त्यो साँघु दुई तीन पटक वारपार गरेर मात्र बाटो लागिन्थ्यो । अहिले त त्यस ठाउँबाट गाडी नै गुड्न थालेको छ र त्यसले रामेछाप, दोलखाका लागि काठमाडौँ आउन र मधेसतर्फ जानका लागि बाटो छोटो बनाएको छ किनभने खुर्कोटबाटै बिपी राजमार्ग भेटिन्छ । खुर्कोटको साँघुको मुखमा लुगाका पसलहरू थिए र होटेल पनि थियो । सायद सबैभन्दा बढी चल्तीको बाटो भएकाले व्यापार राम्रो हुन्थ्यो किनभने रामेछाप जाने मुख्य व्यापारिक द्वार नै खुर्कोट थियो । 

अहिले पनि खुर कोटमा सहरीकरण हुने भएको छ मध्य पहाडी राजमार्ग वा पुष्पलाल राजमार्गअन्तर्गत होला, बिपी राजमार्गको मुख्य केन्द्र पनि पहाडी भागको खुर्कोट नै हो । पछि शिक्षाको विकास क्रममा खुर्कोट अगाडि नै रह्यो । चेतनाको क्रममा पनि । व्यापारको दृष्टिले पनि । उत्पादनको दृष्टिले पनि । अहिले पनि अस्पतालको विकास त्यहीँ नै भएको छ चाहे सामुदायिक या निजी स्तरमा नै किन नहोस् । त्यहाँ पहिले पनि हुलाक र प्रहरी कार्यालय पनि थियो । हाम्रा प्रसिद्ध शिक्षाविद् तथा नेपालमा निजी स्तरमा विश्वविद्यालय स्थापना गर्ने प्राध्यापक डाक्टर सुरेशराज शर्माको जन्मस्थान पनि त्यहीँ हो जस्तो लाग्छ । सहिद ऋषिराज देवकोटाको जन्मस्थान पनि त्यहीँ हो । वरिष्ठ पत्रकार तथा राजनीतिज्ञ हरिहर विरहीको पनि जन्मस्थान त्यहीँ हो ।

इतिहासका विषयमा साहित्य कसरी तयार गरिन्छ भन्ने उदाहरण त्यो महाकाव्य हो भन्दा पनि हुन्छ । त्यो महाकाव्य साँच्चै इतिहासको जिउँदो अभिलेख भने पनि हुने छ । उहाँले हामीलाई  पूर्वीय भाषा नेपाली र प्रारम्भिक नेपाली र संस्कृत पढाउनु हुन्थ्यो । तर त्यो भन्दा बढी उहाँले हामीलाई भावी जीवन र राष्ट्रियताका बारेमा यसरी सम्झाउनु हुन्थ्यो कि अङ्ग्रेज र नेपालीका बिचमा भएको लडाईँलाई सजीव वर्णन गरेर नेपालको महत्वलाई कसरी मनन गर्ने भनेर सम्झाउनु हुन्थ्यो । 

मलाई त खुर्कोटका बारेमा यस कारणले पनि बढी जिज्ञासा रहन्थ्यो कि हामीले पढ्नलागि पत्रिकाको जोहो खुर्कोटको हुलाकबाट गथ्यौँ अर्थात् एक दिनलाई भने पनि तीर्थ काकाले पत्रिका ग्वाल्टारका अतिरिक्त हुलाकमा नच्यात्ने सर्तमा छोड्नु हुन्थ्यो र हामी त्यही समयमा एक हप्ता पुरानो गोरखापत्र बडो चासोका साथ पढ्थ्यौँ । अतिरिक्त हुलाक भनेको नियमित हुलाक होइन । हप्तामा दुई या तीन दिन मात्र खोलिन्थ्यो, त्यो पनि हाम्रो गाउँ वा लेखका मानिसहरूको चिठी आएको छ भने मात्र हुलाकले थैलो पठाउँथ्यो । तर हामी बैदारबा अर्थात् हुलाकका हाकिम शंकरप्रसाद बराल जिबालाई सधैँ खोल्नका लागि अनुरोध गथ्यौँ र देउरालीटारका तीर्थ काकालाई पत्रिका ल्याइदिन अनुरोध गथ्यौँ । त्यसरी ज्ञानको भोकलाई समाधान गथ्यौँ । एक हप्ता वा पाँच दिनको बासी समाचार पनि हामीलाई ताजा हुन्थ्यो किनभने रेडियोको समाचार विस्तृत हुँदैनथ्यो र रेडियो पनि कहाँ पो सबैको पहुँचमा थियो र ?

कमला हाइस्कुलको प्रगति थियो र स्कुल सञ्चालक समितिले चलाउँथ्यो । मैले थाहा पाउँदा कान्छा बा, कृष्णहरि अधिकारी सचिव हुनुहुन्थ्यो र पछि हामी विद्यार्थी हुँदा नै दिलबहादुर बस्नेत काकाले सचिवको जिम्मा लिनु भएको थियो । सचिवको जिम्मा थियो सम्पूर्ण शिक्षकहरूको तलब बेलैमा दिने । २०२४ सालको माघमा सायद  भर्ना हुन जाँदा प्रधानाध्यापक हुनुहुन्थ्यो जगदीश्वर महतो । उहाँ सधैँ ढाकाको टोपी लगाउनु हुन्थ्यो । राजाको जन्म दिन, फागुन ७ जस्ता दिनमा दौरा सुरुवाल लगाएर सिन्धुली बजारतिर जानुहुन्थ्यो । वास्तवमा हेडसरको सहभागिता प्रशासनले धेरै कुरा माग्दो रहेछ क्यारे, हामीलाई इच्छाधीन गणित पढाउने सरले बडो कम समय दिनुहुन्थ्यो । 

मैले त कक्षा ९ र १० मात्र कमला हाइ स्कुलमा पढेको हो । मेरा साथीहरू थिए- नयन ध्वज गिरी, टेकबहादुर थापा, रेवतीमान श्रेष्ठ, नवराज बराल, जगदीश बराल, वासुदेव जोशी, हरिबहादुर क्षेत्री, हरिबहादुर खड्का, नारायणदास श्रेष्ठ, हर्क राजभण्डारी, केशव रिजाल, शङ्कर रिजाल, नरेन्द्र थापा, नरेन्द्र कार्की, शोभा थापा, तीर्थ काफ्ले,  मुरारि गजुरेल, शम्भु गजुरेल,एकनाथ लामिछाने, शङ्कर अधिकारी, भोला अधिकारी, शालिग्राम पौडेल, कृष्णप्रसाद पौडेल, पुष्पराज श्रेष्ठ, भुवन फुयाँल, पूर्ण श्रेष्ठ आदि । केही साथीहरूको अनुहार याद छ तर नाम बिर्सिन थालियो । सबै साथीहरूको नाम पनि आउन छाडेको अवस्था छ । लकडाउन सुरु हुनुभन्दा केही दिन पहिलो हामी केही साथीहरू भेटिएका थियौँ , त्यहाँ पनि सबैको नाम सम्झन सकिएन ।  हामी २०२६सालका एस एल सी दिनेहरू पनि त अब ६५ कटिसकेको वृद्ध तर त्यो बेलामा फर्कँदा त्यही किशोरावस्थाको मात्र सम्झना आउँछ उस्तै जाँगर फर्केको जस्तो लाग्छ । 

कमला हाइस्कुलको पढाइ साँच्चै अङ्ग्रेजी माध्यममा थियो । उमेर अनुसारको कक्षा दिइन्थ्यो । मसँगै मेरो भाइ विष्णु पनि थियो सिन्धुलीमा पढ्नका लागि गएको । ऊ त्यो बेला ग्वाल्टारमा कक्षा ४ पास गरेको थियो । तर उमानाथ शास्त्री गुरुले उसलाई कक्षा ६मा भर्ना गर्नुभयो किनभने उमेर उसको १३ वर्ष हुन लागेको थियो र मेरो १४वर्ष पुग्न लागेको । बाले दुई पटक गरी स्कुल सञ्चालनका लागि दुई हजार रुपैयाँ दिनु भएको रहेछ । बाको सिद्धान्त थियो–दिएको दानका बारेमा दाहिने हातले दिएको देब्रे हातले थाहा नपाओस् । उहाँले दिएको कुराको पछिल्लो साक्षी हुनुहुन्थ्यो ठाकुर सर । सायद स्कुलमा तलब खान गाह्रो परेर होला, ठाकुर सर बासँग पैसा माग्न ग्वाल्टार नै जानु भएको थियो सायद २०१८ सालमा । बाले चाँदीका सिक्का गनेर पाँच सय दिनु भएको थियो रे । 

२००८ सालमा एक पटक एक हजार रुपैञा र २०१६ सालतिर अर्को एक हजार दिने वचनअनुसार पाँच सय दिइसक्नु भएको थियो रे । अनि ठाकुर सर कुर्था सुरुवाल लगाएर मझेरीमा बसेर भात खाएको देखेर मैले सोधेको थिएँ बालाई बिस्तारै- उहाँ काका जैसी हो बा ? बा बेस्सरी हाँस्नु भयो र काका पनि हाँस्नु भयो । मैले छ वर्षपछि काकाकै मुखबाट सिन्धुलीमा भर्ना हुन जाँदा सुनेँ- दाजु ! उही हरि होइन यो, मलाई जैसी हो भनेर साउती गरेर तपाईँलाई सोध्ने ? बा, शास्त्री गुरु र हेडसर मज्जाले हाँस्नुभयो, मलाई अप्ठेरो लाग्यो किनभने अब उहाँ मेरो गुरु हुन लाग्नु भएको थियो । हाम्रो प्रवेश परीक्षा लिइयो र शास्त्री गुरुको स्पष्ट धारणा थियो-कुनै मानिसले किन विद्यालयलाई सहयोग गर्छ हजारौँ रुपैयाँ , किनभने भोलि आफ्ना सन्तानले पनि त्यो विद्यालयमा पढोस् । रामप्रसाद दाइका यी हरि र विष्णुलाई प्रवेश परीक्षामा जे जस्तो नम्बर आए पनि भर्ना लिइनेछ । तर हामीलाई सोधेका प्रश्नहरू सजिलै थिए र हामी दाजुभाइले लेख्यौँ । र तत्कालै प्रवेश परीक्षाको नतिजा निस्कियो र हामी भर्ना भयौँ । म कक्षा ९मा र भाइ कक्षा ६मा । 

शास्त्री गुरु भनेको उमानाथ शास्त्री । पछि उहाँले आफ्नो साहित्यिक नाममा सिन्धुलीय लेख्नुभयो । मैले पनि कुनै बेला आफ्नो छद्म नाम अश्रु सिन्धुलीय भनेर लेख्थेँ । त्यो गुरुकै उपनामलाई मन परेर लेखेको हुँ । तर उहाँका सन्तानहरूले नभन्दै आफ्नो थर नै सिन्धुलीय राखेको पाइन्छ । युवा कथाकार, पत्रकार तथा कवि प्रोल्लास सिन्धुलीय उहाँकै छोरो हो, मेरो नाताले पनि भाइ हो, गुरुको पुत्र भएकोले पनि भाइ हो ।

उमानाथ गुरुको सबैभन्दा ठुलो विशेषता थियो जीवनलाई सहजताका साथ लिने । कुनै सञ्चयको लोभ नै नगर्ने । यदि सन्त भनेर चिन्ने हो भने उहाँलाई घर गृहस्थीको जोगीको रूपमा लिए पनि हुने । सबैका समस्याको समाधान उहाँसँग हुन्थ्यो । उहाँ समाज रूपान्तरण गर्ने समाज सुधारक हुनुहुन्थ्यो । उहाँको कथा वाचन कस्तो थियो भने हामीलाई उहाँले नेपाली दन्त्यकथा जुन पढाउनु हुन्थ्यो, हामीलाई पुस्तकको कथाको विषयभन्दा त्यही कथा गुरुले भन्दा अर्कै मज्जा पाउँथ्यौँ । कतिपय बेलामा उहाँले विश्व प्रसिद्ध उपन्यासहरूको सरलताका साथ कथा हामीलाई सुनाउनु हुन्थ्यो । मलाई दुर्गेश नन्दिनी भन्ने बङ्गाली उपन्यासको जुन कथा उहाँले भन्नु भएको थियो, यस्तो कलात्मक तरिकाले भन्नुभएको थियो कि हामी कहिले रुन्थ्यौँ त कहिले हाँस्थ्याै । पछि त्यो पुस्तक नेपालीका अनुवाद भएको पढेँ, जुन गुरुको आवाजमा सुनेँ, त्योभन्दा मलाई खल्लो लाग्यो पुस्तक नै पढ्दा । उहाँको मकवानी बाला महाकाव्यका कति श्लोकहरू हामीले कक्षामा सुनेका थियौँ ।

 इतिहासका विषयमा साहित्य कसरी तयार गरिन्छ भन्ने उदाहरण त्यो महाकाव्य हो भन्दा पनि हुन्छ । त्यो महाकाव्य साँच्चै इतिहासको जिउँदो अभिलेख भने पनि हुने छ । उहाँले हामीलाई  पूर्वीय भाषा नेपाली र प्रारम्भिक नेपाली र संस्कृत पढाउनु हुन्थ्यो । तर त्यो भन्दा बढी उहाँले हामीलाई भावी जीवन र राष्ट्रियताका बारेमा यसरी सम्झाउनु हुन्थ्यो कि अङ्ग्रेज र नेपालीका बिचमा भएको लडाईँलाई सजीव वर्णन गरेर नेपालको महत्वलाई कसरी मनन गर्ने भनेर सम्झाउनु हुन्थ्यो । 

जीवन पढाउनु हुन्थ्यो र भावी देश कस्तो हुनुपर्छ भनेर हामीलाई कल्पनाशील गराउनु हुन्थ्यो । त्यो बेलाका समकालीन सिन्धुलीका कविहरू हुनुहुन्थ्यो कुलचन्द्र कोइराला र उमानाथ शास्त्री । आफ्नो थर अधिकारी सायदै कहिल्यै लेख्नुभयो होला । सिन्धुली हुनुमा उहाँलाई गर्व थियो किनभने सिन्धुलीले नै यो नेपाललाई स्वतन्त्र बनाउन सकेको थियो भन्ने उहाँको तर्क थियो । समकालीन बेलामा उहाँ बराबरको विद्वान सिन्धुलीमा कोही पनि थिएन तर त्यो विद्वता कस्तो थियो भने त्यहाँ कुनै अहङ्कार थिएन र कुनै त्यस्तो पदको चाहना पनि थिएन । हामीलाई पढाउँदा एक पटक भन्नुभयो-राजा महेन्द्रले डुङ्गामा कवि सम्मेलन गरेपछि उहाँलाई कुनै पदको चाहना छ कि भन्दा उहाँले कमला हाई स्कुल सरकारबाट सहयोग भयो भने हुन्थ्यो, मेरोलागि कुनै पनि चाहना छैन भनेँ भनेर हामीलाई भन्नुहुन्थ्यो । उहाँ खाँटी प्रजातन्त्रवादी हुनुहुन्थ्यो र सामाजिक न्यायको पक्षपाती हुनुहुन्थ्यो । आजको स्वार्थी राजनीतिमा उहाँको कुनै तुलना हुन सक्दैन । 

त्यो बेलामा सिन्धुलीमा तीन ओटा परिवारहरूको सामाजिक प्रतिष्ठा थियो. जुरेल परिवार, ढकाल परिवार र थापा परिवार । यी परिवारहरूका बिचमा समाज सेवाका लागि प्रतिस्पर्धा नै थियो । तर सकारात्मक प्रतिस्पर्धा । गजुरेलमा रामेश्वर गजुरेल, कृष्णप्रसाद गजुरेल, लीलानाथ गजुरेल , वाणीराज गजुरेल समाजसेवामा लाग्नु भएको थियो जस्तो लाग्छ । ढकाल परिवारमा गुणराज ढकाल, चन्द्रप्रसाद ढकाल हुनुहुन्थ्यो । थापा परिवारमा सबै नै उस्तै प्रख्यात थिए तर सबैभन्दा प्रख्यात त बद्रीविक्रम थापा नै हुनुहुन्थ्यो । कमला हाइस्कुलमा पहिले सुवर्णविक्रम थापाले हेड मास्टर भएर सेवा गर्नु भएको थियो रे पछि इन्जिनियरिङ पढ्न सोभियत सङ्घ जानु भयो अनि फर्केर सिन्धुली सायद किन आउनु भएन होला भने अहिलेको आयल निगमको स्थापना सायद उहाँकै प्रयासमा भएको थियो क्या रे । अहिलेका  नेपाल कम्युनिस्ट पार्टीका विभिन्न घटकका नेताहरू तिनै गजुरेल परिवारका हुनुहुन्छ सीपी गजुरेल र हरिबोल गजुरेल । म त कक्षा १० को बेलामा माहिला बा लीलानाथ गजुरेलको घरमा बसेको हुँ, त्यस बेलामा दाजु मुरारि मेरै कक्षामा हुनुहुन्थ्यो र भाइ हरिबोल कक्षा ९मा थियो । 

जीवनको त्यो किशोरावस्थाको स्वर्णिम कालमा सिन्धुलीले राजनीतिक चेत दियो र जीवनमा सधैँ आफूलाई चिन्ने हुनुपर्छ भन्ने ज्ञान दियो । त्यो बेलामा हामीलाई विज्ञान र इच्छाधीन तथा अनिवार्य गणित पढाउने गुरु तथा काका शंकरनाथ शर्मा गुरु उमानाथ शास्त्रीकै कान्छा भाइ हुनुहुन्छ । राजनीतिमा उहाँले पनि जसरी पनि पद नै चाहिन्छ भन्ने स्वार्थी नीति लिनु भएन । अहिले पनि म उहाँको चेलो हुँ भन्दा गर्व लाग्छ । अङ्ग्रेजी पढाउनु हुन्थ्यो लक्ष्मीप्रसाद सुमन । भूगोल पढाउनु हुन्थ्यो सूर्यदेव साह सरले । त्यो बेलामा इच्छाहीनका तीन हाँगा थिए हाम्रो विद्यालयमा-गणित, जीव विज्ञान तथा राजनीति शास्त्र या नागरिक शास्त्र । पञ्चायत विषय पढाउनु हुन्थ्यो राजेश्वर रजक, उहाँ नागरिक शास्त्र र इतिहास पनि पढाउनु हुन्थ्यो ।  अनिवार्य गणितको बदला अङ्कगणित र ऐनसे्रस्ता पढाइ हुन्थ्यो । भूगोल र इतिहासमा छान्न पाइन्थ्यो । मैले इच्छाधीन गणित, भूगोल र अनिवार्य गणित लिएको थिएँ । हामी इच्छाधीन गणित लिनेहरू थियौँ–म,नयनध्वज, टेकबहादुर, रेवतीमान, हरिबहादुर, नवराज, जगदीश र भुवन । नयनध्वनको निधन भएछ, तीर्थ पनि हामीलाई छोडेर गएछ र वासुदेवले पनि भर्खरै जस्तो चोला बदलेछ । 

यी शब्दहरू लेख्दा एउटै कुरामा गर्व लाग्छ.  ले उमानाथ गुरुसँग पढेको थिएँ र जीवनलाई नियाल्न उहाँले सिकाएको बाटोमा आफूलाई हिँडाइरहेको छु । लाग्छ कहिलेकहीँ लडिएला कि तर जीवन न पानीको फोका जस्तै हो, सधैँ स्थायी त हुँदैन । सकेसम्म कसैको अहित नगर्ने तर स्वाभिमानमा चोट पुर्‍याउन खोज्नेसङ नझुक्ने । मेरा गुरुहरू साम्वभक्त सुवेदी तथा उमानाथ शास्त्रीले बरु जीवनमा कुनै पदको चाहना गर्नु भएन तर कसैसङ झुक्नु भएन र जति दिन बाँच्नु भयो, स्वाभिमानसँग आफ्नो शिर ठाडो पारेर अरूलाई बाटो देखाएरै बाँच्नुभयो । समाज सुधार गर्नका लागि बाटो देखाएरै इहलीला समाप्त गर्नुभयो । आजको समयमा यस्तो उदाहरणीय व्यक्तित्वहरूको सम्झना आइरहन्छ, श्रद्धाले शिर निहुरिई रहन्छ । 
एउटा कालखण्डलाई गुरुले बौद्धिक नेतृत्व दिएकाले अहिले पनि कमला हाइस्कुलका त्यो बेलामा विद्यार्थीहरूले एउटै मात्र नाम स्मरण गर्छन् —पं उमानाथ शास्त्री सिन्धुली । म उहाँको विद्वता र खारिएको समाज सुधारको भावनाको स्वाद चाख्ने हो भने मकवानी बाला नामको महाकाव्य पढ्नुस् र आफूलाई नियाल्नुस् त्यो महाकाव्यको पाना पानामा, शब्द शब्दमा र भाव भावमा । त्यहाँ कविता मात्र सहज र सरस छैनन्, जीवनलाई बुझ्ने कला पनि त्यत्तिकै  भरिभराउ छ ।