हामी को हौँ र के हौँ ?

पुस्तक अंश

हामी को हौँ र के हौँ ?

प्रा.डा. सराेज धिताल  |  समाज  |  चैत्र २, २०७५

 छोक्न्यी रिम्पोछेको पुस्तक ओपेन हार्ट, ओपेन माइण्डको नेपाली रूपान्तरण गरेका हुन डा. सरोज धितालले । बौद्ध धर्म जीवनका जटिलतालाई भागेर होइन बुझेर अङ्गीकार गर्ने परामर्श दिन्छ । जटिल र सरल मानवका मान्यता मात्रै हुन् । डा. धितालले तिब्बती बौद्ध गुरुको पुस्तक अनुवाद गरेर प्रशंसनीय कार्य गरेका हुन् । आधुनिकताको अन्धानुकरणले जीवनमा सर्वत्र समस्या र तनाव हेर्ने वर्तमान पुस्ताका लागि यो पुस्तकले गजबको मार्गदर्शन दिन्छ । हामीले यसै पुस्तकको एक अंश आफ्ना पाठकका लागि प्रस्तुत गरेका छौँ । हामीलाई विश्वास छ, यो पुस्तक अंश पढेर जो कोही पाठकले पनि पुस्तकको महत्त्व र उपादेयता बुझ्न सक्छ – सम्पादक 

शून्यता

हामी को हौँ र के हौँ ? यो कुराको (यथार्थमा सबै घटनाप्रवृत्तिको) आधारलाई व्याख्या÷वर्णन गर्ने शब्दलाई ‘शून्यता’ भनिएको छ । झट्ट सुन्दा यो शब्द अलि डर लाग्दै सुनिन्छ । बौद्ध दर्शनलाई अनुवाद गर्ने सुरुसुरुका अनुवादक तथा व्याख्याताहरुले हाम्रो अस्तित्वभित्र एक किसिमको खालीपनको परिकल्पना गरेका थिए ।

हामी सबैले आफ्नो जीवनको कुनै न कुनै विन्दुमा कुनै किसिमको ‘खालीपन’ अनुभूत गरेका हुन्छौं । ‘म यहाँ के गरिरहेको छु हँ ?’ भनेर छक्क परेका छौँ । यो ‘यहाँ’ को अर्थ आफ्नो जागीर, कसैसँगको सम्बन्ध, घर, दुखिरहेका जोर्नीहरु भएको शरीर, विस्मृतिमा डुब्दै गरेको मन... जे पनि हुन सक्छ ।

अलि गहिरिएर हेर्दा भने जीवनमा हामीले अनुभूत गरेको यस्तो खालीपन यथार्थमा सकारात्मक सम्भावना हुन्छ ।

संस्कृतको ‘शून्यता’ लाई तिब्बती भाषामा ‘तोङ्पा न्यी’ भनिन्छ । ‘शून्य’ ले असीम, अपरिमेय अन्तरिक्षलाई जनाउँछ जहाँ जे पनि साकार हुन सक्छ । तिब्बती शब्द ‘तोङ्पा’ को अर्थ  पनि शून्य  हो तर केही नभएको खालीपनको अर्थमा मात्र हैन । हाम्रा इन्द्रियहरुद्वारा अबोधगम्य, वर्णनातीत, अनिर्वचनीय (नामेतर) र कुनै स्पष्ट अवधारणामा अटाउन नसक्ने— यी सबैभन्दा परको भन्ने अर्थमा । शून्यताको गहिरो अर्थ जनाउन सम्भवतः ‘अबोधगम्य’ अथवा ‘अनिर्वचनीय’ (कुनै नाम दिन नसकिने) अझ उपयुक्त हुन्छ होला । संस्कृतको प्रत्यय ‘ता’ र तिब्बतीको ‘न्यी’ को आफ्नै कुनै अर्थ छैन— कुनै विशेषण वा संज्ञासँग जोडिएपछि तिनले एक किसिमको सम्भावनालाई इंगित गर्छन् ।

त्यसैले, बौद्धमार्गीहरुले हाम्रो अस्तित्वको आधारकै रुपमा शून्यताको कुरा गर्दा हामी जे हौँ, जो हौँ, त्यो भनेको केही हैन, हाम्रो अस्तित्व नै छैन भन्न खोजेको हैन । 

एउटा पुरानो कथा छ— एक जना ‘ध्यानी’ का बारेमा  । एउटा गुफामा पसेर उनले निकै लामो समय शून्यतामा ध्यान गरेछन् । त्यो गुफामा थुप्रै मुसा रहेछन् । एक दिन त एउटा बडेमानको मुसा उफ्रेर उनको अगाडिको ढुंगामा चढेछ । “ए ! मुसा ? यो त आखिर शून्य नै त हो” भन्ने उनको मनमा आएछ । अनि आफ्नो जुत्ता उठाएर त्यो मुसोलाई मारिदिएछन् । उनलाई लाग्यो— “यो मुसा शून्य, मेरो जुत्ता शून्य, शून्यलाई शून्यले मार्नु पनि शून्य !”  

यथार्थमा, कुनै पनि कुराको अस्तित्व नै छैन भन्ने विचारलाई उनी बलियो बनाइरहेका थिए । त्यसो भएपछि कुनै परिणामको वास्ता नगरी आफूलाई जे मन लाग्यो त्यही गरे भइहाल्यो नि !

शून्यताको बारेमा यो अति सस्तो र भद्दा बुझाइ हो— कुनै कुराको पनि केही अर्थ छैन भन्ने । शून्यताबारेको वास्तविक अर्थ भने त्यस्तो असीम आकाश हो जहाँ जे पनि उत्पन्न हुन, परिवर्तन हुन, विलय हुन र पुनरूत्पन्न हुन सम्भव हुन्छ । अर्को शब्दमा भन्दा शून्यताको अर्थ ‘खुलापन’ वा ‘सम्भाव्यता’ हो । आफ्नो अस्तित्वको मूलमा हामी कुनै परिभाषायोग्य विशेषताबाट विमुख हुन्छौं । हामी हाम्रो विगत, वर्तमान वा भविष्यका बारेको सोच वा भावनाबाट परिभाषित हुँदैनौं । जे पनि अनुभूत गर्न सक्ने सम्भाव्यता छ हामीमा । विचार, भावना र शारीरिक अनुभूति पनि यही ‘जे पनि’ भित्र पर्न सक्छन् ।

एक जना ‘ध्यानी’ का बारेमा । एउटा गुफामा पसेर उनले निकै लामो समय शून्यतामा ध्यान गरेछन् । त्यो गुफामा थुप्रै मुसा रहेछन् । एक दिन त एउटा बडेमानको मुसा उफ्रेर उनको अगाडिको ढुंगामा चढेछ । “ए ! मुसा ? यो त आखिर शून्य नै त हो” भन्ने उनको मनमा आएछ । अनि आफ्नो जुत्ता उठाएर त्यो मुसोलाई मारिदिएछन् । उनलाई लाग्यो— “यो मुसा शून्य, मेरो जुत्ता शून्य, शून्यलाई शून्यले मार्नु पनि शून्य !”

 

शून्यतालाई साँच्चै बुझ्न, त्यसलाई अनुभूत नै गर्नुपर्छ । तपाईंलाई म मेरा एक जना विद्यार्थीको कथा सुनाउँछु जसले जागीर, घर र बाबुआमा गुमाएका थिए ।

उनी भन्थे, “यो सबै भएपछि म आफ्नो पीडा, निराशा र दिग्दारीमै समय बिताइरहें । पीडाको यो विशाल पर्वतलाई हेरिरहँदा मलाई लाग्यो— त्यसलाई स–सानो टुक्रामा विभाजित गर्न सकिन्छ । अनि म त्यसलाई टुक्रा पार्न थालें । त्यसो गर्न थालेपछि बौद्धिक तहमा मात्रै नभएर अनुभूतिकै तहमा के अनुभव गर्न थालें भने म त मेरो पीडा हैन नि । मेरो निराशा पनि म हैन । मेरो दिग्दारी म हैन । जो भए पनि, जे भए पनि, म त द्रष्टा हुँ मेरो विचार, भावना र तीसँग जोडिएका शारीरिक अनुभूतिहरुको । मनमा एक किसिमको भारीपन नहुने हैन, त्यो त थियो । र, कुनैकुनै बेला त विगतमा फर्किन पाए हुन्थ्यो जस्तो पनि लाग्थ्यो । तर, मेरो मनमा र शरीरमा जे भइरहेको थियो, त्यसलाई निरन्तर अवलोकन गरिरहने क्रममा मलाई लाग्न थाल्यो— मेरा आजसम्मका अनुभूतिभन्दा धेरै विशाल, अधारभूत, स्पष्ट, क्षमाशील पनि अरु केही हुँदो रहेछ— एउटा असीम खुला आकाश जहाँ जुनसुकै अनुभूति पनि आउन सक्छ र हराउन सक्छ, जसलाई शब्दमा वर्णन गर्न सकिन्न...  आह ! म राम्रोसँग वर्णन गर्न सकिरहेको छैन...”

यथार्थमा उनी अति राम्रोसँग वर्णन गरिरहेका थिए । सम्भव भएसम्म राम्रोसँग अभिव्यक्त गरिरहेका थिए । शून्यताको अनुभूति जस्ताको त्यस्तै शब्दमा अटाउन सक्दैन नै । बौद्ध परम्परामा यसलाई ‘लाटोलाई मिस्री दिनु’ सँग तुलना गर्ने गरिन्छ । मिस्रीको स्वाद पाए पनि बोल्न नसक्नेले त्यसको वर्णन कसरी गरोस् !

म अर्को समकालीन उदाहरण सुनाउँछु ।

चलचित्र

बीस वर्ष जति भयो होला । म मेरो ठूलो दाजु छोक्यी निमा रिम्पोचेलाई भेट्न बौद्धनाथमा भएको उहाँको गुम्बामा गएको थिएँ । दिउँसोको खानासँगै,  गफगाफ, रमाइलो गरिरहेको बेला टेबुलको अर्को छेउबाट एक जना मानिसले मलाई एकोहोरो हेरिरहेको देखें । उनको हेराइको तालले म अलिकति नर्भस पनि भएँ । एक छिनपछि छोक्यी निमा रिम्पोचे यस्सो बाहिर निस्केको बेलामा ती मानिस मेरो नजिक आए र आफ्नो परिचय दिए । उनी चलचित्र निर्देशक बेर्नार्दो बेर्तोलुच्ची रहेछन्, त्यति बेला ‘द लिटिल बुद्ध’ बनाउन आएका । उनले भने, “हामी एउटा फिल्म बनाउँदैछौं । एउटा भूमिका तपाईंलाई ठ्याक्कै सुहाउने खालको छ— तपाईंको मुस्कान मलाई औधी मन पर्‍यो । भोलि बिहान म क्यामेरा लिएर आउँछु नि, हुन्छ ? क्यामेराअघि थोरै अभिनय गरी हेरौं न !” 
मैले “हुन्छ !” भनें ।

अर्को दिन उनी क्यामेरा र क्यामेराम्यान लिएर आए । ती निर्देशकले मलाई केही भनेर हाँस्न लगाए । तर, त्यसरी मुस्कुराउन मलाई असाध्यै गाह्रो भयो । क्यामेराको त्यो कालो लेन्स हेरेर कहिल्यै मुस्कुराएको थिइनँ । म त मानिसहरुसँग कुराकानी गर्दा मात्र मुस्कुराउने गरेको थिएँ ।

उनले फेरि पनि प्रयत्न गर्न भने । “तपाईंमा अभिनय क्षमता छ तर... तपाईं मुस्कुराउनुपर्छ ।” 

हामीले फेरि पनि एक–दुई चोटि प्रयत्न गर्‍याैं। तर, आफूभित्रको विनोदभावलाई कसरी एउटा यन्त्रसँग जोड्ने, मलाई थाहै भएन । त्यो त मानिससँगको सम्पर्कमा मात्र प्रकट हुन्थ्यो । तर, बेर्तोलुच्चीले छोडेकै हैन । फिल्म कसरी बनाइन्छ भन्ने देखाउनका निम्ति उनले मलाई सेटमै आउने आग्रह गरे । चार–पाँच दिन लगातार म त्यो फिल्म शुटिङ भइरहेको ठाउँमा गएँ र दिनभरि बसेर हेरें पनि । मलाई त झन् तिरिमिरी झ्याइँ पो भयो । त्यहाँ केही थियो भने केवल कृत्रिमता थियो, अरु केही थिएन । त्यत्रो बेर लगाएर सिंगारपटार गर्‍या छ, लाइट मिलाएको छ, एउटै दृश्य कैयौं पटक दोहोर्‍याई तेहेर्‍याई यताबाट खिचेको छ, उताबाट खिचेको छ, कलाकारहरु पालैपालो रूने र हाँस्ने गरेका छन्...

मैले त फिल्महरु योभन्दा अलि बढी नै वास्तविक होलान् भन्ने ठानेको थिएँ ।

एक–दुई दिनमै म भुटान जानु थियो । फर्केर आउन्जेलसम्ममा त्यो भूमिका अरुलाई नै दिइसकेका थिए— मलाई केही पछुतो भएन । त्यति सारो कृत्रिमताको अभ्यासमा आफू लाग्नु नपरेकोमा म बरू खुशी नै भएँ ।

बेफाइदा के भयो भने चार–पाँच वर्षसम्म मलाई चलचित्र हेर्नै मन लागेन ।  जुन दृश्य हेरे पनि मनमा आइहाल्थ्यो, “यिनीहरुले यो दृश्य कम्तीमा बीस–तीस पटक खिचेको हुनुपर्छ ।” फिल्म हेर्दा मजा लाग्न ठ्याम्मै छोड्यो ।

तर, बिस्तारै मेरो सोचाइ फेरिन थाल्यो । आफैंलाई भन्न थालें, “किन सिनेमादेखि यति सारो विकर्षण ? आखिर जिन्दगी आफैं पनि त सिनेमा जस्तै छैन र ! अनेकन् कारण र परिस्थितिले दृश्यहरु सृजना गरिरहेका हुन्छन् र ती दृश्यले कथा । अनि एउटा चलचित्र बनाउन गरिने मिहिनेत पनि त तिनै कारण र परिस्थितिहरुको योग जस्तो हुन्छ जसले हाम्रो दैनिक भोगाइको सृजना गर्छ ।” यसपछि भने म चलचित्रलाई पनि जीवनलाई जत्तिकै अभिमूल्यनका साथ हेर्न थालें । भ्रान्तिको पर्दा उठ्दै जानुको आफ्नै सौन्दर्य हुन्छ र म त्यो सौन्दर्यलाई अनुभूत गर्न सक्छु । त्यो मिहिनेतलाई म प्रशंसा गर्न सक्छु । त्यो कहानीलाई म प्रशंसा गर्न सक्छु । तर, यी सबसँग म अलिकति दूरी पनि राख्छु ताकि म आफैं नै त्यसैमा तानिएर नहराऊँ ।

सिनेमामा गोली लागेको वा छुरी रोपिएको कुनै अभिनेता वा अभिनेत्रीको मृत्यु भएको छैन भन्ने म जान्दछु— लस एन्जेलेसको कुनै शयनकक्षमा ती आरामसँग सुतिरहेका होलान् वा संसारको कुनै अर्को कुनामा अर्को फिल्मको शुटिङ गरिरहेका होलान् । पर्दामा उतारिएको कथाबाट म अझ पनि भावविभोर हुन्छु तर त्यसको साथै मलाई यो पनि थाहा छ कि यो केवल चलचित्र हो । र, त्यो कसरी बन्छ भन्ने पनि मलाई थाहा छ ।

दैनिक जीवनप्रति पनि हामी त्यस्तै धारणा राख्न सक्छौं । आफ्ना भोगाइको पर्दा उठ्दै गएको हामी अनुभूत गर्न सक्छौं, भावनात्मक वा बौद्धिक रुपमा हामी ती भोगाइमा संलग्न हुन सक्छौं तर साथसाथै यो सबै नै केवल  चलचित्र जस्तो मात्रै हो भन्ने चेत पनि राख्न सक्छौं ।

याे पनि 

मेडिकल डाक्टरकाे चेतनायात्रा

‘चित्त खुलोस् हृदयसँगै’ बजारमा