तिमीलाई सम्झेर

तिमीलाई सम्झेर

टङ्क भट्टराई  |  साहित्य  |  असार २०, २०७७

हरेक चोटि मैले घर छोड्दा 
बर्सात् हुन लागेको घुर्मैलो बादल झारेर मुहारमा
तिमीले बिदाइको हात हल्लाउँछ्यौ

तिमीसँगै छोडिन्छ
बकैनाको रूखमा अल्झिएको घामको मुस्कान
घरछेउको रहरलाग्दो तोरीबारी
गुँडमा माया पोखिरहेको एक जोडी परेवा

बताससँगै मायालु मन मैलाई पठाएर
तिमी मुर्झाएकी हुन्छ्यौ
बर्सात् बिनाको असारजस्तै

तिम्रो अनुपस्थितिमा 
सम्झनाको पहाड उभिन्छ आँखा अगाडि
र आफैं पल्टिन थाल्छन् जिन्दगीका पानाहरू

सम्झन्छु
हाम्रो सुकुमार माया पोखिएको
आठमुरेको बाँसघारी
इँजारे खेतको घुमाउने गरा
बाह्रबिसेमा झुलेका गहुँका बाला
कुइभीर पर्तिरको गैरी चौतारो
पेवा खोलाका ती चिप्लेटी ढुङगा
बाटोभरि पालेझैं ठिङ्ग उभिएका सल्ला

अझै सम्झन्छु
साप्सुका बगरमा सेताम्य फूलेका काँसका बोटहरू
झ्याउरे लयमा गाउँदै झरेको टुकुरे खोलो
प्वाँला फेदीको बटुवा चौतारो
कोटगाउँमाथिका बूढा वरपीपल
चार किल्ला सिरानका लहरे पैयुँ
कोप्चे गाउँको पहेंलपुर तोरी
कट्टुस र उत्तीसका अग्ला रूखहरू
तिमी अन्मिएको आँगन
जहाँ, तिम्रो मुटुको केही अंश
अझै त्यतै कतै छोडिएको छ

यी सबै मधुर स्मृतिहरू
आँखा अगाडि नचाउँदै
खोइ किन हो 
जबर्जस्त बसेको छु
सिमेण्टको यो कङ्क्रिट जङ्गलमा
यी फोहोरी बाटा र गल्ली
गाडीको कान टट्याउने हल्ला

संवेदना हराएका प्लास्टिकका मान्छेहरू
यी सबको बीचमा 
खोइ कहाँ छ मेरो मुटु ?

यता त जून जूनजस्तो छैन
घाम घामजस्तो छैन
पठाइदेऊ न ए प्रिय !
त्यो पहाडी बतास
त्यो ईन्द्रकमल फूलको एक चुस्को सुवास

तिमीसँग त त्यहाँ सबै सबै छ
तर सबै भएर पनि 
ए मेरी चकोर !
तम्रो चाँदनी कहाँ छ ?
                                                                                                         

बूढानीलकण्ठ