धनचन्द्र राई | साहित्य | असार २०, २०७७
बा ले मलाई
माटोमा अक्षर सिकाउनु भयो
पहिले कपुरि सिकें
अनि बाह्रखरि सिकें
त्यसपछि बोल्न सिकाउनु भयो
पहिले तिमि सिकें
अनि तपाईं सिकें ।
अक्षरलाई बोलाउन सिकें
अक्षरलाई मिलाउन सिकें
अक्षरहरु मिलाउँदै मिलाउँदै शब्द बनाएँ
शब्दहरु मिलाउँदै मिलाउँदै वाक्य बनाएँ
जब वाक्य बनाउँन सिकें
बा ले मलाई
जिजु बाको नाम सिकाउँनु भयो
हजुर बा को नाम सिकाउँनु भयो
एबं रितले
बा र मेरो नाम लेख्न सिकाउँनु भयो
मैले माटोमा
कपुरी लेखेर मेटें
बाह्रखरि लेखेर मेटें
शब्दहरु मेटें ऽ वाक्यहरु मेटें
एबं रितले
जिजु बा, हजुर बा, बा
अनि मेरो नाम लेखेर मेटाएँ
जब बा ले मलाई
गुरुबाको जिम्मा लगाउनु भयो
गुरुले मलाई सेता कापीमा
कपरी सिकाउँनु भयो
बाह्रखरि सिकाउँनु भयो
शब्द, वाक्य सिकाउँनु भयो
र, अर्काको जिजु बा को
नाम लेख्न सिकाउँनु भयो
अर्काको हजुर बा, बा
र अर्काको नाम लेख्न
सिकाउँनु भयो
राम, श्याम, हरि आदि आदि ।
म गुरुको आज्ञाकारी बनेर सिकें
बा ले भने झैं धेरैं पढें
र पाठशालाबाट तक्मा पाएँ
आफन्तबाट स्यााबसि पाएँ
साथिभाईबाट शुभकामना पाएँ
महसुस गरें
एउटा युद्ध जितेको सिपाहिँ जस्तै
छातिमा तक्मा भिरेर
राजकिय सलामि पाएँ
ठुलो इज्जत कमाएँ ।
घरमा गएर
बा लाई तक्मा देखाउँदै भने
'बा मैले पाठशालाबाट तक्मा पाएँ ।'
बा ले भन्नु भो
'स्याबास छोरा
अझ धेरै पढ्नु
ज्ञानी बन्नु
तिमिलाई मैले
माटोमा कोरेर सिकाएको यादछ ?'
मैले भने 'अबस्य बा ।'
फेरि बा ले भन्नु भयो
'तिम्रो जिजु बा मेरो हजुर बा को नाम लेख त ।'
म त जिल्ल परें
मेरा जिजु बा, हजुर बा को नाम
माटोमा लेखेर मेटेको धमिलो याद छ
धेरै पर सम्म सम्झिँदा
टुक्रा टुक्रा याद आउँछ
सग्लो याद त छँदै छैन
बा को लागी उत्तर खोज्दै
पाठशालामा लेखेको
सेता कापिहरु पल्टाएँ
गुरुले पढाएको
हरियो किताबहरु पल्टाएँ
अड्डा /अदालतको
रातो किताबहरु पल्टाएँ
अहँ !
न जिजु बा को
न हजुर बा को
कसैको नाम भेटिन ।
शायद
घरमै बिर्सियो कि भनेर
मुलथाम, मुलढोका र मुलचुलामा हेरें
ढुंग्रो, चुलुङ्गी र भुनेउहरुमा खोजें
शायद
पानिमा खस्योकी भनेर
कुवा, पँधेरो र दहहरुमा खोजें
ढोडिया, फुर्लुङ र मुनेउहरुमा खोजें
उफ !!
छैन, भेटिएन, पाईएन
अब के जवाफ दिउँ
मेरो बा लाई ।
कुन अर्थले सजाउँ यी सफलताको तक्मा ?
कि खोलामा बगाई दिउँ
अर्काको नाम घोकेर पाएको तक्मा ?
कि अहंकार देखाएर अंग्रेजी पट्काईदिऊँ ?
कि संघर्षमा नाम परिवर्तन भयो भनेर
कथा सुनाई दिऊँ ?
हैन, अहँ हुँदैन !
बरु छन्द मिलाएर भन्दिम्
जिजु बा को शरिर माटो भयो
नाम पनि माटैमा रह्यो
हजुर बा को शरिर माटो भयो
नाम पनि माटैमा रह्यो
यो मनुष्य चोला माटै होला
बा हजुरले सिकाएको
माटोको अक्षर माटैमा गयो
हाम्रो शरिर
हाम्रो इतिहास
हाम्रो नाम
यी सबको अर्को नाम माटो हो ।
कि बा लाई
फरक तरिकाले सम्झाउँ ?
बा ले माटोमा लेखेको अक्षर
घामले सुकेर थोरै हावामा उड्यो
पानिले भिजेर थोरै पानि मै मिल्यो
केहि टुक्रा अक्षर
कसैले टेकेर हिँडे
कसैले मेटेर हिँडे
यी सब ब्रम्हाण्ड भित्र
कण कणमा छ ।
फेरि बा ले चित्त दुखाएर
अर्को प्रश्न गर्लान
'छोरा मेरो नाम पनि बिर्सिईस ?'
बा लाई खुसिको सरप्राईज दिन
म डकुमेन्ट बक्सबाट
स्वाट्ट नागरिक्ता झिकेर भन्ने छु
'बा हेर्नुस तपाईको नाम त
कम्प्युटरले पनि बिर्सेको छैन
छोरा हुनु त
म जस्तो पो.. ।