दुई वटा डिग्रीधारी जागिरे युवा सहरबाट गाउँमा : लकडाउन र माटो सम्बन्धीको बक पत्र
असार २४, २०७७

 लकडाउन हुनुभन्दा तीन दिन अगाडि काठमाडौँ छोडेर हिँडेकाले अहिलेसम्म गाउँमा हल्लिन पाएको छु। जुन दिनदेखि काठमाडौँ पसियो तहां उप्रान्त यति धेरै दिन यो सहर छोडेर हिँडिएको थिइन । काठमाडौँ बिनाको आफू र आफू बिनाको काठमाडौँ कहिल्यै सोच्न सकिएन र अहिले पनि सोचिसकिएको छैन । तर त्यस्तो नहुँदो रहेछ । परिस्थितिले मान्छेलाई अभ्यस्त बनाउँदो नै रहेछ । म गाउँमा छु । भित्रै बस् भन्न राज्य आइपुग्दैन मेरो गाउँमा । बाहिर निस्कनका लागि खेतबारी छन् । गाईबस्तु छन् । घरभित्रै बस्नका लागि यहाँका काम कर्तव्यले दिँदैनन् पनि । दिन कटाउनका लागि गाउँमा गारो छैन । हुन त गारोसांगुराेमा पनि स्थान काल पात्र अनुसार फरक हुन्छ । उपन्यासकार शैलेन्द्र अधिकारी गाउँमा बस्न नसकेर काठमाडौँ फर्किसके । चर्चित कार्यक्रम सञ्चालक सरोज घिमिरे झापामै बसेर घरायसी कार्यक्रम सञ्चालन गरिरहेका छन् । यस्ता उदाहरण  अनेकौँ  दिन सकिन्छ ।

यतिका दिन गाउँमा बसिएला जस्तो लागेको थिएन । एक हप्ता वा दुई हप्ता हुँदै चार महिना भएछ । सरकारले पनि सुरुमा त एक हप्ताको लकडाउन भन्थ्यो अब हप्तालाई दिन बनाइसक्यो ।अब त म काठमाडौँ बस्थेँ र ? भन्ने लाग्न थालेको छ । दुई जोर लुगा बोकेर आएको त्यो पनि फाटिसक्यो । सुरुका दिनमा फेसबुकबाट पनि निकै चटक देखाइयो । अब त कै नै छ र चटक देखाउनलाई ।  गाउँ आएर लगाएको तरकारी फल्यो तर दुई पैसा बाको गोजीमा परेन ।

कहाँ लगेर बेच्ने ? मैले फर्सीमा ट्र्याकटर लगाएको फोटो फेसबुकमा राख्दा धेरै दयालु मान्छेहरू फेसबुकमै रोए । यसरी फाल्नु भन्दा त माग्नेलाई दिनु नि भनेर सिकाए पनि । तर भन्ने बित्तिकै गाउँमा को माग्ने भेटिन्छ र ? जाबो फर्सी पनि मागेर खान्छन् त गाउँलेहरू ? बाँडेरै खान्छन्  नि !  रमाइलो कुरा के भने फर्सी जोतेका कारण मकैका बोटमा घोगा ठुला  भने पक्कै लागेका छन् ।  

चैत महिनामा भर्खर लकडाउन भएको अवसर छोपेर विभिन्न परिकार बनाएर खाइयो । फोटो खिचेर फेसबुकमा ओइराइयो । महामारी लागेर आएको हैन कि दसैँ बिदामा गाउँ आएको हो जस्तो लाग्थ्यो । सेल पुरी, पकौडा, हलुवा, खीर आइटम आइटमले  बनाइयो र खाइयो । सबैले त्यसै गरे ।  के कम हामीले पनि नि गर्‍यौँ । चैत महिना सकिँदा नसकिँदै सहरबाट गोजीमा राखेको पैसो सकियो । अब 'आया उँट पहाड के नीचे' भनेजस्तो भयो । तरकारी र भात सुरु भयो । दिनकै दाल खानु गाउँको संस्कार हैन । सुरुमा त सन्तान घर आउँदा बा आमा दङ्ग भए तर फर्किने कुरै छैन, न घरको काम जाँगर लगाएर गर्छन् , न कमाउन जान्छन् ? अचम्म छ ।

सुरुमा त गाउँलेले पाँच पोका नुन, पाँच किलो चिनी र पाँच लिटर तेल किनेर ढुक्क बने । टाउको लुकाएर सुतुर मुर्गा ढुक्क बनेजस्तै । अहिले फेरि  एक एक किलो किन्न थालेका छन् । गाउँमा बिउको र मलको आतङ्क सधैँ जिउँदो हुन्छ । अहिले पनि छ । सजिलै पाइने चिजमा हलो अड्काएर कृतज्ञता बटुल्ने बानी नेता, कर्मचारी, व्यापारी  सबैमा परेको उदाहरण हो यो । एक किलो चिनीमा भगवान्  बन्न खोज्छन् पापीहरू ।

तर म त त्यस्तो बिग्रेको मान्छे कहाँ हुँ र ? दुइटा डिग्री हातमा भएको मान्छे । जागिर पनि खाएको  । इतिहास पढेको । संसार बुझेको । उस्तै परे बुझाउन समेत पछि नपर्ने । अब मैले काम नगरेर भयो ? ठुलो मान्छे पल्टेर भयो र ?  बाउ आमाले जुन काम गरेर हामीलाई हुर्काए र पढाए ।  त्यही कामलाई तुच्छ्याएर भयो र ? दूध मुख मिठ्याएर खाने गोबर गनायो भनेर भयो र ?  यति बेला म गाउँमा छु र गाउँकै बन्नुमा मेरो कल्याण छ । यति बुझे पछि गाउँको बसाइ सहज  नहुने कुरै भएन ।  

के भयो र !  ज्यानमा पसिना गनाएको छ, ठिकै छ । लुगा माटामय भएका छन् सुहाएकै छ। खुट्टा  हिलाले खाएका छन्, केही छैन फेरि मासु पलाउला  नै । हिलोमा चिप्लिएर लडेको छु,  फेरि उठेर हिँडेकै छु । दारी जुँगामा स्याहार पुगेको छैन । तर छिमेकीसित उभिन लायक भएको छु । ठाउँ अनुसार बन्न सक्नुलाई पनि आफ्नो खुबी मान्नुपर्छ र सफलतामा सन्तुष्ट बन्नुपर्छ  भन्ने कुरालाई आदर्श मानेको नै छु । 

 वैशाख महिना ऐँसेलु खाएर बित्यो । बेलुकाको दुई  घण्टा ऐँसेलुको झ्याँगमा बिताइयो ।  ऐँसेलु यसरी भाग्यमानी भएको पहिलो चोटि होला सायद ! जेठ पन्ध्रसम्म चुत्रोको बोट चहारेर बित्यो । फेरि कामै खाने त रैछ नि भन्ने लाग्न सक्छ ।  त्यसो होइन बिहान दिउँसो त खेतबारीको काम भ्याउन परि गो नि ! बेलुकाको समय भने प्रकृतिको काखमा बिताइयो । यो सौभाग्य जीवनमा फेरि आउला न आउला !

जस्तोसुकै महामारी आओस् । देश बन्द होस्, नाका बन्द होस्, बजार बन्द होस्, सहर बन्द होस्, काम बन्द होस्, कमाइ बन्द होस् तर मुख बन्द नहुने रहेछ ।  प्राणीले खान नछाड्ने रहेछ ।माटोबाहेक अन्यत्र मान्छेका ला खानेकुरा पाइँदो रहेनछ । त्यस कारण प्रविधिको विकासमा हामी जहाँ पुगे पनि हाम्रो आधार माटो नै हो ।  भूमि माता हो, हामी उनका सन्तान हौँ (माता भूमि पुत्रो अहं पृथिव्यस्) भनेर त्यसै भनिएको हैन रहेछ । 

खेतमा बाली फलेसम्म र भकारीमा अन्न भएसम्म डराउनु पर्दैन । त्यसै भनेर खेतबारी जोत्ने ट्र्याकटर पनि किनियो लकडाउनमै । स्थानीय निकायले किसानका लागी पचास प्रतिशत अनुदान पनि उपलब्ध गरायो । चार वर्षदेखि बाँझो रहेको बारी जोतेर मकै छर्‍यौँ पनि । समृद्ध नेपाल निर्माणका लागी हामीजस्ता अनाडीले यतिभन्दा  कति गर्नु ? गाउँको आयस्रोत तरकारी, दूध तथा पशु हुन् । सबैभन्दा ठुलो हिस्सा तरकारी हो । लकडाउनका कारण यो पेसा भाँडियो । दूधबाट बन्ने पनिर पनि तरकारी भएकाले दूध व्यवसाय पनि भाँडियो । बिक्दै बिकेन हैन, भाँडियो । बिचौलिया भाइहरूले दैनिक माल उठाएनन् । उठाएको मालको उचित मूल्य त के अनुचित मूल्य पनि दिएनन् । त्यसपछि किसानले तरकारीलाई स्याहार के गरिराख्ने ?

न विषादी न भिटामिन । सहरमा वैदेशिक तरकारी बिना रोकावट आउने  धादिङ, मकवानपुर, नुवाकोट , काभ्रेबाट नआउने अवस्था बन्यो । राहतको सट्टा आहत । फेसबुकहरूले दूध नबिके घिउ बनाएर बेच्नु नि भनेर सल्लाह दिँदै छादे ।  तर दूधको मूल्य घिउले किन उठाउन सक्थ्यो र ? साँच्चै भन्दा अहिले गाउँ तरकारीले शून्य छ ।

सुरुमा त गाउँलेले पाँच पोका नुन, पाँच किलो चिनी र पाँच लिटर तेल किनेर ढुक्क बने । टाउको लुकाएर सुतुर मुर्गा ढुक्क बनेजस्तै । अहिले फेरि  एक एक किलो किन्न थालेका छन् । गाउँमा बिउको र मलको आतङ्क सधैँ जिउँदो हुन्छ । अहिले पनि छ । सजिलै पाइने चिजमा हलो अड्काएर कृतज्ञता बटुल्ने बानी नेता, कर्मचारी, व्यापारी  सबैमा परेको उदाहरण हो यो । एक किलो चिनीमा भगवान्  बन्न खोज्छन् पापीहरू ।

सुरुमा स्थानीय निकाय मार्फत  साबुन र  मास्क घरमा आइपुग्यो । नुहाउने र हात धुने गर्दा साबुन सिद्धी गयो । चार महिनामा मास्क फाटेर भाइरस त के गिटी नै घाँटीमा पुग्ने भइसक्यो । अहिले सरकार नै फसिसक्यो । हामीले प्रधानमन्त्रीले भन्नुभन्दा अघि देखी नै बेसार पानी खान थालेका थियौँ  । अहिलेसम्म ठिक छौँ । बेसार खेतीलाई महत्त्व दिने मुडमा छौँ । तुलसीको बिरुवा धेरै उम्रेका छन् । खोलादेखि सिम बाबरी (पुदिना) ल्याएर सारेका छौँ । गुर्जोको लहरो झ्यालसम्म आइपुगेको छ । मिठा निमको छहारीमा बसिन्छ । आँगनको डिलमा सन्चोको बुटो भएपछि बिसन्चोलाई के सजिलो होला र ?

 रमाइलो के भने गाउँमा पनि मोबाइल डाटाले राम्रो साथ दिइरहेको छ । फेसबुकमा फोटा राखेर कमेन्ट पढ्न पाइएको छ । कसैलाई पनि यो के गर्दै होला भन्ने जिज्ञासा  छैन । कतिपयले मेरो सामाजिक मर्यादा अनुकूलको प्रस्तुति भएन भनेर चिन्ता पनि व्यक्त गरेका छन् । मलाई झस्काएका पनि छन् । तै पनि 'दिल त्यो बच्चा हे जी' । कोरोनाको प्रताडनाबाट बच्न झ्याउरिनु भन्दा त झ्याउरे छन्दमा गीत गाउनु नै उपयुक्त हो नि  होइन र ?


वेदमा आचार्य तथा नेपाली साहित्यमा स्नातकोत्तर अलङ्कार सामाजिक, वैदिक र साहित्यिक विषयमा लेख्न रुचाउनुहुन्छ ।