पञ्चसुब्बा गुरुङ: ठाडो भाकालाई गण्डकी भेगको मौलिक पहिचान दिलाउने एउटा विस्मृत हस्ती
श्रावण २, २०७७

ठाडो भाका गण्डकी भेगको मौलिक पहिचान बनिरहेको छ । त्यस भेगको ढुकढुकी बनेको ठाडो भाकालाई लोकप्रियताको शिखरमा पुर्‍याउने कलाकारहरूमा देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङको नाम अग्रपङ्क्ति आउँछ । स्थानीयस्तरमा यी दुई प्रतिभाको नाम श्रद्धापूर्वक लिइन्छ । उहाँहरूको योगदानले ठाडो भाकाले लोकप्रियता कमाएको लोकगीतका अध्येताहरूको निष्कर्ष छ ।

ठाडो भाकाको कुरा गर्दा कर्पुटारको नाम नलिँदा अन्याय नै हुन्छ । कर्पुटार बजारले ठाडो भाका मौलाउने मलिलो उर्वर जमिन दियो । यही आधारमा कतिपयले ठाडो भाकालाई कर्पुटारे भाका पनि भन्ने गर्छन् । मादी नदीको किनारमा अवस्थित कर्पुटारमा शिवरात्रि र फागुपूर्णिमा ठुलो मेला लाग्ने गर्छ, जहाँ लमजुङ, गोरखा, तनहुँ, कास्कीलगायतका जिल्लाका जनसमुदायको घुइँचो लाग्छ । त्यही घुइँचोमा हुने जमघटमा देउबहादुर दुरा केटा र पञ्चसुब्बा गुरुङ केटी बनेर ठाडो भाका गाउन सुरु गर्नुभयो । यो कुरा वि.सं. १९७० वरिपरिको कुरा हो ।

प्रश्न उठ्न सक्छ, केटा नै केटी बनेर गीत गाउनुपर्ने अवस्था किन आयो त ? त्यसबेला देउबहादुर दुराले विकास गर्नुभएको ठाडो भाका नयाँ–नयाँ थियो, जुन नवीनम् शैली (जात्र) को रूपमा भर्खर–भर्खर विकास हुँदै थियो । गाउँघरका केटीहरू यो भाका गाउन त्यति अभ्यस्त भइसकेका थिएनन् । यस्तो अवस्थामा केटा नै केटी बनेर गाउनुपर्ने अवस्था थियो । 

यसरी सुरु भएको ठाडो भाकामा देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङबिच प्रेमिल ठोलाबाजी हुन्थ्यो । एकले अर्कालाई गुलाबी क्षेण हुन्थे । सुन्नेलाई निकै घत पर्थ्यो । उहाँहरूले श्रोतागणलाई तीन छक पार्ने गरी गीत निकाल्नुहुन्थ्यो । यी दुईले मायामोह र शास्त्रको गीतमात्र होइन, फूलको प्रकार र माछाका प्रजातिबारे पनि अविराम गीत गाउन सक्थे भन्ने भनाइ संस्कृतिविद् डा. जगमान गुरुङको छ । 

पञ्चसुब्बा गुरुङको अन्त्य काल अलिकता पीडादायी रह्यो । उहाँ लगभग १०–१२ वर्ष दृष्टिविहीन हुनुभयो । जीवनको अन्त्य कालमा पुग्दा संसारलाई चर्मचक्षुले चियाउन पाउनुभएन । पञ्चसुब्बा गुरुङका विषयमा धेरै कुरा विस्मृत भइसकेका छन् । उहाँको साङ्गीतिक योगदानबारे अझै पनि धेरै पक्ष उजागर हुन बाँकी नै छ । 

यी दुई प्रतिभाको घम्साघम्सीपूर्ण ठोलाबाजीबारे आज पनि गीत प्रचलित: ‘देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङ, करापुरमा घमसान’ । जनजिब्रो झुन्डिएको यो बहुचर्चित गीत साङ्गीतिक इतिहासमा एउटा अध्याय बनेर गुन्जिरहेको छ  ।

ठाडो भाकाको इतिहास कोट्याउँदा दुई सय वर्ष अघिसम्म पुग्नुपर्ने हुन्छ । बलेवा (पर्वत) का मनवीर खत्री र राङखानी (बागलुङ) का गोर् या  श्रीस (वि.सं. १८५३—१९५०) ले वि.सं. १८७४ तिर झ्याउरे लयमा ‘सालैजो’ भाका शुरुवात गरेको र त्यसको परिमार्जित रूप ठाडो भाका भएको प्रसङ्ग कालीभक्त पन्तले आफ्नो पुस्तक ‘हाम्रो सांस्कृतिक इतिहास’ मा उल्लेख गर्नुभएको छ । गीतकार चेतन कार्कीले आँधीखोले भाका, सालैजो भाका र कर्पुटारे भाका (ठाडो भाका) लाई भगिनी भाका भनी नामकरण गर्नुभएको छ ।

लमजुङ (बर्धान) का देउबहादुर दुरा र रबैडाँँडा (नयाँ कास्की) का पञ्चसुब्बा गुरुङबिच कर्पुटारमा भेट हुनु र यी दुई जना रौसे गायकको सत्प्रयासबाट ठाडो भाका लोकप्रियतक शिखर चढ्नु र उहाँहरूले बसालेको साङ्गीतिक परम्परा लोकगीतको एउटा विशिष्ट साङ्गीतिक शैलीको रूपमा स्थापित हुनुलाई लोकगीतको इतिहासमा एउटा अतिशय सुखद प्रसङ्ग मान्न सकिन्छ । 

यो सुखद प्रसङ्ग सँगसँगै दुखलाग्दो प्रसङ्ग पनि जोडिन आउँछ । जनस्तरमा लोकप्रियताको शिखरमा पुगेर पनि यी दुई प्रतिभाको व्यक्तित्व र कृतित्वको न उचित अभिलेखीकरण हुन सक्यो, न त राष्ट्रले उनीहरूको योगदान र प्रतिभालाई राम्ररी चिन्न सक्यो । दुर्भाग्य नै भन्नुपर्छ, चर्चित भएर पनि देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङ एक अर्थमा गुमनाम रहनुभयो । 

उहाँहरूका समकालीन गायक–गायिकाले राष्ट्रिय स्तरमै राम्रो नाम कमाएको दृष्टान्त छ । उदाहरणका लागि मित्र सेन (वि.सं.१९५२–२००२), मेलवादेवी (वि.सं.१९५९–२०१२), उस्ताद साइँलाजस्ता कलाकार देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङकै समकालीन हुनुहुन्थ्यो । उहाँहरूको चर्चा धेरै माथि छ । 

देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङबिच तुलना गर्ने हो भने पञ्चसुब्बा गुरुङको चर्चा कम सुनिन्छ । यसको अर्थ पञ्चसुब्बा गुरुङ कम प्रतिभाशाली हुनुहुन्थ्यो भन्ने होइन । ठाडो भाकाको श्रीवृद्धिमा पञ्चसुब्बा गुरुङको योगदान कम देखिन्न । यी दुई प्रतिभा जुम्ल्याहा सन्तानजस्ता देखिन्छन् । यस लेखमा मूलतः पञ्चसुब्बा गुरुङबारे केही उजागर गर्ने प्रयास गरिएको छ । 

पञ्च सुब्बा गुरुङकी बुहारी कृष्णकुमारी  गुरुङ ।

लोकगायक कृष्ण गुरुङ र म २०७१ साल वैशाख ३ गते कास्कीको रबैडाँडा पुगेको थियौँ । हाम्रो उद्देश्य थियो, देउबहादुर दुरा र पञ्चसुब्बा गुरुङको साङ्गीतिक इतिहासबारे थप जानकारी सङ्कलन गर्ने । रबैडाँडास्थित पञ्चसुब्बा गुरुङको घरमा उहाँका बुहारी र नातिसँग भेट तथा वार्तालाप भयो । 

वार्तालापका क्रममा पञ्चसुब्बा गुरुङबारे अहिलेसम्म बाहिर नआएका महत्त्वपूर्ण जानकारी प्राप्त भयो । पञ्चसुब्बा गुरुङको जन्म र मृत्युको तिथि मिति पत्ता लाग्यो । उहाँका नाति सोमप्रसाद गुरुङ (जन्म वि.सं.२०२०) का अनुसार पञ्चसुब्बा गुरुङको जन्म १९४७ साल माघ २६ गते तथा मृत्यु २०३३ साल माघ १४ गते भएको हो । 

रबैडाँडा, कास्कीस्थित पञ्च सुब्बा गुरुङको घर

पञ्चसुब्बा गुरुङको घरमा ऐतिहासिक महत्त्वको एउटा सामूहिक सादा तस्बिर भेटियो । माउन्ट गरिएको तस्बिरमाथि कम्प्युटर टाइप गरेर कागजको लेबल टाँसिएको छ, जसमा पञ्चसुब्बा गुरुङ र देउबहादुर दुराको नाम उल्लिखित छ । त्यो तस्बिर २००४ साल फागुन ८ गते खिचिएको उल्लेख छ । तर, तस्बिर लेखिएको कुरामाथि शङ्का गर्ने ठाउँ छ । देउबहादुर दुरा १९९४ सालतिरै बितेकाले २००४ सालमा खिचिएको भनिएको त्यस तस्बिरमा देउबहादुर दुरा हुने कुरा सम्भव छैन । 

महिला र पुरुष गरी ९–१० जना रहेका उक्त तस्बिर एकदमै मधुरो छ । तस्बिरका मान्छे चिन्नै कठिन पर्छ । उहाँ होचो हुनुहुन्थ्यो भन्ने सर्वत्र चर्चा छ । उहाँका नाति सोमप्रसाद गुरुङले आफ्ना बाजे होचो कदको भएको बताउनुभएको थियो । लोकसाहित्यविद सत्यमोहन जोशीले २००२ सालमा पञ्चसुब्बा गुरुङलाई कर्पुटारमा भेटेको र उहाँ होचो व्यक्ति हुनुहुन्थ्यो भनेर पङ्क्तिकारलाई सुनाउनुभएको थियो । पञ्चसुब्बा गुरुङबारे गाउँघरमा एउटा गीत प्रचलित छ: ‘लाहुरे गल्ला, पञ्चसुब्बा डल्ला, पुगेन इँचैमा’ ।

पञ्च सुब्बा गुरुङ तथा उहाँका साथीहरूको सामूहिक तस्बिर

यी तमाम प्रमाणका तस्बिरमा रहेका होचा व्यक्ति पञ्चसुब्बा गुरुङ हुनुहुन्थ्यो भन्ने निष्कर्ष निकाल्न सकिन्छ । त्यो तस्बिर कसले र कहाँ खिचेको हो भन्ने खुलेको छैन । जे होस्, यो तस्बिरले लुकेर रहेको साङ्गीतिक इतिहास उजागर गर्न थोरै भए सहयोग भने गरेको छ । 

रबैडाँडा भ्रमणका क्रममा पञ्च सुब्बा गुरुङबारे अरू थप जानकारी पनि मिल्यो । पञ्च सुब्बा गुरुङको ससुराली तनहूँको ढोरफिर्दी भएको कुरा पनि खुल्यो । उहाँको वंश वृक्षबारे आंशिक जानकारी प्राप्त भयो । प्राप्त जानकारी अनुसार उहाँको आमा चन्दा गुरुङ हुनुहुन्थ्यो भने पिता बिर्खबहादुर गुरुङ । उहाँका आपूmसहित तीन दाजुभाइ हुनुहुन्थ्यो: जेठा उहाँ स्वयम्, माहिला सुबेदार गोलान्धार गुरुङ र कान्छा वीरजङ्ग गुरुङ । 

पञ्चसुब्बा गुरुङका एक मात्र छोरा नारायणसिंह गुरुङ राजनीतिक प्राणी हुनुहुन्थ्यो । गुरुङले दरबार हाइस्कुलबाट शिक्षा प्राप्त गर्नुभएको थियो । उहाँ के. आई. सिंहको दल खुकुरी दलमा आबद्ध हुनुहुन्थ्यो । २०१७ सालको राजनीतिक परिवर्तनपछि व्यवस्था उहाँ पञ्चायतमा सामेल हुनुभयो । उहाँ लमजुङका समाजसेवी तथा नेता श्रीकान्त अधिकारी (वि.सं. १९८४–२०६९) को समकालीन हुनुहुन्थ्यो । नारायणसिंह गुरुङको नाममा नारायण रबैडाँडामा प्रावि सञ्चालित छ ।

त्रिभुवन राजा भएको बेलामा पञ्च सुब्बा गुरुङ दरबारमा पुगेर गीत गाउनुभएको र प्रतिभा देखाएबापत उहाँले तक्मा र पुरस्कार पाउनुभएको सुनियो । तर, उहाँले प्राप्त गर्नुभएको त्यस्ता तक्मा र पुरस्कारे कुनै पनि त्यस्ता सामग्री भेटिएनन् । शायद, अभिलेखीकरणको अभावमा ती सामग्रीहरू हराएका हुन सक्छन् ।

पञ्चसुब्बा गुरुङको पहिलेको घर साबिकको मिजुरे गाविस–१, नागीधार हो । उहाँका परिवार उहाँ नौ वर्षको उमेरमा नागीधारबाट रबैडाँडा झरेको थियो । त्यसपछि उहाँ गाउँघरको साङ्गीतिक माहौलमा रमाउन थाल्नुभयो । उहाँका बुहारी कृष्णकुमारी गुरुङका अनुसार पञ्च सुब्बा गुरुङ कुनै बेला त १८ दिन जति गीतमा भुलेर घर आउनुहुन्थ्यो । घरमा आएपछि पनि निन्द्रा लागेन भनेर फेरि पनि गीतको खालको खोजीमा हिँड्नुहुन्थ्यो । 

पञ्च सुब्बा गुरुङका नाति सोमप्रसाद गुरुङ ।

कालीभक्त पन्तलाई उध्रृत गर्दै कृष्णप्रसाद पराजुलीले देउबहादुर दुरा र पञ्च सुब्बा गुरुङको साङ्गीतिक योगदान र भाव–भङ्गीबारे यस्तो वर्णन गर्नुभएको छ:

‘द्यौबहादुर (देउबहादुर) दुरा र पञ्च सुब्बा (गुरुङ) दुइटै गालामा दुई हात टाँसी कर्कदै–मर्कँदै गीत झिक्थे अनि गालाबाट हात झिकी थपडी बजाउँदै कुखुरे चालमा फन्को मारेर बस्तै–उस्तै नाच्थे । त्यो चुट्किलो रमाइलो नाचगान हेरेर जोकोही दर्शक लट्टिन्थे । झ्याउरे गीत– नृत्यको यस रमझमले नेपाली युवायुवतीहरूलाई यसरी छोयो उनीहरू मादल, मुर्चुङ्गा आदि बाजाका तालमा गीत गाएर नाच्न–झुम्न थाले । यस क्रममा झ्याउरे गीतका पच्चीसवटा भन्दा बढी भाकामा गीत गाइएको र एघार वटा भन्दा बढी अभिनय गरिएको थियो’ (नेपाली लोकगीतको आलोक, २०५७, पृ. ११४) ।

पञ्चसुब्बा गुरुङको अन्त्य काल अलिकता पीडादायी रह्यो । उहाँ लगभग १०–१२ वर्ष दृष्टिविहीन हुनुभयो । जीवनको अन्त्य कालमा पुग्दा संसारलाई चर्मचक्षुले चियाउन पाउनुभएन । पञ्चसुब्बा गुरुङका विषयमा धेरै कुरा विस्मृत भइसकेका छन् । उहाँको साङ्गीतिक योगदानबारे अझै पनि धेरै पक्ष उजागर हुन बाँकी नै छ । 

तस्बिरहरू: लोकगायक कृष्ण गुरुङ


लेखक प्राध्यापन गर्नुहुन्छ ।