आत्मनिर्भर बनाउने बेठी र साउने सङ्क्रान्ति अर्थात् लुतो फ्याँक्ने परम्परा हराउँदै

फर्कलान् र ती दिनहरू

आत्मनिर्भर बनाउने  बेठी र साउने सङ्क्रान्ति अर्थात् लुतो फ्याँक्ने परम्परा हराउँदै

हरिविनोद अधिकारी  |  साहित्य  |  श्रावण ३, २०७७

ग्वाल्टारमा धेरै वर्ष त बसिएन । रामेछाप पढ्न जाने भनेर २०२३ साल फागुनदेखि घर बाहिर हिँडियो र आजसम्म पनि ग्वाल्टारमा गएर आरामसँग बसिएको छैन भन्दा पनि हुन्छ ।  जबकि मेरो स्थायी थातथलो अहिले पनि त्यही नै हो । मेरो मात्र होइन मेरा नातिनीहरूको समेत जन्म दर्ता त्यहीँ नै छ र स्थायी बासिन्दा म त्यहीँकै हुँ । सायद त्यसैले पनि त्यो ठाउँको पुराना कुराहरूले मलाई अपनत्व महसुस गराउँछ । हुन त हामी दाप्चाबाट गएका रहेछौँ र फेरि काठमाडौँ जाने बाटोबाहेक त्यो ठाउँका वारेका त्यति ध्यान दिएका रहेनछौँ । 

सुने र पाएको प्रमाणअनुसार छविलाल उपाध्यायका नाति, कृष्णभक्तका छोरा पण्डित कुलनाथ शर्मा अधिकारीले न्याय सिद्धान्तमा शास्त्री पास गरेपछि पूर्व २ नम्बरकै पहिलो भाषा पाठशालाको गुरुको रुपमा बाम्ती जानु भएको रहेछ । पछि ठोसेका ब्राह्मण र  साहु व्यापारीहरूले पनि भाषा पाठशालाको स्वीकृति लिएका रहेछन् । मलाई मेरा साथी राजनीतिज्ञ तथा पूर्व सांसद देवशङ्कर पौडेलले एक दिन भेटेर भन्नुभयो–मलाई कुलनाथ पण्डितबाटको फोटो चाहियो किनभने उहाँ नै हाम्रो विद्यालयको स्थापनाकालको गुरु हुनुहुँदो रहेछ ।  मेरो विचारमा सुरुमा सोमनाथ घिमिरे व्यासले पढाउन थाल्नु भयो क्यारे ! पछि रामेछापमा पनि भाषा पाठशाला खुल्यो जहाँ साम्वभक्त गुरुले पढाउनु भयो । सायद ! त्यहीँ नै गुरुले गङ्गालाल र पुष्पलाललाई अक्षर चिनाउनु र प्रारम्भिक शिक्षा दिनु भएको थियो । यो पनि संयोग थियो । रामेछापका तीन लालहरूसँग साम्वभक्त गुरुको सम्बन्ध गाढा थियो । सुब्बा कृष्णलाल अधिकारी उहाँका भिनाजु हुनुहुन्थ्यो । धर्मकुमारी दिदीका श्रीमान् जोसँग बसेर उहाँले शिक्षाको दियो बाल्नु भएको थियो । उहाँकै मकैको खेती भन्ने विद्रोही पुस्तकको कतिपय श्लोकहरू लेख्नु समेत भएको थियो । अनि दुई ओटा चेलाहरू नै भए जसलाई उहाँले जीवनको पहिलो शिक्षा दिनु भयो । 

खेतीलाई आफ्नो धर्म सम्झँदा पो हामी आत्मनिर्भर थियौँ खाने कुरामा । साँच्चै भनौँ भने नुन, मट्टितेल र सुन चाँदी फलामबाहेक केही कुरामा पनि पर निर्भरता थिएन गाउँमा । खोरमा खसी थिए, ढुकुटीमा धान थिए, खोल्मामा मकै थिए, हाम्रो गाउँमा त बुइँगलमा मकै राखिन्थ्यो । कोदो पनि हुन्थ्यो । तोरी त लाइन्थ्यो नै गुन्द्रुकका लागि पनि र तेलका लागि पनि । लुगा देउराली टारमा बुद्धिमान दाइले ल्याउनु हुन्थ्यो  मर मसला पनि पसलबाटै आउँथ्यो । खानका लागि कसैसँग हात कसैले पसार्नु पर्दैनथ्यो ।

कुलनाथ जिबालाई मैले उहाँको उत्तरार्द्धमा जनकपुरमा यसो भेटेँ मात्र । चिनजानसमेत भयो । जनकपुरको ब्रह्मपुरी टोलमा बस्नुभयो जीवनको उत्तरार्द्धमा । हजुरआमा र काका हुनुहुन्थ्यो चिदाम्बर उहाँसँगै । दिदीहरूको बिहे भइसकेको थियो । रामहरि काका उहाँका जेठा छोरा, उहाँको बिहे सायद सैपुमा नै भएको थियो र एक जना सायद ठुली दिदीको बिहे पनि सैपुमा नै भएको  थियो । अहिले पनि भान्दाजुहरु लालगढमा हुनुहुन्छ । हामी सानै हुँदा हजुरबाले ग्वाल्टार छोडेर कहिले धमिले त कहिले जनकपुर बस्न जानु भएकाले सबै कुरा याद भएन तर एउटा कुरा भने अझै पनि भनिन्छ–ग्वाल्टारमा बान्की परेको घर बनाउने, घर वरिपरि पर्खाल लगाउने, कलमी आँप र फलफूलको व्यवस्था गर्ने अनि धान काट्दा पारिन बिटामा बिरालीको लहराले बाँध्ने चलन थियो रे ! पहिले । उहाँले नै जङ्गलबाट बिरालीको लहरा ल्याउँदा एकातिर पहरामा हुने, ज्यान पनि जानसक्ने, अर्कोतिर टाढाबाट ल्याउनु पर्ने भनेर धान पहिले चुट्ने अनि त्यही परालले जुइनोको काम गराउने भनेर सुरु गराउनु भएको रहेछ । पण्डितबाले ठुला ठुला गरा बनाउने , पहिले धान छर्ने चलन रहेछ पाथीको मुरीको रुपमा । पछि उहाँले पातलो वियाड राख्ने, वियाडमा असुरो र सिरिसको मल हाल्ने कुरा सिकाउनु भएछ ।  अनि त्यही चलन चलेको रहेछ । हेर्दा सामान्य तर कसैको ध्यान नपुगेको कुराले पछि सबैलाई सजिलो भएको रहेछ । उहाँ नामुद पण्डित हुनुहुन्थ्यो रे ! उहाँको अर्थसहितको भागवत सुन्न मानिसहरू टाढा टाढाबाट आउँथे रे !

हजुर बा ग्वाल्टारमा नभए पनि काकाहरू रामहरि बा र कृष्णहरि बा ग्वाल्टारमा नै हुनुहुन्थ्यो । उहाँहरू जब ग्वाल्टार छोडेर जान लाग्नु भयो, उहाँहरूको खाइन पाइन हामीले नै किनेर कान्छा बा त्यहाँ गएर बस्नु भयो । अहिले पनि त्यो ठाउँमा विष्णु, विनोद र सानदाजु हुनुहुन्छ । कान्छी आमाले त्यो घर र खाइन पाइन छोड्नु भएको छैन र बेच्नु पनि भएको छैन । साह्रै मिठो कलमी आँप थियो अहिले मरेछ । तर ग्वाल्टारमा कलमी आँपको थालनी उहाँले गर्नु भएको रहेछ । पछिसम्म पनि उहाँले लगाउनु भएको बम्बै आँप कान्छा बाको घरमाथि थियो र हामी त्यो मिठो आँप स्वादले खान्थ्यौँ । हजुर बको बिँडो रामहरि बाले थाम्नु भएको रहेछ । काकाले वेद शुद्धसँग पढाउनु हुँदो रहेछ । त्यसपछि अधिकारी खलकमा संस्कृत पढेर वेद रुद्री चण्डी पढाउने कोही पनि भएका रहेनछौँ । रामहरि बा स्वर्गे हुनुभयो । आफ्नो उत्तरार्द्ध समयमा लालगढमै बस्नुभयो । अझै दाजु र भाइ त्यहीँ छन् । बहिनीहरूको विवाह भइसकेको थियो काका स्वर्गे हुँदा । कृष्णहरि बा अहिले पनि हुनुहुन्छ र हामीलाई उपदेश दिनुहुन्छ, पुराना कुराहरूको जानकारी दिनुहुन्छ । 

जब जब वर्षा ऋतु आउँछ, रोपाईँको सम्झना हुन्छ । सुनकोसीको सम्झना हुन्छ । ग्वाल्टारको मूल कुलामा पानी त बन्दीजोर खोलाबाट ल्याउने हो सिँचाइका लागि तर हामीले  आफूलाई सुनकोसीको सभ्यताको रुपमा पाउँछौँ । रोपाइँमा बाउसे भएर खेतमा ढोडलाई हिलोमा दबाउने खेलजस्तै लाग्थ्यो । आजभन्दा ५०,६० वर्ष पहिलेको सम्झना हो, त्यो बेलामा रोपारलाई ५० पैसा ज्याला दिइन्थ्यो । अलि पछि १ रुपैयाँ  पनि भएको थियो । रोपारलाई खाजा भुटेको मकै र भटमास दिइन्थ्यो । कहिले चिउरा दिइन्थ्यो । तर हली र बाउसेलाई भने चिउरा, साँधेको (भिजाएको) भटमासका र आलुको अचार दिइन्थ्यो । सामान्यतया गोरु र हलीको पैँचोको रुपमा हुन्थ्यो जसलाई पर्म भनिन्थ्यो । रोपारहरुका लागि रोपाइँ चाडका रुपमा हुन्थ्यो । चिटिक्क परेर राम्रा लुगामा आउँथे  घुँडासम्ममात्र फरिया लाउँथे किनभने हिलोमा जो रोप्नुपर्थ्यो । तर आफ्ना आफ्ना वेदना र मिठो स्वरमा गीत गाउँदै रोप्थे । एउटाको रोपाइँको रोपारले अर्को ठाउँमा पनि रोपार लाग्न पाउने हुन्थ्यो । 

बाहरु छुट्टिए पछि हाम्रो खेत ग्वाल्टारमा र दिङदिङ बेँसीमा थियो । पछि  तल फाँटका ती सबै खेतहरू बेचेर अहिले पनि ग्वाल्टारमा खेत र बारी खेत अनि खर पाखो छ । एक प्रकारले हामी अहिले पनि त्यहाँका पुराना बासिन्दा भएका छौँ  ।  अहिले पनि त्यो बेलाको रोपाइको याद ताजा छ । मैलेचाहिँ खोइ किन हो  हलो जोतिन, जोतेको अनुभव गरिएको छैन । सायद ! सुरुमा बाहुनको छोराले जोत्न हुँदैन भनेकाले हो कि ?  त्यसपछि त्यो त सिप न हो, नजानेर कहाँ  जोत्न सकिन्छ र ? हाम्रो खेतमा रोपाइ सुरुमै हुन्थ्यो । माइलदाइले गोरु जोत्थ्यो । ‌‌औंसीका दिन गोरुलाई फुर्सद दिइन्थ्यो, जोतिँदैनथ्यो । अघिपछि पानीको वितरण मिलाएर भए पनि रोपाइँका दिन भाँचेर भए पनि लाउन पाइन्थ्यो । यदि अरूको पनि रोपाइँ रहेछ भने मिलेर पानीको  प्रयोग गरिन्थ्यो । तर परेको पानीले नै पनि खेतमा पानी टलपल हुन्थ्यो । जुन दिन रोपाइँ गर्ने हो, त्यही दिन बिहान वियाड काढिन्थ्यो । अर्थात् बिउ उखेलिन्थ्यो । बाउसेले सबै गरामा बिउ पुर्‍याउँथे र रोपारहरु जोसिँदै रोप्थे । पानी पर्ला भनेर घुम ल्याउने चलन थियो तर घुम  लगाएर रोप्न त गाह्रो हुन्थ्यो । बिचरीहरू रुझेर नै धान रोप्थे । सामान्यतया रोपारहर महिला नै हुन्थे । 

बेठीको चलन हुन्थ्यो ।  मैले सुने अनुसार १०० मुरीभन्दा धेरै खेत रोप्नेले बेठी लगाउँथे । सामान्यतया गाउँका मुखिया, जिमुवालहरुको रोपाइँ र दाइँमा सहयोगका लागि बाउसे, रोपार र हल गोरुहरू लैजाने चलन थियो । बेठीको अर्थ हुन्थ्यो बाजा बजाएर रोपाइँ गर्नु । देउराली टारमा मुखिया बाको हैबारमा बेठी लाग्थ्यो ।  तर हामी हैबारसम्म जाँदैनथ्यौँ । ग्वाल्टारमा जिमुवाल जिबा अर्थात् पुण्यप्रसाद बराल जिबाको खेतमा बेठी लाग्थ्यो । गोल्माथान र त्यसकै वरिपरि गरी करिब १३० मुरी जति खेत थियो जिमुुवाल जिबाको । अनि एकै दिन रोपाइँ हुन्थ्यो । गाउँका सबैले त्यो दिन एक हल गोरु रोपाइँमा पठाउँथे, बाउसे लाग्न जान्थे र रोपारहरु पनि जिमुवाल मान्न आउँथे । त्यो बेलामा दमाई दाइहरूले बाजा बजाउँथे बडो मज्जाले ताल फेरी फेरी । सनईको आवाजसँगै रोपारहरु नाच्दै जस्तै रोप्थे । एक प्रकारले सङ्गीतमय रोपाइँ हुन्थ्यो ।  त्यस दिन बेठीमा आउने  जोकोहीलाई पनि खाजाको व्यवस्था हुन्थ्यो । हलीलाई बाउसेलाई, रोपारलाई र गाउँका अन्य रोपाइँ हेर्न आउने आलीमा बसेर हेर्नेलाई पनि । म त गणेशसँग घरमा जान्थेँ र रोटी केरा च्युरा दही खान्थेँ । सबैले रोपार्इँका दिन आफ्नो गच्छेअनुसारको खाना खाजा तयार गरेर हली, बाउसे र रोपारलाई दिने चलन थियो । मेरो साथी गणेश हुनाले म बेठीमा जान्थेँ नै । अब एक जनासँग व्यक्तिगतरुपमा १०० मुरीभन्दा बढी  खेत पनि छैन र त्यो बेठीको चलन पनि हरायो  जस्तै छ । बेठी एउटा संस्कृति थियो र सायद अब त्यो लोप भयो । मानिसहरूले यन्त्रमार्फत नै  खेती गर्न थालेको बेलामा गोरु पाल्ने र हली राख्ने दिन पनि रहेन । 

तर खेतीलाई आफ्नो धर्म सम्झँदा पो हामी आत्मनिर्भर थियौँ खाने कुरामा । साँच्चै भनौँ भने नुन, मट्टितेल र सुन चाँदी फलामबाहेक केही कुरामा पनि पर निर्भरता थिएन गाउँमा । खोरमा खसी थिए, ढुकुटीमा धान थिए, खोल्मामा मकै थिए, हाम्रो गाउँमा त बुइँगलमा मकै राखिन्थ्यो । कोदो पनि हुन्थ्यो । तोरी त लाइन्थ्यो नै गुन्द्रुकका लागि पनि र तेलका लागि पनि । लुगा देउराली टारमा बुद्धिमान दाइले ल्याउनु हुन्थ्यो  मर मसला पनि पसलबाटै आउँथ्यो । खानका लागि कसैसँग हात कसैले पसार्नु पर्दैनथ्यो । आज हामी अरबौँको खाद्यान्न आयात गरिरहेका छौँ आफ्ना खेतबारी बाँझै राखेर । 

हामीले नयाँ वर्ष लागेपछिको पहिलो चाड भनेको ठुली एकादशी अर्थात् हरिशयनी एकादशी नै हो । त्यो दिन भात खान पाइँदैनथ्यो । मकैको च्याँख्लाको खाना खाइन्थ्यो, फलफूल खाइन्थ्यो र तुलसीको दल पन्ध्र दिन अघि नै राखिएको हुन्थ्यो, त्यो दिनचाहिँ तुलसी रोपिन्थ्यो तुलसाको मठमा । अनि केही दिनमै आउँथ्यो साउने सङ्क्रान्ति । साउने संक्रान्तिलाई लुतो फ्याँक्ने दिनको रुपमा पनि लिइन्थ्यो । काँडा भएका वनस्पतिलाई डढाएर त्यस दिन लुतो फ्याँक्ने भनिन्थ्यो । काग भलायो, कुकुर डाइनो, लुते झार, कुरिलो, पानी अमला, कागतीको हाँगा, अम्बा, सालको हाँगा, पात, नासपाती, अनि अरु काँडा भएका वनस्पतिलाई एकै ठाउँमा डढाएर र त्यहीँ  अगुल्टाहरू बालेर चारै दिशामा फालिन्थ्यो र लुतो खटिरा घाउ अब कहिल्यै नहोस् भनेर  । सायद ! कण्डारक नामको राक्षसको पूजा गरिएको होला । अर्को गाउँमा फर्केर लुतो फालेको भन्दै अगुल्टा फालिन्थ्यो । अगुल्टा पूर्व पश्चिम, उत्तर,  दक्षिण, आकाश, पाताल तिर फालिन्थ्यो । 

हाम्रो गाउँमा देउरालीटारतिर फर्केर लुतो  लैजा भनेर फालिन्थ्यो भने देउरालीटारबाट हाम्रो गाउँतिर लुतो लैजा भनेर फालिन्थ्यो । देउरालीटारमा सायद तीर्थ काकाले बन्दुक पड्काएर साउने संक्रान्तिलाई बिदा गर्नुहुन्थ्यो ।  नाङ्लो ठटाएर, जाँतो पिँधेर, ढिकी कुटेर, बाजा बजाएर, ढोका लगाएर, ढोका बजाएर लुताको बिदाइ गरिन्थ्यो ।  वास्तवमा कण्डारक राक्षसलाई धपाइएको हुनुपर्छ । यो सूर्य दक्षिणायन तिर लाग्ने र दिन छोटा हुने कुराको जानकारी दिइएको पनि होला । वर्षामा हिलो मैलोमा खेतीको काम गर्दा हुने खटिराहरूको बिदाइ पनि होला । खेतीको पहिलो चरण समाप्त भएको खुसीमा यस्तो गरेको पनि होला । माघे सङ्क्रान्तिमा खिचडी खाने जस्तो साउने सङ्क्रान्तिमा त्यस्तो खास परिकार खाएजस्तो लाग्दैन । 

अझ केही सय वर्ष पहिलेसम्म सबैभन्दा लामो दिनको रुपमा मानिन्थ्यो होला । आज पनि त्यो खगोल शास्त्रीय मान्यतालाई मानिँदै आएको छ । तर अहिले असार ४,५,६ गते लामो दिन हुन्छन् भने पुस ४,५,६ गते छोटा दिन हुन्छन् हाम्रो उत्तरी गोलार्धमा । ठिक उल्टो हुन्छ दक्षिणी गोलार्धमा । अर्थात् हाम्रो लामो दिन दक्षिणको छोटो दिन, हाम्रो छोटो दिन दक्षिणको लामो दिन । सौभाग्यले म भदौमा न्यु जिल्यान्ड देशको अकल्यान्ड पुगेको थिएँ, हिउँ चारैतिर डाँडामा देखिन्थ्यो । अनि पोहोर असारमा नर्वेको ओस्लो  पुगेको थिएँ जहाँ रातको ११ बजेसम्म पनि घाम लागिरहन्थ्यो । हामीले त रातको १२ बजे पनि घाम लाग्ने देश भनेर पढेका थियौँ, हो रहेछ । भन्थे ओस्लोका मानिसहरू, बर्गेनतिर त रातै पर्दैन त्यो बेलामा । होला पनि । प्रकृतिको लीला हो जुन सत्य र प्रमाणित हुन्छ । सायद पितृलोक भनेको त्यही होला, छ महिना रात र छ महिना दिन भनेको । उत्तरी ध्रुवमा अहिले रातै पर्दैन र दक्षिणी ध्रुवमा अहिले दिनै हुँदैन । पितृलोकमा पनि छ महिनाको दिन र छ महिनाको रात हुन्छ भनेका छन् ।