हर्मन हेस लिखित  कमला खोज्दै नव सिद्धार्थ, मेरो पहिलो हिमाचल यात्रा
श्रावण ९, २०७७

एअरपोर्टको प्रस्थान भवनमा प्रवेश गर्ने समय भयो । जर्मन मित्र हालिनाले अन्तिम पटक फेरी सोधिन ‘तिमी कम्प्रोमाइज गर्न तयार छौ, आफ्नो निर्णय बदल्छाै भने म यो टिकट च्यातेर तिमीसँग हिड्छु’ ।

 ‘मेरो कुनै पनि निर्णय मस्तिष्कले गरिएका हुन्नन्, म भावना अनुसार बाच्ने प्राणी हुँ तसर्थ म आफ्नो भावना विरुद्ध जान मस्तिष्कको कुटिलता प्रयोग गर्दिन’ ।
'यसको अर्थ तिमी आफ्नो अडान छाड्दैनौ‌ं' ?

‘तपाईँले ठीक बुझ्नु भयो’ ।

बिहान ११ बजेदेखि नै हामी अर्थात म र हालिना नयाँ दिल्लीको एअरपोर्टमा थियौं । उनको दिल्ली–काठमाडौंको तत्कालीन 'आरएनएसी' को 'फ्लाईट' रात्रि १० बजे थियो ।

सन् २००३ ताका दिल्ली एअरपोर्टमा 'फ्लाइट टाइम' भन्दा अगाबै आइपुग्ने यात्रीका लागि प्रतिक्षालयको व्यवस्था प्रमुख भवनका अगाडि पट्टि रहेको छुट्टै भवनमा थियो । हामी प्रतिक्षालयमा बसेको झण्डै ८ घण्टा भइसकेको थियो ।

‘तिमी जान्छौ कहाँ ’? हालिनाले सोधिन् ।

घर परिवार जागीर छोडेर तपाईंसँग हिंड्दा त मैले ‘म कहाँ गइरहेछु’ भन्ने बारे सोचेको थिइन् । अहिलेको परिस्थिती त्यति  जटिल र विकट होइन जे  यसबारे मैले चिन्ता वा भयले अनाहकमा मस्तिष्कको असमय प्रयोग गरौं । यसको फैसला तपाईंसँग छुट्टिए पछि हुन्छ, मेरा पाईला कुन दिशामा सर्छन ।

‘तिमी पागल हौ’ ।
'मलाई यस शब्दसँग प्रेम नभए पनि अरुचि पक्कै छैन । सुविधा, सुरक्षा र  निर्धारित गोरेटो परित्याग गरी  अज्ञात एवम् अज्ञेयसँग मुठभेड गर्ने साहसीलाई संसारले यही उपमा दिन्छ ।

‘यू आर राइट, बट’।
'प्लीज डोन्ट यूज एनी बट', म आफु ‘कम्प्रोमाइज’ गर्दिन भने तपाईंले समर्पण गरेको पनि हेर्न चाहन्न । मलाई मेरो नियतिसँग प्रवाहित हुन दिनुस । तपाईंसँग छुट्टिएर  परदेश मै अभावले दुर्गति भोग्दै हिंड्ने मेरो प्रारब्ध  छ भने त्यो घटित  हुने संभावनामा विराम लाउने कुनै चेष्टा नगर्नुस ।

‘स्योर आइ विल नाट डु इट, बट आइ विल गिभ यू वन सेक्यूरिटी’, मलाई थाहा छ तिमीसँग पैसा छैन ।  विगत ६ महिनादेखि तिमी मसँग छौ ।  म तिमीलाई धेरै पैसा दिएर सुुविधा दिन चाहन्न, यो हजार रुपैयाँ राख । मसँग छुट्टिए पछि यदि आर्थिक अभावले आत्तिएर तिमी काठमाडौं फर्किनेबारे सोच्छौ भने यत्तिले खान नपुगे पनि काठमाडौंसम्म पुग्ने भाडा हुन्छ । ‘ह्वाट आई क्यान से मोर ? गुडलक टू  यू’ ।

'उनको 'लगेज'  घिसार्दै म अघि बढें, उनी सँगै हिंड्दै दुबैजना प्रस्थान भवनको ढोका सामु पुग्यौं, मेरालागि सबभन्दा अगाडि जाने अनुमति थिएन । उनले  मलाई अंगालो हाल्दै  भनिन् - अब यो ‘लास्ट मुमेन्ट’ हो, मभित्र पसे पछि तिमीले चाहेर पनि  मलाई भेट्न सक्दैनौ । म अझै केही महीना काठमाडौँ बस्छु । तिमी अझै   निर्णय बदल्छाै भने म यो टिकट फ्याकेर भोलिका लागि दुइटा टिकट किन्न तयार छुु ।

यस ब्राह्मण पुत्रलाई आफ्नो प्रारब्ध र आत्मविश्वासबाट डिगाउने प्रयास नगर्नुस । तपाईंले दिएको हजार रुपैयाँको सुरक्षा मसँग छँदैछ । तपाइँसँग बिदा भएपछि म नयाँ परिस्थितीले आत्तिए  भने काठमाडौं पुग्ने समस्या हुन्न । दुई दिनमै काठमाडौं पुगिहाल्छु नि ! आठ-दस दिन भोको बस्ने अभ्यास  मलाई छँदैछ ।

‘ओह यू नाट इट फ्रम लास्ट फोर डेज ! लॉन्ग  फस्टिङ्ग इज  नट गुड इन ट्राभलिगं’ । अर्को ५०० रुपैयाँ दिदैँ उनले भनिन् ‘दिस इज  फर समथिंग ईटिंग, ओके वाई प्लीज चेक मेल टाइम टु टाइम एण्ड रेप्लाई मी’ भन्दै उनी प्रस्थान भवनभित्र छिरिन् ।

विगत ३ महिनादेखि हवाईजहाज, कार, वातानुकूलित ट्रेन, सुविधा सम्पन्न होटल र गुणस्तरीय भोजनालयमा यात्रा अवधि  गुजार्दै  आएको म १५०० रुपैयाँको भार बोकी सुस्तरी  पाइतलाले नजीकको चुरोट  पसलतिर गएँ  ।

साँझको ७  बजेको समय, एअरपोर्ट बाहिर चारैतिर व्यापक  चहलपहल छ, चर्को प्रकाश  छ, तीक्ष्ण  कोलाहाल छ, मभित्र भने हलचल छैन, स्थिरता छ, शान्ति  छ । चुरोट तानेर फालेको धुवाँ विभिन्न आकृति बनाउँदै क्रमशः ओझेल हुँदै गइरहेको दृश्य हेर्न म रमाई रहेको छु । यस चुरोटको धुँवा र यसले ग्रहण गर्ने विभिन्न आकृतिका लागि म नै ब्रह्म  होइन र ? यसको भविष्य र अन्त (जुन मलाई लाग्छ, जब यो आँखाबाट अदृश्य हुन्छ) मेरा हातमा नभए पनि यसको उत्पत्ति मेरै कारणले भइरहेको छ ।

अब मसँग सोच्ने समय छैन, एअरपोर्टमा बासको कुनै प्रवन्ध हुन सक्दैन । मैले छिट्टै एअरपोर्ट छाडेर अन्यत्र कतै पुग्नु पर्ने  बाध्यता छ । ट्याक्सी गर्ने मेरो सामर्थ्य  छैन । कसैलाई सोधौं  यहाँबाट ट्याक्सी बाहेक जाने उपाय के ? तर यो सोध्नलाई  पनि दिल्लीको कुनै ठाँउको नाम त हुनै पर्छ ? सहरसँग विल्कुलै अपरिचितले कुन  ठाँउ जाने ? दिल्लीको कुनै ठाँउ जाने होईन, दिल्लीबाट विभिन्न ठाँउ जान सक्ने ठाँउ पो जानु पर्छ भन्ने भान आयो । सोध्दा थाहा भयो एअरपोर्टबाट दिल्लीका विभिन्न स्थान हुँदै बस स्टेसनसम्म जाने यात्रीबसको सुविधा छ ।

बस स्टेसनसम्म पुग्दा ५० रुपैयाँ सकिएको थियो, बसभाडा ५० रुपैयाँ थियो । रात्रिको ९ बज्दा पनि दिल्लीको आइएसवीटिमा असनकै स्थिती थियो । बसका हर्न, कन्डक्टरका आवाज, नियन्त्रण केन्द्रबाट भैरहेको उदघोष, चिया–सिधाडा–अखबार लगायत विभिन्न सामाग्री बेचीरहेका हकरहरुको सम्मिश्रित कर्कश कोलाहालले दुई मिनेट मै आजित बनायो । म जहाँका लागि भए पनि बस चढेर यस नर्कबाट छिटोभन्दा छिटो उम्किन चाहन्थें । तर कहाँ जान, कुन  बस चढ्ने ?  मेरो गन्तब्य के हो भन्ने नै स्पष्ट नभएको बेला कुन बसमा चढौं ? दिमागको बत्ती  बाल्न एउटा खोम्चा तिर लागे, चिया  चुरोट खाँदै सोचमग्न यात्रीको रुपमा घोत्लिन  थालें । लखनऊ र काठमाडौँ बाहेक भारत भरी मैले चिनेका मानिस थिएनन् ।यत्तिकैमा सुनें,  कुल्लू  मनाली, कुल्लु मनाली । मलाई यस शब्दले आकर्षण गर्‍याे । चिया खाएर मनाली जाने बस चढें ।

सिद्धार्थको सम्झना  आयो, हरमन हेस वाला सिद्धार्थ । बुद्धसँघ  छाडे पछि भेट भएकी  कमलाले सोध्छिन, युवक तिमीसँग के छ, तिमी के गर्न सक्छौ ?
'म उपवास गर्न सक्छु, कविता कोर्न सक्छ'।

कमलाका लागि कविता भनेर ‘किस’ कमाई गर्छन पनि सिद्धार्थले । पछि लेखपढ पनि गर्न आउँछ भन्ने थाहा पाएर कमलाले उनलाई आफ्ना ग्राहक नगर सेठ्ठी कामास्वामीकोमा जागीरको व्यवस्था गरिदिएको सारा वृत्तान्त सम्झिन्छु ।

मेरो अवस्था  सिद्धार्थभन्दा अलिक राम्रै थियो–उपवास गर्न सक्थें, कविता गर्न पनि आउँथ्यो, लेखपढ् हिसाब किताब पनि जानेकै थिएँ, पत्रकारिता पनि आउँथ्यो, संसारिक बुद्धि र व्यवहार कुशलता पनि सिद्धार्थभन्दा बढी नै थियो । कमला,  कामास्वामी माझी कोहि न कोहि त ठोकिन्छन  मसँग अथवा म ठोक्किन पुग्छु  कोहीसँग ।

रात्रिको १-२ बजेतिर बस चण्डिगढको स्टैन्डमा रोकियो । ओर्लेर चुरोट खाएँ, चिया खाने मन थियो तर खल्तीको ख्याल गरी  मनको इच्छा पूरा गरिन् । म चुरोट र भाडा बाहेक अन्य सबै थोकमा मितव्ययिता  अपनाइरहेको थिएँ  ।

बिहान ५ बजेको झिसमिसेतिर बस पुनः रोकियो । बाहिर आउँदा काँडेको  सम्झना आयो । रात्रिबसमा काठमाडौं,  बाग्लुङ्ग जाँदा प्रायः यस्तै झिमसिमेमा बस लुम्लेभन्दा अलिक अगाडि काँडेमा चिया खान रोकिन्छ । हिमांचलको मंडी  भन्ने ठाँउ रहेछ । कुन तिथि  थियो थाहा छैन तर पक्कै पूर्णिमाको २-३ दिन पछिको बिहान थियो, पूर्ण आकारको चन्द्रमा र बिहानको शितलताले अनिवर्चनीय सुख प्रदान गर्‍याे ।

‘बाबाजी चाय पिएंगे’, चिया खाइरहेका कन्डक्टरले सोधे ।

‘हाँ, पिऐंगे।

उनले चिया पसलेलाई मलाई पनि चिया दिन भने । र मसँग सोधे, 'आप कहाँ उतरेंगे बाबाजी' ?

‘मालुम नहीं, मैं  पहली बार हिमाचंल आया हूँ  और मेरे पास पैसा नही है' !

चिया खाँदै उनीसँग धेरै गफ भए । उनले मलाई मनाली महंगो र 'टूरिस्ट प्लेस'  भएकोले भुन्तर अथवा कुल्लुमा ओर्लिने सल्लाह दिए । यहाँ केही मठ मन्दिरमा बस्ने खाने व्यवस्था हुन सक्छ, मनालीमा भने गाह्रो हुन्छ । कुल्लु मनालीभन्दा  झण्डै ४० किमी पहिला पर्ने भने उनले र  भुन्तर कुल्लुभन्दा ८-१० किमी  पहिला । उनको सल्लाह भने भुन्तरमै ओर्लिने रहेको थियो ।

९ बजेतिर भुन्तर पुगियो, म त्यहीं ओर्लिएँ । सानो चिटिक्क परेको गाँउ भन्दा अलिक ठूलो बस्ती भुन्तरमा म कुनै आश्रय पाउने आशभन्दा पनि पहिला 'फ्रेस हुने ठाउँको खोजीमा हिंडिरहेको थिएँ । एउटा गुम्बा देखेर त्यहाँ छिरें । त्यहीँ आफू नेपालबाट आएको भनी  'फ्रेस' हुने अनुमति मागें ।

सिद्धार्थ बुद्धसँघ छाडेर हिंडे झैं म पनि गुम्बाबाट बाहिरिएँ । जतिसुकै करुणाका कुरा गरुन बुद्धिष्टहरुले, यिनका गुम्बा र मठमा पानीसम्म सोध्ने चलन हुँदैन । यो मेरो यसै  घटनाको निष्पत्ति  होईन, यसपछि म भारत र नेपालका अनेकौं गुम्बा पुगेको छु सबैको व्यवहार उस्तै पाउने गरेको छु ।

मनमनै सोच्न थालें, ए कमला कहाँ छौ, कहाँ छ तिम्रो लीला उपवन ? म कसरी  त्यहाँ पुगौं र भेटौं तिमीलाई !

आज साँझसम्म त खाने सुत्ने केही  प्रवन्ध हुनु पर्‍याे । नखाएको ५औँ दिन हो, नसुतेको पनि चौंथो दिन हो आज । अन्तिम भोजन र ओछ्यान खजुराहोमै जुरेको थियो । खजुराहोमै मेरो र हालिनाको वाद विवाद हुँदा हाम्रो बाटो छुट्टिएको थियो ।

अचानक कानमा पर्‍याे ध्वनी 'ओम नमो नारायण गुरुभाई कहाँबाट आउनुभयो'।

 मलाई हठात मान भारतीको सम्झना आयो । शिवरात्रीमा पशुपतिमा भेटिने भारतीय  सन्यासी, जुन मलाई सधैं गुरुभाईको सम्बोधनले बोलाउँथे ।

तर यी मान भारती थिएनन् । नेपालबाट घुम्दै आएको भने पछि उनले चिया खाने ‘अफर’  दिए । चिया खाँदै मैले सम्झिएँ मान भारतीले आफ्नो गूरुस्थान हिमाचंलकै कुनै ठाउँमा रहेको भनेका थिए । त्यहाँको फोन नम्बर पनि मलाई दिएका थिए । मैले टेलिफोन डायरीमा उनको गुरुस्थानको फोन नम्बर  खोज्न थालें  ।

‘के फोन गर्नुछ’ ती सन्यासीले सोधे' ? 

हो भनेपछि उनले आफ्नो मोबाइलबाट नम्बर मिलाई दिए । मैले मान भारतीका लागि सोधें, जवाफ पाइयो मान भारती यहाँबाट १५ दिन पहिला उदयपुर जान हिंडेको हो। बाटोमा अथवा उदयपुर पुग्यो होला ।

मैले म उनको खोजीमा नेपालबाट आएको र अहिले भुन्तरमा भएको भने पछि गुरुले मान भारती भुन्तर अथवा कुल्लुमै पनि हुन सक्ने बताए । मलाई भुन्तर कै एउटा 'ल्याण्ड लाइन' नम्बर दिंदै सम्पर्क गर्न भने ।  

एक पटक त गुनासो गर्न मन लाग्यो प्रकृतिसँग हरमन हेसको सिद्दार्थलाइ कमलासँगको भोगविलास उपरान्त माझी वासुदेवसँग भेटिने संयोग । यस २१ औं शताब्दीको सिद्दार्थलाइ सोझै माझीको (मान भारती) शरण !

  (निरन्तर)


म साहित्य,कला,धर्म, दर्शन, अध्यात्म, विज्ञान लगायत कुनै पनि विधाको विज्ञ हाेइन ।