बिपीको नेपाल आगमन र अरिङ्गालको गोलामा ढुङ्गा हान्ने त्यो अनुपम साहस

बिपीको  नेपाल आगमन र अरिङ्गालको गोलामा ढुङ्गा हान्ने त्यो अनुपम साहस

हरिविनोद अधिकारी  |  साहित्य  |  श्रावण १०, २०७७

जीवन त अनुभवहरूको सँगालो नै हो । एउटा मानिसले विभिन्न समयसँगै आफूलाई चाहेर पनि, नचाहेरै पनि गुजारेकै हुन्छ । फरक यत्ति हो, कुनै अनुभवले सम्झँदा पनि आह्लादित होइन्छ त कुनै सम्झँदा पनि मन त्यसै अमिलो हुन्छ र तत्काल प्रतिशोधका लागि उठौँ भन्ने भावना जागृत हुन्छ । संसारमा हुने धेरै युद्ध र विवादका पछिल्तिर कुनै न कुनै त्यस्तो कारण हुन्छ जसले प्रतिशोधको झिल्कोलाई राँको बन्ने मौका प्रदान गरेको हुन्छ । तर कुनै अनुभव भने जीवनभरका लागि साँच्चै स्मरणीय हुन्छन् र त्यही अतीतका भरमा वर्तमानमा बाँच्ने र भविष्यको अझै आशा मरेको हुँदैन । जीवनका आरोह–अवरोह आफैँ निर्मित हुन्छन्, ती आफैँले निर्माण गरेका हुन्छन् । जन्मँदै पनि कति समस्या आनुवंशिकरुपमा हस्तान्तरित हुँदै आएका हुन्छन् भने कति समस्या आफैँ समाधानको रूप लिएर खडा हुन्छन् । तर ती कसरी कारण बन्छन् भन्नेचाहिँ भवितव्य भने पनि हुन्छ या त भाग्यको नाममा छोडे पनि हुन्छ । यसरी अचानक अचानक ती घटना घट्छन् कि त्यसले दिने परिणाम भने जीवनभरका लागि कुनै स्मरणीय हुन्छन्, खुसी प्रदान गर्छन् त कुनै परिणामले जीवनलाई हेर्ने दृष्टिकोणलाई नै बदलेर नयाँ बाटोको आविष्कार गराउँछन् । 

म एउटा प्रजातन्त्रवादी भएका नाताले र नेपाली काङ्ग्रेसप्रति आस्था भएको व्यक्तिको नाताले बिपी कोइरालाप्रति आस्था स्वाभाविकै थियो तर बिपीको व्यक्तित्वलाई भन्दा सिद्धान्तलाई मान्ने भएकाले बिपीप्रतिको आस्था, विश्वास र भरोसा राख्नु त्यो बेलामा, युवावयमा झन् स्वाभाविक थियो । साँच्चै भनौँ भने बाल्यकालदेखि नै बिपीको नामसँग परिचित थिएँ, हाम्रो  परिवार नै परिचित थियो । त्यसको कारण हुन सक्थ्यो–बा काङ्ग्रेस हुनु पनि । हाम्रो परिवार नै काङ्ग्रेसप्रति समर्पित रहेछ । त्यसैले पनि होला, मेरो जेहनमा अरु कुनै पनि कुरा रहेन होला काङ्ग्रेसबाहेक । मैले राम्रोसँग कुरा बुझ्दा या सचेत भएर समाजका बारेमा होस सम्हाल्दा पार्टी प्रतिबन्धित थियो र बा भूमिगत हुनुहुन्थ्यो । पछि बा घरमा आउनु भयो र मलाई बाल्यमानमा के लाग्यो भने बा किन हराउनु भयो ? पछि थाहा भयो, उहाँ र कुलचन्द्र कोइराला काका काङ्ग्रेस भएकाले लुक्नु भएको रहेछ पुलिसले पक्राउ गर्छ भनेर ! हाम्रो घरमा नेपाली काङ्ग्रेससँग सम्बन्धित सामग्रीहरू प्रशस्तै थिए । प्रगति भन्ने पत्रिका पनि थियो, त्यस्ता धेरै कागजातहरू आमाले लुकाउनु भएको थियो भन्ने सम्झन्छु किन रे ! भने पुलिस आएर घर खान तलासी ग¥यो भने बालाई पक्रन्छ र हामीलाई पनि लैजान्छ । कहाँ लैजान्छ भन्ने खासै थाहा थिएन तर राजाले जेलमा थुन्छन् भन्ने सुनेको हुँ । बाहरू भर्खरै छुट्टिनु भएको थियो  र हामी मूल घरको उत्तरी भागमा रहेको मतानमा बसेका थियौँ । गोठ साझा नै थियो । 

बिपीको नाम जेहनमा यस कारणले थियो होला कि त्यो बेलामा निर्वाचन बिपीकै नामले लडिएको थियो होला र घरमा बिपी कोइराला जिन्दाबाद भन्ने नारा लेखेका कागजातहरू थिए होलान् किनभने बा भूमिगत हुँदै म र विष्णुले जखन्थानदेखि मूल घरसम्म नै बिपी कोइराला जिन्दाबाद, नेपाली काङ्ग्रेस जिन्दाबाद भन्दै दुई भाइले एउटा चार तारे झन्डा बाँसको भाटामा राखेर नारा लगाएका थियौँ । अर्थात् चार तारे झन्डा पनि कतै थियो घरमा र हामीले यसै भन्नुपर्छ भन्ने अवचेतन मस्तिष्कको उपजलाई मूर्तरूप दिएका थियौँ । त्यसैले पनि बिपीको नामसँग एउटा अदृश्य अपनत्व थियो । पछि जब सिन्धुली र जनकपुर पढ्न गएँ, त्यो भावनामा पुनर्वल प्राप्त भयो र प्रजातन्त्रको पक्षमा लागिरहने एउटा ऊर्जा प्राप्त भयो भन्दा अत्युक्ति हुँदैन । 

एउटा प्रजातन्त्रवादी हुनका लागि त्यति सजिलो छैन किनभने प्रजातन्त्र भनेको विधिको शासन हो र विधिले आफूलाई नोक्सान हुँदा पनि त्यसको पालना गर्ने क्षमता आफूमा हुनुपर्छ । सायद आजसम्म पनि बिपीको त्यही गुण र क्षमताका कारणले सिद्धान्त बनाउने र त्यसलाई जीवनमा व्यावहारिकरुपले प्रतिपादन गर्ने अर्को कुने प्रजातन्त्रवादी नेता नेपालमा जन्मन सकेन जबकि बिपी स्वयं भने आफूलाई एउटा प्रजातन्त्रको सिपाहीको रुपमा मात्र सम्झनु हुन्थ्यो । उहाँमा एउटा चुम्बकीय त्यस्तो व्यक्तित्व थियो जसले आफ्ना अघिल्तिर आएको सबैभन्दा ठुलो आलोचकलाई पनि आफ्ना सिद्धान्तमा सहमत गराउन सक्नुहुन्थ्यो । सायद त्यसैले होला, उहाँका सबैभन्दा कठोर आलोचक तत्कालीन राजा महेन्द्रले समेत बिपी बराबरको प्रधानमन्त्री अरु हुन नसक्ने भनेर पञ्चहरूसँग भनेका रहेछन् । 

बिपी नेपाल आउनु भयो र चुपचाप बसेको, मुर्दा शान्तिको रुपमा शान्त तर स्थिर राजनीति भनेर पञ्चहरूले भन्ने गरेको पञ्चायतमा त्यसले तुफान ल्यायो जसको परिणाम आजको अवस्थाको परिणामले आङ्कलन गर्न सकिन्छ । बिपीको जीवन नै यस्तै नयाँ नयाँ सङ्घर्षले भरिएको पाइन्छ प्रजातन्त्रका पक्षमा र जनताका पक्षमा । बिपीको नेपाली जनताको नाममा आएको आह्वान हामीले पढेका थियौँ र बढौँ होसियारीसाथ आफ्ना साथीहरूसमक्ष वितरण गरेका थियौँ । 

बिपीका बारेमा म यहाँ खुला इतिहासको वर्णन गर्न चाहन्न किनभने बिपीले एउटा जुन मार्ग नेपालको राजनीतिमा कोर्नु भएको छ, त्यो अमिट छ र आज त्यसैलाई मानेर हामी मुलुकको समृद्धि र सुखको कल्पना गरिरहेका छौँ । बिपी खुला किताब हुनुहुन्थ्यो र आफूलाई लागेको भन्दा समाजको आवश्यकतालाई पहिचान गरी विकासलाई विकासलाई जनताको पक्षमा अनुवाद गर्नुपर्छ भन्नुहुन्थ्यो । बिपी विचारलाई निमिट्यान्न पार्न नेपालमा के पो गर्न बाँकी राखियो र पञ्चायतकलामा, आज पनि कतिपय घटनामा । तर बिपीको त्यो निःस्वार्थरुपमा मुलुकप्रतिको भावना थियो र प्रजातन्त्रप्रतिको नयाँ नयाँ प्रयोग गरेर अविकसित मुलुकहरूलाई विकासको मार्गमा लैजाने सूत्रको रुपमा थियो । 

त्यस्तो महान् र असल व्यक्तिलाई मैले यी चर्मचक्षुले भौतिकरुपमा देख्न पाएँ, नजिकैबाट सुन्न र उहाँका बारेमा लेख्न पाएँ भन्दा पक्कै सानो मान्छेले गरेको नसुहाउँदो नभनिएला भन्ने पनि लागेको छ र कतिले यसलाई स्वाभाविक नभनुन् भन्ने कुराप्रति म अत्यन्तै सजग छु । तर पनि म मेरो अतीतलाई न अब कुनै इरेजरले मेट्न सक्छु, न त बिपीप्रतिको मेरो आस्थालाई म कुनै पनि हालतमा कमी हुन दिन सक्छु । मेरो विचारमा नेपाली इतिहासमा एक जना अनुपम र अद्वितीय व्यक्तिको रुपमा उहाँको अवतरण भएको थियो, प्रजातन्त्रका पक्षमा आफूलाई सतिसालझैँ उभ्याउन र त्यसैका लागि जीवन नै न्यौछावर गर्नका लागि उहाँको जन्म भएको थियो । तुलना त गौतम बुद्ध, पृथ्वी नारायण शाह र भीमसेन थापासँग पनि गरिन्छ तर ती नेपाली इतिहासका महान् व्यक्तिहरूसँग तुलना गर्नुभन्दा आजको नेपाली आधुनिक इतिहासमा सबैभन्दा चर्चित र सिद्धान्तकारको रुपमा उहाँलाई सम्झने गरिन्छ । 

उहाँका बारेमा नसुन्ने कुरै भएन, प्रजातन्त्रवादी भएकै नाताले र प्रतिनिधि सभामा प्रचण्ड बहुमत प्राप्त दल नेपाली काङ्ग्रेसको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री भइरहेको व्यक्तिलाई दल मानेकाले पक्राउ गर्नु, त्यसपछि दलहरूलाई नै प्रतिबन्ध लगाउनु र दलका विरुद्धमा सैनिक शासन लगाएर निर्दलीय व्यवस्थाको सूत्रपात गर्ने राजनीतिक नौटङ्की गर्नु नै राजा महेन्द्रको गल्ती थियो । त्यसरी विना कारण जेल बसेर जेलबाट उहाँ निस्किएको बेलामा म सिन्धुलीमा कक्षा १० मा पढ्दै थिएँ । त्यो दिन म ठुलाबा रामेश्वर गजुरेलको घरमा पुगेको थिएँ, अनि उहाँका घरमा झुन्ड्याइएको रेडियोमा सायद अल इन्डिया रेडियोको समाचार हुनुपर्छ, बिपी छुटेको समाचार सुनेँ, ठुलाबा र दाजु चन्द्रप्रसाद गजुरेल घरेमा हुनुहुन्थ्यो । 

एउटा नयाँ स्फूर्तिको अनुभव किन पनि गरेँ भने अव बीपीबेलामा म सिन्धुलीमा कक्षा १० मा पढ्दै थिएँ ।त्यो दिन म ठुलाबा रामेश्वर गजुरेलको घरमा पुगेको थिएँ , अनि उहाँका घरमा झुन्ड्याएको रेडियोमा सायद अल इन्डिया रेडियोको समाचार हुनुपर्छ, बिपी छुटेको समाचार सुनेँ, ठुलाबा र दाजु चन्द्रप्रसाद गजुरेल घरेमा हुनुहुन्थ्यो । एउटा नयाँ स्फूर्तिको अनुभव किन पनि गरेँ भने अव बिपी छुट्नु भएपछि पक्कै नेपालमा प्रजातन्त्र पुनर्स्थापना हुनेछ । लाग्थ्यो बिपीको उपस्थितिले नै नेपालको राजनीतिक माहौल आफैँ प्रजातन्त्रका पक्षमा आउने छ । तर त्यो मेरो किशोरावस्थाको भ्रम रहेछ । बिपीप्रतिको अगाध आस्था र उहाँको प्रतिभा क्षमताप्रतिको विश्वास रहेछ तर राजनीतिक स्थिति यति नाजुक भइसकेको रहेछ कि बिपीले बारम्बार राजासँग सङ्घर्ष नै गर्नुपरेको इतिहास छ । 

तर बिपी एउटा कालखण्डमा आफूलाई नेपालभित्रै रहेर राजासँग राष्ट्रियतामा सम्बन्धमा सहकार्य र प्रजातन्त्रका लागि शान्तिपूर्ण सङ्घर्षको राजनीतिक लक्ष्य लिएर २०३३ साल पुस १६ गते नेपाल आउनु भयो आफ्ना सहयोद्धा र नेता गणेशमान सिंहसमेत । मानिसहरूमा अहिले पनि के भ्रम छ भने बिपी र गणेशमानजीमा कसले कसलाई बढी सम्मान गथ्र्यो ? सायद गणेशमानजीले बढी ! होइन ! बिपीले गणेशमानजीलाई जुन सम्मान गर्नुहुन्थ्यो सायदै समकालीन, समवयी र सहकर्मी राजनेताहरूले एक अर्कालाई गर्ने सम्मानमा सबैभन्दा मान्य थियो किनभने धेरै कमलाई थाहा होला ।  बिपीको अन्तरवार्ता लिन गणेशमानजी भारत जानु भएको थियो, त्यो युवाले नेपालमा स्वतन्त्रता दिलाउन नेतृत्व लिन सक्छ कि सक्दैन भनेर । अनि अन्तरवार्ता लिन गएको व्यक्ति नै त्यसै बेलादेखि बिपीको व्यक्तित्व र लक्ष्यप्रति विश्वस्त हुनुभयो जुन जीवनपर्यन्त एकाकार भएर रह्यो । बिपीको कार्यभारलाई बिपीको निधनपश्चात् पनि रति नछोडेर प्रजातन्त्र पुनर्स्थापन गुरुत्व अभिभारा पूरा गर्नुभयो र प्रजातन्त्रको पर्याय भएर रहनु भयो ।

म त्यस बेलामा सानोठिमी क्याम्पसमा डिप्लोमा इन बिजनेस एजुकेसन अर्थात् बीएड गर्दै थिएँ । बिपी आउने भनेपछि त्यो बेलामा राजनीति एक प्रकारले कडाइका साथ निषेध गरिएको माहौलमा हामी केही साथीहरूका बिच यसबारेमा छलफल भयो । मेरो सम्झनामा त्यो बेलामा भोजपुरका एकनारायण सापकोटा, बागलुङका पौडेल थरका साथी सायद नाम गोविन्द शर्मा हो कि जस्तो लाग्छ, उहाँहरू जनसर्भिस शिक्षक तालिममा आउनु भएको थियो । अनि मेरो क्लासको सुरेन्द्र लाखे थियो । तर साथीहरूलाई प्रहरीले चक्रपथबाट नै जान दिएन क्यारे ! तर म पनि रामचन्द्र दाइको नेतृत्वमा  बिपी र गणेशमानजीको स्वागतमा पुगेको थिएँ । सानीमा बिना कोइराला हुनुहुन्थ्यो । हामी हजारौँ मानिसहरू बिपीको स्वागतका लागि गएका थियौँ । साना बा विपिन कोइरालालाई अघिल्लै दिन पुलिसले पक्राउन गरिसकेको थियो । धेरै जनालाई पक्राउ गरेको  बुझिन्थ्यो । तर त्यो बेलामा अहिलेको जस्तो सूचना आदान प्रदान गर्ने माध्यम भनेको घर घरमा गएर जानकारी दिने या सीमित फोन भएको ठाउँमा कसैलाई भनेर वा सोधेर जानकारी लिन वा दिन सकिन्थ्यो । बिपीको आह्वानको छापिएको पर्चा लिएर पटनाबाट केही साथीहरू आइसक्नु भएको थियो, आज पनि बिपीको आह्वान भनेको त्यही पर्चा हो ।

हामी हजार पन्ध्र सय थियौँ भने सादा पोसाक प्रहरी र गुप्तचरहरूको सङ्ख्या त्यो भन्दा पनि बाक्लो थियो । त्यसैले बिपीको स्वागतका लागि त्यहाँ हजारौँ थियौँ भन्ने मानौँ । हामी कसो कसो हवाई जहाज 

अवतरण गर्दा हेर्ने ठाउँमा पुगेका थियौँ । बिपीको प्लेन सायद इन्डियन एयरलाइन्सको थियो क्या रे ! किनभने बिपी नेपाली हवाई यानमा आउनु चाहनु हुन्थ्यो । तर सरकारले दिएन जस्तो लाग्छ । तर त्यो प्लेनलाई अर्को प्लेनले छेकिने गरी ल्याएर राख्यो र बिपी, गणेशमानजी, शैलजा दिदीलाई त्यहाँबाट पक्राउ ग¥यो । अब सादा पोसाकवालाहरूले धरपकड, लाठी चार्ज गर्न थाले । सानीमाले तत्काल एउटा ट्याक्सी खोजेर रामचन्द्र पौडेल दाइलाई भगाउनु भयो । हामी सबै भागाभाग भयौँ । दौडँदै चक्रपथसम्म आयौँ । 

सायद ! त्यही दिन मैञा भाउजूमाथि पुलिसले अभद्र व्यवहार गरेको थियो । उहाँलाई बचाउन जाँदा सिन्धुलीका काँग्रेसी युवा नेता भरतराज बराललाई लाठी चार्ज गरेर अस्पतालमा लगेको रहेछ । लमजुङका विद्यार्थी नेता विश्वनाथ अधिकारीलाई पनि त्यसै गरी लछारपछार गरेको थियो जस्तो लाग्छ । त्यस दिन धेरै जसो नेपाली काङ्ग्रेसका नेता तथा युवा नेताहरू, नेविसंघका नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरिसकिएको थियो । तै पनि बिपीप्रतिको आस्था र भरोसाका कारणले स्वागतका लागि हजारौँ सामान्य नागरिकहरू विमानस्थलमा आएका थिए जबकि बिपीलाई ७ ओटा त्यस्ता मुद्दाहरू अदालतमा पर्खेर बसेका थिए जसमा उहाँलाई मृत्युदण्ड माग गरिएको थियो । तर पनि बिपीले अरिङ्गालको गोलोमा ढुङ्गा हानेझैँ गरी बाहिरबाट शान्त देखिने तर प्रजातन्त्रको प्रसव वेदनामा छटपटाइरहेकी नेपाल आमाको चीत्कार सुनेर उहाँ र गणेशमानजी आउनु भएको थियो ।

 अरु त अरु, भारतका सुप्रसिद्ध समाजवादी नेता जयप्रकाश नारायणजीले समेत बिपी आत्महत्याका लागि उद्यत भएर नेपाल फर्कन लाग्नु भएको भन्नुभएको रहेछ । बिपीको राष्ट्रिय मेलमिलापलाई चीनले चीन विरोधी नाराको रुपमा लियो क्यारे ! भारतले भारत विरोधी सङ्गठनका रुपमा लियो क्यारे ! राजाले आफ्नो निर्विघ्न राज्यमा खलल पार्न आएको भन्ने सम्झिए क्यारे ! अनि कम्युनिस्टहरुले आफ्नो सहज तरिकाले राजासँग मिलेर वा पञ्चसँग मिलेर गरिरहेको आफ्नो सङ्गठनमा अब समस्या पर्ने ठाने होलान् किनभने राजा, भारत, पञ्च, कम्युनिस्ट सबैले बिपीको नेपाल आगमनलाई अनौठो र असामयिक मानेका थिए । तर बिपी नेपाल आउनु भयो र चुपचाप बसेको, मुर्दा शान्तिको रुपमा शान्त तर स्थिर राजनीति भनेर पञ्चहरूले भन्ने गरेको पञ्चायतमा त्यसले तुफान ल्यायो जसको परिणाम आजको अवस्थाको परिणामले आङ्कलन गर्न सकिन्छ । बिपीको जीवन नै यस्तै नयाँ नयाँ सङ्घर्षले भरिएको पाइन्छ प्रजातन्त्रका पक्षमा र जनताका पक्षमा । बिपीको नेपाली जनताको नाममा आएको आह्वान हामीले पढेका थियौँ र बढौँ होसियारीसाथ आफ्ना साथीहरूसमक्ष वितरण गरेका थियौँ । 

म त्यो बेलामा किन पनि काङ्ग्रेसका बारेमा बढी जानकार थिएँ भने नेपाली काङ्ग्रेसका युवा नेता विपिन कोइराला मेरो साना बा मात्र होइन कि नेता पनि हुनुहुन्थ्यो । ती युवानेताहरुको समूहमा विपिन कोइराला, शिवबहादुर खड्का, रामचन्द्र पौडेल, चिरञ्जीवी वाग्ले, शेरबहादुर देउवा, प्रेमनाथ अर्याल जस्ता जल्दा बल्दा, पार्टीका लागि जीवन अर्पण गर्न भनेर लागेका युवाहरू थिए भने साप्ताहिक राष्ट्र पुकारमार्फत प्रजातन्त्रको शंखघोष गर्ने होमनाथ दाहालहरूको एउटा बलियो समूह प्रजातन्त्रको पुनर्स्थापनाका कटिबद्ध पूर्व सभामुख तथा नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री तथा संस्थापक नेता कृष्णप्रसाद भट्टराईसँगको प्रत्यक्ष सम्पर्कमा उहाँहरू भावी दिनको एउटा प्रजातान्त्रिक नेपालको काल्पनिक समृद्ध सपनामा सिद्धान्तको अडानमा हुनुहुन्थ्यो । विपिन सानाबाका कारणले मेरो सम्पर्क ती युवानेताहरुसँग हुनुहुन्थ्यो र किसुनजीको चट्टानी अडानका बारेमा थाहा थियो । अरु सबै प्रवासमा जाँदा पनि उहाँ नेपाल छोडेर नजाने प्रणमा हुनुहुन्थ्यो ।

नेपाल विद्यार्थी सङ्घको स्थापनाको उद्घाटन गर्ने आदरणीय नेता किसुनको अडान र प्रजातन्त्रप्रतिको अटल विश्वासका बारेमा जानकारी पाएकै थिएँ । म उहाँहरूको निःस्वार्थ भावप्रति नतमस्तक हुँदै विद्यार्थीहरूका बिचमा नेपाल विद्यार्थी सङ्घको प्रचारमा हुन्थेँ । तर समस्या के थियो भने सानोठिमी क्याम्पस, व्यावसायिक शिक्षाको तालिम दिने ठाउँ भएकाले र धेरैजसो शिक्षकहरू नै कार्यरत विद्यालयबाट तलबी आउने भएकाले त्यहाँ त्यो बेलामा त्यस्तो कुनै सङ्गठन कसैको पनि थिएन ।  तर राष्ट्रवादी विद्यार्थी मण्डलको सङ्गठन गर्न खोज्दा भने हामीले विरोध गर्‍यौँ । किनभने कि त अरु संगठनको पनि शाखा गठन गर्न दिनुपर्‍यो, होइन भने कसैलाई पनि दिनु भएन । २०३२ सालको विद्यार्थी आन्दोलनमा खेमराज सेँढाई सहितका नेविसंघका नेताहरूलाई सरकार विरोधी आन्दोलन गर्दा कारबाही गर्ने धम्की दिइएको रहेछ । म त्यहाँ भर्ना हुँदा सेँढाई दाइ चौथो सेमेस्टरमा हुनुहुन्थ्यो र उहाँ इन सर्भिस शिक्षकको रुपमा चाबहिलबाट तालिममा आउनु भएको रहेछ । पछि उहाँ ल्याब स्कुल आउनु भयो र उहाँकै खालि ठाउँमा म भाग्योदय मावि साँखुबाट सरुवा भएर लेबोरेटरी मावि कीर्तिपुरमा आएको हुँ जहाँ मैले २२ वर्ष लेखा विषय पढाएँ । 

बिपीसँग २०३४ साल कात्तिक ८ गते उहाँकै निवास स्थान जय बागेश्वरीमा मैले भेटेको हुँ सानीमा बिना कोइरालासँग गएको थिएँ । बिपीको अनुहारलाई त्यस बेलामा मैले पढ्ने कोसिस गरेँ , यो अनेक तुफानसँग पनि नडराई उभिरहेको सतिसाल के सोचिरहनु भएको होला भावी नेपालको बारेमा ? 
क्रमशः