ल्याब प्राविधिकको मात्रै होइन, सबै स्वास्थ्यकर्मीको ज्ञान र सीपको परीक्षण पछि मात्र लाइसेन्स दिन सम्भव छ

ल्याब प्राविधिकको मात्रै होइन, सबै स्वास्थ्यकर्मीको ज्ञान र सीपको परीक्षण पछि  मात्र लाइसेन्स दिन सम्भव छ

लोकसंवाद संवाददाता  |  लोकसंवाद  |  चैत्र ६, २०७५

लोकसंवाद डट कमले जनसरोकार र राष्ट्रिय सरोकारका विषयमा लोकसंवाद गर्छ । हामी प्रश्नको उत्तर होइन, यसको समाधानका लागि लोकसंवाद गर्छाैं । लोकसंवादमार्फत् हामी कुनै पनि विषयवस्तुलाई मसिनो गरी पर्गेल्ने जमर्को गर्छाैं । 

आजको विषय छ– बिरामीको रोग पहिचानको लागि गरिने प्रयोगात्मक प्रतिवेदन (ल्याब रिपोर्ट)को विश्वसनीयता । 

रिपोर्ट तयार गर्ने ल्याब प्राविधिक, जसलाई नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले शैक्षिक र अभ्यास गरेको हो भन्ने प्रमाणपत्र दिएकै आधारमा मात्र लाइसेन्स दिइरहेको छ । के ल्याब प्राविधिकहरूले सिकेको ज्ञान र सीपको परीक्षण भएको छ त ? न्यूनतम सीप र ज्ञानको परीक्षण नगरी लाइसेन्स वितरण गर्नु कति जायज छ ? अस्पताल घाटामा जानसाथ चिकित्सकलाई टेस्ट लेख्न व्यवस्थापनले भन्ने गरेको र सोही अनुसार चिकित्सकले परीक्षण लेख्नु कति नैतिक कुरा हो ? ल्याब प्रतिवेदन विश्वसनीय नहुनुमा ल्याबको अवस्था कारक हो कि त्यहाँ प्रयोग हुने औजार ? यिनै विषयमा आजको लोकसंवादमा परस्पर विचार मन्थन गर्दैछौं । यस विषयमा आ–आफ्ना विचार राख्नको लागि नेपाल मेडिकल काउन्सिलका सदस्य प्रा.डा. ढुण्डीराज पौडेल, नेपाल मेडिकल कलेजको अनुसन्धान निर्देशक तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य र ल्याब विज्ञ प्रा.डा. शिवकुमार राई र स्वास्थ्य क्षेत्रका ३२ वटा विधामा लाइसेन्स वितरण गर्ने जिम्मेवारी पाएको नेपाल स्वास्थ्य व्यावसायी परिषद्का रजिस्टार वसन्त अधिकारी सहभागी हुनुहुन्छ । अब सुरु गरौं आजको लोकसंवाद ः

भूपराज खड्का 

प्रा.डा. ढुण्डीराज, वर्तमान चिकित्सकीय उपचार पद्धतिमा ल्याब रिपोर्ट (प्रयोगशाला प्रतिवेदन)को कति महत्व र अनिवार्यता छ ?

प्रा.डा. ढुण्डीराज पौडेल

यसलाई एक उदाहरणबाट प्रष्ट पार्न चाहान्छु, जस्तैः कुनै ठाउँमा डकैती भयो । त्यहाँबाट डाका भाग्यो । उसलाई भेटाउन सकिएन । खोजी गरेर भेटाउनु ठुलो कुरा हो । भेटियो भने त च्याप्प समातेर कारबाही गर्न गाह्रो छैन । जसरी एउटा अपराधी पत्ता लगाउन अनुसन्धान विधि अपनाएर चोर पत्ता लगाइन्छ । त्यसपछि गिरफ्तारी गर्ने र कारबाही गरेजस्तै उपचार पद्धतिमा पनि रोगको पहिचान र उपचारको लागि ल्याब रिपोर्टको अनिवार्यता र महत्वपूर्ण भूमिका हुन्छ । कुन ठाउँबाट उपचार सुरु गर्ने भन्ने निश्चित गर्ने नै ल्याब प्रतिवेदनका आधारमा गर्ने हो । ल्याब रिपोर्ट एकातर्फ उपचारको प्रारम्भिक आधार हो भने अर्कोतर्फ अहिलेको उपचार पद्धति पूरापुर परनिर्भरतामा आधारित छ । फेरि विश्वनीयताको कुरा पनि छ । उपचारको सुनिश्चितता र स्तरीयता जस्ता कुराको लागि पनि ल्याब प्रतिवेदन नभई नहुने पाटो हो । यो उपचार पद्धतिको अभिन्न अंग हो, यसमा शंका गर्ने ठाउँ नै छैन । 

भूपराज खड्का, 

प्रा.डा. शिव, तपाईंले लामो समय ल्याब परीक्षण र ल्याब प्राविधिक उत्पादनका क्षेत्रमा  व्यतित गर्नुभएको छ, वर्तमान उपचार पद्धतिमा ल्याब रिपोर्टको महत्व र अनिवार्यता कतिको छ ? 

प्रा.डा. शिवकुमार राई

डा.पौडेलले भनिसक्नुभएको छ, प्रयोगशालको प्रतिवेदन आधुनिक चिकित्सा पद्धतिको सन्दर्भमा अभिन्न अंग हो । मेरो विचारमा अभिन्न अंग मात्र भनेर पुग्दैन जस्तो लाग्छ । यसलाई अत्यन्तै महत्वपूर्ण अंग भन्नुपर्छ । अथवा वर्तमान उपचार पद्धतिको यो मुटु नै हो । यो नभई चल्दै चल्दैन भन्ने लाग्छ । हामी अहिले २१ औं शताब्दीमा छौं । यस शताब्दीमा हरेक काम गर्न प्रमाणमा आधारित (इभिडेन्स बेस्ड) भएर गर्नुपर्छ भन्ने मान्यता विकास हुँदै आएको छ । मेडिकल अभ्यास पनि इभिडेन्स बेस्ड अभ्यास हो । कुनै पनि राज्य वा संघ/संस्थाले कुनै पनि विषयमा निर्णय लिनुपर्दा पनि प्रमाणमा आधारित भएर गर्नुपर्ने हुन्छ भने झन् उपचार पद्धतिमा प्रमाणमा आधारित हुनै पर्छ । डा. पौडेलले भनेझैं चोर डाकाको पहिचान भएपछि कस्तो कारबाही गर्ने भन्ने कुरा त कानुनमै छँदैछ । तर, महत्वपूर्ण कुरा डाकाको पहिचान गर्ने हो भनेजस्तै रोग पत्ता लगाउने महत्वपूर्ण कुरा हो । त्यो रोग पत्ता लगाउने काम ल्याब्रोटरी (प्रयोगशाला) परीक्षणबाट नै हुने हो । रोग पत्ता लागेपछि मात्रै औषधी दिने, सर्जरी, फिजियोथेरापी वा केमोथेरापी गर्ने थाहा हुन्छ । रोग पत्ता लगाउने काम प्रयोगशाला परीक्षणबाटै हुन्छ । त्यसकारण ल्याब्रोटरी अनुसन्धानबाट  अत्यन्तै महत्वपूर्ण मानिन्छ । तर, अन्य विधालाई नजरअन्दाज गर्नु हुँदैन भन्ने होइन । सबै विधाको आ–आफनो अस्तित्व छ । ल्याब्रोटरी अनुसन्धानबाट  मात्र निक्र्याेल गर्न सकिएन भने अन्य विधाको पनि सहायता लिनुपर्ने हुन्छ । अन्य विधाबाट पहिचान गरिएको समस्याको सुनिश्चितता गर्न पनि प्रयोगशाला जाने हो । यी अन्तरसम्बन्धित छन् । 

भूपराज खड्का
रजिस्टार वसन्त, नेपाल स्वास्थ्य व्यावसायी परिषद्, जसले ल्याब परीक्षणको मापदण्ड र त्यसको परीक्षण गर्ने, ल्याब प्रविधिकलाई लाइसेन्स दिने गरेको छ, वर्तमान उपचार पद्धतिमा ल्याब रिपोर्टको महत्व र अनिवार्यता कतिको देख्नुभएको छ ? 

वसन्त अधिकारी 

कुनै पनि रोगको निदान गर्नको लागि एउटा आधार तथा प्रमाण आवश्यक हुन्छ नै । त्यो आधार दिने भनेको नै ल्याब रिपोर्टले हो । त्यसो भएको हुनाले पनि उपचारमा ल्याब रिपोर्ट अनिवार्य र महत्वपूर्ण विषयवस्तु हो । चिकित्सकीय उपचार पद्धतिमा त यो नभई नहुने विधाका रूपमा लिएको पाइन्छ । 

भूपराज खड्का

चिकित्सकीय उपचार पद्धतिमा प्रयोगशाला प्रतिवेदन नभई नहुने विषय हो भन्ने आम  सहमत देखिन्छ, तर त्यसरी तयार हुने प्रतिवेदनको एकरूपता र विश्वसनीयतामा विभिन्न समयमा विभिन्न प्रश्नसमेत उठ्ने गरेका छन् नि, रजिस्टार वसन्त ?

वसन्त अधिकारी

म यहाँ नेपाल स्वास्थ्य व्यावसायी परिषद्को प्रतिनिधित्व गर्छु । हामीले ल्याबमा काम गर्ने जनशक्ति निवेदनका आधारमा प्रमाणपत्र दिन्छौं । त्यसअघि निवेदकले विश्वविद्यालय वा शैक्षिक संस्थाबाट प्राप्त गरेको प्रमाणपत्रमा न्यूनतम पाठ्यक्रमको अध्ययन गरेको छ कि छैन ? निवेदकले प्रयोगात्मक अभ्यास गरेका छन् कि छैनन् ? यसबारे कागजातको परीक्षण वा अध्ययन गरेर लाइसेन्स दिने गरेका छौं । 

भूपराज खड्का

यो विषयमा अहिलेपछि आउँला, अहिले प्रयोगशाला प्रतिवेदनको विश्वसनीयताको विषयमा मैले जान्न चाहेको हो ?

वसन्त अधिकारी

यो विषयमा अध्ययन र प्रयोगात्मक अभ्यास गरेका मानिसले प्रयोगशाला परीक्षण गर्ने हुँदा पनि राम्रो प्रतिवेदन दिइरहेका छन् जस्तो लाग्छ । 

भूपराज खड्का

प्रा.डा.शिव, एकै समयमा लिइएको स्याम्पल  परीक्षण फरक–फरक ल्याबमा गर्दा रिपोर्ट किन फरक पर्छ, त्यही आधारमा चिकित्सकले औषधी सिफारिस गर्दा पनि धेरै समस्या भएको देखिन्छ, अथवा एकथरी मानिसले नेपालमा परीक्षण गरिएको ल्याब रिपोर्टलाई विश्वास नै गर्न सकिँदैन भन्ने गरेको पनि पाइन्छ, यसमा केले भूमिका खेलेको हुन्छ ?

प्रा.डा. शिवकुमार राई 

किन त्यस्तो हुन्छ भनेर सोध्नुभयो । त्यस्तो हुँदै हुँदैन भन्ने पनि एउटा पाटो छ । किन हुन्छ भनेर हेर्ने पाटो पनि छ । यस विषयमा धेरै कुराले काम गरेको हुन सक्छ । पहिलो कुरा, ल्याबमा काम गर्ने मानिसको दक्षतामा भर पर्छ । ऊसँग भएको ज्ञान र सीपमा भर पर्ने विषय पनि हो रिपोर्ट । दोस्रो कुरा, तपाईंले सुरुमा नै भन्दै हुनुहुन्थ्यो एकदमै हेला गरेको ठाउँमा ल्याब राखिने गरेको छ भनेर । ल्याबको अवस्थिति र वातावरणका कारण पनि रिपोर्ट प्रभावित हुन सक्ने भयो । ज्ञान, सीप र दक्षता हुँदाहुँदै अन्य कुराले पनि असर गरेको हुन सक्छ, जस्तोः त्यहाँ प्रयोग गरिने केमिकल र मेसिनको पनि भूमिका हुन्छ । त्यो कुन कम्पनीको समान हो र त्यो समान ढुवानी गर्दा कतिको सावधानी अपनाइएको छ भन्ने कुरामा पनि रिपोर्ट निर्भर रहने गर्छ । गुणस्तरीयता र विश्वसनीयता भन्नेबित्तिकै धेरै क्षेत्रलाई समेटेको हुन्छ । प्राविधिकले मात्र गल्ती गर्यो भनेर दोषारोपण गर्नु हुँदैन । ल्याबको अवस्थिति, त्यहाँ प्रयोग हुने औजार, प्रयोग हुने केमिकल र ज्ञान क्षमता र सीप सहितको प्राविधिकको स्तर हेरेर मात्र रिपोर्टको विश्वसनीयताको अपेक्षा गर्नुपर्ने हुन्छ । त्यसकारण कुन ठाउँमा, कस्तो मान्छेले, कुन विधि र प्रविधि प्रयोग गरेर परीक्षण गर्यो, रिपोर्ट त्यसैमा भर पर्छ । तपाईंले एकै समयमा लिएको स्याम्पलको फरक रिपोर्ट किन आउँछ भन्नुभयो । एउटै मानिसको एकै पटक लिएको स्याम्पलको पनि रिपोर्ट फरक–फरक आउन सक्छ, उदाहरणको लागिः एकदमै उत्साहित भएको बेला एउटा मानिसको रगतको परीक्षण गर्यो भने उसको सेतो रगतको सेल बढ्ने वा घटनाको पनि हुनसक्छ । सुगरका बिरामीको कुरा गर्दा हिजो के खानपिन गर्यो भन्ने कुरामा पनि निर्भर हुन्छ । त्यस्तो अवस्थामा ल्याब प्राविधिकलाई दोष दिनुपर्छ भन्ने पनि होइन । त्यसो हुँदाहुँदै पनि फरक भइहाल्छ भनेर ल्याबमा हेलचेक्रयाइँ त झनै गर्नुहुँदैन । सही टाइममा सही तरिकाले निकालेको स्याम्पललाई सही ढंगले ट्रान्सफर गरेर सही तरिकाले सही मानिसले परीक्षण गरे मात्रै विश्वसनीय रिपोर्ट बन्छ । त्यसले मात्र नपुगेर गुणस्तरीयता र एकरूपता कायम होस् भनेर ल्याबमा क्वालिटी कन्ट्रोल प्रणाली पनि लागू गरिएको हुन्छ । त्यो भित्री र बाहिरी दुवै लागू हुन्छ । ल्याबमा क्वालिटी कन्ट्रोल प्रणाली निरन्तर लागू भएको हुनुपर्छ । त्यसपछि मात्र यस्ता रिपोर्टको विश्वसनीयताको सुनिश्चितता गर्न सक्छौं जस्तो लाग्छ । 

भूपराज खड्का 

डा.ढुण्डीराज, एउटा चिकिसकले ल्याबको प्रतिवेदन सही र ठिक छ भन्ने विश्वसनीय वा ढुक्क हुने अवस्था कुन अवस्थामा हुन्छ र अहिले भइरेहका ल्याब परीक्षणमा भर पर्ने अवस्था छ कि छैन ?

डा. ढुण्डीराज पौडेल

मैले अघि नै भने नि, उपचार गर्न मात्र होइन, उपचारको निरन्तताको लागि पनि ल्याबको भूमिका हुन्छ । उपचारको विधिबाट हुन सक्ने नकारात्मक असरको निराकरणको लागि पनि ल्याबको अनुसन्धान आवश्यक हुन्छ । म नेपाल मेडिकल काउन्सिलको सदस्य, चिकित्सक र एक स्वास्थ्यकर्मीको नाताले भन्नै पर्ने हुन्छ । हरेका ठाउँमा मानिसको सक्षमता योग्यता, इमान्दारिता, असल नियत आवश्यक हुन्छ । अहिले चिकित्सा क्षेत्रमा देखिएका विभिन्न खालका विकृति धेरै देखा परेका छन्, जस्तैः सेवाभावभन्दा पनि व्यावसायिकता हावी हुँदै गएको छ । सेवाभावभन्दा फाइदामुखी प्रवृत्ति बढी पाइन थालेकोे छ । स्तरीयताभन्दा निहित स्वार्थ बढी देखिन थालेको छ । यसले गर्दा समग्र उपचार पद्धति नै सम्झौतामा चल्न थालेको छ । त्यसैले एउटा चिकित्सक पनि पहिला मानिस हुनुपर्यो, मानवीय भावले ओतप्रोत भएको र जिम्मेवार हुनुपर्यो । चिकित्सक सेवामा मानवीय चरित्रलाई आत्मसाथ गरेको हुनुपर्यो । व्यक्तिको नियत, चरित्र र कमिसनतन्त्रले आक्रान्त हुँदै गएकोे अवस्था छ, जस्तैः एउटा बिरामी आयो । त्यो बिरामीलाई न्यूनतम आर्थिक भार नपर्ने गरी यसलाई अनुसन्धान गरेर उपचार गर्नु त परै जाओस् यसबाट बढी फाइदा कसरी लिन सकिन्छ भन्ने भावना चिकित्सा क्षेत्रमा विकास भएको पाइन्छ । चिकित्सक मात्र होइन, यससँग सम्बन्धित सबैमा एक खालको स्वार्थीपना र कमाउने प्रवृत्ति हावी भएको छ, जुन दुर्भाग्यपूर्ण छ । त्यसमा व्यक्तिको इमान्दारिता र नियतमा पनि भर पर्छ । चिकित्सा सेवालाई अन्यत्र मोडिरहँदा पनि राज्य मुकदर्शक बनेको छ । चिकित्सकलाई सेवाभावका साथ लागिरहने भन्दा गलत बाटो अपनाउने अवस्था सृजना हुन्छ भने यसको प्रत्यक्ष असर पर्छ । यसमा सबै मानिसको भूमिका हुन्छ । तपाईंले भनेको कुरा हामीले स्वीकार्छाैं । स्वास्थ्य क्षेत्रमा त्यस्ता विकृति र विसंगती देखापरेका छन् । यो क्षेत्रको जति विकास भइरहेको छ, त्यति नै विकृति पनि मौलाउँदै गएको देखिन्छ । त्यसो भएको हुँदा यसमा राज्य गम्भीर हुनुपर्छ । यस्तो समयको लागि नै राज्य र नियमन निकायको आवश्यकता पर्ने हो । राज्य भनेको सरकार मात्र होइन, सम्बन्धित निकाय पनि यस सन्दर्भमा राज्य हो । चिकित्सकको बारेमा नेपाल मेडिकल काउन्सिलले सोच्नु र गम्भीर हुनुपर्यो । सम्बन्धित विषयका नियमन निकाय जिम्मेवार र चनाखो हुनुपर्यो । नेपालमा चिकित्सा पेशासँग सरकारी र निजी क्षेत्रमा खोलिएका संस्थामा लापरवाही पनि हावी हुँदै गएको छ । गुणस्तरीयतामा पटक्कै ध्यान दिन छोडिएको छ । अस्पताल घाटामा जान थाल्यो वा कर्मचारीलाई तलब खान गाह्रो भएको अवस्थामा व्यवस्थापन पक्षले चिकित्सकलाई बढीभन्दा बढी टेस्ट लेख्न आग्रह गरेको पाइन्छ । नेपालको अस्पतालमा ‘डाइरेक्टर’ले दिनमा यति थाइराइट हर्मन टेस्ट गरेकै हुनुपर्ने भनी डाक्टरलाई परिपत्र गरेको मैले देखेको छु । यो चिकित्सा क्षेत्रको गलत प्रवृत्ति हो । यो प्रवृत्ति हावी भएको कुरा हामीले स्वीकार गर्नुपर्छ । यो स्वीकार गर्न कुनै हिनताबोध मानिरहनु हुँदैन । यसमा चिकित्सक पनि जिम्मेवार छन् । बिरामीलाई ल्याब परीक्षणको लागि पठाएबापत २५, ३० र ४० प्रतिशत कमिसन चिकित्सकले लिने गरेको कुरा सुनिन्छ । यो एक पाटो छ भने अर्को पैसा तिरेपछि स्तरीय सेवा त दिनुपर्यो नि । थोरै लगानी गरेर बढीभन्दा बढी फाइदा खोज्ने प्रवृत्ति चिकित्सा क्षेत्रमा पनि झनै बढी मौलाउँदै गएको देखिएको छ । 

भूपराज खड्का 

डा. ढुण्डीराज, धेरै हस्पिटलले ल्याब राख्दा अँध्यारो वा हावा नै नछिर्ने ठाउँमा अथवा भर्‍याङमुनि राख्ने गरेको आरोप लाग्ने गरेको छ, ल्याब राख्ने ठाउँ छनोटमा कुन मनोविज्ञानले काम गरिरहेको छ ?

डा. ढुण्डीराज पौडेल
सबै ठाउँमा तपाईंले भनेजस्तै छ भनेर भन्न सकिन्न । कुनै ठाउँमा स्तरीय ठाउँमा पनि राखिएको होला, कुनैमा कम स्तरको वा स्तरहीन पनि होला । कतिपय ठाउँमा ल्याबलाई महत्व पनि दिएको पनि होला । बिरामी ‘राम्रो’ चिकित्सकको नाम सुनेर जाने, राम्रोसँग देखाउने पनि तर कतिपय ठाउँमा ल्याब चलिरहन्छ भनेर कम महत्व दिएको पनि पाइन्छ । ल्यावको गुणस्तर मापदण्डको पालना गर्नैपर्छ । सबै पाटा उत्तिकै महत्वपूर्ण छन् । औषधीको स्तरीयता महत्व भएजस्तै निदानमा उपयोग हुने केमिकलको स्तरीयता हेरिनु र परीक्षण गर्नु पनि त्यतिकै जरुरी छ ।

भूपराज खड्का

प्रा.डा. शिव, किन अस्पतालले ल्याब राख्दा राम्रो ठाउँ छनोट गर्दैनन्, नियमन निकायमा बसेर धेरै ठाउँमा अनुगमन गर्दा के पाउनुभएको छ, यसमा कुन मनोविज्ञानले काम गरेको पाउनुभएको छ ?

प्रा.डा. शिवकुमार राई 

डा. ढुण्डीराजले भनिसक्नुभएको छ । कुनै ठाउँमा ल्याब्रोटरीलाई एकदमै हाइफाई गरेर राखिएको पनि छ । केही ठाउँमा तपाईंले भनेजस्तै ल्याब्रोटरीलाई एकदमै पछि पारिएको अवस्था पनि छ । तर, के हो भने बिरामीको उपचारमा चिकित्सक मुख्य कुरा हो । चिकित्सकले यो पनि हेरौं न भनेपछि ल्याबको कुरा आउने हो । त्यसपछि अनुसन्धानको प्रक्रिया सुरु हुने गरेको देखिन्छ । उपचारको लिडर भनेको चिकित्सक नै हो, त्यसमा कसैले हिनताबोध मानिरहनु हुँदैन । त्यति हुँदाहुँदै पनि उपचार टिमले गर्ने हो भन्ने कुरा पनि चिकित्सकले भुल्नु हुँदैन । टिममा ज–जसले जे–जे भूमिका खेल्नुपर्ने हो त्यो नखेल्ने हो भने खेलमा गेम नभएजस्तै रोगलाई परास्त गर्न सकिँदैन । रोगलाई निको पार्न टिमको भूमिका हुन्छ । यसको भूमिका त हो भनेर हेलचेक्रयाइँ टिमको कुनै पनि सदस्यले गर्नु हुँदैन । स्वास्थ्य क्षेत्रमा गेम जित्ने भनेको बिरामीको रोग निको पारेर हो । त्यसको लागि टिम लिडर चिकित्सक वा प्राविधिक प्रमुखले अगुवाई गर्नुपर्ने हुन्छ । धेरै ठाउँमा त्यो नभएको हो कि भन्ने देखिन्छ । तर, केही ठाउँमा अत्यन्तै प्राथामिकता दिएको पनि पाइन्छ । यसमा चिकित्सक वा प्राविधिक प्रमुख जिम्मेवार छन् भनी उहाँहरूलाई दोषमात्र दिनु पनि हुँदैन । तर, ल्याब्रोटरीको इन्चार्जले पनि भूमिका खेल्नुपर्यो । उसले यस्तो–यस्तो पूर्वाधार आवश्यक छ भनेर माग गरेको छ कि छैन त्यसमा पनि भर परेको हुन सक्छ । सञ्चालक लिडरले यो विषयमा अलिकति मात्र बजेट छुट्याऊ भनेर हेलचेक्रयाइँ भएकै होला । समय अनुसार सुधारका लागि बजेट नमागिएको वा मागेर सुधार नभएको पनि हुनसक्छ । समग्रमा स्वाथ्यकर्मीको उद्देश्य भनेको समग्रमा रोगलाई जित्नु हो । बिरामीको समग्र अवस्थालाई हेरेर रोग निको पार्ने हो । कसैकसैलाई मानसिक समस्या पनि हुन सक्छ । अहिले हामी फिजिकल कुरामा मात्र बढी ध्यान दिइरहेका छौं । चिकित्सक जो स्वास्थ्य उपचारको लिडर पनि हो । उसले सबैलाई सँगै लिएर अगाडि जानुपर्यो । स्वास्थ्यकर्मीले बिरामीसँग ‘इथिकल’ व्यवहार गरेर बिरामीलाई निको पार्नुपर्छ । 

भूपराज खड्का 

रजिस्टार वसन्त, नेपाल स्वास्थ्य व्यावसायी परिषद्ले शैक्षिक संस्थाको प्रमाणपत्र लिएर आउनासाथ उसको पढाइको स्तर वा अभ्यासको सीपको सामान्य परीक्षणसमेत नगरी लाइसेन्स वितरण भइरहेको भन्ने आरोप लागिरहेको छ नि ? के यति सस्तो ढंगले लाइसेन्स वितरण गर्न मिल्छ अथवा परिषद्ले यसरी सजिलोसँग लाइसेन्स वितरण गरेका कारण नै ल्याब रिपोर्टप्रति अविश्वास भइरहेको छ भन्यो भने सही हुन्छ कि गलत ?

वसन्त अधिकारी,
म यो विषयमा जानुभन्दा पहिला ल्याबको गुणस्तरको बारेमा थोरै कुरा राख्छु । ल्याबको कुरा हुनेबित्तिकै दक्ष जनशक्तिको कुरा आउँछ । दक्ष जनशक्ति ल्याबमा पठाउने विषयमा परिषद् अलि नै बढी जिम्मेवार हुनुपर्छ । जब सम्रग ल्याबको कुरा गर्ने हो भने अस्पताल व्यवस्थापनसँग पनि जोडिन्छ । पूर्वाधार र इकुपमेण्ट कस्तो खालको चाहिने र कस्तो खालको सेटिङ भयो भने मात्र ल्याब मान्न सकिन्छ भन्ने विषयमा पनि स्वास्थ्य मन्त्रालयले अहिले स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नति मापदण्ड भनेर बनाएको अवस्था छ । त्यो आधारमा ल्याब व्यवस्था भइरहेको छ । त्यो व्यवस्था अनुसार स्वीकृत दिएपछि मात्रै ल्याब सञ्चालन गर्न पाइन्छ ।  

अब यहाँको प्रश्नतिर जाऊ, नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले सीप र क्षमताको सामान्य परीक्षण नगरी लाइसेन्स वितरण गरेको भन्ने जुन प्रश्न गर्नुभयो । यसमा हामीले लाइसेन्स दिनको लागि एउटा मापदण्ड बनाएका छौं । देशभित्र वा देशबाहिर पनि स्वीकृत भएको पाठ्यक्रमको अध्ययन गरेको छ कि छैन ? त्यो विषयमा पास गरेको छ कि छैन ? भनेर हेरेर मात्र ऊ काम गर्न योग्य छ कि छैन ? सोही अनुसार प्रयोगात्मक अभ्यास गरेको प्रमाणपत्र छ कि छैन ? अस्पतालमा गएर अभ्यास गरेको छ कि छैन ? आदि हेरेर मात्रै लाइसेन्स दिने गरेका छौं । परिषद्मा विज्ञहरूको समूह छ, त्यसले न्यूनतम शैक्षिक योग्यता र अभ्यासको प्रमाण पत्र हेरेर लाइसेन्स दिइरहेको छ । 

भूपराज खड्का 

मैले जान्न चाहेको के हो भने उसको प्रमाणपत्र मात्र हेरिन्छ कि उसको न्यूनतम दक्षताको परीक्षण पनि गरिन्छ ?

वसन्त अधिकारी

अहिले त प्रमाणपत्र र अस्पतालमा प्रयोगात्मक अभ्यास गरेको प्रमाणको आधारमा लाइसेन्स दिने गरिएको छ । देशबाहिर रहेकाको हकमा उनीहरूले पढेका पाठ्यक्रम, प्रमाणपत्र र अभ्यासको प्रमाणपत्र हेरेर लाइसेन्स दिने गरिएको छ ।

भूपराज खड्का 
न्यूनतम दक्षता छ कि छैन भनेर कुनै परीक्षण हामीले गर्ने गरेका छौं कि छैनौ ?

वसन्त अधिकारी

अहिलेसम्म त्यसो गरिएको छैन । तपाईँले भन्न खोज्नु भएको लाइसेन्स परीक्षाको कुरा गर्नु भएको जस्तो लाग्यो । यसअघि पनि परिषद्ले सबै तयारी गरेर स्वास्थ्य मन्त्रालयमा लेखी पठाएको थियो । मलाई जानकारी भएअनुसार विद्यमान कानुनमा लाइसेन्सका लागि परीक्षा लिने भन्ने प्रावधान छैन । प्रमाणपत्रको प्रावधानको आधारमा मात्र दिने व्यवस्था छ, कानुनी रूपमा त्यस्तो प्रावधान छैन । त्यो हुने हो भने परिषद् परीक्षा लिनका लागि तयार छ । यसको अनुमतिका लागि फेरि पनि लेखेर पठाएका छौं । स्वीकृत भएर नआएका कारण पनि परीक्षा लिने व्यवस्था सुरु नभएको हो । तर, परिषद् तयारी हालतमा छ । स्वास्थ्य मन्त्रालयले अनुमति दिनासाथ परीक्षा लिएर मात्र लाइसेन्स दिने व्यवस्था गर्छौं । हाल परिषद्ले ३२ विधामा लाइसेन्स दिने गरेको छ । अब सबै विधामा परीक्षा लिएर मात्र प्रमाणपत्र दिनेतर्फ अगाडि बढ्छ ।

भूपराज खड्का 

प्रा.डा. शिव, वसन्तजीले जे जसरी भए पनि प्रमाणपत्र पेश गरेपछि कागजात हेरेर मात्र लाइसेन्स दिने गरेको बताउनुभयो, सीपको सामान्य परीक्षण समेत नगरी लाइसेन्स दिने परिपाटीले ल्याब रिपोर्टको अविश्वसनीयता बढेको त होइन ?

प्रा.डा. शिवकुमार राई 

अब हामीले कहाँबाट पढेर आयो, कुन अस्पतालमा प्रयोगात्मक अभ्यास गर्यो भनेर हेर्न खोजिएको हो । तर, कतिपय अस्पतालले त यहाँ अभ्यास गरेको हो भनेर त्यतिकै लेखेर दिने गरेको पनि भेटिएको छ । यी सबै कागज पेस गरेपछि लाइसेन्सको परीक्षा लिनुपर्छ भन्ने बहस लामो समयदेखि भइरहेको छ । अब यो सुरुवात गर्नै पर्छ । यो परीक्षा पास गरेपछि मात्र लाइसेन्स दिनुपर्छ । मेडिकल काउन्सिल त के निश्कर्षमा पुग्न थालेको सुनेको छु भने परीक्षा मात्र होइन, दक्षताको पनि परीक्षण गर्नुपर्छ । मेडिकल कलेज पास गरेर आएका चिकित्सकले ४१ प्रतिशत असफल भएको अवस्था छ भने ल्याब प्राविधिकको त्यो अवस्था छैन भन्न त सकिँदैन नि ? विदेशमा पढेर आएका ८० प्रतिशत चिकित्सक मेडिकल काउन्सिलको परीक्षामा असफल भइरहेको अवस्था छ । जो सफल भएका छन्, ती पनि दक्ष छन् त ? भन्ने प्रश्न पनि बारम्बार उठ्ने गरेको छ । अब त सबै स्वास्थ्यकर्मीको दक्षताको पनि परीक्षण गर्नुपर्छ भन्ने कुरा उठ्न थालेको छ । बिरामीसँग नै राखेर स्थलगत रूपमा नै उसको क्षमताको परीक्षण गर्नुपर्छ भन्ने मान्यता अगाडि सार्न थालिएको छ । त्यसो गर्न नसके पनि परिषद्ले कागजी रूपमा मात्रै भए पनि परीक्षा सुरु गर्न ढिलो गर्नु हुँदैन । ऐनमा त थिएन । तर, परीक्षा लिने सम्बन्धमा नियमावली बनेको छ । सोही अनुसार परीक्षा समिति गठन गरेको जानकारी मलाइ पनि छ । त्यो बीचमा किन रोकियो भन्ने बारेमा मलाई थाहा भएन । त्यो कमिटीले सुरु गरेको भए त्यसले निरन्तता पाउथ्यो होला । नियमावलीमा टेकेर परीक्षा सञ्चालन गर्न नरोकिनु पर्ने हो । यदि कानुनी बाधा हो भने त्यसलाई फुकाएर छिटोभन्दा छिटो यो काम थाल्न ढिलो गर्नु हुन्न । यो अनिवार्य गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

भूपराज खड्का

डा. ढुण्डीराज, यो छलफलमा मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा, यसले सामना गरिरहेका चुनौतीका सन्दर्भमा नेपाल स्वास्थ्य व्यावसायी परिषद्ले लिने भनेको परीक्षामा अपनाउने सावधानीको बारेमा अनुभव आदान–प्रदान गर्नु पनि हो र मेडिकल काउन्सिलको परीक्षामा जुन संख्यामा चिकित्सक असफल भएको तथ्यांक बाहिर आएको छ, चिकित्सकीय उपचारको लागि आधार बनाइदिने ल्याब प्रविधिकको के अवस्था छ जस्तो लाग्छ ?

डा. ढुण्डीराज पौडेल

म पहिला त तथ्यांकमा जान चाहान्छु, बिरामी अस्पतालमा उपचार गर्न गयो भने उसले देखाउने भनेको चिकित्सकलाई नै हो । उपचारकोे जस–अपजस पाउने भनेको पनि चिकित्सकले नै हो । कुनै पनि विषयलाई निरपक्ष रूपमा हेरिनु हुन्न, सापेक्षतामा हेर्नुपर्ने हुन्छ । विगतमा पढेका आधारमा मात्र लाइसेन्स दिने गरिन्थ्यो भने अहिले परीक्षा पास गरेपछि दिने गरिएको छ । अब परीक्षाका साथै सीपको स्थलगत रूपमा परीक्षण गर्नुपर्ने अवधारणा आइसकेको छ । यसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा भएका सफल मोडललाई अपनाउन सकिन्छ । ती मोडल अपनाएर पनि सीपको परिक्षण गर्न सकिन्छ । एकपटक लाइसेन्स प्राप्त गरेको मानिस सधैं योग्य हुन्छ भन्ने हुँदैन । लाइसेन्स पाउनेहरूको पनि बीचबीचमा आफूलाई अपडेट गर्ने खालको व्यवस्था पनि गर्नुपर्छ भनेर लागिरहेको अवस्था छ । विश्वमा सीप परीक्षण सम्भव छ, नेपालमा असम्भव भन्ने कुरा हुँदैन । नेपालले यसमा सोचिहाल्नुपर्ने अवस्था छ । सबै स्वास्थ्यकर्मीको ज्ञान र सीपको परीक्षण गरेर मात्र लाइसेन्स दिने व्यवस्था गरिनुपर्छ । चिकित्सक जुन असफल भइरेहका छन् ती नयाँभन्दा पनि पुराना बढी फेल भइरेहका हुन् । जो असफल भएका छन् उनीहरूलाई उपहास गरेर मात्र पनि समस्या समाधान हुँदैन । कति पटक परीक्षामा असफल भएपछि क्लिनिक क्षेत्रमा जान सक्नुहुन्न पो भन्ने हो कि ? १५ वर्षसम्म असफल भइरहेको मानिसलाई बिदा गर्नुपर्छ भन्ने मत पनि आइरहेको छ । यसका परिवारमा समेत ठूलो समस्या सृजना भइरहेको छ । 

भूपराज खड्का

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले ३२ विधामा लाइसेन्स वितरण गरिरहेको छ, तत्काल ज्ञान र सीपको परीक्षण गरेर लाइसेन्स दिन सम्भव छ कि छैन, डा. शिवले भनेझैं कागजी परीक्षा नै सुरु नभएको अवस्थामा सीप परीक्षण गर्न सम्भव छ त ?

डा. ढुण्डीराज पौडेल,

सम्भव छ, यसमा विभिन्न उपाय गर्न सकिन्छ ? अनलाइन परीक्षा लिन सकिन्छ । संसारभर अपनाएका जति पनि उपाय छन्, त्यसको उपयोग गरेर ज्ञान र सीपको परिक्षण गर्न सकिन्छ । नेपालमा सम्भव उपाय अपनाएर पनि गर्न सकिन्छ । स्तरीयताको प्रत्याभूति हुने कुरामा सबैको ध्यान जान जरुरी छ । 

भूपराज खडका 

नेपाल स्वास्थ्य व्यवसायी परिषदले लाइसेन्स वितरण गरिरहेका विधाको ज्ञान र सीप परीक्षण गर्ने विधि के हुन सक्ला, प्रा. शिव ?

प्रा.डा. शिवकुमार राई

यसमा विभिन्न तरिका हुन सक्लान् । नेपालमा तत्काल के गर्न सकिन्छ भने पेपरबेस्ड भए पनि परीक्षा लिन थाल्नुपर्छ भन्ने हो । त्यतिले पनि धेरै फिल्टर आउट गर्न सक्छौं भन्ने हो । पढेपछि परीक्षा पास गरेपछि मात्र अभ्यास गर्न पाइन्छ भन्नको लागि भए पनि यो सुरु गरिनुपर्छ । भलै सीपको परीक्षणमा हामी जान नसकौंला । परीक्षा लिने भन्नेबित्तिकै त्यसको विश्वसनीयता पनि हुनुपर्यो । यसको लागि नेपाल स्वास्थ्य व्यावसायी परिषद्ले एउटा संरचना विकास गर्नुपर्यो । संरचना सञ्चालन गर्न परीक्षाको अनुभव भएकाको राम्रो टिम बनाएर आर्थिक स्रोत जुटाइदिनुपर्छ । काम गर्ने स्वायत्तता समेत दियो भने यो सम्भव छ । थाल्नुपर्यो, बीचमा केही समस्या आयो भने त्यो समाधान गर्दै जाने हो । 

शैक्षिक संस्थाको पनि दह्रोसँग अनुगमन हुनुपर्यो । त्यहाँ पनि ठूलो समस्या छ । यी संस्था सञ्चालकको इमान्दारिता चाहियो भन्ने हो । परिषद्ले एउटा टिम बनाएर समय–समयमा अनुगमन गर्नुपर्यो । अहिले त परिषद्को उपस्थिति पनि देखाउनुपर्यो । कतिपय ठाउँमा परिषद्मा दर्ता नभएका मानिसले पढाइरहेका छन् भन्ने गुनासो पनि आउने गरेको छ । फेरि प्रयोगात्मक अभ्यासको लागि एउटा अस्पतालले दर्जनौं शैक्षिक कलेजलाई अनुमति दिने गरेको गुनासो पनि सुनिएको छ । परीक्षण त परै जाओस्, परीक्षण गरेको नदेखेकोसमेत अवस्था छ । अस्पतालले पैसा लिने र अभ्यास गरेको प्रमाण दिने गरेको गुनासो सुन्ने गरिएको छ । कुनै अस्पतालको कागज ल्यायो भन्दैमा लाइसेन्स दिने होइन कि त्यसमा निगरानी बढाउने हो । बिहान, दिउँसो र बेलुका गरेर तीन वटा कलेज त भ्याउला, अरुले त भ्याउँदैनन् नि, यो पनि समस्या छ । कुनै अस्पतालले १५–२० कलेजसँग प्रयोगात्मक अभ्यास गराउने भनेर पैसा उठाइरहको हल्ला पनि आइरहेको छ । यो पनि के कसो हो ? त्यो पनि काउन्सिलले हेर्नुपर्छ होला । काउन्सिलले अनुगमन गर्दा पढाउने संस्था ठिकै लग्यो । परीक्षा पास गरेर आएको पनि ठिकै लाग्यो । त्यसको आधारमा लाइसेन्स पनि दियौं । तर, यी सबै प्रक्रिया पूरा गरे लाइसेन्स लिएर अभ्यासमा गइसकेपछि त्यसले कस्तो काम गरिरहेको छ भन्ने कुरा पनि काउन्सिलले हेर्दा हुन्छ । म परिषद्को अध्यक्ष हुँदा बुटवल र धरानमा केही ल्याब प्राविधिकले ‘अनइथिकल’ काम गरेको पाएको हुँदा तिनीहरू लाइसेन्सलाई निलम्बन पनि गरिएको थियो, त्यो मैले गरेको हो । काउन्सिलमा त्यो अनुभव पनि छ । काउन्सिलले अलि भिजिबल रूपमा काम गरिनुपर्छ । भलै काउन्सिलको वर्तमान अवस्था के छ ? कोरम पुगेको अवस्था छ कि छैन ? यदि त्यसो छैन भने स्वास्थ्य मन्त्रालयले पनि काम गर्ने वातावरण सृजना गरिदिनुपर्यो । यदि त्यसो भइरहेको छैन भने काउन्सिलमा अहिले जो–जो हुनुहुन्छ । अध्यक्ष, रजिस्टार र रहनुभएको सदस्यले पनि सामूहिक पहल गरेर मन्त्री, सचिवसँग कुरा गरेर वातावरण सृजना गर्नको लागि पहल गर्नुपर्यो । जतिसक्दो चाँडो भएका बाधा अड्काउ फुकाएर काममा अगाडि बढ्नुपर्यो भन्ने मेरो भनाइ हो । 

भूपराज खड्का 

परिषद्को पूर्वअध्यक्ष समेत रहनुभएको प्रा. शिवले नियमावली बनेको र काम गर्नको लागि बाधा छैन भन्नुभयो, अर्को कुरा जुन–जुन शैक्षिक संस्थाले ल्याब प्राविधिक उत्पादनको कोर्स सञ्चालन गरिरहनुभएको छ, उहाँहरू लाइसेन्स परीक्षा नलिई दिनुपर्छ भन्ने दबाब र प्रभावमा परेर परिषद् कानुन छैन भनेर आलटाल गरिरहेको छभन्दा सही हुन्छ वा गलत, परिषद्को रजिस्टारको हिसावले के भन्नु हुन्छ ? 

वसन्त अधिकारी

मलाई जानकारी भए अनुसार परिषद्को नियमावलीमा लाइसेन्स लिने भन्ने उल्लेख नभएका कारण स्वास्थ्य मन्त्रालयमा स्वीकृतको लागि लेखेर पठाएका हौं । कि नियमावलीमा संशोधन गर्नुपर्छ । नत्र तत्कालको लागि स्वास्थ्य मन्त्रालयको स्वीकृति लिएर अगाडि बढ्नुपर्ने हुन्छ । परिषद्ले यसभन्दा अगाडि लाइसेन्सको परीक्षाको तयारी गर्दा बीचमा रोकिएको अवस्था पनि छ । कानुनी प्रावधान नभएकाले रोकिएको थियो । परिषद् अहिले कानुनी जटिलता फुकाउन र कानुनी व्यवस्था गरौं भनेर लागिरहेको छ । त्यसपछि मात्रै परीक्षा लिएर लाइसेन्स दिने भन्नेबारे सोचिरहेका छौं । हामीले यसबारे दस दिनअगाडि मन्त्रालयमा लेखी पठाएका छाैं भने अरु तयारी पनि अगाडि बढाएका छाैं । मन्त्रालयबाट स्वीकृति आउनासाथ यसलाई अगाडि बढाउने हो । पूर्वअध्यक्षले पनि भनिसक्नुभएको छ– परिषद्ले अझ पनि पूर्णता पाएको छैन । परिषद्को ऐनमा विभिन्न संघ/संस्थाको सिफारिसमा स्वास्थ्य मन्त्रालय वा नेपाल सरकारले नियुक्ति गर्नुपर्ने धेरै विज्ञ हुनुहुन्छ, त्यो भइरहेको अवस्था छैन । ल्याबको विज्ञ नेपाल सरकारले परिषद्मा नियुक्ति गरेर पठाउनुपर्ने अहिलेसम्म नआएका कारण पनि लाइसेन्सको परीक्षा लिन समस्या भएको कारण त्यो पनि हो । परिषद्को तर्फबाट विज्ञ पठाइदिन परिपत्र गर्नेदेखि लिएर भेटेर माग गर्ने काम गरिरहेका छौं । विज्ञ सदस्य नभए पनि समितिले काम गरिरहेको छ । अर्को कुरा परिषद्ले कुनै पनि शिक्षण विधि गुणस्तरयुक्त हुनुपर्छ भनेर न्यूनतम मापदण्ड बनाएको छ । त्यो पनि धेरै पुरानो भएको छ, त्यसलाई पनि समय अनुसार सुधार गर्नुपर्ने अवस्था छ । त्यो सुधारको लागि सुझाव संकलन गरेर त्यसलाई परिमार्जन गर्ने काम गरिरहेका छौं, जसमा शिक्षण सिकाइ गर्ने ठाउँको प्रयोगात्मक ल्याबको न्यूनतम पूर्वाधार, पढाइको स्तर र प्रोफेसर कस्तो हुनुपर्ने बारेमा राम्रो प्रतिवेदन तयार पारेको छ । त्यसलाई अन्तिम रूप दिएर स्वीकृत गर्ने अन्तिम चरणमा छौं । त्यो परिषद्ले नै गर्ने हो । यसको उद्देश्य लाइसेन्सका लागि परीक्षा लिनुभन्दा पहिला गुणस्तरयुक्त जनशक्ति उत्पादन होस् भन्ने नै हो । अध्ययन गरेर मात्र नहुने रहेछ भन्ने कुरा मेडिकल काउन्सिल र नर्सिङ काउन्सिलको अनुभवले देखाएको छ । पढेर परीक्षा पास गरेका मानिस पनि लाइसेन्सको परीक्षामा असफल भएको देखाएको छ । सबै क्षेत्रबाट लाइसेन्सको परीक्षा लिएर मात्र दिनुपर्छ भन्ने सुझाव पाइरहेको अवस्था छ । यसलाई परिषद्ले अत्यन्तै गम्भीर रूपमा लिइरहेको अवस्था छ । 

भूपराज खड्का 

स्वास्थ्य मन्त्रालयको अनुमति पर्खेको भन्नुभयो, मानौं मन्त्रालयले अनुमति दियो भने परिषद्ले कति समयमा लाइसेन्सको परीक्षा सञ्चालन गर्न सक्छ ?

वसन्त अधिकारी 

परिषद्ले अनलाइन, सफ्टवेयरदेखि कम्प्युटर लगायतका सबै व्यवस्था गरिसकेको छ । मन्त्रालयले अनुमति दिएपछि विज्ञहरूको परीक्षा सञ्चालन गर्ने समिति बनाएर काम गर्दा चार महिनाभित्र हामी परीक्षा सञ्चालन गर्न सक्ने हालतमा छौं । 

याे पनि

अझ पनि शैक्षिक प्रमाणपत्रकै आधारमा मात्र ल्याब प्राविधिकलाई लाइसेन्स दिने साह्रै नै गलत काम भइरहेको छ