जागिरे दिनचर्यासँगको सम्बन्ध विच्छेद र कृषि सबलीकरण अभियान : एक संस्मरण

जागिरे दिनचर्यासँगको सम्बन्ध विच्छेद र कृषि सबलीकरण अभियान : एक संस्मरण

डा. सदानन्द कडेल  |  दृष्टिकोण  |  श्रावण १५, २०७७

बाल्यावस्था तथा किशोरावस्थामा खेतीपाती

एउटा किसान परिवारमा जन्मेर हुर्केको हुनाले आफ्नो बाल्यावस्था देखी नै खेत, बारी, कोदालो, कोदाली, हल गोरु, हलो, जुवा, नारा, जोतारा आदिसँग परिचित हुने कुरा स्वाभाविकै थियो । स्कुल बिदा भएको बेला मेलामा खाजा पुर्‍याउने,  पँधेराबाट खानेपानी ओसार्ने र वितरण गर्ने, रोपाइँको दिन बाउसे गरेको खेतमा बिउ पाँज्ने, दाइँ गरेको बेलामा गोरु धपाउने काममा बालबालिकाको संलग्नता हुने गर्थ्यो ।  सबभन्दा रमाइलो चाहिँ माथिल्लो गराको आलीबाट तल्लो गरामा बिउ पाँज्ने काम गर्दा हुने गर्थ्यो । रोपारलाई हिलो छ्यापिने गरी बिउको मुठा फ्याँक्दा चप्ल्यांग आवाज आउँथ्यो ।  हिलो परेपछि रोपारले गाली पनि गर्थे ।  तर त्यो गाली भित्र मिठास हुन्थ्यो । त्यसैले निकै रमाइलो हुन्थ्यो । उमेरको परिपक्वतासङै कामको जिम्मेवारी पनि बढ्दै जान्थ्यो ।   

विद्यालयको हरियो पोसाक र  नेपाल भावी किसान 

नयाँ शिक्षा लागु भएपछि हाम्रो स्कुलको नाम 'आदर्श हाई स्कुल' बाट आदर्श व्यावसायिक माध्यमिक विद्यालयमा परिणत भयो ।  फलस्वरूप कक्षा ८ देखि १० सम्म व्यावसायिक विषयहरू समावेश गरियो ।  विसं २०३३ देखी २०३५ सालसम्म (कक्षा ८ देखी १०) अध्ययन गर्दा विद्यालयको पोसाक नै हरियो रङ्गको थियो ।  हरेक विद्यार्थीको सर्टको गोजीमा रातो धागोले बुनेर ने.भा.कि. लेखिएको हुन्थ्यो ।  त्यसको मतलब थियो- नेपाल भावी किसान ।  बागवानी, अन्नबाली र कुखुरा पालन मुख्य विषयको रुपमा समाविष्ट थिए । कक्षा १० मा ४५ जना विद्यार्थीहरूमा एक जना मात्र केटी थिइन् ।  कृषि विषय पढाउने गुरुहरू बिष्णुपुकार श्रेष्ठ र रवि चित्रकार हुनुहुन्थ्यो ।  ने. भा. कि. लेखिएको हरियो ड्रेसमा विभिन्न समूहमा विभाजित भएर प्लट छुट्टाइएको स्कुलको जग्गामा 'प्राक्टिकल' गर्दा निकै रमाइलो हुन्थ्यो ।  स्कुलमा सिकेको जस्तै गरी आफ्नो बारीमा पनि एउटा बिरुवा देखि अर्को बिरुवा बिच ६० सेन्टिमिटरको दुरी कायम गरी काउली लगाइएको थियो ।  घामबाट स-साना बिरुवालाई बचाउनको लागि केराको थम्बाबाट निकालिएको सुप्लोबाट छोप्ने ढकन बनाइ प्रयोग गरिन्थ्यो ।  एसएलसी पछि पनि कृषि विषय पढ्ने मन थियो तर त्यति बेला कृषि विषय पढ्नको लागि चितवनको रामपुर वा लमजुङको सुन्दर बजार जानुपर्थ्यो  ।  काठमाडौँ मै क्याम्पस पढ्ने रुचिका कारण उता जान सकिएन । तथापि त्यस बेला घोकेका धान, गहुँ, रामतोरिया, काउलीका बोटानिकल नाम तथा गाई एवं कुखुराका नामहरू अहिले पनि कण्ठ नै छन् ।  कृषि पढेर भविष्यमा कृषि पेसालाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने उद्देश्य राख्दा गर्व लाग्थ्यो । 

स्थायी शिक्षक र किसानको पूरक भूमिका

विसं २०३९ सालमा घर पायकमै स्थायी प्राथमिक शिक्षक हुँदा भने स्कुलमा कृषि पढेर सिकेको ज्ञानलाई राम्रोसँग व्यवहारमा लागु गर्ने अवसर मिल्यो ।  खेती बालीको मुख्य जिम्मेवारी आमा बुवाको थियो । आफूले पनि भरपर्दो पूरक भूमिका निर्वाह गरियो ।  खेतमा धान र गहुँ तथा आक्कल झुक्कल मकै पनि लगाइन्थ्यो । खेतको आलीमा भटमास रोप्ने चलन थियो । बारीमा मकै, घैया धान, तोरी, तिल, मास, भटमास, गहत, बदाम,उखु तथा थोरै कोदो पनि लगाइन्थ्यो । 'कोदोको रोटी वा ढीडो खाएमा पढ्न आउदैन' भनेर सिकाइन्थ्यो तर कोदाको भुंग्रेरोटी खान चाही मिठो लाग्थ्यो । बेसी तथा मलेखु खोलाको तिरमा आफ्नो बारी भएकोले गर्मी ठाउँमा हुने फलफूलहरू टन्नै हुन्थे ।  खासगरेर माल्भोग, झपरी, घिउकेरा तथा ग्वांद्रे नामका केराहरू गोठसँगको मलखाद नजिकै वा बारीको छेउछाउमा लगाइएका हुन्थे । धेरै बेर तताएर गुलियो बनाइएको भैँसीको दूध र बारीको मालभोग केरासँग आफ्नै खेतको मगमग वास आउने मनभोग चामलको भात खानुको मज्जा बेग्लै हुन्थ्यो । 

 हामी सानो हुँदा पृथ्वी राजमार्ग भर्खर निर्माण गर्न सुरु गरिएको थियो ।  सडक नै नबनेकोले गाडी हुने कुरै थिएन । दुई दिन पैदल हिँडेपछि मात्रै काठमाडौँ पुग्न सकिन्थ्यो । बजार थिएन ।  दूध, केरा, कटहर तथा अन्य फलफूल बिक्री हुँदैनथ्यो । पृथ्वी राजमार्गसँगै बजारको बिस्तार भएपछि मात्रै दूध तथा फलफूल बिक्री हुन थाल्यो । तरकारी खाने बेला र पाकेपछि दुईपल्ट गाउँका हरेक घरलाई रुख कटहर बढ्ने चलन थियो । बारीमा उखु लगाइएको हुनाले बर्सै भरी उखु खान पाइन्थ्यो । मान्छेले धकेलेर मेशिनमा उखु पेलिन्थ्यो । पस्यौटोमा खुदो उमालेर टिनमा राखिन्थ्यो ।  बर्सभरि नै खुदो बिक्री हुन्थ्यो ।  खास गरेर सेल रोटी पकाउँदा चिनीको सट्टामा खुदो हाल्ने चलन थियो । गर्मीमा खानको लागि शख्खर बनाएर राख्ने चलन थियो ।  तोरी र तिलको तेल पेल्न सुरुमा काठे कोल थियो । पछि आएको मिलले त्यसलाई विस्थापित गर्‍यो । खुत्रेढाडको मकै पिँद्ने घट्ट भने धेरै पछिसम्म नै चलिरह्यो । ‘घट्ट जाँदा बिसाउन हुँदैन, ठट्टा गर्दा रिसाउन हुँदैन’ भन्ने उखान मैले त्यति बेला नै सुनेको थिएँ । 

मलाई तीन कुराले सन्तुष्टि दियो  ।  पहिलो, दुई बाली धान लाग्ने खेतबाट उत्पादन सुरु भएपछि पारिवारिक खाद्य सुरक्षामा टेवा पुग्ने देखियो भने खेती गर्ने भाइको परिवारको जीविकोपार्जनमा समेत सहयोग पुग्ने भयो । दोस्रो, अब खेत बाँझो रहने भएन  । सङ्घीय सरकार र पालिकाको जग्गा बाँझो नराख्ने नीति अनुसार अगाडी बढेर सहयोग गर्न सकिने भयो ।  आउने कात्तिक-मङ्सिरमा धानकै बाला झुलेको खेतको पृष्ठभूमिमा फोटो खिच्न सकिने भइयो ।  तेस्रो, जतिसुकै पढे पनि, जे जस्तो पेसा र पदमा संलग्न रहे पनि मातृपेशा कृषिलाई पूरक रुपमा निरन्तर अगाडी बढाई रहन सक्दा सन्तुष्टिले गम्लंग अँगालो हाल्छ भन्ने सन्देश प्रवाह गर्न पनि यो कार्य सहयोगी होला कि भन्ने आशा पलायो ।       

बारीमा केरा, आँप, अम्बा, मेवा, रुख कटहर, भूइँकटहर, नासपाती, लिची, निबुवा, कागती, चाक्सी, भोगटे, ज्यामिर, आरु, आरुबखडा, खर्बुजा, तरबुजा, काँक्रो, अमला, जमुनो आदि जस्ता फलफूल हुन्थे ।  रुख चढेर फलफूल टिप्न वा झार्न अत्यन्तै मज्जा लाग्थ्यो । स्थानीय रूपमै तयार गरिएको काठको मेशिनमा निबुवा पेलेर चुक बनाइन्थ्यो । ज्यामिरको चुक चाही गर्मी मौसममा सर्बतको रुपमा प्रयोग हुन्थ्यो । पछि खानको लागि आँपको माडा बनाएर राख्ने चलन थियो । अमलाको तितौरा पनि बनाइन्थ्यो । क्रियापुत्रीलाई काँचो केरा भुटेर खान दिने चलन थियो ।  रुख कटहर र पाकेको फर्सीको बियाँ भुटेर खानको लागि पछिसम्म राखिन्थ्यो । 

आफ्नै बारीमा आलु, मुला, गोलभेँडा, करेला, फर्सी, बोडी, टाटे सिमी, घिउ सिमी, रामतोरिया, चिचिन्डा, घिरौँला, कर्कलो, पिँडालु, रायो साग, काउली, बन्दा कोभी, भन्टा, लौका, प्याज, खुर्सानी, भेडे खुर्सानी, चम्सुर, पालुङ्गो, धनियाँ आदि लगाइन्थ्यो ।  हलेदो लगाएर बेसार बनाइन्थ्यो भने अदुवा खेती पनि छदै थियो ।  खास गरेर काउली, चम्सुर, पालुङ्गो, धनियाँ, भेडे खुर्सानी चैँ अलिक पछि मात्र सुरु भएका तरकारी थिए । हरेक किसान परिवारले वर्षभरि आफ्नो लागि चाहिने तरकारीको जोगार गर्थ्यो ।  तरकारीको अभाव हुने समयको लागि मुलाको सिन्की, सुकाइएको करेलाको चाना, पाकेको फर्सी, तामा, कर्कलोबाट बनाइएको मस्यौरा साँचेर राख्ने परम्परा थियो । सबै खानेकुराहरू अर्ग्यानिक तथा स्वादिला हुन्थे । तिलको छोप, चुक र हरियो खुर्सानी हालेर पकाइएको करेला र रामतोरियाको अचार सम्झिदा अहिले पनि मुख रसाउँछ ।  स्कुलमा शिक्षकको जिम्मेवारी र साँझ बिहान तथा बिदाको दिन खेती किसानीको पूरक भूमिकाको राम्रो तालमेल थियो । यो जिम्मेवारीमा रहँदा दिनभरि रोपाइँमा बाउसे गर्ने काम सामान्य नै हुन्थे । मुरीको धोक्रो बोकेर दौडने कार्य सहज थियो । यसबाट सबैभन्दा बढी सन्तुष्टि अभिभावकलाई मिलेको थियो ।   

अध्ययन र पेसागत व्यस्तताले कृषिसँग बढेको दुरी

आफूलाई साधैभरि उही काम गर्न मन नलाग्ने र नयाँ नयाँ कार्यालयमा फरक फरक काम गर्न मन लाग्ने भएकोले आयोग लडेर प्राप्त गरिएको स्थायी प्राथमिक शिक्षकको जागिर छोडेपछि कृषि कर्मसँगको दुरी क्रमशस् बढ्दै गयो । उच्च शिक्षा अध्ययनको हुटहुटीले कीर्तिपुरतर्फ  डोर्‍यायो ।  एमफिल र पीएचडीले  त धकेलेर नयाँ दिल्ली नै पुर्‍यायो।  छोटा कोर्ष र तालिम हाँसिल गर्ने अभिलाषाले इजरायल, फ्रान्स र अस्ट्रेलिया तिर तानेर लग्यो।  प्राथमिक, निम्न माध्यमिक, माध्यमिक शिक्षक हुँदै दुइवटा क्याम्पसमा लेक्चररको भूमिका निर्वाह गरियो ।  एउटा राष्ट्रिय गैर सरकारी संस्था, तीन वटा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, दुइवटा संयुक्त राष्ट्रसङ्घीय संस्था र एउटा विदेशी कूटनैतिक नियोग (दूतावास)सँग सम्बद्ध भएर १२ वटा कार्यालयमा २७ वर्ष  समय बिताइयो । 

यी सबै कामहरू शिक्षासँग सम्बन्धित थिए । जिन्दगी पेसागत डेडलाइनै हेडलाइनको खातमा पुरिन थाल्यो ।  त्यसले आफ्नो खेतको रोपाइँमा सामेल हुने अवसरबाट वञ्चित गराइदियो । यद्यपि समय निकाल्ने प्रयासमा आफू चुकेको तथ्य पनि सही नै हो ।  विद्यावारिधिको प्रमाणपत्र सिरानी हालेर सुत्दै जागिरको बर्को ओढेर कपाकप घिउ मात्रै खाइरहन मन लागेन । अध्ययन अनुसन्धानमा जमेर लाग्ने र डिग्रीको सही सदुपयोग गर्ने आकाङ्क्षा मनभित्र अन्कुरायो । त्यसमाथि सदैव नयाँ नयाँ काम गर्न रुचाउने बानीले अध्ययन अनुसन्धानमा कस्सिएर लाग्न थप मलजल गरियो ।  आखिर जागिर सदा सर्वदा भइरहने कुरा पनि त हैन ।  त्यसमा त उमेरको पावन्दी हुन्छ । करारको बन्देज हुन्छ । आफूलाई पाको भइसकेँ भन्ने नलागे पनि सेवा निवृत्त जिन्दगानीले नजिकैबाट टुलुटुलु हेरी रहेको सत्यलाई नकार्न सकिन्न ।  फलत: जागिरे दिनचर्यासँग सम्बन्ध विच्छेद गरियो । 

जननी, मातृभूमि र माटोको माया 

नेपालको निशान छापमा समाविष्ट आदर्श वाक्य हो ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ ।  यसको अर्थ हो आमा र मातृभूमि स्वर्गभन्दा नि महान् छन् ।   संसारमा आफ्नो जन्मभूमिको माया नगर्नेहरू बिरलै होलान् ।  मलाई पनि आफ्नो जननी र जन्मभूमिको औधी माया लाग्छ ।  डेढ दशक अघिसम्म आमा बुवा गाउँमै हुनुहुन्थ्यो । म बेलाबेला उहाँहरूलाई भेट्न गाउँमा गइरहन्थे । घर पुगे पछि एक चक्कर सबैतिर लगाउने गर्थेँ ।  उल्कै रमाइलो लाग्थ्यो ।  आमाबुवा काठमाडौँ आउनु भएपछि गाउँ जाने क्रम अलिक पातलियो । खेतीपाती अधियाँमा चलिरहेकै थियो ।  कोही नभए पनि आफ्नो घरकै भकारीमा धान भण्डारण गरिएको हुन्थ्यो ।  माथिल्लो तलामा मकैको कुन्यू हुन्थ्यो ।  वि. सं. २०७२ सालमा जब भूकम्पले घर नढाले पनि बस्नै नहुने बनाइदियो, घर भत्काउनु पर्ने अवस्था सिर्जना भयो ।  खेती गर्ने युवाहरू खाडी मुलुक तिर हानिए ।  गाउँमै भएकाहरू पनि भूकम्पले भत्काएका घर निर्माणमा लाग्न थाले ।  केही पाखो त बँझिएकै थियो, खेत पनि बँझियो ।  

विस २०७० मा महान् नेता तथा दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नसेल्न मण्डलाको ९५ वर्षको उमेरमा देहावसान भयो ।  मन्डेलाले आफ्नो मृत्यु पछि पार्थिव शरीरलाई आफ्नो जन्मस्थानमा लगी सद्गगद गराउने चाहना राखेका थिए । सोही अनुसार राजधानीमा नभई मण्डलाको जन्मथलो पूर्वीय केप प्रान्तको युनुमा उनको अन्त्यष्ठी गरिएको थियो ।  सुप्रसिद्ध डाक्टर तथा पूर्व मन्त्री उपेन्द्र देवकोटाले आफू मर्नु अघि आफ्नो जन्मथलो गोरखा जिल्लाको बोहोरागाउँ स्थित सिस्ने धाराको पानी खाने चाहना राखेकाले उनकी श्रीमती डा. मधु दीक्षित देवकोटाले दुईवटा हेलिकप्टर भाडामा लिएर उनको इच्छा पुरा गरी दिएकी थिइन्  । बोल्न नसक्ने डा. देवकोटा सिस्ने धाराको पानी खाएपछि मुस्कुराउनु भएको दृश्य टेलिभिजनमा हेरियो ।  

त्यसैगरी, हाम्रो बुवाले ८६ वर्षको उमेरमा देह त्याग गर्नु अघि आफ्नो गाउँ जाने इच्छा गर्नुभयो । उहाँ हिँड्न सक्नु हुन्थ्यो । भाइ कमलले बुवालाई गाडीमा राखेर मलेखु, अमिलटार, मायाटार, बेलटार, भुट्टार हुँदै आँपटारसम्म पुर्‍याएर बेलुका काठमाडौँ फर्काउनु परेको थियो ।  आफन्त तथा छिमेकीहरूले उहाँलाई सडक छेउ गाडीमै आएर भेटघाट गर्नुभयो ।  उहाँले अमिलटार स्थित आफूले दुःख गरेर ५० वर्ष अघि बनाएको र भूकम्पले क्षतिग्रस्त भएको घरलाई धीत मर्ने गरी सडकबाटै हेर्नु भयो । पाखा, पखेरा, बारी, बुकुरा तथा खेतलाई नियाल्नु भयो ।  आफ्नो जन्मस्थानबाट अन्तिम बिदाइ ग्रहण गरेर फर्किनु भयो ।  यी घटनाक्रमले मलाई निकै भावुक बनाएको थियो । 

फलस्वरूप गाउँमा जाने, फलफूलको बगैँचा लगाउने, त्यसको बिचमा एउटा सानो चिटिक्क परेको, फलैँचा पनि भएको घर बनाउने; खेतीपातीलाई फेरी सुचारु गर्ने वातावरण मिलाउने रहर त्रिशूलीको छाल झैँ मनको मझेरीमा उर्लन थाल्यो ।  बाँझो फोरेर खेती लगाउने कुराले आमालाई पनि प्रफुल्लित बनाउँथ्यो ।  त्यसैले आफ्नो माटोको माया गर्नु र खेतबारी हराभरा बनाउनु पनि जननीलाई सम्मान हो भन्ने लाग्थ्यो ।  तसर्थ दुई वर्ष अघि देखि कृषिको पुनरुत्थान तथा घर निर्माणको लागि खुब प्रयत्न गरेँ । पटक पटक फेसबुकमा पुरानो घरको फोटो राखेँ । खेतबारीको फोटो राखेँ ।  गाउँ घरको दृश्यहरू पोस्ट गरेँ ।  तथापि आफ्नो सपनालाई बिपनाको आँगनमा ओराल्न सकिन । कोरोना भाइरसको महामारी र त्यसले निम्त्याएको बन्दाबन्दीले झन् यो सम्भावनालाई दूर दराज तिर धकेल्दिएकोले केवल धैर्यता भन्दा बाहेक मसँग कुनै सातु सामल बाँकी रहेन |     

मातृपेशा कृषि सबलीकरण अभियानका पाँच दिन 

अघिल्लो वर्षको मङ्सिरमा आफ्नो खेत माथि रहेको मलेखु-भण्डारा सडकको छेउबाट बाँझो खेतको फोटो खिचिरहेको थिएँ । ढल्की ढल्की सेल्फी पनि हान्दै थिएँ ।  साँधको खेतमा लहलह धानका बाला झुलिरहेका तर आफ्नो खेत भने बाँझो थियो । मनै कटक्कै हुने अवस्था भए पनि त्यही दृश्यलाई पृष्ठभूमिमा राखेर सेल्फी हान्ने धोको मेट्दै थिएँ । त्यसैबिच केही चिरपरिचित व्यक्तिहरूको गाडी मेरो अगाडी आएर रोकियो । अभिवादन साटासाट पछि उहाँहरू मध्ये एक जनाले सोध्नु भयो 'के को फोटो खिच्दै हुनुहुन्छ ? वरपर लहलह धानका बाला झुलेका छन् तर छेउमै खेत बाँझो राख्ने किसान चैँ को रहेछ ?'  यो प्रश्नले मलाई मर्माहत बनायो । 'यो बाँझो खेत नेपाल भावी किसानको हो, जो आधा शताब्दी काटी सक्दा नि अझै किसान बन्न सकेन ।  बेला बेला यहाँ आउँछ, फोटो खिच्छ, सेल्फी पनि खिच्छ तर त्यो भन्दा बढी माखो मार्न सक्दैन ।  उ तपाईँको सामु खडा छ।' मेरो यस्तो जवाफ सुनेर उहाँहरू छक्क पर्नु भो र खेत बाँझो नराख्न सुझाव दिनु भो । त्यसपछि मैले पटक पटक प्रयत्न गरेँ तर खेती गरिदिने मान्छे फेला पार्न सकेको थिइन ।  लकडाउन हुनुभन्दा केही महिना अघि देखि एक जना भाईले एउटा सर्त सहित खेती गर्ने रुचि देखाएकाले पहल सुरु भएको थियो । उनको पूर्वशर्त थियो- डोजर लगाएर खेतका गरा ठुला ठुला बनाइदिनु पर्ने । डोजरको प्रयोगमा मेरो त्यति सारो रुचि त थिएन तर जग्गामा खेतीपाती सुरु हुने आशामा उक्त पूर्वशर्त मन्जुर गरेँ ।  तथापि बाँझो फोर्ने अभियानले त्यति गति लिन सकेको थिएन । 

कोरोना कहरको चपेटामा परेर चैत्र १० देखी लकडाउन सुरु भए पश्चात् साढे दुई महिना भइसक्दा पनि झन् झन् प्रकोप बढ्दै गएपछि खेती गर्ने भाईले जसरी पनि खेती गर्ने सङ्कल्प गर्न पुगे ।  हाम्रो पारिवारिक योजनाको समीक्षा बैठकले पनि बाँझो फोरेर खेती गरी छाड्ने निष्कर्ष निकाल्यो । फलस्वरूप २०७७ साल असार ३ गते खेत रोप्नको लागि धानको बिउ राख्ने कार्य सम्पन्न गरेर मातृपेशा कृषि सबलीकरण अभियानको सुरुआत गरियो । बिउ छिप्पिँदै जान लाग्दा उपयुक्त समयमा डोजर उपलब्ध हुन सकेन भने अर्कातिर लकडाउनको कारण काठमाण्डौबाट धादिङ आवत जावत गर्न पनि सहज थिएन । तथापि जहाँ इच्छा त्यहाँ उपाय भने झैँ काठमाण्डौको नागार्जुन नगरपालिका वडा नं. १० र धादिङको गजुरी गाउँपालिका वडा नं. २ को सिफारिसमा यात्रालाई सहज बनाउँदै अतिरिक्त शुल्क तिरेर डोजर झिकाई असार ३१ गतेबाट खेत बिराउने र रोपाइँ गर्ने कार्य सुरु गरियो ।  यसरी ३३ वर्ष पछि आफ्नो खेतको रोपाइँमा सक्रिय सहभागिता जनाउँदै पहिले जस्तै बिउ काढ्ने, चप्ल्यांग आवाज निकालेर रोपारलाई हिलो छ्यापिने गरी बिउको मुठा फ्याँक्ने, पाइपबाट समा निकाल्ने, घारी जङ्गल फाँडेर साँध सिमाना छुट्टाउने तथा डोजर लगाई स-साना गराहरूलाई ठुला गरामा परिणत गर्ने कार्यमा ५ दिनसम्म अहोरात्र खटेर रोपाइँ गर्ने सफलतापूर्वक सम्पन्न गरेर । खेत बाँझो नराख्ने अभियानमा सरिक भइएको छ ।  

   

हरेक साल खेती गरिरहेकाहरूको लागि अर्को एक वर्ष रोपाई गर्नु त्यति उल्लेखनीय कुरा थिएन होला ।  तर ३३ वर्ष पछि ४ वर्ष अघि देखि बँझिएको खेतमा रोपाइँ गर्न फर्किएको सन्दर्भमा मेरो लागि भने यो कार्य अविस्मरणीय  रह्यो  ।  त्यसैले हरेक दिनको प्रगतिलाई मैले फेसबुकमा पोस्ट गरेँ ।  लाइक र कमेन्ट गर्ने अधिकांशले मलाई थप उत्साह दिनु भयो  । डोजरको प्रयोगको बारेमा हल्का व्यङ्ग्य सहित सल्लाह पनि दिनु भयो । केही सुझावलाई मैले कार्यान्वयन पनि गरेँ ।  गाउँमै हुने बहिनी शोभा, ज्वाइँ लीलानाथ, दाजु चूडामणि, भाउजू रेणुका, भतिज सुवास तथा अन्य दाजुभाइ दिदिबैनीहरुले पनि खेतमै पटक पटक उपस्थित भएर सल्लाह दिने काम गर्नु भएकोमा आभारी छु ।  किनकि यो कामको लागि म भन्दा बढी उहाँहरू विज्ञ हुनुहुन्छ ।  पाँच दिनको दह्रो खटाइ पश्चात् खेतको रोपाइँ मैझारो गरेर छैटौँ दिनमा काठमाडौँ फर्किँदा मलाई तीन कुराले सन्तुष्टि दियो  ।  पहिलो, दुई बाली धान लाग्ने खेतबाट उत्पादन सुरु भएपछि पारिवारिक खाद्य सुरक्षामा टेवा पुग्ने देखियो भने खेती गर्ने भाइको परिवारको जीविकोपार्जनमा समेत सहयोग पुग्ने भयो । दोस्रो, अब खेत बाँझो रहने भएन  । सङ्घीय सरकार र पालिकाको जग्गा बाँझो नराख्ने नीति अनुसार अगाडी बढेर सहयोग गर्न सकिने भयो ।  आउने कात्तिक-मङ्सिरमा धानकै बाला झुलेको खेतको पृष्ठभूमिमा फोटो खिच्न सकिने भइयो ।  तेस्रो, जतिसुकै पढे पनि, जे जस्तो पेसा र पदमा संलग्न रहे पनि मातृपेशा कृषिलाई पूरक रुपमा निरन्तर अगाडी बढाई रहन सक्दा सन्तुष्टिले गम्लंग अँगालो हाल्छ भन्ने सन्देश प्रवाह गर्न पनि यो कार्य सहयोगी होला कि भन्ने आशा पलायो ।       

भोगाइबाट सिकाई 

बाल्यकालमा हाम्रो गाउँतिर पेसा सम्बन्धी एउटा प्रचलित कहावत खुब सुनिन्थ्यो- ‘उत्तम खेती, मध्यम व्यापार, निर्घिनी नोकरी’। पश्चिमाहरूले के भन्दा रहेछन् त भनेर खोज्दा जर्ज वाशिंगटनको भनाई फेला पर्‍यो ।  उनले भनेका रहेछन् – ‘कृषि मानिसको लागि सबैभन्दा स्वास्थ्यकर, उपयोगी र श्रेष्ठ रोजगारी हो ।’ शैक्षिक क्षेत्रमा ३० वर्षको नोकरी तथा अध्ययन/अनुसन्धानको अनुभवबाट मलाई महसुस भयो कि मातृपेशा कृषिको महिमा अपरम्पार रहेछ ।  जागिरको सुरुआत तथा सेवा निवृत्तताको लागि उमेरको पाबन्दी हुने रहेछ ।  तर कृषिमा आफ्नो गच्छे अनुसार बाल्यावस्था देखी प्रौढावस्थासम्म सहभागिता जनाउन सकिने स्वतन्त्रता रहेछ ।

 नाकाबन्दीले यसलाई नछुने रहेछ, भूकम्पले नढाल्ने रहेछ ।  कोरोना कहरले उद्योग, पर्यटन, यातायात, शिक्षण संस्था, अस्थायी नोकरी आदिलाई अस्तव्यस्त बनाउँदा पनि मल बिउ आदिको अभावलाई पर्गेल्दै सतिसाल झैँ ठिङ्ग उभिन सक्ने कृषि नै रहेछ । एक महिनामा नै तरकारी उत्पादन गरेर, कोरोनाको प्रकोपका बाबजुद चैत्रमा रोपेको धान असारमा थन्क्याउने अवस्था सिर्जना गरेर, वैशाखमा रोपेको मकै साउनमा पाक्ने बनाएर ‘भोकै मर्न दिन्न, ढुक्क हुनुहोस्’ भन्ने सन्देश दिन सक्ने कृषि पेसा नै रहेछ ।  त्यसैले विभिन्न पेसा वा व्यावसायसंग सम्बद्ध नेपालीले आफूसँग भएका हरेक टुक्रा जग्गालाई बाँझो नराखेर हराभरा बनाउने हो भने तथा कृषि पेसामै समर्पित किसानले कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने हो भने समृद्धि र सन्तुष्टिको शिखर चुम्न सकिने रहेछ । आखिर कृषि नै रहेछ एक, सबलीकरण अभियानमा लगाऊँ विवेक !