खिर

खिर

रूपक अलङ्कार  |  साहित्य  |  श्रावण १६, २०७७

बिहान अबेर ब्युँझेर आंग तान्ने बानीले प्रणितालाई कहिल्यै छोडेन । बिहेअघि उसलाई यस्तो बानीले खासै असर गरेन । बिहेपछि पनि उसले लोग्नेलाई यसरी हातमा लिई कि कसैले उसको आदतमाथि सामुन्ने भएर टिप्पणी गर्न सकेन । जागिरे लोग्नेको पछि लागेर केही दिनमै गाउँ छोडेर सहरिया भइहाली । त्यसपछि उसको जीवनको उही राजा । दुईओटा सन्तानले डाँडा काँडा ढाकिसक्दा पनि उसको सुताहा बानीमा सुधार आएको छैन । बरु बिगार पर्दै गएको छ । 

उसका आँखा खुल्दा छ्यांगै उज्यालो भइसकेको थियो । छोराछोरीको कल्यांगमल्यांगले उसको निद्रा बिथल्यो । उसले भित्तातिर फर्किएर दोबृने चेष्टा गरी । अहँ भएन । ञ कत्ति क्याउँक्याउँ गर्छ्न् छौँडाहरूरुझ आफ्नै सन्तान छौँडा भएपछि माउ बोक्सी हुन्छ भन्ने पनि भुसुक्कै बिर्सिहाली । उसको दिन सुरु भयो फेसबुकबाट । मान्छे घटाघटी नै भए पनि आँखा खुलेपछि मोबाइलमा केहीबेर छिर्नैपर्छ उसलाई ।

नोटिफिकेसनको बाढी आएको रहेछ । हिजो राती साँढे एघार बजेसम्म त अनलाइनमै थिएँ रातभरमा के उल्का भएछ ? यस्तो सोच्दै गर्दा उसले म्यासेन्जर पनि खोल्न भ्याई । साउन पन्ध्रको र खिर खाने दिनको शुभकामना त कति हो कति ! त्यसमाथि खिरको फोटो । खिर मात्रै हो र ?अनेक आइटम । बल्ल ऊ राम्ररी ब्युँझी हैट् आज त खिर खाने दिन पो रहेछ ।

सहसा उसलाई साउन पन्ध्र र खिरका सहस्रानुभूति र स्मृतिहरूले चिमोटे । हल्लाए । पूरै जगाए । आमाले थालभरि खिर पस्केर दिएको र त्यसमाथि नि घिउको धारा लगाइदिएको सम्झना भयो । खिर खाने दिन नुनिलो खानुहुन्न भनेर कहिल्यै तरकारी नपकाउने । गुलियो मात्र उसको घाँटीबाट खस्दै नखस्ने । पाँच गाँसबाट उमो लागेपछि फर्केलाझैँ  हुन्थ्यो । धेत् त्यसरी नि खिर खान्छन् ? एकदम पाखे तरिका । प्रणिताले एकदम सहरिया स्टाइलमा खिर खाने प्रण गरी ।

दुःख लोग्नेका के कुरो गर्ने ? उज्यालो हुँदा ऊ डेरामा हुँदैन । एघार बजे चारो टिप्न आइपुग्छ । मुख नओबाउँदै बेपत्ता हुन्छ । बेलुका आउँदा भुरा सुतिसकेका हुन्छन् । प्रणिता मोबाइलमा झुलिरहेकी हुन्छे । स्वास्नीकै मुख उज्यालामा देख्न पाउँदैन  । शनिबार नआउने हो भने छोराछोरीले उसलाई नचिन्ने थिए । 

दस बजेर चालिस मिनेट जाँदासम्म बत्ती आएन । न त श्रीमती नै तयार भई खिर खान । पौने एघरमा उसले खिर पस्कियो आफ्नो थालमा । खिर ट्ररो लाग्यो । मासु गनाएजस्तो भयो । पनिर घाँटीमा अड्किए जस्तो भयो । अचारले दाँत कुँड्यायो । समग्रमा कुँडिएको मन लिएर ऊ सुत्न गयो । स्वास्नी गुत्थिएर भान्छामै थच्चिरही । 

यो प्रणिताको दिन कसरी जाँदो हो ? उसको अफिस भनेकै डेरा । काम भनेकै घरधन्दा । सुखसयल भनेकै टिभी मोबाइल । डेरामा वाइफाईको व्यवस्था भएपछि टिभी खोल्ने जाँगर लाग्न छोडिसक्यो । सबै कुरा हातमा छ अन्त किन धाउनु ? पहिला पहिला त उसलाई यो डेरा पिँजडा लाग्थ्यो । आफूलाई चरी ठान्थी । उसमा केही गर्ने र केही बन्ने भरभराउँदा रहर पनि थिए तिनताका । तर परिवन्द यस्तो बन्दै गयो ऊ पिँजडाको चरी नै भई । आहाराको व्यवस्था लोग्नेले गर्छ । लुगाफाटो, सुखसयलमा त्रुटि छोडेको छैन विचरोले । यो दैनिकीमा प्रणिता यसरी अभ्यस्त भई कि उसले आफूलाई बिर्सेको धेरै भइसक्यो । आफूलाई बिर्सेर बाँच्नुमा जति सन्तोष अन्त कहाँ  छ र ?

प्रणिता बडो धुमाधामसित खिर बनाउने तयारीमा लागी । बाँकी घरका काम त फट् स्वाहा । न उसलाई केटाकेटीले छेके । न खाना पकाउन भ्याइनभ्याई । खाना खान जीवनाथ डेरामा आउँदा खिर खाने दिनको स्मरण पनि गराई । पत्नीको चुराको संगीत र खाना पस्काइको विनयशीलतामा ऊ यसरी पग्लियो कि जाने बेलामा खिर पकाउनका लगि भनेरै तीन हजार खर्च बक्सेर गयो । प्रणिताले लाडिएर भनी 'आज चैँ छिटो आउनू नि बाबा! ' 

बिहान शुभकामना पठाउने हरूलाई नबिर्सी कन रिप्लाई गरी । खिर सम्बन्धी सबै स्टाटसमा लाइक कमेन्ट पनि गरेर भ्याई । जोडदारको स्टाटस लेख्ने इच्छा बढेर उसलाई गर्मी होला जस्तो भयो । लेखी पनि । चित्त बुझेन । पोस्ट गरिन । फेरि सोच्न थाली

नरिवलले अल्झाउँछ काजु हाल्नुस् खिरमा 
सम्म बाटो हिँड्छुभन्दा परेँ म त भिरमा ।
कुहिएको फर्सी पनि हेर्दा चट्टै हुन्छ
बाहिर हाँसे पनि मान्छे हुन सक्छ पिरमा ।

मनमा खुसी भुक्लुक्क उम्लियो । पोस्ट गरी राम्रो फोटो पनि उनेर। अब बेला भयो खिरको सर्जाम किन्न जाने । मानसिक रूपमा प्रफुल्ल भई । शारीरिक रूपले लावण्यवती भई । उसका लागि  बजार जाने योग्यता यही हो । 

एक किलो बासमती चामल, तीन लिटर दुध, एक किलो चिनी, एक किलो कुखुराको मासु, काजु, बदाम, छोकडा, दालचिनी, मरिच, ल्वाङ, हरियो धनिया, चना, आलु, गोलभेडा, खुर्सानी, आधा किलो पनिर झोलामा जम्मा भए । अरू खत्र्याक मत्र्याक सामान जोडेर फर्किँदा झन्डै आधा दिन फुस्क्यो । 

कोठामा छिरेर सलले मुख हम्किन नभ्याउँदै फेसबुक चालु भयो । आज कमेन्टको वर्षा हुन्छ भन्ने थियो । भयो पनि त्यस्तै । 
केको पिर हो त्यस्तो ?
बुढाले माया गर्न छाडेकी क्या हो ?
म हुँदा हुँदै मेरी नन्दलाई केको चिन्ता ? भन्नुस् न मात्रै ।
ल खिर खान मामाघर आउनुस् भान्जी । काजु हालेको छु ।
फुटो चैँ च्वाँक हो ल ।
यत्रो राम्री मान्छेलाई नि त्यत्रो पिर !

यस्ता कमेन्ट त सय नाघेछन् । लाइक, रियाक्ट त ढाइसय । चार जना जति बुंगाले त सेयर पनि गरेछ्न् । प्रणिता आफ्नो फेसबुके सफलतामा गजक्क परी । चित्त कुतकुतिएर आयो । दुई चारओटा सायरी भुरुरु फुरे । भोलिपर्सिका लागि काम लाग्छ भनेर नोट गरी । बेलुका त खिर खानु छँदैछ  । काम चलाउ खाजा ख्वाई बच्चालाई पनि । चिया बिस्कुट ।

प्रणितालाई खिरको चटाराले झन च्याप्दै ल्यायो । पहिला दुध बसाली ग्याँस बालेर । अर्को तिर आलु बसाली उसिन्न । दुध उम्लियो । चामल हाली ।  खिर पाक्ने क्रम सुरु भयो । आलु झिकेर पनिर फ्राइ गरी । यसरी हात चले उसका मानौँ ती हात नभएर मेसिन हुन् । ऊ खाना बनाउन यति सिपालु छे कि आजका दिनसम्म उसको पतिपरमेश्वरले खोट लगाउन सकेको छैन  । एकचित्त भएर पकाइरही । भुराहरू पल्लो कोठामा मोटुपत्लुमा झुन्डिरहे । खिर पाक्यो । पनिरको तरकारी बन्यो । चिकेन फ्राई भयो । आलुको अचार ट्वाक्क । धनिया काटेर छरी । बल्ल उसलाई सन्तोकको थकाइ लाग्यो ।

बाहिर निकै बेरदेखि पानी झम्किरहेको थाहा भयो । सडक किनारामा भेल ठुलो थियो । गल्लीमा छिर्नेहरू बर्सादी र छाताले ओतिएका थिए । रातो बर्सादी ओढेको मोटरसाइकल उसकै घरमा छिरेर रोकियो । प्रणिता अपार हर्षले पुलकित भई । अलिअलि भिजेको लोग्नेलाई झ्वाम्मै अँगालो हालूँजस्तो भयो उसलाई । तर आफ्नो जाँगरलाई मनमै अँठ्याई । 

श्रीमान् जीवनाथ पनेरु ढोकामा उभिँदा बिजुली चट् भयो । मोबाइल बालेर उसले छोराछोरीलाई बोलायो । टिभीको तन्द्राबाट उनीहरू बाहिर आए । ननिदाउँदै बाउ घरमा आइपुग्दा उनीहरू फेरि  सपनामा पुगेजस्ता भए । कोठामा वैकल्पिक ऊर्जा झलमलायो ।  उज्यालो छायो । खिरको उज्यालो अनुहारमा ठोकियो । प्रणितालाई एकपटक संजालमा छिरेर सामाजिक हुन मन लाग्यो  । तर मोबाइलमा ब्याट्री दुई प्रतिशात । भो त अब । उसको मुहारमा पहिला लोडसेडिङ भयो । अनि मोबाइल स्विज अफ भयो । 

जत्रो बत्ती बाले पनि प्रणिताको अनुहारमा छाया पर्न छाडेन । जीवनाथले हँसाउन खोज्यो 'आज चैँ बुढीले दाहिने हातले खाने  भई  !' अहँ । उसको रणनीति निष्प्राण भयो । प्रणिताको बत्ती मात्र गएको थिएन फ्युज नै उडेको थियो । आठ बज्यो खिर डेक्चीबाट थालमा ओर्लेन । निरन्तर सन्नाटा । केटाकेटी उँग्न थाले । प्रणिताको मानसपटलमा फेसबुकको नौरंग दौडिरह्यो । कमेन्ट र लाइकको तथ्यांक बढ्दै गयो । 

'अब खाने हैन ?'जीवनाथले मुख पायो ।

'कसरी खाने ? मोबाइल  अफ छ । नेट छैन । फोटो अप्लोड नगरी कसरी खाने ? लाज हुन्न । अरूको फोटामा मात्रै लाइक गर्ने हो र ?'

'फेसबुक हाम्रो कुलदेवता हो र ? पहिला चढाएर खानलाई ? '
 अलि कडा भयो जीवनाथ । 
 
'त्यो भन्दा नि बढी हो । तपाइँलाई भोक लाग्या भए हालेर खानुस् । म खान्न अहिले ।'

जीवनाथले खिर पस्केर छोराछोरीलाई दियो । झुल्दैझुल्दै खाए ।  निदाए । स्वास्नीको फुलेको भकुण्डोजस्तो मुखबाट हावा निस्केन । गाउँबाट आमाको फोन आयो 'खिर पकाको छ । खानेबेला भयो । भुरा त खाएर सुतिसके । ए तपाईंहरूले खाइसकेको ? हस् ।' एकदम संक्षिप्तमा कुराकानी सकियो । 

नौ बजेर सात मिनेट जाँदा फेरि जीवनाथले खिर खाने प्रस्ताव राख्यो । स्वास्नी त्यसरी टिमुर्की ।

' ल यही मोबाइलमा फोटो खिच । यसबाट अप्लोड गर ।'

'कसरी गर्नु ? मैले पासवर्ड बिर्सिसकेँ । आफ्नो मोबाइल जस्तो अर्काको हुन्छ ?'

'छ्या यस्तो अबुझ त छोराछोरी नि छैनन् । आमाको पारा यस्तो छ । यो फेसबुकमा हाल्न पकाको को खान ? 'जीवनाथ जंगियो ।

'नभए नहुन् न त । तपाईं खानुस् । सुत्नुस् । फोटो फेसबुकमा नराखी त प्राण गए नि खान्नँ ।' प्रणिताले निर्णय नै सुनाई । 

दस बजेर चालिस मिनेट जाँदासम्म बत्ती आएन । न त श्रीमती नै तयार भई खिर खान । पौने एघरमा उसले खिर पस्कियो आफ्नो थालमा । खिर ट्ररो लाग्यो । मासु गनाएजस्तो भयो । पनिर घाँटीमा अड्किए जस्तो भयो । अचारले दाँत कुँड्यायो । समग्रमा कुँडिएको मन लिएर ऊ सुत्न गयो । स्वास्नी गुत्थिएर भान्छामै थच्चिरही । 

 भान्छाबाट थाल खसेको आबाज आएर जीवनाथ ब्युँझियो । बत्ती आएर कोठा झलमल भएछ । छोराछोरी निद्रामै मस्त थिए । ऊ भाछामा पुग्यो । झ्यालबाट बिरालो निस्केर भाग्यो । पनिरको तरकारी पोखेछ । मासुका चौटा भुइँभरि छरेछ । खिरमा मुख गाडेछ । स्वास्नी किचेनकै खाटमा घुरिरहेकी थिई । 

उसले घडी हेर्‍यो । बिहानको चार बजेछ । अफिसका लागि साँढे पाँच बजे निस्किने भए पनि आज ऊ साँढे चार बजे नै निस्कियो ।