रञ्जनराज र परशुनारायण संवादको सुइँको : गणेशमान, बँदेल र बाघको कथा
फर्कलान् र ती दिनहरू
श्रावण २४, २०७७

अश्रु सिन्धुलीको नाममा मेरा केही कथाहरू, केही  कविताहरू मधुपर्क, कान्तिपुर, अन्नपूर्ण पोस्ट, गोरखापत्र र अरु धेरै पत्र पत्रिकामा आएका थिए तर पछि कतिपय पत्रिकामा पारिश्रमिक दिँदा आफ्नो परिचयपत्र पनि देखाउनु पर्ने भयो , अचेल धेरैजसो पत्रिकामा, अनलाइनहरूमा आफ्नै परिचित नामले मात्र लेख्छु, साहित्यिक नाम वा पत्रकारिताको नामलाई प्रयोग गरिरहेको छैन । तर राष्ट्र पुकारको स्तम्भ लेख्दासम्म त्यही नामले लेखिरहेको थिएँ । 

प्रसङ्ग बिपीसँगको सम्पर्क र सम्झनाको थियो । म २०३५साल असोजदेखि काठमाडौँमा माध्यमिक शिक्षकको रुपमा पढाउन थालेपछि मेरो साङ्गठनिक व्यवहार शिक्षकहरूको नेतृत्व गर्नेतिर लाग्यो । होमनाथ दाइको सङ्गतले जब लेख्न थालेँ, स्वाभाविकरुपमा नै नेपाली काँग्रेसका बारेमा बढी नै जानकारी राखेर लेखिन्थ्यो जुन आफ्नो आस्थाको विषय पनि रह्यो । बिपीको स्पष्ट धारणा थियो, नेपाली काँग्रेसले प्रजातन्त्र पुनर्स्थापनाको पक्षमा जस्तो र जत्रो आन्दोलन गर्ने हो, आफ्नै सङ्गठनको बलमा र सिद्धान्तमा कुनै विचलन नल्याई गर्नुपर्छ । उहाँको राष्ट्रिय मेलमिलापको एउटा स्पष्ट धारणा नै के थियो भने नेपाली काँग्रेस जनताको प्रतिनिधि संस्था हो र राजा परम्परागतता नेपालको सैनिक साथमा राखेको शक्ति हो जुन गैर संवैधानिकरुपमा आर्जित गरेको शक्ति हो । 

बिपी नेपाल आउँदासम्म पनि नेपालमा सङ्गठितरुपमा दलको स्वरूपमा नै साना साना कम्युनिस्ट घटकहरू थिए र चिनिएका पुराना नेताहरूमा पुष्पलालजी भारत प्रवासमा नै हुनुहुन्थ्यो, मनमोहन अधिकारी नेपालमा नै नेकपा मार्क्सवादीको नेता हुनुहुन्थ्यो, सहाना प्रधानजी नेपालमा नै भए पनि नेकपा पिएल गुटको नेतृत्व गर्नुहुन्थ्यो । रुस समर्थित कम्युनिस्ट पार्टीको रुपमा मानिनु हुनेमा केशरजङ्ग रायमाझी , विष्णुबहादुर मानन्धरजीहरू देखिनु हुन्थ्यो । तुलसीलाल अमात्यजीको पनि एउटा गुट नै थियो । अनि कम्युनिस्टका नाममा भूमिगत सङ्गठन चलाउँदै आउनु भएका मोहनविक्रम सिंहजीको पनि सङ्गठन आक्रामकरुपमा नै देखिन्थ्यो तर नेपालभर सङ्गठन भएको र विदेशमा प्रजातान्त्रिक समाजवादी खेमामा मान्यता पाएको भनेको नेपाली काँग्रेस नै थियो तर नेपालमा प्रतिबन्धित थियो । प्रतिबन्धित अवस्थामा नै नेपाली काँग्रेसले दुई पटक सशस्त्र क्रान्ति गरेको थियो, २०१८ साल र २०३१ सालमा । 

दुवै पटकको सशस्त्र आन्दोलनले नेपालमा राजनीतिलाई तरङ्गित त बनायो तर झन् झन् प्रजातन्त्रवादीहरूमा ध्रुवीकरण भयो, नेपाली काङ्ग्रेसभित्र नै बिपीका विरुद्ध र समर्थनमा जसले गर्दा राजाको प्रत्यक्ष शासनको सरकारले काँग्रेस भनेर भन्ने र त्यसको सिद्धान्त मान्नेहरूलाई झन् झन् दमन गर्न थाल्यो । त्यही क्रममा ओखलढुङ्गाको टिमुरबोटे काण्ड भयो, केही क्रान्तिकारीहरुले सहादत प्राप्त गरे र त्यसका क्रान्तिनायक कप्तान यज्ञबहादुर थापालगायतका क्रान्तिकारीहरू पक्राउमा पर्नुभयो क्याप्टेन थापा, जसलाई पछि पञ्चायती शासनले मृत्युदण्ड दियो । 

एकातिर बिपी मेलमिलापका लागि राजासँग मिलेर भए पनि नेपाली राष्ट्रियता बलियो बनाउने भनेर नेपाल प्रवेश गर्नुभएको थियो । बिपीलाई त्यो सम्बन्धी मुद्दासमेतले फाँसीको सजायको भागीदार बनाएको थियो जसलाई बिपीले आफ्ना कार्यकर्ताले नेपाली काँग्रेसको सहमतिमा र नाममा जसले जहाँ जे गरे पनि आफ्नै नैतिक जबाफदेही हुने बयान अदालतमा दिनुभयो जुन आज पनि प्रजातान्त्रिक आन्दोलनको अमर बयानको रुपमा नजिरको रुपमा लिइन्छ । 

बिपीको सिद्धान्तभन्दा राजाको सत्ता जालमा , पञ्चायतको सत्ता मोहमा लाग्नेहरूको पहिलो जत्थामा नै उहाँका अत्यन्त विश्वासिला पात्रहरू डाक्टर तुलसी गिरी , विश्वबन्धु थापा, हृषीकेश शाहहरू राजाको पञ्चायती व्यवस्थाको सिद्धान्तकारको रुपमा र कार्यान्वयनको तहमा बसेर काम गर्न थाले । त्यसमध्ये तुलसी गिरी त मन्त्रिपरिषद्का उपाध्यक्ष भए, विश्वबन्धु थापा पछि मन्त्रिपरिषद्का उपाध्यक्ष र राष्ट्रिय पञ्चायतको अध्यक्ष र हृषीकेश शाह पञ्चायतको पहिलो संविधान २०१९को मस्यौदाकार समेत रहे । यो क्रममा आरोह अवरोह देखिए पनि नेपाली काङ्ग्रेसमाथिको दमन चरमोत्कर्षमा थियो, र पनि नेपाली काँग्रेसका अर्का संस्थापक नेता सुवर्ण समसेर राणासँग राजाको सम्बन्ध पछि सहज बनेको पाइन्थ्यो । 

भारतमा नक्सलाइट चीनका प्रधानमन्त्री चाउएनलाईको सहयोगमा विस्तारित भएको हो  र नेपालमा नक्सलाइटहरु भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीको इसारामा खुलेका हुन् । हिजोको दिनमा बिपीको धारणा के थियो काँग्रेसले आफ्नै बलबुतामा प्रजातान्त्रिक आन्दोलन गर्नुपर्छ ।

अनि काँग्रेस बिपी समूह र सुवर्ण समूहको रुपमा देखियो तर स्वयं बिपी र सुवर्णजीमा भने आपसमा सम्बन्ध राम्रो थियो भन्ने मानिन्थ्यो । राजासँग सम्बन्ध सहज बनाएर मुलुकमा प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने आशामा सुवर्णजी लाग्नु भएको महसुस हुन्थ्यो किनभने राजा वीरेन्द्र र उनका भाइहरूको बिहे सुवर्णजीकी सालीका छोरीहरूसँग भएको थियो अर्थात् केन्द्र समसेर राणा सुवर्णजीका साढु भाइ थिए । एक प्रकारले सुनेसम्म, केन्द्र समसेरको घरका लागि धेरै सहयोग सुवर्णजीबाट हुन्थ्यो र ती छोरीहरू ठुलाबाप्रति अनुगुहित थिए । तर जुन दिन लीला, ठगी जस्ता युवाहरूलाई जेलबाट निकालेर गोली हानेर मारियो, त्यो दिन सुवर्णजी र राजा वीरेन्द्र पारिवारिक जमघटका भेटिएका थिए र कुनै राम्रो फिल्म हेरेर बसेका थिए रे !

 सुवर्णजीलाई यसले ठुलो धोका भएको लाग्यो रे ! राजासँग कुनै  पनि सम्बन्ध नराखेको मानिन्छ । सुवर्णजीले त्यसपछि बिपीको कुनै पनि प्रयासलाई कुनै पनि प्रकारको हस्तक्षेप गर्न चाहनु भएन भन्ने मानिन्छ । बारम्बार राजाबाट धोका खाएको र आफ्ना प्रयासहरूबाट पनि राजालाई गलाउन नसकेपछि बिपीले पञ्चायतको राज्य शासन भएकै राजको शासनमा धावा बोल्नुभयो राष्ट्रिय मेलमिलापको नीतिले २०३३साल पुस १६ गते । अनि मात्र हामीजस्ता पछिल्लो पुस्ताका मानिसहरूले त्यो दन्त्यकथाका सौर्य, वीरता र वचनका पक्का नायकजस्ता बिपी र गणेशमानजीलाई भौतिकरुपमा नै भेट्न पायौँ र उहाँहरूका जनताको मौलिक तथा प्रजातान्त्रिक अधिकार रक्षाको सिद्धान्तप्रतिको चट्टानी अडानको स्वरूप देख्न पायौँ । 

बिपी जब पेरोलमा छुट्नु भयो र प्रतिबन्धित भए पनि नेपाली काँग्रेसको सङ्गगठन काठमाडौँमा बसेर गर्न थाल्नु भयो, त्यसले एउटा तरङ्ग नेपाली समाजमा ल्यायो । अचम्म थियो, बिपीको उपस्थिति पञ्चलाई पचेको थिएन, भएका धेरैजसो कम्युनिस्टका समूहहरूलाई मन परेको थिएन र काङ्ग्रेसभित्रकै केहीलाई मन परेको थिएन, त्यसको परिणाम प्रतिबन्धित नेपाली काँग्रेस चिरा चिरामा बाँडिँदै पञ्चायत प्रवेश गरेको देखिन्थ्यो । बिपी ती सबैको विश्लेषण गर्नु हुन्थ्यो । 

२०३८ सालको वर्षाको बाढीले चीनले सहयोग गरेर बनाएको भोटेकोशीको विद्युत गृह बगायो, बिपीलाई लाग्यो होला, चीनको  सहयोगप्रति कृतज्ञता व्यक्त पनि गर्न पाइने, क्षतिको अनुगमन पनि हुने र साथीहरूसँग पनि भेटघाट हुने त्यसैले गणेशमानजी, किसानजी, परशुनारायण चौधरी, वासुदेव रिसाल, योगप्रसाद उपाध्याय सहित होमनाथ दाइ पनि बाह्रबिसेतिर जाने कार्यक्रम बनेको रहेछ । होमनाथ दाइले मलाई पनि लैजान अनुमति माग्नुभयो, बिपीले किसानजीको वासस्थान बखुन्डोलमा आउनू , त्यहीँबाट जाउँला भनेर भन्नुभएको रहेछ । म पनि बिपीसँग जान पाउने कुराले पुलकित भएँ । म शिक्षक भएकाले बिपीका उपत्यका बाहिरका आम सभा र बैठकहरूमा जान पाउँदैनथे किनभने बिदा लिएर जानु पथ्र्यो । त्यस्तोमा होमनाथ दाइ, पुरुषोत्तम दाहाल भाइ जाने गरेको हुन्थ्यो ।

सायद ! त्यो दिन पुरुले के कामले हो, जाने चाँजो परेन र पुरु बखुन्डोल गएनन् । तर त्यहाँ बिपी आउनु भयो, धेरै बेर कुर्दा पनि परशुनारायण चौधरीजी आउनु भएन, अहिलेजस्तो मोबाइल नभएकोले परशुनारायणजीको भाडाको निवासमा बारम्बार फोन गर्दा पनि उहाँ त बिहानै बिपीसँग जान घरबाट निस्केको खबर आयो तर चौधरीजी भने आउनु भएन । अनि बिपीले हाँस्दै किसानजीलाई भन्नुभयो- मेरो सम्पर्क सूत्रले भनेको छ, यति बेर चौधरीजी रञ्जनराज खनालजीको घरमा छन्, नभए तपाईँले त्यहाँ फोन गरेमा पत्ता लाग्छ । रञ्जनराज खनालजी भनेको तत्कालीन अवस्थामा राजा वीरेन्द्रका संवाद सचिव हुनुहुन्थ्यो क्यारे या राजाको मुख्य सचिव त्यस्तै । अर्थात् बिपीलाई थाहा भइसकेको रहेछ, चौधरीजी छिटै बिपीलाई वा काँग्रेसलाई छोड्दै हुनुहुन्छ । 

त्यो दिन बिपी जानु भएन सायद पछि जानु भयो कि भएन ? मैले अहिले सम्झन सकिन किनभने म त्यसपछि जान पाइन । अनि मलाई होमनाथ दाइले भन्नुभयो- काँग्रेसलाई कमजोर बनाउने खेल अझै पनि छ किनभने बिपीले सुधारिएको पञ्चायतलाई मान्नुभएन । राजा मुखले त भन्थे-बिपी, यसै पञ्चायतको सुधारिएको स्वरूपमा, बालिग मताधिकारसहितको प्रत्यक्ष जनताबाट निर्वाचित एकल सदन राष्ट्रिय पञ्चायतमा भाग लिएर प्रजातान्त्रिक अभ्यासमा आउनू । तर त्यहाँ पञ्चायतको वर्गीय सङ्गठनको अनिवार्य सदस्यता लिनुपर्थ्यो जहाँ पञ्चायती व्यवस्थाप्रतिको बफादारिताको शपथ लिनुपर्थ्यो । 

जनमत सङ्ग्रहमा कुनै सर्त नराख्नु भएको बिपीका लागि तर त्यो शर्तभने मान्य थिएन । बिपीको स्पष्ट धारणा थियो- एउटै चिन्हको निर्वाचन, प्रतिबन्धित लेखेर भए पनि नेपाली काँग्रेसको घोषणापत्र, कुनै पनि दल चुनाव लड्छन् भने घोषणापत्र निकाल्न पाउनु पर्ने, कुनै सर्त विना बालिग मताधिकारको निर्वाचनमा भाग लिन पाउनु पर्ने । यसो हुँदा पञ्चायतको जनशक्ति र दलहरूको जनशक्तिको पनि तुलना हुने, दलहरूले जिते त्यही सदनबाट बहुदलको घोषणा गर्ने नभए जनतका आवाज बोलेर प्रजातान्त्रीकरणको तयारी गर्ने । तर राजा न त हुन्छ भन्थे, न हुँदैन भन्थे । झन् झन् सुधारिएको भनेको पञ्चायतले कसिकसाउ गरिरहेको थियो ।

 कतिसम्म भने बालिग मताधिकारको निर्वाचनमा संसारभर पहिले निर्वाचनको तिथि घोषणा गरिन्छ अनि मात्र चुनावी प्रक्रिया सुरु हुन्छ । बिपीको सन्देश राजालाई के थियो भने म नेपालभर पार्टीको छलफल चलाउँछु, जे भन्दछन् ती कार्यकर्ताले अनि मात्र जबाफ दिन्छु । राजा भन्थे, निर्वाचनको प्रक्रियामा जाऊँ । अचम्म के भयो भने निर्वाचनको दिन तोकेकै थिएन, बिपी छलफलमा मुलुकभर घुम्दै हुनुहुन्थ्यो, बिपीले २०३७ साल चैत्र १८ गते खुलामञ्चबाट नेपाली काँग्रेसका तर्फबाट महत्त्वपूर्ण घोषणा गर्ने जानकारी सार्वजनिकरुपमा भन्नुभयो अर्थात् काँग्रेसको मुलुकभरको छलफलको निचोड त्यसै दिन घोषणा गर्ने निधो थियो । 

तर पञ्चायती निर्वाचन आयोगले चैत्र ९ गतेसम्ममात्र निर्वाचनका लागि मनोनयन पत्र दाखिला गर्ने अन्तिम मिति राख्यो जबकि कहिले निर्वाचन गर्ने भन्ने तिथि तोकिएकै थिएन । नेपाली काँग्रेसको अन्तिम छलफल चैत्रको सायद १५ गतेबाट काठमाडौँको शङ्कर होटेलमा थियो । पञ्चायतलाई मानेर एकातिर निर्वाचनमा भाग लिने कि नलिने भन्ने छलफल गम्भीरताका साथ नेपालभर भएको थियो भने अर्कोतिर जुन निर्वाचनमा जाने हो । त्यसको मनोनयन पत्र दाखिला वा उम्मेदवार हुने आवेदन दिने  दिन समाप्त भइसकेको थियो । झन् काँग्रेसलाई त्यो निर्वाचनमा भाग लिन नजाने निर्णय गर्न सहज भयो । तर भर्खरै भूमिगतरुपमा सङ्गठित तत्काल नेकपा मालेले भने प्रगतिशील पक्ष जन पक्षीय शक्ति भनेर निर्वाचनमा भाग लियो ।

 अनि गणेशमानजीले एउटा कथा भन्नुभयो शङ्कर होटेलमा निर्वाचनको त्यो नाटकको बारेमा । एउटा जङ्गलमा एउटा बँदेल थियो, त्यो बँदेल आफ्नो एरियामा जो आउँछ, त्यसलाई लखेट्थ्यो, जोसँग पनि कुस्ती खेल्ने प्रस्ताव राख्थ्यो र आफ्नो दाराले घोच्दै लखेट्थ्यो र आफू मात्र त्यो एरियाको महानायक भएको भनेर छाती फुकाएर हिँड्थ्यो । उसलाई आफूभन्दा ठुलो कोही पनि छैन, बलियो कोही पनि छैन भन्ने घमन्ड थियो । एक दिन त्यही बाटो भएर वनको राजा बाघ आइरहेको थियो । स्वभावअनुसार बँदेलले बाघलाई पनि थर्काउन थाल्यो । तर मनमा चाहिँ डर थियो । आफ्नू दम्भ अनुसार उसले बाघलाई पनि या आत्म समर्पण गर्दै मर्न तयार हुनुपर्‍यो या त कुस्ती खेल्न तयार हुनुपर्‍यो । योभन्दा पहिले कोही पनि कुस्ती खेल्नुभन्दा जेजे भन्छ बँदेलले त्यही मानेर ज्यान जोगाउँथे । तर बाघले हाँस्दै भन्यो-आज मलाई त्यति सन्चो छैन, एक हप्तापछि म यही बाटो फर्कन्छु, अनि कुस्ती खेलौँला । बँदेल एकदम डराई त रहेको थियो तर नडराएको जस्तो गरे भन्यो-आजलाई बाँच्यौ, ल एक हप्ता पछि भेटौँला । तर बँदेललाई चिन्ता पर्‍यो । खान पनि छोड्यो, निदाउन पनि छोड्यो । अर्को हप्ता त बाघसँग कुस्ती पर्छ, उसले नमार्ने कुरै छैन, आफैँले निहुँ खोजेर कुस्ती खेल्ने प्रस्ताव राखियो । अनि एक दिन त बँदेल्नीले सोधीऔ - होइन के भयो बुढालाई ? कतै पनि जाँदैनन्, खालि टोलाई मात्र रहन्छन् । बल्ल बल्ल बँदेलले भन्यो, त्यस्तो केही पनि होइन  अब केही दिनमा बाघसँग कुस्ती खेल्नु छ, त्यसैले चिन्ता लागेको हो, अरु केही पनि होइन । अनि बँदेल्नीले भनी-एकदम सजिलो उपाय छ मसँग । जाऊ दिसामा लुटपुटिनू, पुरै शरीरमा कतै बाँकी नराखी दिसा लगाउनू । तिमीलाई थाहा होला, बाघले दिसामा दाँत गाड्दैन, पन्जाले पनि हिर्काउँदैन । तिमी बाँच्छौ । नभन्दै बाघले कुस्ती त खेल्नु नै थियो किनभने आफैँले कुस्तीका लागि निहुँ खोजेको थियो । जिउभरि मानव दिसा दल्यो किनभने त्यो त उसको खान्की नै हो । अनि कुस्ती खेल्नका लागि त्यही ठाउँमा गएर बस्यो । नभन्दै बाघ आयो र हेर्‍यो राम्ररी र भन्यो- भैगो तेरो ज्यान बक्सिसमा पाइस् । म कुनै पनि हातमा दिसा खान्न र दिसामा पन्जा पनि गाड्दिन । जा आजलाई तँलाई माफी भयो । यसरी बँदेल बाँच्यो । त्यस्तै गरी पञ्चायतले हामीले घोषणा गर्ने बेलासम्म पनि नपर्खी निर्वाचनको मनोनयन पत्र दाखिला गर्ने मिति समाप्त गरेर  हामीलाई जबाफ दियो । हामी यस्तो पञ्चायती निर्वाचनमा भाग लिने कुरै थिएन र ठिकै भयो । यही कुरा उहाँले आफूले साथीहरूलाई यसो भनेँ भनेर सभामा नै सुनाउनु भएको थियो । 

जनमतसंग्रहको लागि बहुदलको प्रचारमा नेपालभर घुम्दा बिपीले परशुनारायण चौधरीजीलाई जो महामन्त्री पनि हुनुहुन्थ्यो नेपाली काँग्रेसको, भावी प्रधानमन्त्री भनेर सभाहरूमा सम्बोधन गर्नुहुन्थ्यो । भर्खरको युवा चौधरीलाई बिपीले आफ्नो मन्त्रिपरिषद्मा शिक्षामन्त्री बनाउनु भएको थियो । बिपी नेपाल आउनु भएपछि काँग्रेसको एउटा भारत प्रवासमा नै रहेको कथित समूहका नेता काशीनाथ श्री वास्तवले बिपीलाई पार्टीबाट निकालेको सूचना दिएका थिए इन्डियन अखबारहरूमा । यता परशुनारायणजी पनि निर्वाचनमा काँग्रेसले भाग लिएन र केही समयपछि नेपाली काँग्रेसको अर्कै समूह बनाएको जस्तो गरेर २०३८ सालको असोजको पहिलो हप्तामा आफ्ना पक्षधर कार्यकर्ताहरू लिएर पञ्चायत प्रवेश गर्नुभयो । 

बिपीको एउटा स्पष्ट धारणा थियो- भारतमा नक्सलाइट चीनका प्रधानमन्त्री चाउएनलाईको सहयोगमा विस्तारित भएको हो  र नेपालमा नक्सलाइटहरु भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीको इसारामा खुलेका हुन् । हिजोको दिनमा बिपीको धारणा के थियो काँग्रेसले आफ्नै बलबुतामा प्रजातान्त्रिक आन्दोलन गर्नुपर्छ । प्रत्येक शनिवार बिपीले बुद्धिजीवी, विद्यार्थी, शिक्षक, प्राध्यापक, अधिवक्ताहरूसँग खुलेर छलफल गर्नुहुन्थ्यो र आफ्ना कमीकमजोरीका बारेमा भन्नका लागि प्रेरित गर्नुहुन्थ्यो । हामी उहाँका ती अन्तरक्रियात्मक विश्लेषणका आधारमा आफूलाईँँ दीक्षित गर्थ्यौँ । त्यहाँ विश्वका प्रजातान्त्रिक आन्दोलनका, समाजवादी धाराको, कम्युनिस्टको युरोपीय धारा, भारतीय धारा, रुसी धारा, चिनियाँ धारा र अमेरिकाको प्रजातन्त्रप्रतिको उदासीनताका बारेमा विवेचनात्मक छलफल हुन्थ्यो । त्यस्तै पूर्वीय दर्शनका बारेमा, पश्चिमा दर्शनका बारेमा र नेपाली विशेषताका बारेमा खुलेर छलफल हुन्थ्यो । उहाँ साना साना घटनाको पनि विश्लेषण गरेर कार्यकर्ताहरूलाई दीक्षित गर्नुहुन्थ्यो  र हामी त्यो अकाट्य तर्कका लागि आवश्यक पुष्टिका सामग्रीहरू खोजेर लेख्थ्यौँ । 

राष्ट्र पुकारका लागि समाचार श्रोत बिपी नै हुनुहुन्थ्यो किनभने प्रजातान्त्रिक आन्दोलनको उहाँ मात्र एक अभियन्ता हुनुहुन्थ्यो । प्रजातन्त्रको आन्दोलनलाई न त छोडुन् सक्ने, न त नेतृत्व दिन सक्ने रुपमा टङ्कप्रसाद आचार्यजी हुनुहुन्थ्यो । मातृका बाबु, डाक्टर के आइ सिंह, टङ्कप्रसाद आचार्य र सूर्यप्रसाद उपाध्यायहरूको एउटा खुकुलो गठबन्धन थियो  । जसमा कुनै पनि राष्ट्रिय अन्ताराष्ट्रिय मामिलामा वक्तव्य दिनुहुन्थ्यो । नेपाली तरुणहरूलाई प्रजातन्त्रको शङ्ख घोष गरेर अनवरत जीवनपर्यन्त प्रजातन्त्रको पक्षमा डटिरहने र अडान लिइरहने बिपीको आज पनि उत्तिकै सम्झना भइरहेको छ र आज पनि प्रजातन्त्रका लागि सम्झिइने नाम बिपी, गणेशमानजीकै रहेको छ । 
क्रमशः
 


अधिकारी दर्शन, राजनीति र साहित्यमा कलम चलाउनुहुन्छ ।