कलेजो रोग : मदिरा पान गर्ने र नगर्नेमाहरुमा हुने फरक

कलेजो रोग : मदिरा पान गर्ने र नगर्नेमाहरुमा हुने फरक

प्रा.डा.डम्बरबहादुर कार्की  |  स्वास्थ्य  |  श्रावण २५, २०७७

विभिन्न समयमा नेपाली चिकित्सकहरूले गरेका अनुसन्धान अनुसार १५ देखि ५७ प्रतिशत प्रौढ नेपालीहरूले मद्यपान गरेको पाइन्छ । नेपालमा मद्यपान गर्नेहरूको सङ्ख्या धेरै छ र यी मध्ये केही प्रतिशतलाई कलेजो, मुटु र मानसिक रोग लागेको पाइन्छ । 

प्राय गरेर १० ग्राम मदिरालाई एक युनिट मानिने गरेको छ । अमेरिकामा १४ ग्राम मदिरालाई एक युनिट मानिन्छ । ३६० मिली लिटर बियर, १५० मिली लिटर वाइन र ४५ मिली लिटर रक्सीलाई एक युनिट मानिन्छ । हप्तामा २१ युनिट पुरुषले र १४ युनिट भन्दा ज्यादा महिलाले मदिरा पान गरेमा मदिराको नराम्रो असर गर्ने विभिन्न अध्ययनहरूमा उल्लेख गरेको पाइन्छ । दैनिक ३० देखि ६० ग्राम मदिरा पान गर्दा एक प्रतिशतलाई मदिरा पानबाट हुने रोगहरू लाग्न सक्छ भने १२० ग्राम भन्दा ज्यादा रक्सी खानेहरू मध्य ६ प्रतिशतलाई रोगले ग्रस्त गर्छ । हप्तामा २१० ग्राम भन्दा ज्यादा रक्सी खाने पुरुषहरू र १४० ग्राम भन्दा ज्यादा रक्सी खाने महिलाहरूलाई कलेजोको रोग लाग्ने सम्भावना हुन्छ । माथि उल्लेख गरिएका तथ्याङ्कहरूले अधिक मदिरा पान स्वास्थ्यको लागि हानिकारक हुने कुरालाई स्पष्ट पार्दछ । 

मदिरा पान गर्ने व्यक्तिहरूमा पेटमा पानी जमेर हुने सिरोसिस नामक कलेजो रोग लाग्ने सम्भावना हुन्छ । खाने नली भित्रका शीराहरु फुटेर रक्तस्राव हुनु सिरोसिसको अर्को खतरनाक लक्षण हो । 

मोटोपन, चिनी रोग र मेटावोलिक सिनड्रोम भएका मानिसहरू मदिरा पान नगर्ने भएता पनि कलेजोमा बोसो जम्ने कलेजो रोग अर्थात् ‘फ्याटी लिभर डिजिज’ हुन सक्छ । 

न्याश भएर कलेजोले काम गर्न छाडी सके पछि जीवन रक्षाको लागि कलेजो प्रत्यारोपण मात्र एक उपाय रहन्छ । यो प्रविधि महँगो छ । कलेजो प्रत्यारोपणको सुरुवात नेपालमा पनि हुनु खुसीको कुरा हो । आफ्नै देशमा आफ्नै विशेषज्ञहरूले कलेजो प्रत्यारोपण सफलता पूर्वक गर्न थाली सकेपछि यो प्रविधिद्वारा सर्वसाधारण नेपालीहरूले अन्तिम अवस्थाको कलेजो रोगको उपचार पाउन सक्ने छन् ।

कलेजोका रोगका विषयमा छलफल गर्नु अगाडि कलेजोका विषयमा सामान्य ज्ञानको जानकारी राख्नु आवश्यक छ । कलेजो दाँयापटी पेटको माथिल्लो भागमा हुन्छ । महिलाहरूमा भन्दा पुरुषहरूमा कलेजो केही ठुलो हुन्छ । सरदर पुरुषमा १.५ किलोग्राम र महिलामा १.४ किलोग्राम जति कलेजोको तौल हुन्छ । माथिदेखि तल तिर क्लाभिकल नामक हड्डीको बिच भागबाट नापिएको कलेजोको लम्बाई साधरणतया १५ सेन्टिमिटर भन्दा कम मानिएको छ । अधिकांश व्यक्तिहरूमा कलेजोको यो लम्बाई १२ सेन्टिमिटर भन्दा ज्यादा हुँदैन । ‘परकसन’ गरेर चिकित्सकहरूले यो लम्बाई पत्ता लगाउन सक्छन् । कलेजोको अल्ट्रासाउन्ड गरेर यो लम्बाइको जानकारी सजिलै पत्ता लगाउन सकिन्छ ।

कलेजोको तौलको करिब ५ प्रतिशत जति बोसो सामान्यतया कलेजोमा पाइन्छ ।हामीले भोजन गर्दा कार्बोहाइड्रेट, प्रोटिन र चिल्लो पदार्थ खाने गर्छौ । भोजनमा भिटामिनहरू र खनिज पदार्थहरू पनि हुन्छन् । सानो आन्द्रामा प्यांक्रियाजका इञ्जायमहरुले खानेकुरालाई  पचाउँछन् । पाचन क्रियाद्वारा अन्तमा कार्बोहाइड्रेट ग्लुकोज बन्छ, प्रोटिन एमाइनोएसिड र चिल्लो पदार्थ फ्याटी एसिडमा परिणित हुन्छ । यसरी पाचन क्रियाद्वारा बनेका ग्लुकोज, एमाइनोएसिड र फ्याटीएसिडहरु सानो आन्द्राबाट ‘पोर्टलभेन‘द्वारा कलेजोमा पुग्छन् । कलेजोमा ‘पोर्टलभेन’ साइनोसायड बन्छ र त्यसपछि ‘हेपा टिक भेन’ हुँदै इन्फेरियर भेनाकाभा मिसिन्छ । हामीहरूले खाएको खाद्य पदार्थहरूको दहन क्रिया कलेजोमा हुन्छ । अन्तमा खाद्य पदार्थहरू रगतद्वारा शरीरका सबै अङ्गहरूमा पुग्छन् र शक्ति प्रदान गर्छन् । 

मदिरा पान नगर्नेहरूमा पाइने कलेजोमा बोसो जम्ने रोगः

विलियम सि डि  (William CD) र यिनका सहयोगीहरूले गरेको एक अध्ययनले मदिरा पान नगर्नेहरूमा पाइने कलेजोमा बोसो जम्नेरोग ४६ प्रतिशत अमेरिकन सेनामा पाइएको छ ।  Amarapurkar DN र यिनका सहयोगीहरूका अनुसार एसिया प्यासिफिक रिजनमा यो किसिमको रोग ५–३० प्रतिशतमा मात्र भेटिएको छ । नेपालमा वासुदेव पाध्य र यिनका सहयोगीहरूले सन् २०१८ मा प्रकाशित लेख अनुसार ५१ प्रतिशत नेपालीहरूमा कलेजोमा बोसो जम्ने रोग लागेको पाइएको छ । 

मदिरा पान नगर्नेहरूमा पाइने कलेजोमा बोसो हुनुपर्ने भन्दा ज्यादा हुने रोगको निदान अल्ट्रासोनोग्राफीद्वारा सजिलै गर्न सकिन्छ । लिभर वायप्सीमा ५ प्रतिशत भन्दा ज्यादा कलेजोका कोषहरूमा ट्राइग्लिसेरायड  पाइयो भने पनि कलेजोमा बोसो जम्ने रोगको निदान गर्न सकिन्छ । तर  यो प्रविधि हिजोआज त्यत्ति प्रयोग भएको पाइँदैन ।

नन अल्कोहोलिक स्टेटोहेपटाइटिस अर्थात् छोटकरीमा न्याश (NASH) कडा किसिमको मदिरा पान नगर्नेहरूको कलेजोमा बोसो जम्ने रोग हो । सुरुमा यो रोगमा कुनै प्रकारका लक्षणहरू देखिँदैनन् । यो रोगमा कलेजोको इन्फ्लामेसन हुन्छ र करिब २० प्रशितमा कलेजो प्रभावित भएर सिरोसिस नामक कलेजोको रोग लाग्छ । सिरोसिसमा पेटमा पानी जम्मा हुन्छ र खाने नलीभित्र रगतका नलीहरू फुटेर रक्तस्राव हुन सक्छ । रक्तस्राव हुँदा उल्टीमा रगत देखिनुका साथै कालो दिसा पनि हुन्छ । यस्ता लक्षण हुने कलेजोका बिरामीहरूको जीवनमा जुनसुकै बेला सङ्कट आउन सक्छ । न्याशबाट पीडित व्यत्तिहरुको लिभर इञ्जायम (SGPT) बढ्छ । अर्को इञ्जायम (SGOT) मदिरा पान गर्नेहरूमा बढेको पाइन्छ ।

नन अल्कोहोलिक फ्याटी लिभर र न्याशबाट पीडित व्यक्तिहरूले मोटोपन, उच्च रक्तचाप, चिनी रोग, ट्राइग्लिसेराय र एलडिएल नामक नराम्रो कोल्डेस्टेरल नियन्त्रण गरे भने पुनः स्वस्थ हुन सक्छ । त्यसलाई नियन्त्रण गरेर स्वस्थ कलेजो पार्ने ओखती अझै आविष्कार भई सकेको छैन । 

न्याश भएर कलेजोले काम गर्न छाडी सके पछि जीवन रक्षाको लागि कलेजो प्रत्यारोपण मात्र एक उपाय रहन्छ । यो प्रविधि महँगो छ । कलेजो प्रत्यारोपणको सुरुवात नेपालमा पनि हुनु खुसीको कुरा हो । आफ्नै देशमा आफ्नै विशेषज्ञहरूले कलेजो प्रत्यारोपण सफलता पूर्वक गर्न थाली सकेपछि यो प्रविधिद्वारा सर्वसाधारण नेपालीहरूले अन्तिम अवस्थाको कलेजो रोगको उपचार पाउन सक्ने छन् ।

सन् १९६३ मा डा. थोमस स्टार्जल (Dr. Thmas Storzl) ले कलेजोको प्रत्यारोपण सर्वप्रथम अमेरिकाको पिटस्वर्गमा गरेको इतिहास छ । सन् १९६७ देखि कलेजोको प्रत्यारोपण सफलता पूर्वक गर्न थालिएको हो ।

डिसेम्बर २०१६ मा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कोरियन विशेषज्ञहरूको सहयोगमा नेपाली सर्जन पुकार श्रेष्ठ र उनका सहयोगीहरूले सर्वप्रथम कलेजो प्रत्यारोपण सफलता पूर्वक गरेका थिए । पछि भारतीय सर्जनहरूको सहयोगमा प्रध्यापक रमेश भण्डारी र उनका सहयोगी सर्जनहरूले महाराजगन्जको शिक्षण अस्पतालमा पनि कलेजो प्रत्यारोपण भएको छ ।

कलेजोका रोगीहरूले कलेजो प्रत्यारोपण पछि धेरै वर्षसम्म स्वस्थ जीवन बिताउन सक्छन् । बेलायतका गोर्डन ब्राइडवेल (Gordan Bridewell) ले ४० वर्ष पहिले कलेजो प्रत्यारोपण गराएका थिए । उनी हाल ७० वर्ष पुगी स्वस्थ जीवन बिताई रहेका छन् । यो कलेजो प्रत्यारोपण गराउनेहरूका लागि खुसीको खबर हो ।