‘डोहर्नी’ जस्तै अमरताको 'वरदान' मानवमा  सम्भव छ ?

‘डोहर्नी’ जस्तै अमरताको 'वरदान'  मानवमा  सम्भव छ ?

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  श्रावण २६, २०७७

आफन्त, मित्रवर्ग  एवं परिचितहरुले  प्रायः मसँग एउटा प्रश्न गर्छन्, जीवन कसरी धानेका छौ ? सन्यासी जीवन कतिको सजिलो वा गाह्रो छ ?

प्रश्नकर्ताहरुको आशय अर्थसँग सम्बन्धित हुन्छ । प्रायः सबै मित्रवर्गलाई विदितै छ, अर्थ उपार्जन हेतु म कुनै प्रकारको चेष्टा गर्दिनँ । विज्ञान अथवा अध्यात्मसम्बन्धी लेखनको मेरो प्रयास पनि वास्तवमा आय आर्जनभन्दा अर्थहानिकै मेलो मात्र हो ।

उहाँहरुको प्रश्नको मसँग एउटै  जवाफ हुन्छ, ‘तपाईंहरु दिनरात आयआर्जनमा ऊर्जा र ऊष्मा (हुन त ऊष्मा पनि ऊर्जा नै हो) व्यय गर्नुहुन्छ, म भने आफ्नो अधिकांश ऊर्जा मित्र बटुल्नमा प्रवाहित गर्छु । यिनै मित्रवर्गले मलाई जीवन धान्न सहयोग गर्छन् । संसारमा  मित्रको धनीलाई आर्थिक अभावको के फिक्री ! मेरा समस्त आर्थिक आवश्यकता मित्रवर्गबाट पूर्ति हुन्छन्  । मसँग मित्र बनाउने कला, समर्पण र संस्कार छ ।

मलाई सहयोग गर्ने मित्रहरुको नाम उजागर गरेर म उनीहरुको मानमर्दन गर्न चाहदिन् । तर, यो मेरो विगत डेढ दशकदेखिको अनुभव हो, जीवनमा जहिले जे आवश्यक हुन्छ, कुनै न कुनै मित्र त्यसको पूर्तिका लागि सम्मुख आएकै हुन्छन् । लुगा पुराना नहुँदै कोही न कोही वस्त्र लिएर आईपुग्छन्, मोबाइल आवश्यक हुँदा कसैले मोबाइल दिन्छन् । चप्पलदेखि टोपीसम्म प्रदान गर्ने मित्रवर्ग छन् ।

विगत १५/१६ वर्षदेखि मैले ज्याकेट किनेको छैन । जाड़ो  त प्रत्येक वर्ष आउँछ, म स्वस्थ छु र बाँचेकै छु, यसको अर्थ मलाई ज्याकेट प्रदान गर्ने मित्रहरु छन् । सन् २००६ देखि नै कोही न कोही मित्रले ल्यापटप उपलब्ध गराउँदै आएका छन् ।

मसँग यात्रा गर्नका लागि कहिले पनि यथेष्ट धन हुँदैन,  तर पनि वर्षमा २/३ पटक भ्रमण गरेकै हुन्छु । 

जीवनका सबै आवश्यकता मित्रहरुले पुर्‍याईरहेका छन् । मसँग उनीहरुलाई दिने समयबाहेक केही छैन । मित्रहरुसँगको भेटघाट, गफगाफ र विभिन्न तर्क वितर्कमा जीवनका आनन्द  लिईरहेको छु । मेरा मित्रवर्ग प्रायः दुई कोटिका छन्, एकथरि जोसँग आध्यात्मिक चर्चा परिचर्चा हुन्छ अनि अर्कोथरि ती जोसंग विज्ञानका विषयमा चर्चा हुन्छ ।

आध्यात्मिक वर्गका मित्रको सुची लामो भए पनि विचार मिल्ने राम थपलियाबाहेक कोही छैनन् । रामले मेरो संगतबाट परिपक्वता पाए कि मैले उनको  संगतबाट ? छुट्याउन गाह्रो छ। नेत्र आचार्य र छत्र कार्कीबाहेक अधिकांश मित्र आध्यात्मिकताको नाममा, कोही ठगिएका छन्, कोही ठगी रहेका छन् । मभन्दा अति क्षमतावान दुईजना मित्र कुसुम भट्टराई र लीलाराज खतिवडाको अवस्था हेर्दा मन विरक्तिन्छ । यिनले अध्यात्मलाई बिगारे अथवा अध्यात्मले यिनलाई बिगार्‍याे, यसको निर्क्यौल, मजस्तो सामान्य बुद्धिको प्राणी र उनीहरुको मित्रसमेत भएका कारण, मबाट संभव छैन ।

भूमध्यसागरमा एउटा जीव पाइन्छ, जसलाई ‘जेलीफिस’ भनिन्छ । यसको वैज्ञानिक नाम ‘टुर्रीटोप्सिस डोहर्नी’ हो ।  ‘डोहर्नी’सँग अमरताको 'वरदान' छ । हो, तपाईंले ठीक पढ्नुभयो, ‘डोहर्नी’सँग अमर हुने विद्या (एल्केमी) छ ।

अचेल म आध्यात्मिक मित्रभन्दा विज्ञानमा रूचि राख्ने मित्रवर्गसँग समय बिताउन रुचाउँछु । किनभने आध्यात्मिक वर्गमा राम थपलियाजस्तो हृदय र मस्तिष्क खुल्ला भएका अर्को मित्र नै छैनन् ।

एकजना महिला पात्र हुनुहुन्छ, माइजुु । उहाँ चाहिं आध्यात्मिक विषयक मेरा कुरा (विचार, तर्क, अनुभव) बड़ो मन पराएर सुन्नु हुन्छ । प्रायः घरमा बोलाई राख्नु हुन्छ । घण्टौ आध्यात्मिक चर्चा परिचर्चा हुन्छ । मेरा प्रत्येक कुरामा उहाँको  प्रबल समर्थन रहेको हुन्छ तर परिणाम भने शून्य ! उहाँमा कुनै पनि आध्यात्मिक उत्थानको प्रस्फुटन भएको छैन ।

आध्यात्मिक क्षेत्रका यस्तै यस्तै परिवेशले दिक्क भएर विज्ञानप्रेमी साथीहरुसँग बढी उठबस गर्न थालेको हुँ ।

विज्ञान बिषयका मेरा सबैभन्दा नवीन मित्र हुन्,  डाक्टर सरोज ज्ञवाली । उनी र म ‘फ्युचरोलोजी’ (सिस्टमेटिक फोरकास्टिङ अफ फ्युचर, स्पेसियली फ्रॉम प्रेजेन्ट ट्रेन्ड्स् अफ साइन्स् एण्ड टेक्नोलजी) मा गफिन मन पराउँछौं । अर्को अर्थ नलागेमा, हामी दुबै आफूलाई भविष्यद्रष्टा  (futurologist।)  भन्न मन पराउँछौं।

हामी प्रायः सन् २०४०/०५० तिर र त्यसपछि विश्वमा विज्ञान प्रविधिले ल्याउने कल्पनातीत परिवर्तन र समृद्धिबारे चियाचर्चा र चियोचर्चा गर्छौं ।

हाम्रो मान्यता छ, ‘वर्तमानको वैश्विक परिवेश र अढाई तीन दशकपछिको विश्वमा यति धेरै फरक हुनेछ कि पुरानो पुस्ताका मान्छेका लागि त्यसबेला जीवन धान्न बड़ो जटिल बन्नेछ। 'एआई' (आर्टिफिसियल इंटेलिजेंस) को बढ्दो प्रयोगले जीवन जिउन मानिससँग नयाँ किसिमको दक्षता र प्रतिभा आवश्यक पर्नेछ ।

त्यो दक्षता के हुन्छ, अनुमान गर्न सक्नुहुन्छ ?

केही नगरीकन बस्न सक्ने ! हो, आउँदो समयको सर्वाधिक महत्वपूर्ण योग्यता नै केही नगरी बस्नसक्ने क्षमता हुनेछ ।

आजका मितिमा मानिसले गर्ने जुन जुन काम तपाईं सम्झिन सक्नुहुन्छ, ती सबै काम यन्त्रको जिम्मामा पुग्ने छन् । खेतिहर मज़दूरदेखि युध्द लड़ने सैनिक, ड्राइभरदेखि पाइलट, शिक्षकदेखि सम्पादक, नर्सदेखि डाक्टर, इन्जीनियर र कहाँसम्म भने यौनकार्यका लागि समेत यन्त्र नै उपलब्ध हुन्छन् । तपाईंका लागि कुनै काम बाँकी रहँदैन ।

रातोपाटीमा विज्ञान विषयको स्तम्भ नै राखेका प्रधान सम्पादक जिवेन्द्र सिम्खडा 'एआई' जमानाका तरक्कीहरु सुन्न रुचाउँछन् । एकदिन हास परिहासमै मैले भनें, जिवेनदाई अरु ३० वर्ष बाँच्ने प्रयास गर्नुस्, तपाईले घरमा बसी बसी तलब पाउनु हुनेछ । प्रविधिले यस्तो फड्को मार्नेछ, तपाईको मस्तिष्कको कनेक्शन एउटा सफ्टवेयर (अपरेटिंग सिस्टम) सँग हुन्छ । तपाईँले आजका मितिमा गर्ने सारा सम्पादकीय दायित्व त्यै सफ्टवेयरले गर्नेछ । रातोपाटीले तपाईको 'इंटेलेक्चुअल फेनोमेना'  प्रयोग गरे बापत तपाईंलाई घरमै तलब पठाईदिनेछ ।

यति मात्र हैन, 'नैनो टेक्नोलॉजी', 'थ्री डी प्रिंटिंग' र चिकित्सा विज्ञानमा आविष्कार र विस्तार भइरहेका तमाम उच्चतम प्रविधिले मानिसलाई बिरामी हुनदिने छैन । अहिलेको जस्तो किडनी प्रत्यारोपणका लागि भविष्यका केपी ओलीहरुले 'गोरु बेचेको साइनो'का भान्जी दाता खोजी राख्नुपर्दैन । किनकी किडनी ल्याबमै तैयार हुन्छन्। किडनी मात्र होइन, शरीरका सबै अंग ल्याबमा तैयार हुन थाल्छन् । आफुले चाहेको बेला मुटु, आँखा, कान सबै फेर्न मिल्छ ।

त्यसो भए, के मानिस अमर हुनेछन् ?

भर्खरै सरोजसँग भएको भेटमा हामी बीच ‘अमरता’ (मन वाञ्छित लामो जीवन) बारे चर्चा चल्यो । के यो सम्भव छ ?

यसै विषयमाथि हामी दुईबीचको वार्तालापका केही भावहरुको  बैजंतीमाला उन्ने प्रयत्न गर्दैछु ।

मलाई पूर्ण विश्वास छ, एक डेढ सय वर्षभित्र नै यो  बैजंतीमाला जनजनको कण्ठ सुशोभित भई मृत्युलाई ‘पराजयको हार’ पहिराई बिदा गर्न सक्षम हुनेछ ।

वैज्ञानिकहरुलाई भूमध्यसागरमा पाइने एउटा जीव ‘जेलीफिस’बारे अध्ययन गर्ने क्रममा सर्वथा अनौठो र विस्मयकारी तथ्य हात लागेको छ । त्यो  तथ्य हो, ‘जेलीफिस’ले आफ्नो जीवनकालमा बारम्बार नयाँ जीवन प्रारम्भ गर्छ ।

तपाईंलाई आश्चर्य लागेन ? हुनसक्छ, मेरो भाषागत सामर्थ्यहीनताले बिषय स्पष्ट गर्न सकेन । पुनः प्रयास गर्छु म ।

भूमध्यसागरमा एउटा जीव पाइन्छ, जसलाई ‘जेलीफिस’ भनिन्छ । यसको वैज्ञानिक नाम ‘टुर्रीटोप्सिस डोहर्नी’ हो ।  ‘डोहर्नी’सँग अमरताको 'वरदान' छ । हो, तपाईंले ठीक पढ्नुभयो, ‘डोहर्नी’सँग अमर हुने विद्या (एल्केमी) छ ।

वैज्ञानिकहरुका अनुसार ‘जेलीफिस’सँग यस्तो क्षमता विद्यमान छ, जसको सामर्थ्यले यसले चाहेको बेला आफ्नो शरीरका  कोशिकालाई फेर्नसक्छ र यस प्रकारको कोशिका फेराईबाट 'जेलीफिस' फेरी युवावस्थामा फर्किन सक्छ । सोझो र स्पष्ट शब्दमा बुझ्नुस्, वृध्द उमेरमा पुगेको 'जेलीफिस' पनि आफ्नो आकार प्रकार परिवर्तन गरी फेरी तन्नेरी वा शैशवावस्थामा फर्किन सक्छ ।

‘डोहर्नी’ले वास्तविकतामा यस्तो सामर्थ्य बोकेको छ । वैज्ञानिकहरुका अनुसार 'जेलीफिस'मा यो प्रक्रिया प्रारम्भ हुँदा ‘जेलीफिस’का ‘बेल’ र ‘टेटिंकल्स्’ परिवर्तित भएर ‘पालिप’ बन्न पुग्छन् । यस प्रक्रियालाई ‘सेलुलर ट्रान्स्डिफरेसिएसन’ भनिन्छ । यस अन्तर्गत पुराना कोशिकाहरु आफ्नो पुरानो आकारबाट नयाँ आकारमा ढली नयाँ शरीर निर्माण हुन्छ ।  ‘जेलीफिस’ले आफ्नो जीवनमा यो प्रक्रिया एकपटक मात्र होइन, अनेकपल्ट गर्नसक्छ । ‘जेलीफिस’ कैयन पटक बृध्द भएर  फेरी यौवन कालमा फर्किनसक्छ ।

इटालीको सेलेन्टो विश्वविद्यालयको प्रोफेसर स्टेफेनो पिराइनोले ‘फिनिक्स्’ नामक परियोजना शुरु गरेका छन् । उनले 'जेलीफिस'को डिएनएको सानो भागलाई ‘सिक्वेन्स्’ गर्ने कार्य गरेका छन् ।  उनको प्रयास ‘डोहर्नी’का कोशिकाहरुको आपसी संवाद बुझ्ने दिशामा केंद्रित छ । प्रो. पिराइनोकाअनुसार 'जेलीफिस'भित्र प्रकृतिले दिएको यस शक्तिबारेको  सम्पूर्ण ज्ञान उसको पूरा 'जिनोम् डिकोड' नभएसम्म थाहा हुँदैन ।

‘डोहर्नी’ बाहेक 'जेलीफिस'का अन्य प्रजातिमा पनि यस्तो क्षमता रहेको पाइएकोछ । त्यसमा एउटा ‘आरेलिया एसपी–१’ हो । उसो त, ‘मानिसभित्र पनि प्रतिपल कोशिका जन्मिने र मर्ने प्रक्रिया चलिरहन्छ । झण्डै सात वर्षको अवधिमा मानिसका समस्त कोशिका नयाँ भइरहेका हुन्छन् ।

'जेलीफिस'भित्र यस्तो के प्रक्रिया हुन्छ, जस्ले गर्दा ऊ बारम्बार आफ्नो शरीरका कोशिका फेरेर नयाँ जीवन धारण गर्नसक्छ ? यसको जबाब अझै विज्ञानको पहुँच र पकडबाट टाढा छ । एकपटक 'जेलीफिस'को समस्त ‘जिनोम्’ ‘डिकोड’ भएपछि यो रहस्य छर्लङ्ग हुनेछ । र, यो रहस्य जटिल होइन, अत्यन्त सहज र सरल हुनेछ । उदाहरणका लागि एउटा खास किसिमको प्रोटिनले 'जेलीफिस'मा यो चामात्कारिक क्षमता रहेको हुनसक्छ।

'जेलीफिस' मात्र होइन, एउटा अर्को जीव ‘सालामेन्डर’मा पनि आफ्नो जीवन नबिकरण गर्नसक्ने क्षमता रहेको पाइएको छ । तर,  'सालामेन्डर'ले पनि जीवनको यो प्रक्रिया कसरी सञ्चालन र सम्पन्न गर्छ ? यो पनि विज्ञानको पकड़मा आउन सकेको छैन ।

लन्डनका एकजना महिला डाक्टर मैक्सिमिना युन ‘सालामेन्डर’को ‘ब्लास्टिमस’ अध्ययन गरिरहेकी  छन् । 'ब्लास्टिमस'लाई हामी कोशिकाको झुप्पा भन्न सक्छौं । डाक्टर युन भन्छिन्, ‘हामी सालामैन्डरको प्रतिरक्षा प्रणालीबारे (इम्युन सिस्टम)  बुझ्न खोजिरहका छौं ।’

अहिलेसम्मको वैज्ञानिक मान्यताअनुसार शरीरभित्रको ‘इम्युन सिस्टम सेल्स् माइक्रोफेगस्’ नै 'जीवनमा पुनः नवजीवन' प्राप्त गर्ने कार्यमा अवरोधक छ । युनका अनुसार हाम्रो यो मान्यता पुरै गलत हुनसक्छ । ‘माइक्रोफेगस्’ नै पुनर्जीवनको प्रमुख घटक रहेको पनि प्रमाणित हुनसक्छ । डा युन भन्छिन्, 'अब हाम्रो आधुनिक विज्ञान विस्तारै काल्पनिक विज्ञानको दिशातर्फ उन्मुख हुँदै गइरहेको छ ।'

वैज्ञानिकहरु प्रयोगशालामा मानव ‘डीएनए’ माथि अनुसन्धानरत छन् । सीआरआइएसपीआर (clustered regularly interspaced short palindromic repeats)  संक्षेपमा ‘क्रिस्पर’ जस्ता  ‘डीएनए’ सम्पादन गर्ने प्रविधिमा निरन्तर विकास हुँदै गइरहेको छ ।

पोर्टल्याण्डस्थित 'ओरेगन हेल्थ साइन्सेज युनिभर्सिटी' का वैज्ञानिक शोकरत मितालीपोभले अनेकौं मानव भ्रुणमा आनुवंशिक उत्परिवर्तन गर्ने सफलता पाएका छन् । यस प्रविधिले भविष्यमा कल्पना नगरेका कार्य गर्नेछ । डीएनए संपादनबाट भ्रूण अवस्थामै रोगका कारक 'जींस' काटेर रोगमुक्त बच्चा जन्माउने थालनी भइसकेको छ । चीनमा जन्मिएका लूलू र नाना यसका उदहारण हुन ।

विज्ञान मानिसलाई रोगमुक्त, चिरयौवन सम्पन्न बनाउने दिशामा निरन्तर क्रियाशील छ । हाम्रो समयका लोकेन्द्रबहादुर चन्द, माधवप्रसाद घिमिरे, सत्यमोहन जोशीहरुलाई बुढ्यौलीको अदृश्य छाँयाले प्रभावमुक्त राख्न नसकिए पनि वशिष्ठ गोत्रीय यस पंक्तिकारलाई पूर्ण आशा एवं विश्वास छ, भविष्यमा हुने यस्ता दिव्यात्मालाई मानव सभ्यताले कालको (समयको) फेरबाट जोगाइ राख्ने कला वा सामर्थ्य  हासिल गर्नेछ ।

विज्ञान अध्ययनमा जति जति मेरो प्रवेश हुँदै गईरहेको छ, त्यति त्यति नै मलाई सबै सबै राजनीतिज्ञहरुप्रति वितृष्णा भाव जाग्रत हुँदै गईरहेको छ। आधुनिकभन्दा अत्याधुनिक रासायनिक, आणविक आयुधको विकास र प्रबर्ध्दनमा अर्बौं डलर खन्याउने अथवा चन्द्र, मंगल, सूर्यलगायतका पिण्ड अध्ययन हेतु खरबौं डलर खर्चिने समृद्ध राष्ट्रका हर्ताकर्ता हो !

आफ्नो राष्ट्र एक वर्षको रक्षा बजेट मात्र मेडिकल साइन्सलाई उपलब्ध गराए सरोज र मैले कल्पना गरेको ‘अमरत्व’को दिन सय डेढ सय वर्षभन्दा टाढा रहँदैन ।