दैहिक अभिवादनको जरो हल्लाइ : हस्तमिलन र अङ्कमाल गर्नुपर्ने बाध्यताको अन्त्य !
श्रावण २८, २०७७

कसैलाई भेटेर हात मिलाएर सभ्य हुने जमाना गयो । आँखिर हात मिलाउने हाम्रो चलन झन्झटिलो अवश्य  पनि थियो । तर यसलाई हाम्रो सभ्यता हैन । हाम्रो सनातन प्रचलन हैन भनेर दुत्कार्न चाहन्नँ । यसरी दुत्कार्नुभन्दा पहिले लगाएका लुगा फुकालेर फाल्नुपर्ला ! डाइनिंग टेबुल बाल्नु पर्ला । भयो यस्ता कुराको सूची नबनाऊँ यहाँ । यो तथ्यांक शास्त्रको विषय हो,  समाजशास्त्रको होइन । त्यसकारण हस्तमिलनलाई पराईकरण गरेर बडो मान्छे बन्नु मेरो उद्देश्य होइन । हाम्रो व्यवहारमा लिसो भएर टाँसिएको प्रचलनलाई हाम्रो हैन भन्नु बुद्दु बन्नु हो ।

हस्तमिलनका पनि सहस्र स्वरूपको विकास गर्‍यो दुनियाँले । हाँसेर, निहुरेर, आँखा जुधाएर, उफ्रेर, दुबै हात समाएर, अँगालो मारेर, मुठ्ठी ठोकेर, औँला जुधाएर, कुम ठोकेर । कसैले त लात्ती जुधाएर पनि हस्तमिलान गर्न थाले । उमेर अनुसारक तरिका फरक पर्न थाल्यो । कुकुर, बिरालो र बाख्राको पाठासित समेत हात मिलाउने प्रयास हामीले गरेका छौँ  । समतामूलक समाजनिर्माणामा हाम्रो योगदान थियो यो । 

औपचारिक अभिवादनको विश्वव्यापी मान्यता प्राप्त प्रविधि हस्तमिलन थियो । हस्तमिलनको तौरतरिका हेरेरै उसको खानदान विश्लेषण गरिन्थ्यो । सडक छापबाट ह्वात्तै माथिल्लो पदमा पुगेकालाई त हस्तमिलन सम्बन्धि तालिम दिएर भद्रताको लेप लगाइन्थ्यो र उसलाई अकबरी बनाइन्थ्यो । अब त्यस्ता अकबरेहरूको पनि राग कम हुनेभयो बिचरा !

आयातित संस्कार, विचार, वस्तु र प्रविधि अपनाउन जति सरल हुन्छ त्योभन्दा धेरै गुना गारो हुन्छ आफ्नो भनिएकालाई निरन्तरता दिन यो भूमण्डलीकरणको जमानामा ! नमस्कार गर्न झुक्नुपर्ला जुन कार्य स्वाभिमानी नेपालीका लागि फलामको च्युरा चपाउनुजस्तै हो । यत्रा वर्ष हात मिलाएर हुर्केकाहरू यतिबेला पश्चिमाहरूले नमस्कार गर्न थाले भनेर गर्वले फुलिरहेका छन् । पश्चिमाहरू हाम्रो पारा देखेर कति गर्वित हुँदा हुन् ?  नमस्कार !

हस्तमिलन पनि कम उदेक लाग्दो काम चाहिँ हैन । कसैले शौचालयबाट निस्किँदा निस्किँदै च्याप्पै हात समाइ दिन्छ । नधोएको भए नि उसको हात अपवित्रै हो धोए पनि नसुकुन्जेललाई पवित्र मान्न सकिँदैन । आफैंले पनि जीवनमा यस्तो गरिएन भन्ने अवस्थामा म छैन । शौचालयकोद्वारमा मान्छे भेटिन्छ हस्तमिलन नगरौँ ठुलो मान्छे भयो भन्ला भन्ने पिर ! मिलाऊँ थुक्ला भन्ने पिर? कोही सुर्ती माड्दै आउँछ र हात तेर्स्याइदिन्छ । माड्ने सुर्ती हुँदा त तैबिसेक । नालीबाट उठाएर ल्याएको जस्तो हिलो सुर्ती भर्खर मुखमा कोचेको रहेछ या चोरी औँलाले सोरेर फालेको रहेछ भने तपाईलाई आफ्नो हात भर्खर चर्पीमा गाडेँ कि जस्तो लाग्न सक्छ । कसैको हात पसिनाले भिजेर हरबखत बाबर जस्तो भइरहेको हुन्छ त्यस्ता मान्छेसित हस्तमिलन गरेपछि आफ्नो हात कहाँ पुछूँ भन्ने पिरले सताउँछ । उता उसको हातले भने अतिशय सद्भावका कारण आफ्नो कुममा पुगिकन पन्जाको छाप हान्न भ्याइसक्छ ।कोही भोजनालयमा वा चिया चौतारीमा भेटिन्छन् तिनीहरूसित पनि निस्शंकोच हातमिलाइन्छ । जसलाई हामी कर्तव्यपूर्ण अनुशासन मान्थ्यौँ । 

हाम्रो समाज हस्तमिलनको केसमा समानतावादी पनि थिएन । महिला र पुरुष भएका ठाउँमा पनि पुरुषसित हात मिलाएर महिलालाई नमस्कार गर्नुपर्ने बध्यताबाट तपाईं पीडित हुनुभएको छैन र ? महिलाको हातमा के थियो त्यस्तो मिलाउन नहुने ? हातमा पनि लैंगिक करेन्ट अनुभूत गर्ने  हाम्रो मानसिक खतरा यसको बाधक भएको हुनसक्छ । नारीपुरुष बराबरीको मन्त्र जप्दै एउटासित हात मिलाउने र अर्कालाई नमस्कार गर्नु पर्दा यो मन कति रोयो होला तपाईं अनुमान गर्न सक्नु हुन्छ । महिलाहरूलाई नि हात जोरूँ कि पसारूँको द्वैत मानसिकताले आघात पारेको महसुस गर्न सकिन्छ । उनीहरूलाई पनि निर्धक्क भएर हात मिलाउन मन लाग्छ नै होला । परिवारको बारबाट बाहिर निस्केपछि हस्तमिलन झन्झटसहितको अभिवादन हो ।

महिला हिँसालाई संकेत गर्नुपर्दा हस्तमिलनलाई अचानो बनाउने गरिन्छ । हातमिलाउने निहुँले महिलासित निकट हुने, धेरै बेर हात समाइरहने, कस्तो नरम हातरु न्यानो हात भनिदिने जस्ता व्यवहार हात समाए महिलाको आँतमा प्रहार गर्न खोज्ने हरूबाट हुँदो रहेछ ! जुन कुरा निन्दनीय हो ।

कतिपय सज्जनहरूलाई भने हस्तमिलन पहिलेदेखि नै अवाञ्छित व्यवहार लाग्थ्यो । तिनीहरूले यो जीवनमा हात मिलाएको देख्न मेरा नयनले पाएका छैनन् र नपाइकनै म मर्छु होला । उनीहरू आफ्नो अडानमा कटिबद्ध रहुन् । अहिले तिनीहरूकै याम सुरु भएको छ । नमस्कारको जमाना छ । तर त्यस्ता मानिसका हात नमस्कारका लागि पनि छिटै ब्युँझिने भने होइनन् । कप्टी र अहंकारी हात । 

एकाथरि मान्छे हात पसारेर हिँड्छन् कतै हस्तमिलनको महान् औसरबाट छुट्नु नपरोस् भनेर । यस्ता मान्छे राजनीतिक र सामाजिक हुनुका साथै कुटनैतिक पनि हुन्छन् । महिला पुरुष दुबै हुन सक्छन् । तपाईंले थाहा पाउनु अगाबै हस्तमिलन सुसम्पन्न भइसक्छ । यहाँ कोसित हात मिलाउने ? कसलाई नमस्कार गर्ने ? भनेर चिन्ताको क्षिरसागरमा डुबिरहनु पर्दैन । परिस्थिति संग्लेर आइहाल्छ । 

केही मान्छे यस्ता पनि देखेको छु जो कि त हात बाँधेर हिँड्छन् कि त खल्तीमा हालेर हिँड्छन् । बिना बिचारे कसैसित हात मिसिइहाल्छ कि भन्ने चिन्ताग्निमा पिल्सिइरहेका हुन्छन् । जो पायो त्यहीसित हात मिलाउनु उनीहरूका लागि दुर्घटना हो । जात जानु हो । हात मिलाउनुपूर्व सय पल्ट सोच्नु उनीहरूको अभिजतीय वैशिष्ट्य हो । परबाट आइरहेको मान्छेको पद, प्रतिष्ठा, जात, धर्म छ्यानबिचार गरेर मात्र हात अघि सार्नु र केहीकथम् तलबितल परेमा चार रात निदाउन नसक्नु यस्ता मान्छेको नरकीय दःख हो । 

लोभी हात, पापी हात, दानी हात, अपराधी हात, सहयोगी हात, मनकारी हात, आशीर्वादको हात, लामो हात, छोटो हात यस्ता अनेकौँ हात फेला पर्छन् जसलाई आफूमा मिलाएर आत्मसात् गर्नुपर्ने बाध्यता क्षीण भएको छ । कसैको शरीरसित प्रत्यक्ष रूपेण सम्पर्कमा जानु स्वास्थ्यका हिसाबले अवाञ्छिनीय त हुँदै हो नैतिक हिसाबले पनि प्रशंसनीय हुँदैन  । तर अहिलेको कोरोनात्मक महामारीले भने हस्तमिलन र अंकमाल जस्ता दैहिक अभिवादनको जरो हल्लाइदिएको छ । बरू आँखा मार्नुस् रोग सर्दैन ।  

हस्तमिलनको विकल्पमा नमस्कारलाई अघि सारिएको छ। केही दिनमा यसका पनि विभिन्न ब्रान्ड र डिजाइनहरू बजारमा आउनेछन् र ग्राहकलाई मोहित पार्नेछन् । उमेर, पेसा, जात, धर्म अनुसारको डिजाइन हामी पनि स्विकार्ने छौँ । 

हात मिलाउन जति सजिलो नमस्कार गर्न हुने छैन । हात मिलाउने चलन हुन त हाम्रा लगि आयातित नै हो । आधुनिक हो । विकसित भनिएका देशबाट हामीले सिकेका हौँ विकसित बन्नका लगि ! । आयातित संस्कार, विचार, वस्तु र प्रविधि अपनाउन जति सरल हुन्छ त्योभन्दा धेरै गुना गारो हुन्छ आफ्नो भनिएकालाई निरन्तरता दिन यो भूमण्डलीकरणको जमानामा ! नमस्कार गर्न झुक्नुपर्ला जुन कार्य स्वाभिमानी नेपालीका लागि फलामको च्युरा चपाउनुजस्तै हो । यत्रा वर्ष हात मिलाएर हुर्केकाहरू यतिबेला पश्चिमाहरूले नमस्कार गर्न थाले भनेर गर्वले फुलिरहेका छन् । पश्चिमाहरू हाम्रो पारा देखेर कति गर्वित हुँदा हुन् ?  नमस्कार !


वेदमा आचार्य तथा नेपाली साहित्यमा स्नातकोत्तर अलङ्कार सामाजिक, वैदिक र साहित्यिक विषयमा लेख्न रुचाउनुहुन्छ ।