‘वेस्ट सेलर’ को हर्षोल्लास : घामको अगाडी मैनबत्ती बालेर उज्यालोको धाक

‘वेस्ट सेलर’ को हर्षोल्लास : घामको अगाडी मैनबत्ती बालेर उज्यालोको धाक

राजकुमार दिक्पाल  |  दृष्टिकोण  |  भदौ ८, २०७७

अक्षरहरुमार्फत् श्रीजी (श्रीभक्त खनाल) मेरो मानसपटलमा बास बसेको नाम हो । नेपालमा रहँदा पत्रकारितामार्फत श्रमजीवी गर्दै चेतनाको दियो बाल्नुहुन्थ्यो उहाँ । म आफूले युरोप टेक्नासाथ श्रीजीले पनि यतै श्रम जीवनको अर्को संस्करण पुरा गरिरहनुभएको सुन्न पाउँदा मेरो आफ्नो लागि चित्त बुझाउने एउटा पाटो प्राप्त भएको थियो । सोचेँ, ‘ओहो, उहाँजस्ता व्यक्ति पनि यतै हुनुहुन्छ भने मैले युरोप आएर त्यस्तो के गल्ती गरेको हुँला र ?'

खास गरी नेपालका रहस्यमय व्यक्ति ऋषि केश शाहको आत्मकथा ‘प्रारब्ध र पुरुषार्थ’ लेख्दा उहाँले गर्नुभएको मेहनत र पाउनुभएको हन्डर बारे एउटा बसाइमा वसन्त थापा दाइबाट गजबैले सुन्ने अवसर पाएको थिएँ ।  

श्रम जीवनको अर्को संस्करणका बिच उहाँले आफ्नो कर्मको मूल मर्मलाई भुल्नुभएको रहेनछ । अन्वेषणात्मक आँखाहरूबाट नेपाली समाजको विन्दुहरूलाई सूक्ष्म रूपले नियालिरहनुभएका श्रीजीसँग केही समय यतादेखि निकट वर्ती भएर ज्ञानको आदान प्रदान गर्न पाउनुले मनमा हर्ष छाएको छ । यो प्रवासी जीवनमा आफूले आफ्नो मर्म बुझ्ने एक जना साथी पाएकोमा धन्य भएको छु । 

केही रहर र केही बाध्यताहरूबिच म युरोप छिरेँ । यता आएपछि यतै देखेँ भोगेको अनभूतिहरुमाथि कलम चलाउँला भन्ने सोचेको थिएँ । इतिहास सम्बन्धी दुई वटा शीर्षकमाथि चाहिँ कलम चलाउँछु भन्ने लागेको थियो । ती थिए, राई लिम्बूहरूमा रहेको 'म्यागेजिन कर'सम्बन्धी भ्रमको निवारण र पृथ्वीनारायण शाहका बुवा नर भूपाल शाहको जीवनको उत्तरार्द्धतिर उनको एक कमारो केटोसँगको 'शङ्कास्पद' सम्बन्ध । 

मैले यो घटनालाई यो पुस्तक लोकार्पणमा मैले मेरी आमालाई पनि सहभागी गराउन पाएकोमा अर्को गौरव बोध छ । यसै साता आमाको उमेर ९० वर्षमा प्रवेश भयो । पहिलो पटक आमाको जीवनमा जन्मोत्सव पनि सम्पन्न भयो । ९० वर्ष  प्रवेश गर्दै गरेको अवस्थामा आमाको हातबाट पनि विमोचनको तारतम्य मिल्न सक्नु मेरा लागि जीवनकै ठुलो अवसर बन्न पुगेको छ ।बुवा त म १४ वर्षकै छँदा बित्ती जानुभयो । थाहा छैन, उहाँले कल्पना गर्नु भएको थियो कि थिएन, म एउटा लेखक बन्छु भन्ने कुरा !

यी दुई विषयलाई अन्वेषणात्मक पद्धति अपनाएर प्रकाशमा पनि ल्याएँ । यो अन्वेषणात्मक पद्धतिको लेखनपछि ममा थप अध्ययन, अनुसन्धान र लेखनको भोक जाग्यो । अनि आफ्नो थोत्रो ल्यापटपभित्र आफूले सङ्ग्रह गरिराखेको ज्ञानका नयाँ पक्षहरूबारे दृष्टि दिने क्रमको सुरुवात गरेँ, मैले । तर किताबै तयार होला भन्ने चाहिँ सोचेको थिइनँ ।
...

इतिहास अध्ययन मेरो रुचिको विषय हो । अन्नपूर्ण पोस्टमा वरिष्ठ समाचारदाताको नियुक्ति लिएर काम सुरु गर्दै थियौँ । नयाँ सहकर्मीहरूबिच चिनापर्ची साँटासाँट हुँदै थियो । त्यतिखेरै मैले साथीहरूलाई फ्याट्टै भनेछु, ‘मलाई इतिहास अध्ययनमा रुचि छ ।’

‘इतिहास सम्बन्धी चासो छ भने मसँग पनि सम्पर्क राख्दै गर्नुस् है’, एक जना मित्रबाट यस्तो प्रस्ताव आयो । 

पछि सम्पादन कक्षको एउटा सिफ्टको इन्चार्जका रुपमा मैले ती मित्रसँग लामो समयसम्म सङ्गत गर्ने अवसर प्राप्त गरेँ । ती मित्र त त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहमा इतिहास विषयमै स्वर्णपदकधारी भीम अर्याल पो हुनुहुँदो रहेछ । उहाँ त्रिचन्द्र क्याम्पसमा इतिहास विषयकै प्राध्यापन गर्नुहुन्छ र एक राष्ट्रिय दैनिकसँग पनि आबद्ध हुनुहुन्छ ।

अञ्जना अञ्जनमै यसरी मैले घामको अगाडी मैनबत्ती बालेर उज्यालोको धाक लगाएको जस्तो गरेछु ।
... 

नेपालमा रहँदा मेरो श्रम जीवनको दुई वटा पक्ष थियो, एक पत्रकारिता र अर्को प्राध्यापन । आमसञ्चार तथा पत्रकारिता पढाउँथेँ । मूलपेशा पत्रकारिता भएकोले मैले आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेपछि सोही विषयमा प्राध्यापन गरेको हिसाबले मेरो अन्वेषणात्मक अभीष्ट सञ्चार अनुसन्धानसम्बन्धी हुनुपर्थ्यो । तर त्यस विषयले मेरो मन कहिल्यै खिच्न सकेन । केही सञ्चार अनुसन्धानहरू गरेँ पनि, त्यसबाट खासै तृप्ति पाउन सकिनँ । त्यसैले सञ्चारविज्ञहरुसँगभन्दा इतिहासकार र समाजशास्त्रीहरुसँगको सङ्गत मेरो लागि प्रिय कर बन्न पुग्यो । उनीहरूसँगको सङ्गतको परिणामस्वरूप मेरो ल्यापटपमा पुराना कागजपत्र तथा विषयगत सन्दर्भ ग्रन्थ ठिकठिकै हिसाबले व्यवस्थित भएको रहेछ । त्यसमाथि दृष्टि दिँदै पढ्दै गइयो, लेख्दै गइयो । 

...

लिम्बू जातिको इतिहासमा एउटा महत्वपूर्ण तिथि प्रचलित छ । त्यो हो, वि.सं. १८३१ साउन सुदी २२ सोमबार । तिथि गणनामा  'सुदी' वा 'वदी' २२ सम्म पुग्दैन । तर यसैलाई कतै सारेर राखिएको कागजलाई जबरजस्ती रुपमा कोही कतैबाट सक्कली लालमोहर घोषणा गरिएपछि त्यो गल्तीबाट जोगाउनु, सच्याउनु वा थप खोजी गरी आवश्यक विवेचना गर्नुलाई मैले आफ्नो कर्तव्य सम्झेँ । त्यसलाई केही लेखनहरूबाट सार्वजनिक गरिसकेको छु ।

यसबाट लिम्बूसम्बन्धी केही तथ्यहरू खोजी गर्ने जाँगर चल्न थाल्यो । केही अध्ययनले ज्ञानको आँखीझ्याल पनि खुल्दै गरेको अनुभूति भयो । यसै क्रममा वि.सं. १८४८ मा लिम्बूहरूले हालको सङ्खुवासभाको चैनपुरमा ठुलो विद्रोह गरेको एउटा ऐतिहासिक तथ्यमाथि आँखा मात्र के परेको थियो, त्यसलाई पुष्टि गर्ने सक्कली कागज अर्का संस्कृतिविद् टङ्क वनेम (हाल बेलायत) बाट प्राप्त भयो । त्यसपछि लगातार थप अध्ययनमा समय र ध्यान लगानी गर्न सुरु गरेँ । त्यसैको परिणाम हो, मेरो कृतिगत हिसाबले दोस्रो पुस्तकाकार कृति ‘आदिवासी विद्रोहको इतिहास’ (२०७६)।
...

खास गरी सीमान्तकृत वर्गबारेको लेखन तथा प्रकाशनमा टिप्पणी गर्नेहरूमध्ये कतिपय अल्पज्ञानीले डलर वा युरो खाएर लेखेको आरोप लगाउने गरेका छन् । यस्ता मिथ्याहरू म आफूमाथि पनि नलागेको होइन । तर युरोपमा बसेर श्रम गर्दा पसिनाले निथ्रुक्क भिजेको शरीर केही ओबाएको अवस्थामा अध्ययन र लेखन गरी जन्मिएको मेरो यो कृति न कुनै डलर वा युरोको परियोजना अन्तरगत लेखिएको हो, न नेपालको कुनै प्रतिष्ठानको लेखन वृत्ति पुरा गर्नका लागि लेखिएको हो । यो त मेरो अध्ययन, अनुसन्धान र लेखनको एउटा कर्तव्य निर्वाहका लागि गरिएको एउटा अभीष्ट मात्र हो । 

जति पढ्दै गयो, उति खोज्न मन लाग्ने । जति भेट्दै गयो, उति विवेचना गर्दै जान मन लाग्ने । सिर्जनात्मक कर्तव्यपालनले त चट्टानमा फूल फुलाउने जाँगर चलाउन सकिने रहेछ । मजदुरीको थकाइबाट क्लान्त शारीरिक अवस्थामा पनि मस्तिष्कको तन्तु हल्लिएपछि आफूसँग भएको सन्दर्भ सामग्रीहरूमाथि दृष्टि विन्दु दिन सकिँदो रहेछ, किबोर्डमा औँलाहरू चल्मलाउँदारहेछन् । प्रकाशन संस्थाहरूले लेखकसँग लेख रचना आग्रह गर्दा रहेछन् । 

यसरी प्रकाशमा आएका विभिन्न अनुसन्धानमूलक लेखहरूलाई जोडेर एउटा सिङ्गो किताबको प्रकाशन सम्भव भएको हो । 

प्रवासमा रहेर श्रम जीवनको अर्को संस्करण पुरा गरिरहेको बेला हरबखत लेखनसँग सम्बन्धित विषय र सन्दर्भ सामग्रीबारे सोच्दासोच्दै कहिले चक्कुले हात काटेको छु, कहिले माझ्दामाझ्दैको प्लेटहरू सम्हाल्न नसकेर फुटाएको छु ।

प्रवास पलायन भएर केही गर्न नसके पनि लेखनको धृष्टतालाई बचाउँदै इतिहासको अध्ययन र लेखनलाई निरन्तरता दिन सकेकोमा गौरव बोध हुन्छ । पहिले प्रायः पुस्तकमा मात्र सीमित अनुसन्धानमूलक इतिहास लेखनले अखबार वा अनलाइनजस्ता आमसञ्चार माध्यममा पनि स्थान प्राप्त गर्न थालेका छन् । यिनै आमसञ्चारमाध्यमहरुमा मैले आफूलाई पनि समाहित गराउन पाएकोमा प्रवास पलायनको हीनताबोधबाट मुक्ति मिलेको छ र थप गहन अध्ययन र लेखनको कर्तब्यवोधको आलिङ्गनमा पनि म आफू गजबैले बाँधिएको छु भन्ने लाग्छ । 

त्यहीँ कर्तब्यवोधबाट विचलित नहुने अन्तर्निहित मनोविज्ञानलाई कायम गरी राख्नुपर्ने दायिङ्खव पनि आइलागेको छ ।
...

यसरी पुरापुर चार वर्ष लगाएर तयार पारिएको कृतिको लोकार्पण भव्य रूपमै सम्पन्न गर्ने मन भयो । कृति प्रकाशनका लागि महत्त्वपूर्ण उत्प्रेरणा र सहयोगका लागि अग्रसर बहिनी कविता राई ‘गाउँले’बाट पनि यस्तो सुझाव आयो ।

काठमाडौँको महँगी आकासिएको समय पुस्तक लोकार्पण हुँदै थियो । मेरो खल्ती हलुङ्गो थियो । हलुङ्गो खल्तीले मनलाई गह्रङ्गो बनाएको थियो । सहयोग याचनाको विकल्प थिएन । 

सर्वप्रथम मैले हङकङवासी बहिनी इन्दुलाई खबर गरेँ,‘किताब आमाको नाममा समर्पण गर्दै छु, तैँले पनि लोकार्पणको लागि केही सहकार्य गर्नुपर्छ ।’

साइनोमा नाति रोशन याक्सोलाई आग्रह गरेँ, ‘नाति, तिम्रो पनि कुनै सामाजिक अभियानमा म सहकार्य गरौँला । पुस्तक लोकार्पण लागि थोरै योगदान गर्न पर्‍यो ।’

हङकङस्थित एभरेस्ट मिडियाका सञ्चालक तथा सम्पादक किसान राईलाई आग्रह गरेँ, ‘म तपाईँको अनलाइन र म्यागेजिनको नियमित लेखक हुँ । अहिले मलाई पुस्तक लोकार्पणका लागि केही खर्चको आवश्यकता छ । म भविष्यमा तपाईँको मिडियाका लागि लेखिनै रहनेछु । त्यसैको अग्रिम पारिश्रमिकका रुपमा मलाई केही खर्च पठाइ दिनुहोला ।'

कोरियामा श्रमको खोला बगाइरहेका भाइ आश्विन राईलाई भने, ‘तपाईँले मेरो पुस्तक लोकार्पणमा आउने पाहुनामध्ये २५ जनालाई जलपान गराउने खर्च पठाइदिनुहोला । तपाईँले कुनै दिन आयोजना गर्ने यस्तै कार्यक्रममा म आफू पनि सहकार्य गरौँला ।'

माथि उल्लेखित सबै जनाले आआफ्नो क्षमता र गच्छेअनुसार पुस्तक लोकार्पणका लागि खर्च पठाइदिनुभयो ।

तर केही आसलाग्दा यस्ता साथीहरू पनि थिए, जसले पुस्तक लोकार्पणका लागि सहयोगको आश्वासन दिएका थिए । तर पुस्तक लोकार्पणको दिन नजिकिँदै जाँदा उनीहरूले मेरो सन्देश ग्रहण गर्नै छाडे । फोन उठाउन छाडे । मान्छे चिनियो । 

२०७६ साल पुस १२ गते मेरो जीवनको अविस्मरणीय दिन थियो । तर त्यो दिन अरु कार्यक्रमहरू प्रशस्त जुधेका थिए । पुस्तक लोकार्पणमा एक सय जना जतिको आगमनको अपेक्षा गरेको थिएँ । तर अपेक्षाको दोब्बर पाहुनाहरूलाई स्वागत गर्न पाउँदा अर्को हर्षोल्लास छाएको थियो । पूर्वी नेपालको कार्यक्रम तालिकालाई छोट्याएर नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला मेरो पुस्तक लोकार्पणका लागि आइपुग्नुभयो । 

त्यहीँ दिन एक सय नौ थान पुस्तक प्रकाशक मञ्जरी पब्लिकेसनले विक्री गर्‍यो ।

यो परिणाम मेरो अपेक्षाभन्दा दोब्बर थियो ।

यसरी मैले प्रवासमै बसेर एउटा अन्वेषणात्मक पुस्तक यो लोकसमक्ष प्रस्तुत गर्न सक्षम भएँ । जीवनको एउटा उपलब्धि मानेको छु, मैले यो घटनालाई यो पुस्तक लोकार्पणमा मैले मेरी आमालाई पनि सहभागी गराउन पाएकोमा अर्को गौरव बोध छ । यसै साता आमाको उमेर ९० वर्षमा प्रवेश भयो । पहिलो पटक आमाको जीवनमा जन्मोत्सव पनि सम्पन्न भयो । ९० वर्ष  प्रवेश गर्दै गरेको अवस्थामा आमाको हातबाट पनि विमोचनको तारतम्य मिल्न सक्नु मेरा लागि जीवनकै ठुलो अवसर बन्न पुगेको छ ।बुवा त म १४ वर्षकै छँदा बित्ती जानुभयो । थाहा छैन, उहाँले कल्पना गर्नु भएको थियो कि थिएन, म एउटा लेखक बन्छु भन्ने कुरा !
...

माथि उल्लेख गरिएका मित्र उनै श्रीजीबाट एउटा सन्देश आयो, ‘तपाईँको किताब त वेस्ट सेलरमा परेको रहेछ नि !’

म आफ्नो लागि एक लापरवाह मानिस हुँ । रत्न पुस्तक भण्डारजस्तो एक प्रतिष्ठित पुस्तक प्रकाशक र वितरकले सार्वजनिक गरेको सात वटा वेस्ट सेलर पुस्तकको सूचीमा आफ्नो पुस्तक ‘आदिवासी विद्रोहको इतिहास’  परेको अरूबाट थाहा पाउनु पर्ने मान्छे म ! 

यहीँ सन्देश श्रीजीबाट थाहा पाउँदा सामाजिक सञ्जालबाट हर्षोल्लास मनाएँ, र प्रशस्तै बधाईहरू पनि थापेँ । एउटा लेखकका लागि यो महत्त्वपूर्ण ऊर्जा हो । यस्तो ऊर्जा कहिलेकाहीँ मात्र मिल्छ जीवनमा !