सम्बन्ध

सम्बन्ध

चिरन ‘चिदानन्द’  |  साहित्य  |  भदौ १३, २०७७

सुनेको थिए 
भूगोलको घेराले जोडेको सम्बन्ध भन्दा 
मनको समिप्यताले जोडेको सम्बन्ध नजिक हुन्छ रे
कोहि जोड्दै थिए
सभ्यता र संस्कृतिका तहमा भएका सम्बन्धको स्मरण
बुलन्द आवाजमा कोहि कुर्लिय
समयसंगै सम्बन्धको परिभाषा फेरिन्छ रे
ऊ द्रष्टा भएर हेरिरह्यो 
भूराजनीतिक धरातलमा आएका भूकम्पका धक्काहरु 
भाग्नाबशेष झुपडीका आँशुका कथाहरु 
धम्कीले लुछिएर लगिएका उस्का गराका पाटाहरु 
तैपनि सधै दोहरी रह्यो निकट सम्बन्धका गीतहरु 
ऊ झस्किन्छ  
बेबारिसे अवस्थामा फालिएको सम्बन्ध जुर्मुराएछ 
सम्बन्धले थिचिएको एउटा अटुट सम्बन्ध 
लाज लुकाउन जोडिएको फेरी एउटा सम्बन्ध
धेरै भो अब त शब्दहरुमा जकड़ीएर 
बास्तबिकतामा बाचेको जीवन  
प्रश्न मनमनै गर्छ ऊ
'पहिचान' के हो ? समयले अर्थ मागेको छ
 'सम्बन्ध'के हो ? समयले परिभाषा खोजेको छ