मुन्धुम् अनुसार लिम्बु जातिका जन्म, विवाह र मृत्यु संस्कार

मुन्धुम् अनुसार  लिम्बु जातिका जन्म, विवाह र मृत्यु संस्कार

हरिचन्द्र लावती  |  जीवनदर्शन  |  बैशाख १९, २०७६

मुन्धुम् र सामाजिक जीवन
साम्जिक् मुन्धुम्ले सामाजिक जीवनमा अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । लिम्बू जातिमा विविध अनुष्ठान र संस्कार गरिन्छन् । मानव जीवनमा जन्म, विवाह र मृत्यु संस्कार अनिवार्य र जरुरी संस्कार भएकाले यहाँ यिनै संस्कारको वर्णन गरिएको छ ।

जन्म संस्कार

जन्म मानिसको जीवनको आरम्भ हो । लिम्बू जातिमा मुन्धुमले मानिसको जन्म संस्कारका सबै अनुष्ठान समेटेको हुन्छ । गर्भधारणपछि जन्म नभएसम्मको समयलाई पनि महत्वपूर्ण मान्छ । गर्भमा रहेको बालक र गर्भवती महिलाको स्वास्थ्य (शारीरिक र मानसिक) राम्रो रहोस्, अनि गर्भमा रहेको शिशुको जन्म सफल रहेस् भनी ‘साप्पोक् चोमन् (कोख पूजा)’गर्ने व्यवस्था छ । त्यस गरी बालक जन्मिएको तीन दिन (छोरी मानिस) वा चार दिन (छोरा मानिस) मा ‘याङ्दाङ् फोःङ्मा (न्वरान)’ गरिन्छ । उक्त बालक उमेर पुग्दै जाँदा क्रमशः ‘थेगक नङ्मा (केश खौरने, ५ वा ६ वर्षमा/छोरा मानिस भए)’, ‘नारा अमप्मा (माइतीले बालकको अनुहार १ महिनाभित्र हेर्ने काम)’, र ‘चाङ्वान् लेक्मा (बालक १४ वर्ष पूरा गरेपछि ऊ वयस्क भएको सामाजिक घोषणा गर्न बालकलाई नयाँ कपडा दिएर गरिने अनुष्ठान)’ गरिन्छ । यहाँ याङ्दाङ् फोःङ्मा र फुङ्वा–चाःङ्माबारे उदाहरणसहित संक्षेपमा वर्णन गरिन्छ ।

याङ्दाङ् फोःङ्मा 

बालक जन्मिएको तीन दिन (छोरी मानिस) वा चार दिन (छोरा मानिस)मा ‘याङ्दाङ् फोःङ्मा (न्वरान)’ गरिन्छ । लछामी सेर्मा ‘पापो’ को अनुसार यो अनुष्ठान गर्दा भालेडाकसँगै कोक्रो÷थुन्चे उठाएर बच्चाको नाम राख्नुपर्छ । त्यसपछि बच्चालाई उदाउँदो घाम देखाइन्छ । बालकलाई आँगनमा राखेर यसरी फलाकिन्छ–

भावार्थः
लिम्बू जातिमा न्वारान कर्म गर्दा भालेडाकसँगै कोक्रो थुन्चे उठाएर बच्चाको नाम राख्नुपर्छ । थुन्चेबाट बच्चालाई बोकेर आँगनमा निकाली निम्न अनुसार फलाक्नु पर्छः

‘फलाना भाले बास्यो ब्युँझ, साथीसंगीलाई उछिन, आकासगंगा देख, तारामण्डल देख, चन्द्र–सूर्य देख, पृथ्वीधर्ती संसार देख, अग्नि, वायु, जललगायत पञ्चतत्व देख चिन, बाँस र बेतझैं टुंगोमा पुग, सफल बन, देवत्व राजत्व देवर्षि राजर्षि प्राप्त गर । साथीभाइले उछिन्छन्, छिटो ब्युँझ । साथीभाइलाई उछिन ।’

यसरी बच्चाको नाम राख्दा लिम्बू भाषा र संस्कृति अनुसार राख्नुपर्छ, जस्तैः इक्सा, युङ्सामा (छोरी मानिसको नाम) अनि सिक्कुम्हाङ्, तान्छोपा (छोरा मानिसको नाम) इत्यादि ।

फुङ्वा–चाःङ्मा माङ्घमा

तङ्सिङ् तक्मा मुन्धुम्को एउटा अनुष्ठानको नाम फुङ्वा–चाङ्मा अनुष्ठान हो । फुङ्वा–चाङ्माको सरल शाब्दिक अर्थ ओइलाएको फूललाई मन्त्रशक्तिद्वारा पुनः पूर्ववत अवस्थामा फर्काउने कार्यलाई फुङ्वा–चाङ्मा भनिन्छ । खास गरेर किशोर–किशोरी र तरुण तरुणीमा शारीरिक स्वस्थ्यता एवं सुन्दरता छावोस् अनि उच्च मनोबलका साथ उच्च आकांक्षा वा उद्धेश्य दुनियाँसामु सफलतापूर्वक सम्पन्न गर्न सकुन्, जीवन सुखमय र सफल रहोस् साथै शिर नढलोस् शिर उच्च रहोस् भनी गरिने अनुष्ठानलाई नै फुङ्वा–चाङ्मा भनिन्छ । यो अनुष्ठान किशोर किशोरी र तरुण तरुणीले मात्र नभई सबै उमेर समूहका मानिसले वर्षमा एक पटक वा समय समयमा एक राते अथवा तीन राते  तङ्सिङ् तक्माको माध्यमद्वारा गरिन्छ । 

ए - यो - किशोरी तरुणीको सिद्धिस्थल हो ।

 किशोर तरुणका सिद्धिस्थल हो ।

 जीवन फूलका बारीमा ।

जीवन फूलहरू छान्यौ, छुट्यायौै ।

ए - अब - हे परमपूज्य लेप्मुहाङ् ।

कर्मकाण्डका ज्ञाता विधिविधानका दाता ।

ए -यिनीहरू-ता- जीवनको इष्ट बैंसको इष्ट

यी तरुणी र तरुणहरूलाई ।

जीवन र बैंस भरिदिएँ ।

(काइँला २०५२, पृ.१६१)
 
विवाह संस्कार

विवाह जीवनको दोस्रो महत्वपूर्ण संस्कार हो । लिम्बू भाषामा विवाह संस्कारलाई ‘मेःक्खिम्/मेःक्काम् थिम्’ भनिन्छ । मानिसको यो समय ऊर्जाशील र उत्पादनशील हुन्छ । यहाँ विवाह संस्कारअन्तर्गत ‘नÞेत्ति फुङ्वा काम्मा थिम् (लगन गर्ने संस्कार)’बारे उदाहरणसहित संक्षेपमा वर्णन गरिन्छ ।

लछामी सेर्मा ‘पापो’को अनुसार लिम्बू जातिमा लगन कर्म गर्दा बेहुलीको देबे्र खुट्टामाथि बेहुलाको दाहिने खुट्टा खप्ट्याएर राख्नुपर्छ । बेहुला–बेहुली दुवैको दाहिने हात खप्ट्याएको खुट्टामाथि खप्ट्याएर राख्नुपर्छ । त्यसपछि युप्पारुङ् (चाँदीको टक्सार) र दुई थुङ्गा फूल राख्नु पर्छ । युप्पारुङ् बैना रूपैयाँ हो, जसले लगनको समयमा वर र बधुलाई आजीवन विवाह–बन्धनमा बाँध्ने काम गर्छ । त्यसपछि दुवैलाई ढाक्ने गरी दोसल्ला ओढाइदिनुपर्छ । लगन कर्म मुन्धुम् वाचन गरिसकेपछि चाँदीको टक्सार मोहर बेहुलाले बेहुलीको पछ्यौरामा बाँधिदिनुपर्छ । अनि निम्न अनुसार फलाक्नु पर्छ:

भावार्थ:

‘लगनविद् स्वामी महाशय हजुरको एक रूप जीवनरूपी लगनफूलको मालिक हो । हजुर महाशय यासःक् फेÞदेÞन् यक् अवस्थलका यिङ्ङासो थाम्लासो पापोहाङ्को दरसन्तान् तान्छोहाङ् लाओतिले माथि आप्ताङ्वा तिदङ्वा केफाकेन् नेम्बाङ् तेम्बे अवस्थलका लत्तिबा चुक्मिबाको दरसनतनमाजीवन लगनरुपी फुलेको फूल सोनुहाङ्मा नेम्बाङ्मालाई जीवन संगिनीको रूपमा भित्रिएको छ । यी जोडीका जीवनरूपी फूलहरूलाई थाङ्साङ् खोला र फे?मे खोला सेरोफेरो अवस्थलमा अवस्थित फेदेन नगरीमा रहेको यसै घरगृह अ?वामा समीपमा यी जोडीमा जीवनरूपी फूलहरूलाई एकै थुँगामा जोडाइदिनुस्, छुट्न नदिनुस्, ओइलिन नदिनुस्, जगजग जगाइदिनुस् । मानव प्रतीकरूपी फूल सेलारि फुङ् (सेक्मुरि फुल) माथि–माथि जगाइदिनुस् । चाँदीको सिक्का (यप्पारुङ् याङ्) बाचा बाँधौ है । यी जोडी जीवनरूपी लगनफूल चन्द्र–सूर्यझैं प्रकाशमय पारिदेऊ । देवदण्ड राजदण्ड नलागी रक्षा गरिदिनुस् । बज्रपात नलागोस् । देवत्व राजत्व, देवसी राजसी दिलाई भराई दिनुस् है ।’ 

(नोट: यो नेत्ति फुङ्वा काम्मा विधि लाओतिले नेम्बाङ्मालाई विवाह गर्दाको अवस्थामा हो ।)

मूत्यु संस्कार

मृत्यु मानिसको अन्तिम भाग्य हो । यो जैविक नियमअनुसार साश्वत र अकाट्य छ । मुन्धुम्ले मृत्यु संस्कारलाई पूर्ण व्यवस्थित बनाएको छ । ‘लुप्खाम इङ्ला तक्मा थिम्’, ‘साम् फोःङ्मा थिम्’, ‘साम्सामा थिम्’, ‘युम्जा (युम्सा) हम्मा थिम्’, ‘साङ्साङ् खाउःमा थिम्’, ‘लेःचे एप्मा थिम्’, इत्यादि जस्ता संस्कार सम्पन्न गरिन्छ । यहाँ मृत्यु संस्कारअन्तर्गत ‘ लुप्खाम् इङ्ला तक्मा थिम् (मृत लास राख्ने जमिन किन्ने र पुज्ने संस्कार)’ र ‘खाउःमा मुन्धुम्’बारे उदाहरणसहित संक्षेपमा वर्णन गरिन्छ । 

लिम्बू जातिलाई ‘खाम्बोःङ्बा लुङ्बोःङ्बा साहा ?’ भनेर भनिन्छ, जसको अर्थ हुन्छ– ‘यही ढुङ्गामाटोसँगै उत्पति भएको मानव’ । यही भएर लिम्बू जातिमा मूलतः मृत शरीरलाई जमिनमा नै दबाउने मुन्धुमी परम्परा रहिआएको हो । तर, लिम्बू जातिमा जमिनको अवस्था रूपान्तरित भई आयो, जस्तो कि विगतमा यहाँका यी परम्रागत भूमिहरू बेचविखन हुँदैनथे (कपलान २०१०: नेपाली संस्करणको भूमिका) । जमिन किनबेच गर्न सकिने परिपाटी प्रारम्भ भएपछि जमिन सामूहिक नभई व्यक्तिगत बन्न गयो । अर्कोतर्फ सहरीकरणले अब जमिनको अभावमा उनीहरूको जीवनशैली र संस्कृतिमा ठूलै परिवर्तन आयो, त्यो हो सहरी क्षेत्रमा र विदेश जहाँ मुन्धुमी संस्कृति प्रचलनमा छैन त्यस्ता ठाउँहरूमा लिम्बू जाति भएर पनि मृत शरीरलाई जलाउने प्रथा समेत अँगाल्नुपर्ने बाध्यता । 

लछामी सेर्मा ‘पापो’को अनुसार मुन्धुमी तरिकाले दाहसंस्कार गरिँदा धर्तीमातालाई पुजिन्छ । अनि मात्र शवलाई जमिनमा दबाइन्छ । यसका लागि पनि कैयन मुन्धुमी प्रक्रिया पूरा गर्नुपर्छ ।

भावार्थ :

खाउःसाबा : भद्रभलाद्मीजनहरू, सुन्नुस् है ।

मलामीजन : सुन्छौं है ।

खाउःसाबा : सृष्टिकताको सृष्टि....गाउँ बस्ने... दैवको लाठी घुमेछ...फलानामा दैवको लाठी घुमेछ ...संवत...महिना...गतेका दिन उसको प्राणवायु छुटेछ । जीवनरूपी तानको धागो सकिएछ । चन्द्रमाको प्रकाश चन्द्रमामै विलिन भएछ, सूर्यको तेज सूर्यमै विलिन भएछ । भौतिकरूपी चोला उठेछ । त्यसैले तितेपती र उन्युको डाँख्ला डाँख्ली टाट्नाझैं टाँगेर घर बनाउने खाम्बोःङ्बा लुङ्बोःङ्बा ढुङ्गामाटोको धर्तीवाहक खाम्लङ्बा माहाशयमा नासवान् पार्थीव शरीर बिसौनी शीरपट्टि र पाउपट्टि फिलिङ्गी टक्सारद्वारा पुज्यो है ।

मलामीजन: पुज्यो है ।

लिम्बू जातिमा मृत्यु संस्कारअन्तर्गत शुद्ध्याइँ कार्य अति व्यावहारिक र समयसापेक्ष भएको पाइन्छ । शुद्ध्याइँ कार्य गर्दा मृतक पुरुष भए चार दिनमा र मृतक स्त्री भए तीन दिनमा सम्पन्न गर्ने परम्परा छ । शुद्ध्याइँ कार्यको लागि खाउः मुन्धुम् फेदाङ्मा वा सेवासाबाले वा खाउः मुन्धुम् जान्ने तुम्याहाङ् (ज्ञानी भद्रभलाद्मी)ले समेत गर्ने परम्परा रहिआएको छ ।

भावार्थ :
शुद्ध्याइँ अनुष्ठानको मुन्धुम्

खाउःमा कर्ता: धनकुटा बोधे बसोवास गर्ने, यासःक् जन्मस्थान हुने, चन्द्रकुमारी लाओती (चेम्जङ्) साह्रै नै बिरामी भइन् । घरका मूलीहरुले फेदाङ्मा, येबा, साम्बा लगाए ओखतीमुलो गरे । तर, बिरामी मानिस निको भइनन् । येले संवत ५०११ मा जन्म हुने चन्द्र कुमारी लाओती (चेम्जङ्) येले संवत ५०७४ साल सिसेःक्ला २ गतेको साँझ उसकै घर, पति, छोराबुहारी, उसको दाजुदिदी भाइबहिनी, नातिनातिनी, नातागोताका मानिस, गाउँघर सबै छाडेर गइन्, गइन् कि गइनन् ? 

भद्रभलाद्मी जनः गइन् है गइन् ।

खाउःमा कर्ताः  अब त्यसो हो भने चन्द्र कुमारीको पति सहरमान चेम्जङ्, मृतकका छोरा राजीव, छोरी रिमा, छोरी रेनुका र छोरा रोमन अनि बुहारी र दाजु दिदी अनि सबै नातागोता, भद्रभलादमीले चन्द्रकुमारीको आत्माले माथि स्वर्गमा तागेरानिङ्वाभुमाङ्ले लिई गई मा–फक्ताङ् पा–फक्ताङ्मा राखिदिनुहोस् भनी अनुरोध प्रार्थना गर्दा चन्द्रकुमारी लाओती (चेम्जङ्) माथि मा–फक्ताङ् पा–फक्ताङ्मा बस्न पाउँछिन् कि पाउँदिनन् ?

भद्रभलाद्मी जनः पाउँछिन् है पाउँछिन् ।

खाउःमा कर्ताः त्यसो हो भने १० लिम्बूको थिति अनुसार कार्य गरेर यहाँ मत्र्यलोकमा बस्ने मृतकको घरवार, उसको गाउँघरको सबै नातागोताको मानिसले आजउप्रान्त नुन, तेल, अदुवा, लसुन लगायतका खानेकुरा खान फुकुवा होस् भनी मागे, खान पाउँछन् कि पाउँदैनन् ?

भद्रभलाद्मी जनः पाउँछन् है पाउँछन् ।

खाउःमा कर्ताः त्यसो हो भने अब दश लिम्बूको थिति अनुसार फजेः (शुद्ध्याइँ कर्म) गरेर चन्द्रकुमारीको पति, छोराछोरी, बुहारी, दाजुभाइ, दिदीबहिनी र सबै नातागोताले सबै किसिमका काम गर्न अनुमति मागे, पाउँछन् कि पाउँदैनन् ? 

भद्रभलाद्मी जनः पाउँछन् है पाउँछन् ।

खाउःमा कर्ताः त्यसो हो भने अब चन्द्रकुमारी लाओती (चेम्जङ्)को आत्म माथि स्वर्गमा गइगयो है । (सबैले हात जोडेर ‘तागÞेरानिङ्वाभु भगवान् चन्द्रकुमारी लाओती (चेम्जङ्)को आत्मा माथि स्वर्गमा लगिजानु है’ भनेर मनमा पुकारा गर्ने ।)


क्रमशः

(नेपाल प्रज्ञा–प्रतिष्ठान तथा दमक नगरपालिका, दमक प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा आयोजित प्रदेश १ स्तरीय त्रिदिवसीय बृहत् वाङ्मय संगोष्ठी–२०७५ मा नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञ सभा सदस्य हरिचन्द्र लावतीले प्रस्तुत गरेको ‘किराँत मुन्धुमको दार्शनिक चिन्तन’ विषयक कार्यपत्रलाई आलेखको रूपमा प्रस्तुत गरेका छौं । यसै कार्यपत्रको पहिलो भागका रूपमा यसअघि ‘किराँत लिम्बूका मौलिक संस्कृति र परम्परा’  , किराँत मुन्धुम्ः लिम्बू जातिसँगकाे संस्कृति र संस्कारगत सम्बन्धमुन्धुम्, सृष्टि र जीव विज्ञानसँगको सम्बन्ध शीर्षकमा आलेख प्रकाशन गरिएको थियो ।)

 

याे पनि

किराँत लिम्बूका मौलिक संस्कृति र परम्परा

किराँत मुन्धुम्ः लिम्बू जातिसँगकाे संस्कृति र संस्कारगत सम्बन्ध

मुन्धुम्, सृष्टि र जीव विज्ञानसँगको सम्बन्ध